प्रतिनिधिसभा : सुरक्षित यात्रा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

प्रतिनिधिसभा : सुरक्षित यात्रा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले नजिकिँदै गएको चाडपर्वमा सुरक्षित यातायात सेवा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद बिजुला रायमाझीले आउँदै गरेको चाड दसैँमा काठमाडौँ उपत्यकाबाट लाखौँको सङ्ख्यामा नागरिक बाहिरिने उल्लेख गर्दै लामो दूरीको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले सवारीसाधन दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सडक मर्मत र सम्भार गर्न माग गरिन्  ।

‘मनसुनका कारण पहाडका सडक क्षतविक्षत भएका छन् । लामो दूरीका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ’, सांसद रायमाझीले भनिन्, ‘लामो समय जाममा बस्नुपर्ने बाध्यता छ । अब दसैँका समयमा काठमाडौँबाट बाहिरिने यात्रु यही सडकमा हिँड्दा अवस्था के होला ?’

सांसद रामकृष्ण यादवले चाडपर्व नजिकिँदै गर्दा अहिल्यै दैनिक उपभोग्य खाद्यान्नको मूल्य वृद्धि हुनु राम्रो सङ्केत नभएको बताए । उनले अत्यावश्यक सेवा तथा उपभोग्य बस्तुको महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

‘चाडपर्व लक्षित कालोबजारी र कृत्रिम अभावको नियन्त्रण गर्न सरकारसँग आग्रह गर्छु’, सांसद यादवले भने ।

शून्य समयमा बोल्दै सांसद रेखा शर्माले चाडपर्वको समयमा सडकको स्तरोन्नति नहुँदा सडक दुर्घटना बढ्नेप्रति सचेत गराइन् । उनले बुटवल–नारायणगढ सडक पुनः निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै चाडपर्व लक्षित गरेर उक्त सडक खण्ड तत्काल मर्मत सम्भार गर्न माग गरिन् ।

सांसदद्वय रोशन कार्की  र रुक्मणी राना बराइलीले दसैँको मुखमा खाद्यान्नको मूल्यवृद्धि र अभावले आम नागरिकलाई चार्डपर्वप्रतिको मनोविज्ञानमा डर पैदा गरेको गुनासो गरे । उनीहरूले बजारको अनुगमनसँगै सडक सुरक्षाका लागि आवश्यक सबै प्रकारको तयारी थाल्न सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा सांसदहरूले सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको बागमतीसहितका नदी किनारमा निर्माण निषेधित क्षेत्र तोक्ने मापदण्डसम्बन्धीको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे ।

बागमतीसहितका नदी किनारामा २० मिटर खाली छाड्नुपर्ने फैसलाले धेरै परिवार प्रभावित हुने उल्लेख गर्दै सांसद रामहरि खतिवडाले उक्त फैसलामाथि सरकारले छिट्टै पुनरावलोकन (भ्याकेट) मा जान माग गरे ।

‘सर्वोच्च अदालतको फैसलाका कारण उपत्यकावासी जो नदी किनारमा बसोबास गरिरहेका छन्, उनीहरूको उठिबास हुने भएको छ । सरकारले भ्याकेटमा गएर जनतालाई सहज हुने काम गर्नुपर्छ’, सांसद खतिवडाले भने । उनीसँगै सांसद मेटमणी चौधरीले पनि उक्त फैसलाको भ्याकेटमा जान माग गरे ।

शून्य समयमा सांसद लालप्रसाद सावा लिम्बुले लालपुर्जा वितरणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारको लक्ष्यका बाबजुद पनि ठोस उपलब्धि हासिल नभएको भन्दै अधिकार सम्पन्न आयोग गठन गर्न माग गरे ।

‘अठार वटा भूमि आयोग गठन र विघटन भए पनि १३ लाख भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न सकेका छैनन’, सांसद लिम्बुले भने ।

सांसद भगवती चौधरीले मोरङ र सुनसरीस्थित बुढीखोला करिडोर योजना निर्माण अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराइन्  ।

सांसद भीमप्रसाद आचार्यले इनरुवा क्षेत्रको सडक निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरे  ।

सांसद मनिष झाले धनुषा जिल्लामा पर्यटनको सम्भावनाका विषय उल्लेख गर्दै अध्यागमन कार्यालय र इलाका प्रशासन कार्यालयको यथाशिघ्र व्यवस्थापन गर्न माग गरे ।

सांसद माधव सापकोटाले दोलालघाटदेखि तातोपानीसम्मको सडक मर्मत एवं स्तरोन्नति गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा सदनमा उठेका विषयप्रति सरकार जवाफदेही हुनुपर्ने सुझाव दिइन् ।

सांसद मङ्गलप्रसाद गुप्ताले भारतीय पर्यटकको सवारी साधनमाथि लाग्ने कर वृद्धिले पर्यटकलाई हतोत्साहित गरेको बताए  ।

सांसद रणकुमारी बलम्पाकी मगरले मुलुकको समृद्धिका लागि सकारात्मक प्रयास र उदाहरण छाँयामा परेको गुनासो गरिन् ।

सांसद रणेन्द्र बरालीले सत्तापक्ष र प्रतिपक्ष मुलुक निर्माण गर्न एक हुन सुझाव दिए ।

सांसद रेखा यादवले खेलाडीमाथि सरकारले लगानी बढाउन जोड दिइन् ।

सांसद लक्ष्मी तिवारीले मङ्कीपक्सबारे सतर्कता अपनाउन देशका विभिन्न सीमा क्षेत्रमा विशेष सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन सरकारसँग माग गरिन् ।

सांसदहरू मुक्ताकुमारी यादव, मेनकाकुमारी पोखरेल, रमा कोइराला पौडेल र राजेन्द्र बजगाईँले मुलुकको समग्र विकास एवं समृद्धिका लागि सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमा नेपाली कांग्रेसका सांसदहरूले बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा उनको स्मरण गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४१ बजे

मैत्रीपूर्ण खो खोमा नेपालविरुद्ध भारत विजयी

काठमाडौं – नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा

लक्ष्मी बैङ्क र मिदास टेक्नोलोजिजको बदमासी : वी.पी. प्रतिष्ठानमा ३५ लाख घोटाला !

सुनसरी – वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राहीले उपचार सेवा

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि खुल्यो

इलाम – पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

डर त्रास देखाई रकम मागेको आरोपमा पत्रकार अश्विन दानी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ का