एक यायावर लोकगायकमाथि निरन्तरको कला शोषण « Khabarhub

एक यायावर लोकगायकमाथि निरन्तरको कला शोषण

‘नशा फुट्नेगरी मैले गाएँ, पैसा अरूले कमाए’



सुनसरी – नेपाली लोकगीत गाएर रातारात चर्चित हुने धेरै कलाकार छन् । तर त्यो भाइरल हुने समयको आयु मुस्किलले दुई-तीन महिनामात्र हुने गरेको छ । यो सामाजिक सञ्‍जालको ‘भाइरल आयु’लाई बेवास्ता गर्दै आएका रैथाने लोकगायक गंगा वरदान भने फकिर जिन्दगी बिताउनै व्यस्त छन् ।

गंगा वरदानको पूरा नाम गंगालाल श्रेष्ठ वरदान मास्के हो । लामो समयदेखि धरानमा सुकुम्बासी जिन्दगी बिताउँदै आएका वरदान ७२ वर्षका भए । तै पनि उनको बोल्ने शैली, चालढाल र प्रस्तुतीकरण भने जोसिलो मात्र छैन; आक्रामक पनि छ । 

उनको गीत नसुन्ने नेपालीभाषी कमै होलान्‌ । अचेलको जस्तो युट्यूब र फेसबुकजस्ता विद्युतीय सामाजिक सञ्‍जाल नभएको जमानामा रेडियो नेपालमै बजेको गीतबाट उनी वास्तविक कालजयी भाइरल बने ।

अझै पनि यायावर जिन्दगी बिताउँदै आएका वरदानले ०२५ सालमा १६ वर्षको उमेरमै उनले ‘दाइ त काले मै पनि काले, काले काले मिलेर खाऊँ भाले’ जस्ता दिङ्लाली (भोजपुर) गीत सङ्कलन गरी गाएर ‘हिट’ भइसकेका थिए । त्यसपछि उनको ‘छपनीले छान छान डबकीले हान, डबकीको निगारैले लाग्यो मलाई बान’ भन्ने उस बेलाको लोकपप शैलीको गीत झन्‌ ‘हिट’ भएको थियो । 

त्यसो त उनको ‘बजारै भरौँन धरान, अल्लारे जोवन यस्तै छ नमान हैरान, अरूणै तर्‍यौँ नि बरुणै तर्‍यौँ नि लैलै दुधकोसी तर्नुछ, छेउकाटी रुपमा च्याट्टै, कहामा काट्यौ वेतको लौरी लंगुरैको बनैमा, सुपारी कुटुक्क जाने कोसित जानेकी नजाने भन म सित’ जस्ता गीतहरू अहिले पनि नयाँ पुस्तादेखि पाका पुस्ताले पनि कानथापेर सुनेर रमाइलो महसुस गर्दै आएका छन् ।
    

उनका आफ्नै रचना, सङ्कलन र म्युजिक संयोजन रहेका यी नेपाली लोकभाकाका रैथाने गीतहरूले नेपाली जनजीवन, प्रेम र प्रकृतिको वर्णन गर्छन् । रिलवाला क्यासेटको जमानामा यी गीतहरूका एलबमहरू नेपालमा मात्र नभएर भारतका सिक्किम, दार्जिलिङ र आसामतिर लाखौं प्रति बिक्री भएका थिए ।

तर, उनले एक पैसा पनि पाएनन् । वरदानको कला, सीप र मेहनतको कदर गर्दै रोयल्टी र पारिश्रमिक दिनु त कता हो कता ! उल्टै प्रयोगमात्र गरे । अहिले पनि गरिरहेका छन् । आफूलाई प्रयोग गरिरहेकोबारे वरदान अनभिज्ञ भने छैनन् । तै पनि उनको बुझाइ छ, सम्पत्ति कमाउनु नै सबैथोक होइन । 

वरदान भन्छन्‌, ‘आफ्नो कला आफैँसँग छ, यो नै मेरो सम्पत्ति हो । बिहान-बेलुकी छाक टार्नका लागि ‘उपरवाला र धर्तीमाता’ छ । म यसैमा अहिलेसम्म ढुक्क छु । मेरो गीत बेचेर कमाउनेले मरेर जाँदा लैजाने केही होइन, त्यो पनि खालीहात जाने हो ।’

सामान्य परिवारमा जन्मेका वरदानका बाजे भक्तपुरे नेवार हुन् । उनका बाजेलाई जुद्ध शमशेरले बिर्ता दिएर भोजपुर पठाएका थिए । त्यसै बेलादेखि वरदानका पुर्खा भोजपुरको दिङ्लाबासी हुन पुगेका हुन्‌ । दिङ्लामा बस्दा सानोतिनो व्यापार गर्दै, खेतीपाती गर्दै जीविका चलाउँदै थिए उनका परिवार । 

‘एक महिनापछि प्रथम भएको थाहा पाएँ

पूर्वसम्पादक नारायण वाग्लेले एकदिन अचानक वरदानलाई एक टाइटल दिए- नेपाली सङ्गीतका बब मार्ले ! उनको हुलिया जमैकन गायक बब मार्लेसँग मिल्न गएकाले पनि त्यस्तो उपनाम पाएका होलान् ।

सो प्रति उनको उत्ति लगाव र लोभ रहेन । वरदानले भने, ‘पक्क अर्गानिक लोक भाकाको गीत गाउने त मै हो जस्तो लाग्छ । यसर्थ यो विदेशी गायक बब मार्ले ट्याग चाहिएन ।’

बब मार्ले ट्याग पाएर के भो र ? रैथाने लोक भाकालाई टपक्क टिपेर आफ्नै अन्दाजमा सुर प्रयोग गरी गाउँदा प्रसिद्धी कमाए पनि रोयल्टी र पारिश्रमिक पाउनबाट भने सधैँ ठगिए । नेपालमा सम्भवतः सबैभन्दा बढी ठगिने कलाकारमा पहिलो नम्बरमा गंगा वरदान नै पर्छन्‌ ।

उनले खबरहबसँग खुलेर भने, ‘मेरो गीत र आवाज बेचेर क्यासेट कम्पनीहरूले घर, गाडी, घोडा जोडे होलान् । तर म जोगी बनिनँ ।’

दाजुभाइमा कान्छा, तीन दिदीका धनी वरदानले १६ वर्षे अल्लारे रहुञ्‍जेल भोजपुरको दिङ्ला बजारमै बिताए । त्यहीँको अरूण इङ्लिश हाइस्कूलमा पढे ।

त्यसबेलाको प्रवेशिका परीक्षा (एसएलसी) दिनुअघि आमा धनमाया मास्केलाई साथी दिन भनेर सुनसरीको बराहक्षेत्र मेलामा झरेको सम्झँदै भने, ‘मेला आइपुगियो । मैले गाउँमै गीत गाएर सानोतिनो चर्चा कमाइसकेको थिएँ । विराटनगरको साथी माधव बस्नेतसँग मेलामै भेट भयो । अनि आमालाई घर फर्काएर म चाहिँ साथी माधवसँग विराटनगर लागेँ ।’

पहिलेदेखि नै यायावर भएकाले उनलाई खाने र बस्नेको चिन्ता नै हुँदैन थियो । जहाँ पनि ‘एड्जस्ट’ हुन सक्थे। विराटनगरमा बस्नका लागि स्थायी कोठा थिएन । यायावर अवस्थामा विराटनगरका कलासङ्गीत प्रेमी साथीहरूसँग मिलेर युवा कलाकुञ्‍ज संस्था पनि खोले ।

करिब चार वर्ष विराटनगरमा यायावर जिन्दगी बिताएपछि ०३१ सालमा उनी दिङ्ला बजार फर्किए । दिङ्ला फर्किएर फेरि एसएलसी परीक्षा दिए । दोश्रो श्रेणीमा उत्तीर्ण भए ।

उनले ती दिन सम्झँदै भने, ‘विराटनगर बस्दैको कुरो हो, शोभा राज्यलक्ष्मीदेवी शाहले धरानमा पूर्वाञ्चलव्यापी गीत र नृत्य प्रतियोगिता गरेकी थिइन्‌ । मैले पनि भाग लिएँ । स्टेजमा उक्लेर मैले गाएको थिएँ – छपनीले छानछान डबकीले हान, डवकीको निगारैले लाग्यो मलाई वान !

उनले त्यो लोक भाकाको गीत ‘इमेजिनेशन ग्रुप’ को नाममा गाएका थिए । त्यसबेला उनलाई साथ र सहयोग गर्ने साथीहरूमा सुवर्ण लिम्बु, डम्बर राई, मणि सुब्बाहरू नै थिए ।

प्रतियोगिता चलिरहेको थियो । उनी आफ्नो पालोमा गीत गाइसकेर दिङ्लातिर लागे । यता आयोजकले पूर्वाञ्चलव्यापी लोकगीत प्रतियोगितामा गंगा वरदान प्रथम भएको घोषणा गर्‍यो । नगद पाँच हजार रुपैयाँ र एक तोला सुनको मेडल लिन बोलायो । तर, उनी त्यहाँ थिएनन् । इमेजिनेशन ग्रुपका साथीहरूले नगद पुरस्कार र एक तोला सुनको मेडल लिए ।

उनले भने, ‘लोकगीत प्रतियोगितामा प्रथम भएको सूचना मैले करिब डेढ महिनापछि मात्र थाहा पाएँ । पछि पुरस्कार राशी र सुनको मेडल खोइ त भनेको, साथीहरूले उहिलै उडाइसकेछन् ।’

धरान यात्रा 
०२५ मा भोजपुरको दिङ्लामा आयोजित लोकगीत प्रतियोगितामा गणेश रसिक र नवीन किशोर निर्णायक थिए । त्यो प्रतियोगितामा वरदानले ‘दाइ त काले भाइपनि काले’ बोलको रैथाने लोकभाकाको गीत गाएर दोश्रो पुरस्कार पाए । लगत्तै त चर्चा कमाइसकेका थिए ।

धरानको प्रतियोगितामा प्रथम नै भएपछि उनले आफ्नो साङ्गतिक यात्राको कुइनेटोको रूपमा धरानलाई नै रोजे । तर ताल उही ! न घर, न कोठा, न स्थायी ठेगाना ! धरानको यायावर बसाइमा ०३२ सालमा ‘बजारै भरौन धरानै अल्लारे जोवन यस्तै छ नमान हैरानी’ रेकर्ड गरे ।

त्यो गीतले उनलाई अर्को उचाइ थप्यो । कहिले दिङ्ला, कहिले काठमाडौँ, कहिले पोखरासम्म गीत सुनाउँदै घुमे । त्यसपछि लगातार ‘अरूणै तर्‍यौँ, कहामा काट्यौ वेतको लौरी, सुपारी कुटुक्क’ लगायत दर्जनबढी पूर्वेली स्वादका रैथाने लोकभाकाका गीतहरू आफैँ सङ्कलन र सङ्गीत संयोजन गर्दै श्रोतालाई सुनाउँदै हिँडे ।

उनका यी गीतहरू रेडियो नेपालमा रेकर्ड गर्दा शिव शंकर, नातीकाजी, शुभबहादुर सुनामजस्ता अग्रजहरूको बोलवाला थियो । उनले रेडियो नेपालमा गाउनका लागि स्वरपरीक्षा पास गरिरहनुमात्र परेन, ‘वन टेक’ मै रेकर्ड गरेको गर्वसाथ सुनाए ।

भने, ‘म अर्काको कपी गर्दिन थिएँ । रैथाने लोक भाका जे छ- त्यसैलाई टिपेर आफ्नो आवाज भर्ने काम गरेँ । मैले गंगा वरदान शैली आफैँ तयार पारेँ । तर मेरो कपी अरूले गरे ।’

काठमाडौँ यात्रा

धरानमै बसिरहेर उनलाई चित्त बुझेन । नेपाली लोक सङ्गीतको थप फराकिलो दायरा खोज्दै उनी काठमाडौं हानिए 

काठमाडौंमा पनि उनको ताल उस्तै रह्यो । निश्चित ठेगान नभएको यायावर नै ! रेडियो नेपालबाट उनका गीतहरू घन्किरहे । ती घन्किरहेका अर्गानिक गीतहरू सुन्न नेपाली श्रोताहरू कान थापेर बस्थे । वरदान चाहिँ ०३६ सालदेखि लामो लट्टाधारी कपाल पारेर अघोरी साधुजस्तै गेटअपमा देखा पर्न थाले ।

चौतर्फी चर्चा चलेको हिट गीतलाई क्यासेटमा समेटेर बिक्री गर्न भनी ०५५ मा बागबजारका जगदीश श्रेष्ठले सम्झौता गरे । वरदानले सुनाए, ‘जगदीशले त्यसबेला घरैमा बसेर मेरा गीतहरू क्यासेटमा डब गर्थ्यो ।’

‘नशा फुट्ने गरी गाएँ, अरूले पैसा कमाए’ 

वरदानका अनुसार उनका गीतका क्यासेट बिक्रीबापत प्रतिक्यासेट ५ रुपैयाँ रोयल्टी दिने एकवर्षे सम्झौता जगदीश श्रेष्ठले गरेका थिए । उनले नशा फुट्ने गरी स्टुडियोमा गाए, स्टेजमा गाए । तर, पैसा जति अरूले कमाएको गुनासो अहिलेसम्म गरिरहेका छन् गंगा वरदान ।

‘गंगा वरदान भाग-१ देखि ४ सम्म निकालेर श्रेष्ठले रञ्जना क्यासेट इन्डस्ट्रिजमार्फत बजारमा हजारौं क्यासेट बिक्री गरे । तर, गायक वरदानले भने हालसम्म एक पैसा नपाएको बताए । 

उनले भने, ‘धरोधर्म ! मलाई एक पैसा दिएन । तर जहाँ जान्थेँ, क्यासेटमा मेरै गीत बजेको सुन्थें । श्रेष्ठलाई सोध्दा आठ हजार प्रति जतिमात्र बिक्री भयो भन्थे । त्यसबापत सम्झौता अनुसार ४० हजार रुपैयाँ रोयल्टी देऊ न त भन्दा आलटाल गरिरहे ।’ 

उनको अनुमान छ- त्यसबेला आठ हजार होइन, ५० औं हजार प्रति क्यासेट बिक्री भयो । किनकी नेपालको पूर्वदेखि पश्चिमसम्म त भइहाल्यो, भुटान, आसाम, सिक्किम र दार्जिलिङसम्म उनका गीतहरू गुन्जिने गरेका थिए । 

रञ्‍जना क्यासेट इन्डस्ट्रिजका मालिक जगदीशले मात्र नभएर म्यूजिक नेपाल र नमस्ते ब्याण्डले पनि रित्तो हात पाखा लगाएको उनले बताए । रोयल्टी पाउनका लागि अनेक प्रयास नगरेका भने होइनन् । तर, कतैबाट सुनुवाइ भएन ।

नमस्ते ब्याण्डको मेन भोकलिस्ट भएर सन्‌ १९९६ यता तीनपटक हङकङ पनि पुगेको वरदानले बताए । उनले भने, ‘तर ईश्वर गुरुङले पनि मलाई एक पैसा दिएको याद छैन ।’ 

वरदानको गीतको क्यासेट बिक्री गरेर रञ्जना क्यासेट इन्डस्ट्रिज र म्युजिक नेपालले मात्र पैसा कमाएनन्‌, भारतको दार्जिलिङ बस्ने नेपालीभाषी चर्चित गायक विपुल क्षेत्रीले समेत ४० वर्ष पुरानो गीत ‘कहाँमा काट्यो बेतको लौरी’ चोरी गरेर आफ्नो नाममा डब गरी युट्युबमा हालेको वरदानले बताए ।

त्यसो वरदानले दाइ त काले मै पनि काले भन्ने गीत गणेश रसिकले पनि आफूलाई नसोधी गाएको गुनासो पनि गरे ।  उनले भने, ‘तर ठीकै छ, सबैलाई थाहै छ- ती गीतहरू मेरै हुन् । मैले श्रोतालाई नासोको रूपमा अर्पण गरिसकेका गीतहरू हुन् ।’

बूढानीलकण्ठलाई साक्षी राखेर अचानक विवाह

रेडियो नेपालमा मदनदास श्रेष्ठको निर्देशनमा ‘विखण्डी शहर’ भन्ने रेडियोनाटक प्रसारण गरिरहेको बेला वरदानले स्टूडियोमा कृक्मा लोहोरुङलाई भेटे । कृक्माले उक्त नाटक  लेखेर मदनदासलाई प्रसारणका लागि दिएका थिइन् । तर, वरदानलाई भने कृक्मा नाटक लेख्छिन् भनेर थाहा थिएन ।

उनीहरू दुईबीच सामान्य बोलचाल पछि चिनजान भयो । वरदानले भने, ‘मन मिल्यो, हामी दुइजना बूढानीलकण्ठमा गयौं । थुपबत्ती गरेर बूढानीलकण्ठलाई साक्षी राखेर सिन्दुर पोते गर्‍यौं । आजदेखि हामी श्रीमानश्रीमती भयौँ है भनेर वाचा बन्धन गर्‍यौं ।’

वरदानको जिन्दगी त यायावर थियो । बिहे गरेपछि यायावर जिन्दगीमा ब्रेक लाग्यो । अब कोठा चाहियो । एउटा कोठा भाडामा लिए । अनि उही ‘काठमाडौं ब्लूज’ – एक पछि अर्को गरी १० ठाउँमा डेरा सरे ।

विवाहपछि सन्तान जन्माउने इच्छा भने अधुरो रहेको वरदानले बताए । उनले भने, ‘गर्भमै दुई सन्तान तुहियो । औषधोपचार गर्न ढिला भयो । त्यतिकै गर्दागर्दै बुढेसकालले छोइहाल्यो । अब हाम्रा सन्तान र सम्पत्ति भनेका मैले गाएका आवाज र शब्द रचनाहरू नै हुन् ।’

हाल धरान–१४ विजयपुर परिसरको बूढासुब्बा मन्दिर नजिकै एक घरको कोठा भाडामा लिएर बस्दै आएका वरदान दम्पत्तिको योजना छ- पूर्वेली लोक भाकाका रैथाने गीतहरू फेरि सङ्कलन गरेर गाउने, छायाङ्कन गर्ने !

वरदान भन्छन्‌, ‘नेपालमा आफूलाई वरिष्ठ गायक, पप गायक, सङ्गीतकार हुँ भन्ने त यूरोपेली र अफ्रिकन म्युजिक चोरेर गाउँदै हिट भएका छन् । मैले आफ्नै देश र माटो अनि हावापानी र जनजीवन सुहाउँदो रैथाने लोकभाका टिपेर आफ्नै गाउँ-ठाउँको प्रचार गरिरहेको छु ।’ 

वरदानले साङ्गतिक यात्रामा पाएका सङ्घर्ष र हण्डरको कथा सुन्दा यस्तो लाग्छ – उनी गाउनमात्र जन्मेका रहेछन् । उनले गीत गाएबापत पाउनुपर्ने पारिश्रमिक (रोयल्टी) भने अरू बिचौलियाले खाइदिएछन्‌ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ५ : ४१ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग