चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी | Khabarhub Khabarhub

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

पुरानै गहनाको भर, मूल्य प्रतितोला एक लाख ८० हजार पुग्ने



काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा भने मन्दी देखिएको छ । दिनदिनै मूल्य बढिरहेपछि सुनको कारोबारमा गिरावट आएको व्यवसायीले बताएका छन् ।

सुनको बढी कारोबार हुने खासगरी बिहेका लगनको महिना, तीज, दशैंलगायत चाडपर्व हुन् । तर, सिजन र चाडपर्वमासमेत निरन्तरको मूल्यवृद्धिले उपभोक्ता हच्किँदा कारोबार घटेको हो ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष लगनको महिना र चाडपर्वमा पनि सुनको कारोबारमा कमी आएको व्यवसायी बताउँछन् । अघिल्लो वर्ष यसै समयमा दैनिक २५ किलोसम्म सुन किनबेच हुने गरेको थियो ।

तर, अहिले मूल्यवृद्धिलगायत कारणले मुस्किलले १२ देखि १५ किलो मात्रै सुन किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले खबरहबलाई बताए ।

चाडपर्व लागिसक्दा ग्राहकले नयाँ सुन किन्ने भन्दा पुरानै सुनलाई विभिन्न डिजाइन र आकारमा बनाउन आउने गरेको उनले बताए । ‘अहिले नेपालमा दैनिक १२ देखि १५ किलो सुन किनबेच भइरहेको छ,’ संघका अध्यक्ष अर्जुन रसाइलीले भने, ‘मूल्य बढेका कारण ग्राहकले नयाँ सुन किन्नेभन्दा पुरानै सुनलाई नयाँ ढाँचामा बनाउने बढी आइरहनु भएको छ ।’

अघिल्लो वर्ष यही बेला दैनिक २० किलो सुन आयात हुने गरेको थियो । पुरानो मौज्दात (स्टक) सुन पनि त्यतिबेला पर्याप्त थियो । चाडबाडमा विदेशबाट आउनेले पनि थोरै परिमाणमा सुन ल्याएका कारण कारोबार राम्रै थियो ।

तर, अहिले चाडपर्व नजिकिए पनि सुनको कारोबारमा सुधार आउन सकेको छैन । गएको तीजमा पनि सुनको कारोबारमा कमी आएको उनले बताए ।

‘भन्सारदर नघटाए आन्दोलन’

अहिले विदेशबाट दैनिक २० किलो सुन आयात भइरहेको छ । सुनको कारोबार नहुँदा बैंकमा थुप्रिन थालेको व्यवसायी बताउँछन् । भारतमा सुनको भन्सार ६ प्रतिशत छ ।

तर, नेपालमा भने भन्सारदर २० प्रतिशत बनाएकाले सुनको मूल्य थप महंगो हुन गएको व्यवसायी बताउँछन् । ‘बैंकबाट सुन उठ्न सकेको छैन । बैंकमा १८० किलोभन्दा बढी जम्मा भएको थियो,’ उनले भने, ‘२० प्रतिशत भन्सारदर कायम गर्दा नेपालमा सुन थप महंगो भयो ।’

सुनको भन्सार दर बढाएकोमा व्यवसायीले विरोध गर्दै आएका छन् । विरोधबीच पनि चाडपर्वमा कारोबार बढ्ने देखेर व्यवसायीले बैंकमा थुप्रिएको सुन उठाइसकेका छन् । अहिले बैंकमा ३० किलो सुन मौज्दात रहेको रसाइलीले बताए । भन्सारदर नघटेसम्म थप सुन नमगाउन महासंघले बैंकहरूलाई भनिसकेको छ ।

यसअघि सुनको भन्सारदर १५ प्रतिशत थियो । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले सुन आयातमा ५ प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय गरेको थियो ।

तर, व्यवसायीहरूले भने सुनको आयात भन्सार दर घटाउन सरकारसँग पटक पटक माग गर्दै आएका छन् । ५ प्रतिशत भन्सार बढाउने निर्णय खारेज गर्न माग गर्दै गत जेठमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । सरकारले भने बजेटमार्फत गरेको भन्सार वृद्धिको निर्णय तत्काल सच्याउन तयार देखिएको छैन ।

सरकारले सुनको भन्सारदर नघटाए सुनचाँदी व्यवसायीहरू आन्दोलनमा जान बाध्य हुने उनले बताए ।

किन बढिरहेको छ मूल्य ?

नेपालमा सुनको मूल्य दिनानुदिन बढ्नुको पछि एउटामात्र कारण छैन । धेरै कारणहरुले सुनको मूल्यमा प्रभाव पारिरहेको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिस्तरमा युरोपका राष्ट्रिय बैंकले ब्याज घटाएर साढे ३ प्रतिशतमा झारिसकेका छन् । अमेरिकाको केन्द्रीय बैंकले पनि ब्याजदर घटाउन छलफल गरिरहेका छन् ।

‘अन्तर्राष्ट्रिय बैंकहरूले ब्याज घटाउँदा अन्य क्षेत्रमा भन्दा बढी सुनमै लगानी गरेकाले पनि मूल्य बढ्न गयो,’ उनले बताए । नेपालमा भने बैंकहरूले ब्याज घटाए पनि सुनमा लगानी गर्ने ‘ट्रेन्ड’ त्यति नभएको उनी बताउँछन् ।

उनका अनुसार, रसिया र युक्रेनबीचको टकराव, गाजा क्षेत्रको द्वन्द्व र लगायत कारणले पनि सुनको मूल्यमा असर गरेको छ । अमेरिकी डलरको विनिमयदरमा आउने उतारचढावले पनि सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उनी बताउँछन् ।

मूल्य अझै बढ्ने

सुनचाँदी व्यवसायीका अनुसार नेपालमा अझै पनि सुनको मूल्य बढ्ने आंकलन गरिएको छ । महासंघका अध्यक्ष रसाइलीका अनुसार आगामी ५/६ महिनाभित्र सुनको मूल्य अझै बढेर १ लाख ८० हजार प्रतितोलासम्म पुग्ने अनुमान गरिएको छ । भन्सारदर नघटाए सुनको मूल्य अझै बढ्ने उनी बताउँछन् ।

‘सुनको भन्सारदर नघटाइए कारोबार अझै खस्किँदै गएर मूल्य बढ्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘अबको ५/६ महिनाभित्र १ लाख ८० हजारसम्म पुग्छ भन्ने अन्र्तराष्ट्रिय विज्ञलेसमेत विश्लेषण गरेका छन् ।’

अमेरिकी डलरको विनिमय दर बढ्दा र अन्य कारणले पनि सुनको मूल्य अझै बढ्न सक्ने अनुमान महासंघले गरेको उनको भनाइ छ । बुधबार मात्रै सुन प्रतितोला एक लाख ५६ हजार चार सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : ४५ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले