अर्थसंक्षेप : साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयातदेखि नेप्सेमा पहिरोसम्म  | Khabarhub Khabarhub

अर्थसंक्षेप : साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयातदेखि नेप्सेमा पहिरोसम्म 


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । यस्तै, एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको अवधि सकिन अब ६ दिन मात्रै बाँकी रहँदा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विषयगत मन्त्रालय र कम्पनीलाई पत्र पठाएको छ ।

हेर्नुहोस् आज प्रमुख आर्थिक समाचार : 

साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार गएको साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो ।

यसमध्ये सबैभन्दा बढी आयात भएको वस्तुमा डिजेल रहेको छ । एक महिनामा ६ अर्ब ९८ करोड ७१ लाख ९५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै, ५ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको ग्यास आयात भएको छ ।

एनसेलको अनुमतिपत्र म्याद ६ दिन बाँकी, प्राधिकरणबाट मन्त्रालय र कम्पनीलाई पत्र

दूरसञ्चार व्यवसाय कम्पनी एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको अवधि सकिन अब ६ दिन मात्रै बाँकी रहँदा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विषयगत मन्त्रालय र कम्पनीलाई पत्र पठाएको छ ।

अनुमतिपत्रको अन्तिम अवधिसम्म पनि एनसेलले तोकिएको शुल्कसहित नवीकरण नगरेपछि प्राधिकरणले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयलाई जानकारीका लागि पत्र पठाएको हो । साथै, प्राधिकरणले समयमा नै शुल्क भुक्तान गरी अनुमतिपत्र नवीकरण गर्न एनसेल आजियाटा लिमिटेडलाई पनि पत्र काटेको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणमा एनसेललले आंशिक शुल्क बुझाएर नवीकरणको लागि किस्ता सुविधा माग गरेको छ । तर, एनसेलको अनुमतिपत्र अवधि सकिन थोरै दिनमात्रै बाँकी रहेको र उसले नवीकरण प्रक्रिया अगाडि नबढाएकोले प्राधिकरणले सो विषयमा जानकारीका लागि मन्त्रालयलाई पत्र पठाइएको हो ।

आठ वर्षमा तीन गुणा बढ्यो विद्युत खपत

मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष २०८०÷०८१ मा १० अर्ब २ करोड युनिट पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणक अनुसार आठ वर्ष अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।

गत आवमा सबैभन्दा बढी ग्रार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति उर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।

विद्युतको बक्यौताबारे कुलमानलाई गोकुलको प्रश्न– ९ वर्षदेखि एकै एमडी छ, किन सुतेर बसेको ?

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई १६ अर्ब छुट दिने निर्णय गरेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार भएको छलफलमा बोल्दै बास्कोटाले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले व्यवसायीलाई कुन कानुनमा टेकेर छुट दिएको हो ? भनेर प्रश्न गरे ।

सरकार परिवर्तन भइरहे पनि प्राधिकरणमा लामो समयदेखि एकै व्यक्ति रहेको बताउँदै उनले बक्यौता नउठाएकोमा प्रश्न गरे।

‘प्राधिकरणले उद्योगी, व्यवसायीबाट उठाउनुपर्ने २२ अर्बभन्दा बढी वक्यौता जसरी पनि उठाउनुपर्छ’, उनले भने, ‘यस प्रकरणमा दोषी देखिएकालाई कारबाही गरिनुपर्छ’, उनले भने ।

सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सरकारी वा गैरसरकारी सेवा सुविधाको लागि नागरिकताको सट्टामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृह मन्त्रालयले असार १० गते राजपत्रमा प्रकाशित गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले सार्वजनिक सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगराउन भनी अन्तरिम आदेश दिएको बताए ।

गएको असार १० गते गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ‘नेपाल सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त  गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी त्यस्तो सुविधा प्राप्त गर्न’ सकिने उल्लेख गरेको थियो ।

बैकिंङ क्षेत्रका विकृति नियन्त्रण गर्न प्रभावकारी कानून आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले बैकिंङ क्षेत्रमा देखा परेका विकृतिलाई नियन्त्रणका लागि प्रभावकारी कानून बनाउन आवश्यक रहेको बताएका छन्  ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा क्रममा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैङ्किङ कसुर र चेक अनादरका घटनाहरू धेरै नै बढ्दै गएकाले विधेयक छिटो पास गरेर बलियो कानून बनाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रभु महालक्ष्मी लाइफले १० र अपी पावरले ९ प्रतिशत बोनस दिने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को खुद मुनाफबाट लाभांश घोषणा गरेका छन् । प्रभुले वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत गरेर जम्मा १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रभुको जेठ ७ गते बसेको १६ औँ संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिए ।

बिजुलीको महसुलबारे ‘रिजाल उपसमिति’ले के भनेको थियो ? (प्रतिवेदनसहित)

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा आइतबार दिउँसो सांसद्हरूले डेडिकेटेड र ट्रङकलाइन महसुल प्रकरणमा डा. मीनेन्द्र रिजाल नेतृत्वको उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेस, सत्ता बागडोरको नेतृत्व गरेको नेकपा (एमाले) र प्रतिपक्षी दलका सांसद्हरूले पनि सोही प्रतिवेदन कार्यान्वयन गर्नेगरी अघि बढ्न सुझाए ।

यो प्रकरणमा प्रिमियम महसुल नतिरेका व्यापारीहरूको लबिइङमा सरकार र संसद्को लेखा समिति उल्टै महसुल उठाउन खोजिरहेको प्राधिकरण नेतृत्वमाथि खनिँदैथियो ।

साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहजनक देखिएको दाबी गरे । ‘चालु आवको साउनमा राजस्व सङ्कलनमा औसतमा उत्साहजनक देखिएको छ । भदौको समग्र राजस्व सङ्कलनले आगामी दिनको दिशानिर्देश गर्नेछ’, उनले भने ।

७९.८८ अंकले घट्यो नेप्से, कारोबार १९ अर्ब बढी 

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ प्रतिशतले घटेको छ । आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।

नेप्सेमा करिब ८० अंकले ओरालोलागेसँगै समूहमा पनि पहिरो गएको छ । लघुवित्त बाहेक अन्य १२ वटा समूह सबै राताम्य रहेको छ । आज सबैभन्दा बढी घटेर इन्भोष्टमेन्ट समूह ३.८३ प्रतिशतले घटेर ११६.१५ विन्दुमा पुगेको छ ।

लघुवित्त समूह भने १.०८ प्रीतशतले बढेर ५४३०.६२ विन्दुमा पुगेको छ । त्यस्तै वाणिज्य बैंक ३.३१ प्रतिशतले, विकास बैंक २.४४ प्रतिशतले, होलट एण्ड टुरिजम २.३८ प्रतिशतले, हाइड्रो ३.०४ प्रतिशतले, प्रतिशतले, फाइनान्स समूह ३.५० प्रतिशतले, जिवन बीमा २.५० प्रतिशतले, उत्पादन तथा प्रशोधन १.५० प्रतिशतले, म्यूचअल फण्ड १.५९ प्रतिशतले, निर्जीवन बीमा २.३२ प्रतिशतले र अन्य समूह ३.५५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ७ : ०७ बजे

परिवर्तनको पक्षमा उभिन पार्टी पङ्क्तिलाई एमालेको आव्हान

काठमाडौं– नेकपा एमालेले लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक

अमेरिकाको फ्लोरिडामा आँधीतुफान, धेरै सहरमा आपतकाल

न्युर्योक– अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार

सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति

धरान– सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको

आफ्नै मतदातालाई धोका दिने नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

पकरी–भारदह सडक मर्मत नहुँदा जोखिमपूर्ण यात्रा

राजविराज – यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको