पृथ्वीनारायण शाहका परिवार : पाँच रानी, ११ छोराछोरी | Khabarhub Khabarhub

इतिहास

पृथ्वीनारायण शाहका परिवार : पाँच रानी, ११ छोराछोरी

देहान्तमा ६ सुसारेसहित ९ जना गए सति



नुवाकोट दरबारमा रहेको पृथ्वीनारायण शाहको मूर्तिमा रहेको आकृतिलाई नै उनको आधिकारिक अनुहार मान्छन्, इतिहासकारहरु। दुई हात जोडिएको यो मूर्ति २०६४ सम्म हनुमानढोकामा रहेको थियो। नेपालमा गणतन्त्र घोषणा भएपछि यसलाई नुवाकोट दरबारमा सारिएको हो। यो मूर्ति पृथ्वीनारायण शाहकै जीवनकालमा निर्माण गरिएको अनुमान गरिदै आएको छ।

गोरखाली राजाहरुमध्ये सबैभन्दा पहिले मूर्ति राख्न लगाउने राजा हुन्, पृथ्वीनारायण शाहका जिज्युबुबा पृथ्वीपति शाह। गोरखा पोखरीथोकमा पत्थरको स्तम्भमा उनको मूर्ति ठड्याइएको छ। मूर्तिमा उनी एक्लै छन्। पृथ्वीनारायण शाहको हाल नुवाकोटमा राखिएको मूर्तिमा भने दायाँ र बायाँ पृथ्वीनारायणसँगै जम्लाहात जोडेका दुई नारी छन्। राजासँगै एकै लहरमा राखिएकाले उनीहरु पृथ्वीनारायण शाहका दुई पटरानी हुन् भन्नेमा कुनै शङ्का छैन।

मकवानी सेन कन्या इन्द्रकुमारी र गोरखपुरे कन्या नरेन्द्रलक्ष्मीलाई आफ्ना दुई पटरानीको रुपमा यथोचित सम्मानसाथ पृथ्वीनारायण शाहले आफूसँगै मूर्तिमा राख्न लगाएको बुझ्न कुनै कठिनाई छैन।

वि.सं. १८३१ माघ १ गते पृथ्वीनारायण शाहको देहान्त हुँदा उनको साथमा पटरानीका रुपमा नरेन्द्रलक्ष्मी, दुई उपरानी र ६ जना सुसारे सति गएका थिए (बाबुराम आचार्य, “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी”–२०६१:४३६)। सम्भवतः पृथ्वीनारायण शाहअघि नै उनकी जेठी रानी इन्द्रकुमारीको देहान्त भइसकेको थियो।

पृथ्वीनारायण शाहको इन्द्रकुमारीसँग भएको पहिलो विवाह निक्कै ठूलो विवादमा परेको थियो। विवाह भएको लामो समयसम्म उनी माइतमा बसेकी थिइन्। यस्तै एक नेवार कन्या पनि पृथ्वीनारायण शाहकी उपरानी थिइन्। क्षयरोगले ग्रस्त भएका कारण उनकै इच्छाअनुसार उनलाई काशी पठाइएको र उनीतिरका रणसिंह नामका एक जना छोरा चौताराका रुपमा सक्रिय भएको इतिहास केही मात्रामा पढ्न पाइन्छ। यसबारे विस्तारमा पछि चर्चा गरिनेछ।

पृथ्वीनारायण शाहको देहान्तमा पहिल्यै मृत्यु भएका एक पटरानी र एक उपरानी बाहेक जसरी नौ जना नारी सति गएको देखिदा उनको परिवार ठूलै रहेको अनुमान हुन्छ। यो लेखमा हालसम्म इतिहासमा त्यति चर्चामा आउन नसकेको पृथ्वीनारायण शाहको परिवारबारे चर्चा गरिनेछ।

विवाहको कुरा छिनिदा पृथ्वीनारायण शाह १४ र इन्द्रकुमारीको १२ वर्षका थिए। त्यसबेला मकवानपुर एक समृद्ध राज्यका रुपमा स्थापित थियो भने पहाडी राज्यको रुपमा रहेको गोरखा आर्थिक अवस्था कमजोर भएको राज्यमा गनिन्थ्यो। विवाहका लागि बरियातका साथ पृथ्वीनारायण शाह आफैं मकवानपुर पुगेका थिए।

यी दुईबीच वि.सं. १७९५ फागुन महिनामा मकवानपुरमा विवाह सम्पन्न भएको थियो (आचार्य, २०६१:९३)। तर दुलहीलाई अन्माइसकेपछि पनि मकवानपुरका राजा हेमकर्ण सेनले आफ्नी छोरीलाई तत्काल गोरखा पठाउन चाहेनन्। पृथ्वीनारायण दोस्रोपटक दुलही लिन जाँदा पनि खाली हात फर्कनु परेको त थियो नै, त्यसबेला जेठान दिग्बन्धन सेन र त्यहाँका मन्त्री कनकसिंह बानियाँसँग ठूलो विवाद परेर झण्डै मारामारको अवस्था समेत आइपरेको थियो। विवाहमा भएको विवादसम्बन्धमा उनको उपदेशमा उल्लेख भएको “…यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला. दिन्न भन्या काढि तरवारसित पनि लैजांला भनि हाक पारि…” भन्ने वाक्य निक्कै चर्चित छ।

मकवानपुरबाट अपमानित भई खाली हात चन्द्रागिरीको बाटो भई फर्केका थिए। त्यहाँबाट नेपाल (कान्तिपुर, पाटन र भादगाउँ)को भव्य दृश्यलाई हेरेपछि ती राज्यहरु जितेर त्यहाँको पनि राजा बन्ने सपना पालेर उनी गोरखा उत्रिएका थिए।

गोरखा राज्यका तत्कालीन हर्ताकर्ता जेठी महारानी चन्द्रप्रभावतीले मकवानपुर राज्यको इखले पृथ्वीनारायण शाहको दोस्रो विवाहका लागि सम्भावित क्षेत्रमा लमीहरु दौडाउन सुरु गरिहालिन्। उनले पृथ्वीनारायणका लागि डोला खोज्न भानु अज्र्याललाई परिचालित गर्दा उनी काशी पुगेका थिए। त्यहाँ उनलाई जयमङ्गल पण्डितले सहयोग गरे। उनीहरुले पृथ्वीनारायणको काशीका राजपुत अहिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग विवाह गराउने तारतम्य मिलाए। उनीहरु कन्याका बुबा अहिमानसिंहका साथ डोला लिई गोरखा आइपुगे (दिनेशराज पन्त, “गोरखाको इतिहास” पहिलो भाग-२०४१:२७३)।

वि.सं. १७९९ मा राजा भएपछि पृथ्वीनारायण शाहले क्रमैसँग गोरखा राज्यको विस्तार अभियान चलाए। वि.सं. १८०१ असोजमा कान्तिपुर अधिनस्थ नुवाकोट कब्जा गरेपछि उनको विजययात्रा अगाडि बढ्यो। त्यसपछि उनले नुवाकोटबाट राज्य सञ्चालन गर्न लागे।

नुवाकोटलाई मुकाम बनाउँदा सुरुमा उनले मल्लकालको दरबार “रङ्गमहल”मा बसेर काम चलाएका थिए। तादी किनारमा रहेको मल्लकालकै माडी दरबार पनि उनले प्रयोग गर्ने गरेका थिए। वि.सं. १८१९ को सुरुमा उनले नुवाकोटमा भब्य दरबार बनाउन लगाए। यो साततले दरबारको नामले प्रसिद्ध छ। नुवाकोटलाई पृथ्वीनारायण शाहले २५ वर्ष केन्द्रस्थल बनाए (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, “नुवाकोटको ऐतिहासिक रुपरेखा”–२०३२:७३-७५)

रानी इन्द्रकुमारीको कर्मघर आगमन
पृथ्वीनारायण शाह नुवाकोटमा रहेर शासन गरिरहेको बेला इन्द्रकुमारीले माइतघरबाट आफ्नो कर्मघर आउने इच्छा ब्यक्त गरेर उनलाई एक अर्जी पठाइन्। “तकसीर त भाइको र कनकसिंह बानियांको हो। मेरो त केही तकसीर छैन” भन्ने ब्यहोरा उल्लेख गरी इन्द्रकुमारीले अर्जी पठाएकी थिइन्। पहिले मकवानपुरमा डोला अड्काएको बेला अर्की रानी विवाह गरी उत्तराधिकारी जन्माएपछि मात्र लिन पठाउँछु भन्ने खबर पृथ्वीनारायण शाहले पठाएका रहेछन्। यसै प्रतिवद्धताअनुसार पृथ्वीनारायण शाहले इन्द्रकुमारीलाई लिन आफ्ना छोरा प्रतापसिंह शाहका साथ चौतरिया, काजी, भाइभारदार तथा थरघरलाई पठाएपछि मकवानपुरका राजा हेमकर्ण सेनले पनि ससम्मान आफ्नी छोरीलाई कर्मघर पठाएका थिए। उनी मकवानपुरबाट पृथ्वीनारायण शाहले मुकाम गरी बसेको नुवाकोट पुगेकी थिइन् (“प्राचीन नेपाल” सङ्ख्या २२–माघ २०२९:७-८)।

जनरल केशरशमशेरको सङ्कलनमा रहेको वंशावलीमा उक्त प्रसङ्ग उल्लेख छ। इन्द्रकुमारी कहिले नुवाकोट पुगेकी थिइन् ? यसबारे मिति भने उल्लेख छैन। तर यस प्रकरणअघि गोरखालीहरुले सिह्रानचोकबाट चौबिसी (लमजुङे)हरुलाई हटाएको प्रसङ्ग परेकोले इन्द्रकुमारी मकवानपुरबाट नुवाकोट पुगेको मिति अनुमान गर्न केही सजिलो हुन्छ।

गोरखा र लमजुङबीच युद्ध हुँदा वि.सं. १८१२ साउन १४ गते शनिबार गोरखालीहरुले सिह्रानचोकमाथि कब्जा जमाउँदै लमजुङेहरुलाई त्यहाँबाट हटाएका हुन् (देवीप्रसाद भण्डारी, “पूर्णिमा” पूर्णाङ्क ४-माघ २०२१:४६–४७)। यताबाट हेर्दा वि.सं. १८१२ पछि अर्थात् विवाह भएको १७ वर्षपछि मात्र इन्द्रकुमारी आफ्नो कर्मघर गएको देखिन्छ। १२ वर्षकै उमेरमा विवाहको कुरा छिनिएको भन्ने उल्लेख भएकोले त्यसबेला उनी २८/२९ वर्षकी भइसकेकी थिइन्। नुवाकोटमा राखिएको मूर्ति हेर्दा पनि उनको उमेर अनुमान गर्न सकिन्छ।

इन्द्रकुमारीको अर्जी आएपछि उनलाई लिन मकवानपुर जानेमा पृथ्वीनारायण शाहकी रानी नरेन्द्रलक्ष्मीतिरबाट जन्मिएका युवराज प्रतापसिंह शाह पनि थिए। उनको जन्ममिति वि.सं. १८०८ वैशाख ५ गते भएकोले आफ्नी जेठी आमालाई लिन मकवानपुर जाँदा उनी चार वर्ष पुरा भई भर्खरै पाँचौ वर्षमा प्रवेश गरेका थिए।

भक्तपुरको उपहारः नेवार मैजु
गोरखा राजवंशको इतिहास हेर्दा राजा नरभूपाल शाहको राज्यकालमा उनी राजकाजप्रति उदासिन हुँदा उनकी जेठी रानी चन्द्रप्रभावती निक्कै सक्रिय थिइन्। उनी चौतारा महारानीको नामबाट प्रसिद्ध थिइन्। नरभूपालकी “कालीधाई” नामकी एक भित्रिनीबारे पनि इतिहासकारहरुले केही चर्चा गरेका छन्।

यस्तै पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मीको सक्रियताको बारेमा इतिहासमा प्रशस्तै पढ्न पाइन्छ। तर पृथ्वीनारायण शाहकी दुई पटरानीमध्ये अधिकाँश समय राजाकै साथ रहेकी नरेन्द्रलक्ष्मीको सक्रियता घरव्यवहारमै सीमित थियो भन्न कठिनाई छैन।

पृथ्वीनारायण शाहले आफू राजा भएपछि केही समय भक्तपुर दरबारमा पाहुना भएर बस्दा उनले आफ्नो स्याहारसुसारका लागि भक्तपुरका राजा तथा आफ्नै मीतबा रणजित मल्लबाट ती नेवार मैजुलाई उपहारस्वरुप प्राप्त गरेका थिए।

पृथ्वीनारायण शाहका परिवारका सदस्यमध्ये एक ओझेलमा परेकी उपरानी हुन्, इच्छावती। पृथ्वीनारायण शाहले आफू राजा भएपछि केही समय भक्तपुर दरबारमा पाहुना भएर बस्दा उनले आफ्नो स्याहारसुसारका लागि भक्तपुरका राजा तथा आफ्नै मीतबा रणजित मल्लबाट ती नेवार मैजुलाई उपहारस्वरुप प्राप्त गरेका थिए।

“प्राचीन नेपाल” (सङ्ख्या २२-माघ २०२९:१०) मा प्रकाशित वंशावलीमा “महाराज भादगाउंमा बस्दा पाटनबाट झिकाई राखेकी भित्रिनी” भन्ने उल्लेख भएबाट ती नेवार कन्या ललितपुरबाट झिकाइएको भन्ने देखिन्छ। तर आचार्य (२०६१:२२२)ले पृथ्वीनारायण शाह त्यस्तो विलासी नभएकोले भक्तपुरमा बसेर ललितपुरकी केटी भगाउनु सम्भव नभएको तर्क राखेका छन्। यद्यपी भक्तपुर या ललितपुर जहाँको भए पनि ती नेवार कन्या पृथ्वीनारायण शाहकी भित्रिनी थिइन् भन्ने चाहिँ स्पष्ट छ।

आचार्य (२०६१:२०८)ले उल्लेख गरेअनुसार पृथ्वीनारायण नुवाकोट आएपछि ती मैजुकन्या उनको भित्रिनी (उपरानी) बनिन्। नुवाकोट आएको दुई तीन वर्षपछि उनलाई क्षयरोगले समात्यो। बाँच्ने आशा नहुँदा उनैको इच्छाअनुसार पृथ्वीनारायण शाहले देवघाटको बाटो गरी काशीतिर रवाना गराए। त्यसबेला तनहुँका राजाहरु हिउँद लागेपछि जाडो छल्न आफ्नो जमिन्दारीमा रहेको चम्पारनका तराईमा घाम ताप्न जान्थे र वसन्तको आरम्भमा तनहूँको राजभवनमा फर्कन्थे। त्यसैबेला तनहूँका राजा त्रिविक्रम सेन देवघाटनेर जोगिमारामा रहेका थिए। नुवाकोटबाट रक्षकहरुका साथ डोलीमा आएकी पृथ्वीनारायण शाहकी यी मैजु भित्रिनीलाई देखेर उनले रानी चढेको डोलीका झापन खोली यिनको मुख हेरेर छाडिदिए। यो थाहा पाएपछि यसलाई पृथ्वीनारायण शाहले आफ्नो ठूलो अपमान सम्झे। उनी रिसले चुर भएर त्रिविक्रम सेनलाई दण्ड दिने निर्णय गरे।

नुवाकोटबाट रक्षकहरुका साथ डोलीमा आएकी पृथ्वीनारायण शाहकी यी मैजु भित्रिनीलाई देखेर उनले रानी चढेको डोलीका झापन खोली यिनको मुख हेरेर छाडिदिए। यो थाहा पाएपछि यसलाई पृथ्वीनारायण शाहले आफ्नो ठूलो अपमान सम्झे। उनी रिसले चुर भएर त्रिविक्रम सेनलाई दण्ड दिने निर्णय गरे।

यो घटनाको बदला लिन पृथ्वीनारायण शाहले लमजुङ राज्यलाई फुटाएर आधाआधा गरी बाँड्ने भनी त्रिविक्रम सेनलाई सम्झौताका लागि निःशस्त्र आउन भनी ज्यामिरघाटमा निम्तो पठाए। तर पृथ्वीनारायण शाहले आफ्ना भारदारलाई सजग गराएर अघिल्लै रात बगरका बालुवाभित्र आफ्ना अङ्गरक्षकको हतियार लुकाएर ठीक गरेका थिए। त्यहाँ पृथ्वीनारायण शाहको भित्रिनीको झपन खोली मुख हेरेको सन्दर्भ उठ्यो, विवाद चल्यो। त्यही बेला गोरखालीले बालुवामा लुकाइराखिएको हतियार झिके अनि त्रिविक्रम सेनलाई पक्रिएर नेल हाली गोरखा ल्याए। पछि रिस ठण्डा भएपछि पृथ्वीनारायण शाहले त्रिविक्रम सेनलाई छाडिदिए (आचार्य, २०६१:२११)।

तर वंशावली (“प्राचीन नेपाल”, माघ २०२९:११) मा भने तनहूँका राजा त्रिविक्रम सेनलाई पहिले पक्रेर गोरखा लगिएको र त्यसपछि नुवाकोट लगिएको उल्लेख छ। आचार्य (२०६१:२०८)ले यो घटना वि.सं. १८०६ मङ्सिर/पुस मा भएको उल्लेख गरेका छन्।

तनहूँका राजा त्रिविक्रम सेनलाई पक्राउ गरी केही काल नुवाकोटमा कैद गरेकोर पछि छाडिएको घटनालाई दरबार बनाई राखिएको अभिलेखमा पनि पृथ्वीनारायण शाहले महत्त्वका साथ वर्णन गरेका छन् (बज्राचार्य र श्रेष्ठ, २०३२:७५)। यो अभिलेखमा “राजाहरुमा सिंहजस्ता तनहूँका राजा त्रिविक्रम (सेन)लाई कैद गरी फलामको पिँजरामा हाल्नुभयो तथा पछि दया गरी छोडिदिनुभयो” भन्ने उल्लेख छ (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, “शाहकालका अभिलेख” पहिलो भाग-२०३७:६४)। त्यसबेला नुवाकोट दरबार भने बनिनसकेकोले पृथ्वीनारायण शाहले त्रिविक्रम सेनका लागि अन्यत्रै कैदको व्यवस्था गरेका थिए।

यसरी आफ्नी भित्रिनीको झापन खोलेको रीसले तनहूँका राजा त्रिविक्रम सेनलाई राजोजित ब्यवहार नगरी पृथ्वीनारायण शाहले अपमानजनक ब्यवहार गरेका थिए। यी नेवार उपरानीतिरका रणसिंह नामका एक छोरा थिए। उनीसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरु उपलब्ध छन्।

अन्य उपरानी र सन्तान
पृथ्वीनारायण शाहको देहान्तमा पटरानी नरेन्द्रलक्ष्मी र दुई उपरानीका साथ ६ जना सुसारे सति गएको माथि उल्लेख भइसकेको छ। उनका दुई पटरानीमध्ये जेठी रानी र अर्की नेवार उपरानीको पहिल्यै मृत्यु भएको अनुमान पनि माथि गरिइसकेको छ। त्यसो भए ती अन्य दुई उपरानीहरु को थिए होलान् ?

योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह” भाग १ (२०५५:३५३)मा प्रकाशमा ल्याएको एक वंशावलीमा ती उपरानीहरु र पृथ्वीनारायण शाहका छोराछोरीहरुको नाम र विवरण पनि उल्लेख गरेका छन्। योगीले प्रकाशमा ल्याएको “गोरक्षाधीश द्रव्यसाहको वंशविस्तार शाके १४८१ देखि” अनुसार पृथ्वीनारायण शाहकी लक्ष्मी, इच्छावती र दयावती नामका भित्रिनी भएको उल्लेख भएबाट पृथ्वीनारायणसँगै सति जाने दुई उपरानी लक्ष्मी र दयावती हुन् भन्ने अनुमान गर्न सकिन्छ। यी दुईको सन्तान नभएका तर इच्छावतीको भने एक छोरासहित चार छोरी रहेको उल्लेख भएकोले इच्छावती चाहिँ पहिल्यै क्षयरोग लागेर काशीतिर पठाइएकी नेवार भित्रिनी हुन् भन्ने देखिन्छ। यस वंशावलीमा उनीतिरका एक छोरा सिंहवीर शाही थिए भन्ने उल्लेख छ। ऐतिहासिक सामग्रीहरुमा रणसिंह शाही नामका पृथ्वीनारायण शाहका भित्रिनीतिरका छोरा देखिँदा वंशावलीमा उल्लेख भएको सिंहवीर शाही नै रणसिंह शाही हुनसक्छन्।

यस्तै इच्छावतीतिर दिव्यहस्ता, कुंजवती, पुण्यकुमारी र महाकुमारी गरी चार जना छोरीहरुसमेत रहेको र पटरानी नरेन्द्रलक्ष्मीतिर प्रतापसिंह, बहादुर र नारायण शाह गरी तीन छोराका साथै विलासकुमारी, श्रीकुमारी र श्रीमाधवती नामकी तीन छोरी समेत रहेको उक्त वंशावलीमा उल्लेख छ। यसमा चौतारा महारानी इन्द्रकुमारीतिर छोरा भएनन् भन्ने उल्लेख छ।

एक वंशावली ले पृथ्वीनारायण शाहका चार छोरा र सात छोरी गरी ११ जना सन्तान थिए भन्ने जनाउँछ। 

यस वंशावलीले पृथ्वीनारायण शाहका चार छोरा र सात छोरी गरी ११ जना सन्तान थिए भन्ने जनाउँछ। तत्कालीन राजदरबारसँग अत्यन्तै निकट सम्बन्ध भएका र गोरखाली राजाहरुलाई “गोरक्षाधीश” उपमा दिने योगी नरहरिनाथले प्रकाशित गरेको यो वंशावलीलाई अविश्वसनीय भन्न सकिने अवस्था छैन।

इतिहासकारले भने पृथ्वीनारायण शाहकी एउटै मात्र छोरी विलासकुमारी थिइन् भन्ने उल्लेख गरेका छन्। योगी भगवन्तनाथको सम्पर्कसूत्रबाट उनको सल्यानका युवराज रणभीम शाहसँग विवाह भएको थियो। पछि उनी सल्यान राज्यको रानी भइन्। रानी विलासकुमारीका बारेमा प्रशस्तै ऐतिहासिक पत्रहरु पढ्न पाइन्छ। भीमसेन थापाको समयमा रणभीम शाह राज्यच्यूत गरिएका थिए।

आचार्य (२०६१ः२०३) ले भने पृथ्वीनारायण शाहकी छोरी विलासकुमारी जेठी रानी इन्द्रकुमारीतिरबाट जन्मेको उल्लेख गरेका छन्। पृथ्वीनारायण शाहले आफ्नो जीवनकालमा आफ्ना अनौरस पुत्र (नेवार्नी उपरानीतर्फका छोरा) नरसिंह (रणसिंह)लाई खास महत्त्व दिएका थिएनन्। यिनले किशोर अवस्थामा प्रवेश गरिसकेको बेला राजा प्रतापसिंह शाहको राज्यकालमा रणसिंहले दरबारमा सक्रिय हुने अवसर पाएका थिए। त्यसबेला प्रतापसिंह शाहले आफ्ना सहोदर भाइ बहादुर शाहलाई उपेक्षा गरेका थिए।

प्रतापसिंह शाह राजा भइन्जेल बहादुर शाहले दरबारमा टेक्ने अवसर पाएनन्। उनी निर्वासित अवस्थामा थिए (बाबुराम आचार्य, “श्री ५ प्रतापसिंह शाह”-२०६०:९३)।

पृथ्वीनारायण शाहका पटरानीहरु इन्द्रकुमारी र नरेन्द्रलक्ष्मी, छोराहरु प्रतापसिंह शाह र बहादुर शाह अनि छोरी विलासकुमारीको मात्रै इतिहासमा चर्चा हुने गरेको छ। इतिहासकारहरुले उनका उपरानीहरु तथा अनौरस छोराछोरीका बारेमा चर्चा गर्न भने कञ्जुस्याइँ गरेका छन्।

प्रतापसिंह शाहबाट नेवार्नी उपरानीतिरका छोरा रणसिंहले राज्यका चौताराका रुपमा मान्यता पाइसकेका थिए। उनी दरबारमा अधिकारसम्पन्न भारदार थिए। राजकुमार नरसिंह शाह कान्छा भाइको हैसियतले रणसिंह शाहका रुपमा परिणत हुन आएपछि प्रतापसिंह शाहका आफ्ना सहोदर भाइ राजकुमार बहादुर शाह भने बोलिचालीमा “माहिला साहेव” को नाममा चिनिन थालेका पाइन्छन् ( आचार्य, २०६०:९४ )।

एक अर्को पत्रमा रणबहादुर शाहले बहादुर शाहलाई “माहिला बाबा” भनी सम्बोधन गरेको पाइएको छ। दरबारका मूलकाजी सर्वजित राना मारिएर राजेन्द्रलक्ष्मीलाई पनि थुनामा राखिसकेपछि बहादुर शाहले नायवी लिएपछि वि.सं. १८३५ भदौ सुदी ११ बुधबार बालक राजा रणबहादुर शाहले भारदारहरु योगनारायण मल्ल तथा ब्रजबासी पाँडेको नाममा एक लालमोहर जारी गर्दा “सर्वजित रानाले अकर्म ग-यो र काटियो मूलुकको भंनु श्रीमाहिला बाबालाइ बक्स्यौं इनैका मार्फत सित मामिला गर” भन्ने उल्लेख गरेका छन् (योगी,२०५५:३१)।

यस्तै पृथ्वीनारायण शाहका छोरामध्ये नारायण शाह भनिएका छोराको पहिल्यै मृत्यु भइसकेका कारण उनको गणना नगरिएको हुनसक्ने अनुमान (ईकान्तिपुर-२०७३ जेठ २९) इतिहासकार भद्ररत्न बज्राचार्यको छ। उनले पनि बहादुर शाहलाई पृथ्वीनारायण शाहका माहिला छोरा नै भएको उल्लेख गरेका छन्।

पृथ्वीनारायण शाहका पटरानीहरु इन्द्रकुमारी र नरेन्द्रलक्ष्मी, छोराहरु प्रतापसिंह शाह र बहादुर शाह अनि छोरी विलासकुमारीको मात्रै इतिहासमा चर्चा हुने गरेको छ। इतिहासकारहरुले उनका उपरानीहरु तथा अनौरस छोराछोरीका बारेमा चर्चा गर्न भने कञ्जुस्याइँ गरेका छन्।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ८ : ५७ बजे

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स

‘पौवादुङमा गोल्ड कप फुटबल’ माघ १ गतेदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप

लिपुलेकमा भारत र चीनको सहमतिप्रति अनेरास्ववियूको आपत्ती

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पछिल्लो समय

अपराधको राजनीतिकरण नगरौँ, रविको निलम्बन कानूनसम्मत छ

सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा– पर्साको वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल