संयुक्त सरकार र संवैधानिक अभ्यास | Khabarhub Khabarhub

बहस

संयुक्त सरकार र संवैधानिक अभ्यास



संयुक्त सरकारको अभ्यासलाई कसरी लिने ? संविधानको कार्यान्वयनको सिलसिलामा यसको मूल्यांकन कसरी गर्ने भन्ने विषय सायद अहिले सान्दर्भिक भइसकेको छ ।

आगामी महिना हामीले संविधान दिवस मनाउँदैछौं, अहिले संघारमा छौं भन्दा पनि हुन्छ । यो दृष्टिकोणले हेर्दा संयुक्त सरकार वर्तमान संविधानको अभिष्ट थियो कि बाध्यता थियो ? यो हाम्रो निर्वाचन प्रणालीको सफलता थियो कि विशेषता थियो ? हामीले मुख्य छलफल गर्नुपर्ने विषय यी हुन् ।

हामीले जस्तो निर्वाचन प्रणाली अख्तियार गरेका छौं, त्यसले स्पष्ट बहुमत भएको सरकार पाउनै नसक्ने हो ? कि यो हाम्रो रोजाइको विषय हो ?

हामी यो चुनावपछि लगातार संयुक्त सरकारको अभ्यासमा छौं । संयुक्त सरकारमा संलग्न नभएका दलहरु अब सायद धेरै कम बाँकी रहे । यो अत्यधिक सहमतिको सरकारसम्म बन्न पुगेको छ ।

यहाँसम्म आइपुग्दा हामीले यस्तै सरकार खोजेका हौं कि होइनौैं ? हाम्रो निर्वाचनले सरकार चलाउने म्यान्डेड कसलाई दिएको हो ? त्यो कुरा हामीले स्पष्टरुपमा फेला पार्‍यौं कि पारेनौं ? अर्थात् निर्वाचनको म्यान्डेड नै स्पष्ट छ ? कि अस्पष्ट म्यान्डेडको परिणाम हो ? निर्वाचन प्रणाली, निर्वाचनले दिएको नतिजा र नतिजाको अर्थबोधता के हो ? यसलाई खुट्याउनुपर्ने अवस्था आएको जस्तो मलाई लाग्छ ।

खास गरेर संयुक्त सरकारको अभ्यासमा संविधानको धारा ७६ को सिलसिलामा प्रशस्त बहस हुने गरेको छ । संघमा मात्र होइन कि प्रदेशमा पनि यसको व्यापक प्रयोग भइहेको छ । अदालतमा थुप्रै मुद्दाहरु आउने गरेका छन् र न्यायिक हस्तक्षेपकारी भूमिका अपेक्षित गरिएको छ । यो प्रवृत्तिमा हामी आइपुगेका छौं ।

यो पनि-

संविधानमाथि निगरानी : संशोधन किन ?

एमाले उपमहासचिवको प्रस्ताव : समानुपातिकको ‘रिभ्यु’ गरौं

धारा ७६ को संरचनाले सरकार गठनका लागि विभिन्न विकल्पहरु दिएको छ । स्पष्ट बहुमतको सरकारदेखि व्यक्तिले नेतृत्व गर्ने सरकारसम्मको विकल्प त्यसमा छ । अर्थात् यो संसदीय प्रणालीको कस्तो खालको प्रक्षेपण भयो ? यो कुराको स्पष्टता निकाल्नुपर्ने बेला भयो जस्तो मलाई लाग्दछ ।

यो एक व्यक्तिसम्म पुग्दाखेरि हामी संसदीय भइरहन्छौं कि ? बहुदलीय भइरहन्छौं कि ? निर्दलीयतर्फ पो उन्मुख हुन्छौं कि ? मन–मनमा हामी निर्दलीय हुँदै जाने मनोविज्ञान हुर्काउँदै जाने परिस्थिति निर्माण भएको छ कि ? यो कस्तो सरकार बन्दैछ ? यो निर्वाचनले दिन नसकेको म्यान्डेड हो कि निर्वाचनले दिएको अत्यधिक सहमतिको म्यान्डेड हो ? अब यो दृष्टिकोणले हेर्नुपर्ने भयो ।

हामीले संसदीय प्रणालीको विशेषतालाई कसरी अध्ययन गर्‍यौं ? मैले नेताहरुले बेलाबेला भनेको त सुन्छु । उहाँहरुले यो सुधारिएको विशिष्ट संसदीय व्यवस्था हो भन्नुहुन्छ । हामीले के पायौं भने दुई वर्षसम्म महाअभियोग ल्याउन पनि नसक्ने ? त्यस्तो परिस्थिति तत्काल आइलाग्यो भने गर्ने के ? कुनै दलले सरकार छाड्यो भने विश्वासको मत फेरि माग्नुपर्ने तर एकपटक अस्वीकृत भएको अविश्वासको प्रस्तावलाई दोहोर्‍याएर दुई वर्षसम्म ल्याउन पनि नसकिने । यो परिस्थिति संसदीय चरित्र हुन्छ कि हुँदैन ?

संसदीय प्रणाली भएको मुलुकमा एक घण्टा पनि संसदको विश्वासबिना बस्न पाइन्छ कि पाइँदैन ? हामीले कस्तो संरचना ल्यायौं भनेर पनि हेर्नुपर्ने हुन्छ । कतै हामीले संसदीय प्रणालीमै सम्झौता गर्‍यौं कि भन्ने पनि छ ।

प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा जवाफदेहिता हो । यो देखाउन गाह्रो हुन्छ । मैले यो कुरा कुनै सरकारलाई लक्षित गरेको होइन । यो मैले नीतिगत रुपमा संविधानले संरचना गरेको निर्वाचन प्रणालीभित्र संयुक्त सरकारको अभ्यास कस्तो हुन्छ ? भन्ने प्रश्न मात्रै गर्न खोजेको हो   

संयुक्त सरकारको अभ्यास आएपछि धेरै सरकार परिवर्तन भए । अस्थायित्व मडारिएको छ, चाहे त्यो प्रदेशमा होस् वा संघमा । अस्थिर वा छोटो अवधिको सरकार बनिरहँदा जतिसुकै कोशिस गरे पनि नीतिहरु स्थायी नहुने सम्भावना रहन्छ । कार्यक्रमहरु स्थायी नहुने सम्भावना रहन्छ । कागजमा घोषणा हुने, कार्यान्वयन नहुने हुन्छ । नीतिहरुलाई पहल पनि नगर्ने, गरिहाले पनि त्यसलाई कार्यान्वयन गर्न सक्ने दम नदेखिने वा अरुले पत्याउन नसक्ने हुन्छ । यसलाई एउटा विश्वासको संकट भनौं, यो जनताको माझमा पनि छ ।

यसले गर्दा छोटो अवधिका सरकारका कार्यक्रमहरु, जसको प्रभाव हेर्न पाइन्छ, त्यसतर्फ अलि रुचि देखिन्छ । दीर्घकालीन सुधारका आयोजनप्रति कम रुचि हुने अवस्थाहरु आयो कि भन्ने मलाई लाग्दछ । यसले गर्दा सुशासनमा पनि प्रभाव पारेको देखिन्छ । आफ्नो पालामा आफ्नो अनुकुलको मान्छे खोज्ने र अर्कोले पनि आफ्नै अनुकुलको मान्छे खोज्ने प्रवृत्तिलाई त हामीले कतै बढावा दिएका छैनौं ?

अर्थमन्त्रीहरु पनि समय–समयमा आउने–जाने गर्दाखेरि आ–आफ्नो पालामा स्रोत विनियोजन आफ्नो सुविधाअनुसार गर्ने देखिन्छ । राष्ट्रको आवश्यकता र निर्वाचनक्षेत्रप्रति गर्ने न्यायको जुन अवधारणा हो, त्यसप्रति कति न्याय गर्न सकियो ? यो पनि सुशासनको महत्वपूर्ण विषय हो जस्तो लाग्छ ।

संयुक्त सरकारले ल्याउन सक्ने अर्को परिस्थिति के हो भने– यो ‘रुल अफ ल’ (कानूनको शासन) हो कि ? ‘रुल अफ कन्भिनेन्स’ (सुविधाको शासन) हो ? यसले गर्दा अविश्वासको प्रस्तावहरु ल्याउने, महाअभियोगका धम्कीहरु ल्याउने, यो किसिमको अस्थायी उपचारात्मक तदर्थवादी दृष्टिकोण आउने हो कि भनेजस्तो मलाई लागिरहन्छ ।

प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा जवाफदेहिता हो । यो देखाउन गाह्रो हुन्छ । मैले यो कुरा कुनै सरकारलाई लक्षित गरेको होइन । यो मैले नीतिगत रुपमा संविधानले संरचना गरेको निर्वाचन प्रणालीभित्र संयुक्त सरकारको अभ्यास कस्तो हुन्छ ? भन्ने प्रश्न मात्रै गर्न खोजेको हो ।

(संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा विहीबार सम्पन्न ‘संयुक्त सरकारको अभ्यास : शासकीय प्रभाव’ विषयक संवाद कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा व्यक्त विचारको सारसंक्षेप)

भिडियो-

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ५ : १० बजे

लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियासँग सभामुखको आग्रह

कम्बोडिया– पाँच दिनको कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले

आठ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ उपयोगविहीन 

पर्सा– ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानको अभावमा नारायणी अस्पताल

कास्कीको अन्नपूर्णमा ‘हनी हन्टिङ’ महोत्सव

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभीरमा यस वर्ष पनि भीर

भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै

भोजपुर– समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको