जीबीलाई पनि पोलेनन् विपिनले, अब छवि र रविलाई बयानमा तान्दै संसदीय समिति | Khabarhub Khabarhub

सहकारी ठगी छानबिन

जीबीलाई पनि पोलेनन् विपिनले, अब छवि र रविलाई बयानमा तान्दै संसदीय समिति

गृहमन्त्री भन्छन् : जीबीसहितका फरार अभियुक्तलाई प्रहरीले खोज्दैछ



काठमाडौं–सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले यस प्रकरणमा मुछिएकाहरूको बयान लिइरहेको छ ।

गत साउन २३ देखि समितिले बयान थालेको थियो । आइतबारसम्म समितिले ४०–४२ जनासँग बयान लिएको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए ।

४२ औँ बैठक सकेको समितिले यही भदौ १० गतेसम्म सोधपुछ सकेर प्रतिवेदन लेखनमा जाने तयारी गरेको छ ।

तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको माग बमोजिम गत जेठ १५ गते समिति बनेको थियो । यसले जेठ २३ गतेबाट काम थालेको थियो । तीन महिना कार्यअवधि पाएको समितिको म्याद भदौ २३ मा सकिँदै छ । समयमै काम सक्ने समिति सभापति थापाले बताएका छन् ।

यता समिति सदस्य शिशिर खनाल सरकारले लागू गर्ने प्रतिवेदन तयार पार्न लागिपरेको बताउँछन् । उनले खबरहबसँग भने, ‘समितिले राम्रो ढंगबाट काम गरेको छ । सहकारीबारे जानेबुझेका सबैसँग सल्लाह लिएका छौँ ।’ उनी अन्य छानबिन र सोधपुछबारे बोल्न चाहेनन् ।

समितिको बैठक अब भदौ ५ गते मात्रै बस्ने बताइएको छ । समितिका एक सदस्यले खबरहबसँग भने, ‘शनिबारसमेत लगातार १० दिन काम गरिएछ, अब २ दिन कर्मचारी र हामीले पनि अध्ययन गर्न समय लिनुुपर्ने छ ।’

भागेकाको खाजी भइरहेको छ : गृहमन्त्री

सहकारी ठगी प्रकरणमा बढी रकम अपचलन गरेर भागेका गितेन्द्रबाबु राई (जीबी) लाई खोजी गरिरहेको सरकारले दाबी गरेको छ । यस्तै, सुमेरु बचत सहकारीका सञ्चालक भरत महर्जनलाई पनि बेलायतबाट झिकाउने पहल भइरहेको सरकारी अधिकारी बताउँछन् ।

सुमेरुका सञ्चालक महर्जन जीबीपछि धेरै रकम अपचलन गर्ने हुन् । उनी परिवारसहित बेलायतमा बसोबास गर्छन् । सरकारसँग समितिले उनलाई झिकाउन भनेको समितिका सदस्य बताउँछन् । जीबी राई मलेसियामा लुकेर बसेको सरकारकै अनुमान छ ।

यस्तै, अन्य सहकारी सञ्चालक र सहकारीको रकम हिनामिना गर्ने करिब १९ व्यक्तिहरू फरार छन् । उनीहरूको खोजी देशभित्र र बाहिरसमेत भइरहेको बताइन्छ । गृहमन्त्री लेखक पनि प्रहरीले फरार सहकारी ठगहरूलाई खोजिरहेको बताउँछन् ।

उनलाई सोमबार खबरहबले सहकारीको रकम अपचलन गरेर भागेकालाई समात्ने विषयमा जिज्ञासा राखेको थियो । ‘अपराधीलाई पूर्व साथीहरूले हल्ला गरे जसरी खोजिँदैन । पुलिसले जसरी खोज्नुपर्ने हो, खोजिरहेको छ । अपराधीलाई माइकिङ गरेर खोज्ने होइन । पुलिसले आफ्नो काम गरिरहेको छ’, उनले भने ।

जीबी राई लगायतलाई सरकारले पहल गरेर पक्रन केही न केही उपाय लगाइरहेको संकेत लेखकले गरेका छन् ।

‘छबिको बयानपछि रविको पालो’

संसदीय विशेष समितिले पूर्वडीआईजी छविलाल जोशीको पनि बयान लिने तयारी गरेको छ । गोर्खा मिडिया नेट्वर्कमा उनी रवि लामिछाने र जीबीका साझेदार थिए । उनको बयान लिएपछि मात्रै रास्वपा सभापति लामिछानेको बयान लिने संसदीय छानबिन समितिको तयारी छ ।

जोशीकी आमा बितेकाले उनको बयान भदौ ७, ८ गतेभन्दा अगाडि हुने सम्भावना नभएको समितिका एक सदस्य बताउँछन् । ‘भदौ ६ गते आमाको काजकिरिया सकिएपछि ७ या ८ गते सोधपुछका लागि छविजी आउनुहुन्छ’, समितिका एक सदस्यले खबरहबसँग भने, ‘छविजीको बयान सकिएपछि रविजीको पालो छ । हामी १० गतेसम्म सोधपुछ सक्ने गरी लागिपरेका छौँ ।’

यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो । तर जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको समितिका सदस्यहरूको भनाइ छ ।

बयानमा के भने विपिनले ?

रास्वपाका सह-महामन्त्री विपिन आचार्य गोर्खा मिडिया नेट्वर्कमा क्रियटिभ डाइरेक्टर थिए । रास्वपा सभापति लामिछानेनिकट उनी गोर्खा मिडियाले ग्यालेक्सी टेलिभिजन चलाउँदा हर्ताकर्तामध्ये एक थिए । समितिले उनलाई आइतबार बोलाएर बयान लिएको समिति सभापति थापाले बताए ।

तर आचार्यले जीबी राई र रवि लामिछाने सहकारी ठगीमा मुछिएकोबारे कुनै कुरा बोलेनन् ।

आचार्य गोर्खा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रडक्सन प्रालिका सञ्चालक हुन् । आचार्यले बयानमा सहकारीबाट आफ्नो नाममा पैसा गएको कुरा स्वीकार गरेनन् ।

समितिका एक सदस्यले खबरहबसँग भने, ‘विपिनले पौसा आएको थाहा छैन भन्नुभयो । तर उहाँकै नाममा दुई करोड बढी गएको देखिन्छ । थाहा नभएर हो या थाहा पाएर पनि उहाँले लुकाउनु भयो, त्यो उहाँको कुरा हो । यसको समाधान जीबी राई पक्राउ परेपछि मात्रै हुन्छ ।’

समितिका अर्का सदस्यका अनुसार बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शनबाट अनुसन्धानमा तानिएका अन्यले पनि आफ्नो नामको खाता सहकारीमा नभएको जिकिर गरेका थिए । विपिनले पनि सञ्चालकहरूले आफैँ नयाँ खाता खेलेर कारोबार गरेको हुनसक्ने बयान दिएका छन् ।

समितिका अर्का सदस्यले भने, ‘विपिनले गोर्खा मिडियाबाट नोबडी प्रोडक्सन प्रालिमा रकम गएको कुरा भने स्वीकार्नु भएको छ ।’

बिपिनको बयान उद्धृत गर्दै ती सदस्यले खबरहबसँग भने, ‘गोर्खा मिडियासँग सम्झौता गरेर कार्यक्रम गरेका थियौँ । कताबाट गोर्खा मिडियाले पठायो थाहा भएन तर उक्त मिडियाबाट नोबडी कम्पनीमा पैसा आएको छ । त्यो हामीले गरेको काम बापतको रकम हो ।’

०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड विपिन आचार्यका नाममा गएको देखिन्छ । तर यसमा विपिनको जानकारीको डकुमेन्ट नभेटिएको बताइन्छ ।

यस्तै, पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको देखिन्छ ।

यो पनि आचार्यले स्वीकारका छैनन् । उनलाई यसबारे सोध्दा जानकारी नभएको दाबी गर्छन् । उनको नाम मात्रै भएकाले पुष्टि गर्ने आधार नभेटिएको समितिका सदस्यहरूको भनाइ छ ।

समितिका एक सदस्यले खबरहबसँग भने, ‘विपिनको नाममा केही ऋण प्रवाह भएको देखिन्छ । त्यो जीबी राईका दुई सहकारी सूर्यदर्शन र सुप्रिमबाट गएको छ ।’

यस्तै आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा नोबडी प्रोडक्सन प्रालिको खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपैयाँ गएको कुरा भने विपिनले स्वीकारे ।

नोबडी कम्पनीले ग्यालेक्सी टीभीसँग सम्झौता गरेर ३ वटा कार्यक्रम ५ वर्षलाई चलाउन सम्झौता गरेको उनले बताएका थिए । सारेगम प, को बन्छ करोडपति र अर्को एउटा कार्यक्रममा १ वर्षको सम्झौताको रकम गोर्खा मिडियाले तिरेको उनले बताएका छन् ।

सहकारीबाट कम्पनीमा पैसा जान मिल्दैन भन्ने प्रश्नमा विपिनको जवाफ थियो, ‘मेरो पैसा आयो तर कहाँबाट आयो मलाई मतलबको विषय भएन । मेरो बैंक स्टेटमेन्टमा पनि त्यो छैन । तर मेरो नाममा आएको होइन, कम्पनीमा हो ।’

सहकारीको बचतबाट जीबी राईले भैंसेपाटीमा किनेका थिए ५५ करोडको जग्गा!

सहकारी छानबिन समितिले आरोपितहरूको बयान लिन थाल्ने

सहकारी ठगी : १० जनालाई जेलबाट झिकाएर सिंहदरबारमा बयान

सहकारीको बचत हिनामिना- संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान

 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ६ : ०१ बजे

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले