महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा « Khabarhub

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छिन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान र यससम्बन्धी मान्यताहरु विकास भए पनि महिलालाई नेतृत्वमा पुग्न अझै धेरै चुनौती रहेको बताएकी हुन् ।

लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा. राणाको तर्क थियो ।

‘संसारमा महिला वर्गको राजनैतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन् । महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्’, परराष्ट्रमन्त्री राणाले भनिन् ।

कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उनको भनाइ थियो । उनले महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानूनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको बताइन् ।

नेपालमा आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेका कारण नेपालका लक्षित नीति र कार्यले केही सुधार भने ल्याइरहेको उनको तर्क थियो ।

उनले भनिन्, ‘हामीले महिला समानताका लागि लडेको धेरै भयो । अहिले भने हाम्रो संविधानले सङ्घीय र प्रादेशिक संसदमा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालमा हामीले महिला राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीश पाएका छौँ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ ।’

सो बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव लगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ३० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म