काठमाडौं- शुक्रबार र शनिबारको बाढीले संघीय राजधानीबाट बाहिरिने मुख्य सडक क्षतविक्षत बनाएपछि यात्रुको सबै चाप विमानस्थलमा परेको छ ।
त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कुलेखानी, भीमफेदी राजमार्ग सबै बाढी र पहिरोले क्षतविक्षत बनाएपछि दशैंमा घर जाने यात्रु विमानस्थलमा थुप्रिएका हुन् ।
शनिबारको बाढीका कारण अहिले कुनै पनि राजमार्गमा सवारी पूर्ण क्षमतामा चल्न सकेका छैनन् । तीनवगाडीसहित दर्जनौँ यात्रु पहिरोले पुरेको त्रिभुवन राजपथको झ्याप्लेखोलमा सडक एकतर्फी खुलाउने कोसिस भइरहेको छ ।
उता सुनकोशी नदीले पनि बीपी राजमार्गको दुई सय मिटरबढी खण्ड काटेको छ । रामेछाप जाने पक्की पुल नै बगाएको छ । तराईबाट खोटाङ जाने पुल पनि दूधकोशीले बगाइदिएको छ ।
यीसहितका कारणले मुख्य राजमार्गमा यात्रा गर्न ज्यानकै बाजी लगाउनुपर्ने अवस्थाका कारण यात्रुहरू विमानतिर धुइरिएका हुन्।
आइतबार मौसम अनुकूल भएपछि उडान खुलेका छन् । तीन दिनका लागि आन्तरिक उडान बन्द गरी आजैदेखि खोलिएको हो । त्यहीकारण आन्तरिक उडानका लागि प्रतिक्षा गर्ने यात्रुको मेला नै विमानस्थलमा लागेको छ ।
यात्रुको अत्यधिक चापका कारण उडान ५–६ घण्टा ढिलो भएको छ । धेरै यात्रुलाई आज उडान गर्न नसक्ने भन्दै फिर्ता पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आइतबारका लागि एक सय ५६ उडान भरिएको छ । त्यतिकै संख्यामा अवतरण गर्ने तालिका छ ।
तीन दिनदेखि खराब मौसमका कारण उडान गर्न नसकेको उनले बताए । यात्रुको चाप बढ्दै जाँदा कयौँ उडान रोक्नुपर्ने बाध्यता पनि आएको शेर्पा बताउँछन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया