शिक्षामन्त्रीले फेसबुकबाटै गुहार माग्ने गरी के भएको हो त्रिविमा ? | Khabarhub Khabarhub

एक्सप्लेनर

शिक्षामन्त्रीले फेसबुकबाटै गुहार माग्ने गरी के भएको हो त्रिविमा ?

बाहिर सुरक्षाको माग, भित्र कांग्रेस–एमाले टकराव



काठमाडौं- त्रिभुवन विश्वविद्यालयकी सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार बिहानै गृहमन्त्री रमेश लेखकको भूमिकाबारे पनि प्रश्न उठ्ने गरी सामाजिक सञ्जालमा दुईवटा स्टाटस लेखिन् ।

सकेसम्म विवादित अभिव्यक्तिबाट जोगिने भट्टराईले दुई घण्टाको फरकमा सामाजिक सञ्जालमा सार्वजनिक गरेका दुई धारणाले देशको प्रमुख प्राज्ञिक निकायको गम्भीर विवादको अर्को श्रृंखला पनि देखाइदियो ।

शिक्षा मन्त्री भट्टराईका यी दुई धारणा यसअर्थमा पनि गम्भीर थिए कि उनी नेकपा एमालेबाट प्रतिनिधित्व गर्छिन् भने देशको आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने गृहमन्त्री रमेश लेखकको काँधमा छ ।

बिहान ७ बजे सार्वजनिक गरेको धारणामा उनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि केही दिनयता हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेकाले असुरक्षा बढेको उल्लेख गरेकी थिइन् ।

‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ’, सहकुलपतिसमेत रहेकी उनले भनेकी थिइन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृहमन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’

शिक्षामन्त्री भट्टराईले माथि भने जस्तै देशको आन्तरिक सुरक्षाको जिम्मेवारी लिएका लेखकलाई समेत इंगित गरेर उक्त धारणा सार्वजनिक गरेपछि कतिपयले समर्थन गरेका छन् कतिपयले आलोचनाको बर्षा पनि गरेका छन् ।

त्यसको दुई घण्टापछि उनैले फेरि आफूले सामाजिक सञ्जालमा बुधबार बिहानको पहिलो धारणा आवेशमा आएर नलेखेको स्पष्टीकरण दिइन् । ‘यहाँहरूले मलाई महत्वपूर्ण सुझाव दिनु भएकोमा आभारी छु’, उनले भनेकी थिइन्, ‘मैले सार्वजनिक अपील गर्नु पर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । विगत ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु ।’

खासगरी कांग्रेस कार्यकर्ताहरूले त्रिवि प्रकरणमा आफ्नो आलोचना गरेपछि भट्टराईले दोस्रो धारणा सार्वजनिक गर्दै यथार्थ बताउनु आफ्नो कर्तव्य भएको स्पष्टीकरण उनले दिएकी हुन् । उनका यी दुई धारणामार्फत् त्रिविमा भएको असुरक्षाबारे आफूले पाँच दिनदेखि गृहमन्त्री लेखकलाई अवगत गराउँदा पनि सुनुवाइ नभएपछि सार्वजनिक रुपमा बोल्न बाध्य भएको जनाउ पनि दिएकी छन् ।

के हो विवाद ?

अहिले त्रिविमा देखिएको विवाद नयाँ होइन । यो त्रिवि समाज शास्त्र विभागकका उप-प्राध्यापक प्रेम चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताबाट भएको कुटपिको घटनाकै निरन्तरताको श्रृंखला नै हो । त्यसबेला चलाउनेमाथि कुटपिटमा नेविसंघका नेता-कार्यकर्ता संलग्न थिए ।

यस पटकको विवादको जड पनि त्यही समाज शास्त्र विभाग भएको छ । तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाले नियुक्त गरेका विभागीय प्रमुख युवराज
लुइँटेलको कार्यकाल शुक्रबार मात्रै सकिएपछि नयाँ नेतृत्वको खोजी सुरु भएको थियो ।

तत्कालीन उपकुलपति बाँस्कोटाले लुइँटेललाई पनि वरिष्ठताकै आधारमा विभागीय प्रमुख बनाएका थिए । यस पटक पनि समाजशास्त्र विभागले वरिष्ठताका आधारमा पासाङ शेर्पा र टीकाराम गौतमको नाम सिफारिस गर्‍यो । तर मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन कुसुम शाक्यले विभागीय प्रमुख नियुक्तिका लागि पहिलो नम्बरमा गौतमको नाम राखेर उपकुलपतिको कार्यालयमा पठाइन् ।

शाक्यको यही निर्णय अहिले त्रिविमा पछिल्लो विवादको जड बनेको छ । खासगरी नेपाली कांग्रेस र त्यस दलनिकट नेविसंघका नेता कार्यकर्ता तथा केन्द्रीय क्याम्पसका स्ववियु पदाधिकारीले समाजशास्त्र विभागको गलत निर्णयलाई शाक्यले सच्याएको जिकिर गरेका छन् ।

तर, त्रिवि समाजशास्त्र विभागकै प्राध्यापकहरू भने विश्वविद्यालयको रेकर्डअनुसार शेर्पा नै वरिष्ठ भएको बताउँछन् । समाज शास्त्र विभागका लागि सिफारिस शेर्पा र गौतमा दुवैजना सहप्राध्यापक हुन् । उनीहरू दुवैजना एकसाथ सहप्राध्यापक भएका हुन् । तर त्रिवि सेवाका क्रममा स्थायी भएको रेकर्ड मान्ने हो भने शेर्पा वरिष्ठ देखिन्छन् । उनी २०६० सालमा त्रिविमा स्थायी हुँदा गौतम २०६४ सालमा मात्रै स्थायी भएका थिए ।

यद्यपि मानविकी तथा समाज शास्त्र विभागकी डीन कुसुम शाक्यले भने गौतम लामो समयदेखि त्यहीँ कार्यरत रहेकाले उनलाई नै विभागीय प्रमुख बनानउनुर्ने तर्कसहित उपकुलपतिकहाँ सिफारिस गरेकी हुन् ।

यसअघि आफू बिदा हुने बेलामा त्रिविका तत्कालीन उपकुलपति तीर्थ खनियाँले गौतमलाई तीन महिनाका लागि समाज शास्त्र विभागीय प्रमुखको जिम्मेवारी दिएका थिए । खनियाँको यो निर्णयसहितका आधार र लामो समयदेखि समाजशास्त्र विभागमै कार्यरत रहेकाले गौतम नै योग्य र वरिष्ठ रहेको तर्क शाक्यको छ ।

शिक्षामन्त्रीले त्रिविबारे सनसनीपूर्ण मनाइ सार्वजनिक गरेपछि स्ववियु केन्द्रीय क्याम्पसका सभापति श्यामराज ओझाले आपत्ति जनाएका छन् । उनले बुधबार एक लिखित वक्तव्य नै निकालेर शिक्षामन्त्री भट्टराईले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाएका छन् ।

‘केही दिनयता विश्वविद्यालयका पदाधिकारीलाई असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित बन्न नसकेको भन्ने समाचार सम्प्रेषण भइरहेको विषयप्रति स्वतन्त्र विद्यार्थी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । पदाधिकारीलाई सुरक्षा थ्रेट भएका कारण विश्वविद्यालयमा उपस्थित नभएको र उक्त असुरक्षा विद्यार्थीले सिर्जना गरेको भन्ने भ्रम निर्माण गरिनुले हामीलाई चकित तुल्याएको छ’, उनले भनेका छन्, ‘कसले ? कहाँ ? कुन माध्यमबाट ? कहिले ? कसलाई ? कुन प्रकारको ? धम्की दिएको हो, त्यो प्रष्ट नपारी विद्यार्थी राजनीति र आन्दोलनका आजसम्मका उपलब्धिको अवमूल्यन हुनेगरी विश्वविद्यालयका पदाधिकारीको गैर-जिम्मेवारपूर्ण अभिव्यक्ति र मिडियाबाजीले हामीलाई लज्जित तुल्याएको छ ।’

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव अनोज कार्कीले खबरहबसँगको कुराकानीमा डीनको सिफारिस उचित र जायज भएको तर्क गरे । ‘हामीले देख्दा गौतम सर वरिष्ठ हुनुहुन्छ । समाज शास्त्र विभागले सिफारिसमा गडबडडी गरेको हो’, उनले भने, ‘विभागले मिचेको वरिष्ठताको मापदण्ड डीनले सच्याउनु भएको हो । हामीले विभागको निर्णयमा असहमति जनाएका हौँ । तर मैले थाहा पाएसम्म कसैले त्रिवि पदाधिकारीलाई धम्क्याएको छैन ।’

कार्कीले समाज शास्त्र विभागको प्रमुखका लागि सिफारिस सह-प्राध्यापक शेर्पा ६ महिनाअघि मात्रै सरुवा भएर आएको तर्क गरे । ‘उहाँ ६ महिनाअघि मात्रै आउनु भएको हो । टीकाराम सर लामो समयदेखि समाज शास्त्र विभागमा हुनुहुन्छ । डीनले गौतम सरलाई न्याय गर्नु भएको छ’, उनले तर्क गर्दै भने, ‘विभागले गरेको गल्तीलाई डीनले सच्याएर पठाउँदा उपकुलपतिको कार्यालयले सच्याउनुपर्छ। बनावटी कुरा गरेर कसैले धम्की दिएको प्रचार गरिँदैछ । तर हामीले याद गरेअनुसार न कसैले धम्की दिएको छ न त्रिविमा कुनै असुरक्षा छ ।’

खनियाँ बिदा भएपछि आएका बाँस्कोटाले वरिष्ठताकै मापदण्डअनुसार लुइँटेललाई विभागीय प्रमुखको जिम्मा दिए । वरिष्ठताका आधारमा लुइँटेललाई विभागीय प्रमुख बनाउँदा पनि त्रिवि समाजशास्त्र विभागमा ताला लाग्यो । हो, त्यही बेला उपप्राध्यापक प्रेम चलाउनेलाई २०७७ असोज २० गते मरनासन्न हुने गरी कुटियो । उक्त बेलाको ताला नेविसंघले लगाएका थिए । तालबन्दीको बिरोध गरेर तोडेपछि चलाउनेमाथि नेविसंघ कार्यकर्ता योगेन्द्र रावलसहितको समूहले आक्रमण गरेको थियो ।

फेरि रावलको चर्चा

समाजशास्त्र विभागकै उपप्राध्यापक चलाउने मरनासन्न हुने गरी कुटिएको प्रकरणमा काठमाडौं जिल्ला अदालतले २०८० मंसिर ७ मा ६ जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनायो ।

अदालतले आरोपीहरू हरिप्रसाद आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीन लामा, सयुज श्रेष्ठ, नीरज रानामगरलाई दुई वर्षको कैद सजाय सुनाएको थियो। अर्का आरोपी दीपक ओझाले सफाइ पाएका थिए । अदालतले उनीहरूबाट पीडितलाई २८ लाख १७ हजार ५३९ रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश दिएको थियो ।

उपप्राध्यापक चलाउनेलाई कुटपिटमा संलग्न भएको प्रकरणमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाई समितिका अध्यक्ष हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावल नै संलग्न थिए । रावलसहितका सातजनाले विश्वविद्यालय परिसरमै चलाउनेमाथि कुटपिट गरेका थिए ।

उनै रावल समूहले अहिले पनि गौतमलाई समाजशास्त्र विभाग प्रमुख बनाउनु पर्ने अडानसहित त्रिवि पदाधिकारीलाई धम्की दिएको आरोप लागेको छ ।

उनीहरूले डीन शाक्यको निर्णयअनुसार गौतमलाई कुनै हालतमा विभागीय प्रमुख बनाउन भन्दै फोन गरेर धम्की दिएको दाबीसहितका समाचार आइरहेका छन् । रावलले अहिलेका रजिस्ट्रार र रेक्टरलाई चलाउनेमाथिको आक्रमण सम्झाउँदै त्यस्तै हालत हुने भनेर धम्की दिएको अर्कोथरी समाचार पनि उत्तिकै छन् ।

गृहमन्त्री रमेश लेखकसँग योगेन्द्र रावल

रजिस्ट्रार र रेक्टरलाई सुरक्षा

गत साउन ३२ गतेको मितिमा त्रिविका रजिस्ट्रार डा. केदारप्रसाद रिजालले शिक्षामन्त्री भट्टराईलाई सम्बोधन नै गरेर एउटा पत्र लेखेका थिए । जसमा त्रिविमा देखिउको असहज परिस्थितिका कारण असुरक्षा महसुस गरिएको उल्लेख छ । त्यसैगरी उनले त्रिवि परिसरमा सुरक्षा मिलाइदिन पनि भनेका थिए ।

‘त्रिभुवन विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितिका कारणले विश्वविद्यालयका पदाधिकारीहरु तथा केन्द्रीय कार्यालय परिसर, कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएर असुरक्षाको महशुस बढ्न गएको छ’, उनले पत्रमा भनेका छन्, ‘नेपाल सरकार गृहमन्त्रालयमार्फत पदाधिकारीहरू उपकुलपतिज्यू, शिक्षाध्यक्षज्यू र रजिष्ट्रारको निजी आवास र केन्द्रीय कार्यालय परिसर कीर्तिपुरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि सादर अनुरोध गर्दछु ।’

समाजशास्त्रका विभागीय प्रमुख नियुक्तिको विवाद चुलिँदै जाँदा असुरक्षा बढेको दाबी त्रिवि पदाधिकारीहरूले गरेका छन् । खास गरी त्रिविका रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल केही दिनदेखि कार्यालयमा उपस्थित हुन छाडेका छन् ।

उनीहरू दुवैले रावलकै समूहबाट गम्भीर धम्की आएकाले कार्यालयमा उपस्थित हुन खतरा रहेको तर्क गरिरहेका छन् । उनीहरूले असुरक्षा महसुस गरेको बताएपछि घरमासमेत सुरक्षा दिइएको छ । त्रिवि पदाधिकारीको कार्यालयदेखि निवाससम्म अहिले प्रहरीले सुरक्षा दिइरहेको छ ।

यस प्रकरणमा खासगरी रेक्टर खड्ग केसीको भूमिकालाई नेविसंघले पचाएको छैन । पहिले पनि उनीमाथि बदनियतपूर्वक निर्णय लिएको आरोप नेविसंघले लगाइरहेको छ ।

त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सभापति ओझाले प्रशासनिक असक्षमतालाई ढाकछोप गर्न सुरक्षा खतरा भनेर प्रचार गरिएको बताएका छन् । उनले रावलसहित कसैले पनि त्रिविका पदाधिकारीलाई धम्की दिएको कुरा अस्वीकार गरेका छन् ।

‘आफूमा पलाएको सुरक्षाको सौखका कारण विश्वविद्यालय परिसरमा प्रहरी जम्मा गरि रणभूमि जस्तो बनाउदै पदाधिकारीहरूले आफ्नो शैक्षिक तथा प्रशाशनिक असक्षमतालाई ढाकछोप गर्न अनर्गल प्रचारबाजीमा जानु दुःखद छ’, ओझाको तर्क छ, ‘विश्वविद्यालयको स्ववियुनजिकैको प्रहरी प्रशासन, आफ्नै कार्यालय, आफ्नो टिमलाई समेत जानकारी नगराई शिक्षामन्त्रीलाई फेसबुकमा स्ट्याटस लेख्न उत्प्रेरित गर्ने पदाधिकारीलाई कसले कसरी कहिले-कुन माध्यमबाट असुरक्षा दिएको हो स्पष्ट पार्न अनुरोध गर्छौँ ।’

ओझाले शिक्षामन्त्रीलाई अनावश्यक राजनीतिकरणमा नलाग्न पनि सुझाएका छन् । ‘प्रमाणसहित अभिव्यक्ति पुष्टि गर्न शिक्षामन्त्रीलाई समेत अनुरोध गर्न चाहन्छौँ । आफ्नो क्षमताले विश्वविद्यालय चलाउन सकिँदैन भन्ने लागेका कारण बहानाबाजी गरेर आफ्नो दायित्वबाट पन्छिने मनसाय राखिएको भए पदबाट राजीनामा दिनसमेत पदाधिकारीलाई चुनौती दिन्छौँ ।’

को हुन रावल, के भन्छन् उनी ?

उपप्राध्याक प्रेम चलाउनेलाई कुटपिट प्रकरणमा २ वर्ष जेल सजाय पाएका रावल अहिले त्रिविमै एमफील अध्ययनरत छन् । चलाउनेमाथि कुटपिट प्रकरण र त्रिवि सेवा आयोगको अन्तर्वार्ता पनि धम्की दिएर रोकेको आरोप लागेका उनै रावलतिर त्रिवि पदाधिकारीको सुई सोझिएको छ ।

कुनै बेला त्रिवि केन्द्रीय क्याम्पस इकाइ सचिव रावल बाजुराका हुन् । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकनिकट देखाउन उनैले फेसबुकमा फोटोसहित विभिन्न पोस्ट गरेका छन् । रावल कांग्रेसमा नेताहरू कृष्ण सिटौला र प्रदीप पौडेलनिकटका रुपमा चिनिँदै आएका छन् ।

त्रिवि समाजशास्त्र विभागमा विवाद चलिरहँदा उनैले मंगलबार गृहमन्त्री लेखकसँगै खिचेका दुई तस्बिर फेसबुकमा राखेका छन् । ‘अझै हामी श्रावण-भाद्रको झरीमा छौँ, त्रिविको प्राङ्गणमा भ्यागुतोहरू ट्वाँर-ट्वाँर गर्नु अनौठौ होइन’, उनले पछिल्लो विवादलाई लिएर गृहमन्त्रीसँगै कुम जोडेको फोटोसहित मंगलबार फेसबुकमा लेखेको धारणा हो यो ।

त्रिवि पदाधिकारीलाई धम्की दिएको आरोपबीच रावलले गृहमन्त्रीसँगैको फोटो हालिसकेपछि शिक्षामन्त्रीले बुधबार बिहानै आफना भनाइ सार्वजनिक गरेकी हुन् । पछिल्लो पटक रावलले नै गम्भीर चेतावनीसहित आफूहरूलाई धम्की दिएको सूचना त्रिविका रजिस्ट्रार र रेक्टरबाट आइसकेपछि शिक्षामन्त्री गृहमन्त्रीतर्फ खनिएकी हुन् ।

गृहमन्त्री भएपछि रमेश लेखकलाई बधाई दिँदै योगेन्द्र रावल

रावल भने आफू कांग्रेस कार्यकर्ता भएको र लेखक आफ्नै गृहप्रदेशको भएकाले भेटघाटलाई अतिरञ्जित गर्न नहुने तर्क गर्छन् । उनले फेसबुक प्रोफाइलमा पनि आफूलाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भनेर चिनाएका छन् ।

त्रिवि पदाधिकारी कार्यालयमै उपस्थित हुन नसक्ने गरी धम्की दिएको आरोप लागेका रावलले भने त्यसलाई सिधासिधा नकारे ।

‘हामीले त्रिवि समाज शास्त्र विभागमा पासाङ या टीकाराम कसैलाई पनि नाम तोकेर नियुक्ति गर्न भनेका छैनौँ । उनले बरु आफूसहितलाई रेक्टर खड्ग केसीले पहिलेदेखि नै विभिन्न बहानामा लखेटिरहेको तर्क गरे । रावलले आफूविरुद्ध उच्च अदालतमा चलिरहेको मुद्दालाई प्रभावित पार्ने उद्धेश्यसहित धम्कीको आरोप लगाइएको बताए ।

‘केसी सरले पहिलेबाटै हामीलाई खेदिरहनु भएको थियो । समाज शास्त्र विभागीय प्रमुख नियुक्तिमा हामीले कसैको नाम लिएर दबाब दिएका छैनौँ । टीकाराम सरको नाम लिएको कुरा गलत हो । यसमा त्रिवि पदाधिकारी कसैलाई भेटेर त के फोनसमेत गरेका छैनौँ, फोन नै नगरेपछि धम्की दिने कुरै आउँदैन । त्रिवि पदाधिकारीले नै बनाएको कार्यविधिअनुसार प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्ति गर्ने भनिएको हो । क्याम्पस प्रमुखसरहको विभागीय प्रमुख पनि प्रतिस्पर्धाबाटै गरौँ भनेका हौँ’, उनले भने, ‘म आफैं अहिले पनि मुद्दा खेपेर हिँडेको छु । उच्च अदालतमा मुद्दा चलिरहेको छ । त्यही मुद्दा प्रभावित गर्ने षड्यन्त्रस्वरुप मैले धम्की दिएको कथा बनाइएको हो ।’

उनले तीर्थ खनियाँको पालामा विभागीय प्रमुख भइसकेका टीकाराम गौतमलाई रोक्न त्रिचन्द्र क्याम्पसबाट सहप्राध्यापक पासाङ शेर्पालाई ल्याइएको दाबी पनि गरेका छन् ।

‘समाज शास्त्र विभागमै लामो समयदेखि कार्यरत र वरिष्ठताका आधारमा पनि अगाडि रहनु भएका गौतम सरलाई रोक्न त्रिचन्द्रबाट एमाले कार्यकर्ता पासाङ शेर्पा सरलाई सरुवा गरे‍र ल्याउनु भएको रहेछ’, उनले भने, ‘हामीले व्यवहारत: यो उचित भएन, मिलेन मात्रै भनेका थियौँ । यसबारे विश्वविद्यालयका पदाधिकारीसँग कुरा भएकै छैन ।’

उनले करिब १५ दिनयता अनुपस्थित त्रिवि उपकुलपति डा. केशरजंग बरालसँग कुरा राख्ने बताए । ‘हामीले रेक्टर र रजिस्ट्रारसँग यसबारेमा कुनै कुरा गरेका छैनौँ । अब उपकुलपति बराल सर कार्यालयमा हाजिर हुने खबर पाएकाले हामी अब उहाँसँगै कसबाट थ्रेट भयो, कसले धम्की दियो भनेर सोध्नेबारे सल्लाहमा छौँ ।’

उपकुलपति बिरामी

त्रिविमा अनेक तनाव भइरहँदा उपकुलपति डा. केशरजंग बराल भने १५ दिनदेखि कार्यालयमा उपस्थित छैनन् । डेंगु लागेर गम्भीर बिरामी परेका उनी उपचारमा रहेका कारण कार्यालयमा हाजिर हुन नसकेका हु्न् ।

पछिल्लो पटक नेविसंघ नेता योगेन्द्र रावल र केन्द्रीय क्याप्स स्ववियु सभापति श्यामराज ओझासहितको नाम नै तोकेर पदाधिकारीलाई धम्की आएको लिखित निवेदन पनि शिक्षामन्त्रीकहाँ पुगेको थियो । त्यसपछि शिक्षामन्त्रीले सुरक्षा मिलाइदिन गृहमन्त्रीलाई भनिन् ।

यो विवाद चलिरहेका बेला डेंगुले गम्भीर बिरामी बराल निको भएपछि त्रिवि फर्किने तयारीमा थिए । तर असुरक्षा भन्दै रेक्टर र रजिस्ट्रारसमेत गत शक्रबारदेखि त्रिवि आएका छैनन् । यस्तोमा बरालकहाँ पनि उक्त प्रकरणबारे जानकारी पुगेपछि कार्यालयमा फर्किसकेका छैनन् ।

उता आरोप झेलिरहेका रावलले समाज शास्त्रको विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर दुई जना प्रहरी निरीक्षकसहित बैठकसमेत बसेको खुलाए ।
‘त्यसरी त्रिविमा सुरक्षाकर्मीलाई पनि राखेर कहिल्यै बैठक बसेको थिएन । उहाँहरूले नै दुई दुईजना प्रहरी निरीक्षक राखेर बैठक पनि राख्नु भयो । प्राज्ञिक थलोमा सुरक्षाकर्मीसँग पदाधिकारीको बैठक राखियो । यसमा हाम्रो आपत्ति छ । तर हामीले धम्की दिने र असुरक्षा बढाउने काम गरेका थिएनौँ’, रावल भन्छन् ।

मन्त्रीले लिएकी थिइन् प्रहरी राखेर परीक्षा

त्रिवि विवादको श्रृंखला पछिल्लो पटक सुमना श्रेष्ठ शिक्षा मन्त्री हुँदा पनि रोकिएको थिएन । गत असारमा तत्कालीन मन्त्री श्रेष्ठ आफैं त्रिवि पुगेर सेवा आयोगको परीक्षा लिएकी थिइन्, त्यो पनि प्रहरी तैनाथ गरेर ।

त्यसपछि असार १७ गते प्रतिनिधिसभाको बैठकमै उनले भनेकी थिइन्, ‘विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्छु । त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको छ ।’

त्यसबेला पनि सेवा आयोगको परीक्षा नेविसंघ नेता रावल समूहकै कारण रोकिएको आरोप लागेको थियो । विश्वविद्यालय सेवा आयोगले लिएको प्राध्यापक बढुवाको अन्तर्वर्ता रोकिएपछि मन्त्री श्रेष्ठ हस्तक्षेप गर्न पुगेकी थिइन् । त्यसबेला नेविसंघ नेताहरू टीकाराम गौतमलाई प्राध्यपाक बनाउने रणनीतिमा थिए ।

विभागीय प्रमुख योगराज लुइँटेललाई भने उनीहरू रोक्ने दाउमा थिए । प्राध्यापक बढुवामा भएको राजनीतिका कारण उपत्यकाबाहिरबाट आएका लुइँटेललाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले सुरक्षा दिएर मन्त्री श्रेष्ठ उपस्थित अन्तर्वार्तास्थलमा लगेको थियो । त्यो अन्तर्वार्तामा अहिले विवादमा परेका गौतमले सहभागिता जनाएनन्।

एक प्राध्यापकको बयान

समाजशास्त्र विभागका एकजना प्राध्यापकले अहिले देखिएको विवादमा भागेर हिँड्नु त्रिवि पदाधिकारीहरूको नालायकीपन भएको बताएका छन् ।

समाजशास्त्र विभागले वरिष्ठताका आधारमा पहिलो नम्बरमा सह-प्राध्यापक शेर्पा, दोस्रोमा गौतम र तेस्रो मनहरि ढकालको नाम सिफारिस गरेको उनले खुलाए । तर डीन शाक्यले पहिलो नम्बरमा गौतमलाई सिफारिस गरे पनि त्रिवि पदाधिकारीले त्यसलाई अस्वीकार गरेर विभागकै सिफारिस अनुसार शेर्पालाई नियुक्त गर्ने अधिकार रहेको उनले बताए ।

‘डीनको सिफारिसलाई पदाधिकारीले कार्यान्वयन गर्नैपर्छ भन्ने छैन । उनीहरूले विभागीय सिफारिस अनुसार तीनजनामध्ये एकलाई नियुक्त गर्ने अधिकार छ’, ती प्राध्यापकले भने, ‘तर विश्वविद्यालयको नेतृत्व लिएकाहरू असुरक्षा भएको भन्दै पुच्छर लुकाएर भाग्नु जायज ठहरिँदैन। असुरक्षा भएको भन्दै पुलिस घरमा राखेर बस्दैमा समस्याको समाधान हुँदैन। त्रिविमै फर्किएर उनीहरूले तीनमध्ये एकलाई नियुक्त गर्नुपर्छ ।’

भिसी बिरामी भएपछि निमित्तले चलाइरहेको त्रिविमा अहिले रेक्टर र रजिस्ट्रार पनि निमित्त राखिएको बताए । ‘अहिलेका त्रिवि पदाधिकारी असक्षम भए । कसैमा निर्णय क्षमता रहेनछ’, उनले भने, ‘भीसी सरलाई त डेंगुले बिरामी बनाएकाले आउन सक्नु भएन । उहाँ अनुपस्थित भएकाले अरु पदाधिकारी पनि असुरक्षाको बहानामा भाग्न मिल्दैन । यो समस्याको जड त्रिवि पदाधिकारी नै हुन्, उनीहरूले समाधान दिन सक्नुपर्छ ।’

के भन्छ प्रहरी ?

अहिले त्रिविका रेक्टर केसी र रिजस्ट्रार रिजाल दुवैको घरमा उनीहरूकै माग बमोजिम प्रहरी तैनाथ छ । आफ्नै विद्यार्थीहरूबाट असुरक्षा महसुस गरेका उनीहरूका निवासमा जिल्ला प्रहरी परिसर काठमाडौंले नजिकका इकाइबाट प्रहरी खटाइदिएको छ ।

घरमा प्रहरी राखेर बसेका उनीहरू दुवैजना त्रिविमा शुक्रबारदेखि अनुपस्थित छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले त्रिविको माग बमोजिम सुरक्षा दिइएको बताए ।

‘उहाँहरूले माग गर्नु भएअनुसार हामीले सुरक्षा तैनाथी दिएका छौँ । त्रिभुवन विश्वविद्यालय परिसर र पदाधिकारीको घरमा पनि सुरक्षा तैनाथी छ’, उनले भने, ‘सुरक्षामा कुनै कमी भएको छैन ।’

तर अधिकारीले त्रिविका पदाधिकारी कसैलाई धम्की आएकोबारे कुनै पनि प्रहरी इकाइमा उजुरी नपरेको जानकारी दिए । ‘अहिलेसम्म कहीँ कुनै इकाइमा उजुरी आएको छैन’, उनले भने, ‘त्रिविबाट माग भएअनुसारको सुरक्षा दिएका छौँ । यदि जाहेरी आएमा कारबाही अघि बढाउन समस्या हुँदैन ।’

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : १७ बजे

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र स्तरोन्नतिमा भारतले सहयोग गर्ने

काठमाडौं– भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय

४३ युट्युब च्यानललाई कारवाहीको सिफारिस, तीन अनलाइन कालोसूचीमा

काठमाडौं– प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने

प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता

काठमाडौं–  प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता

वैदेशिक रोजगारीमा ठगी, एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै

भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

काठमाडौं- काठमाडौंबाट भोजपुरतर्फ गइरहेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको