‘असल नेता बन्नका लागि सबैभन्दा पहिला एक असल अनुयायी बन्नुपर्छ’ प्राचीन युगका महान दार्शनिक प्लेटोबाट दिक्षित अरिस्टोटल अलेक्जेन्डरले भनेका छन् ‘ब्रह्माण्डको सबैभन्दा आदर्श प्राणी मान्छे हो तर जब ऊ कानुन, र विधिबाट अलग हुन्छ अनि सबैभन्दा खराब त्यही मान्छे हुन्छ।’
केही समयअघि गण्डकी प्रदेश सरकारका एकजना मन्त्री राजीव गुरूङ (दीपक मनाङे)ले आफूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी छोडेर एउटा अभिव्यक्ति दिए- अब यो मन्त्रालय बेच्दैछु, नेपाली काँग्रेसले डेड करोड दिन आइसक्यो। एमालेले तीन करोड दिन्छ कि…!’ यो कुनै ‘पोलिटिकल स्टेटमेन्ट’ पनि थिएन र हुन पनि सक्दैन। मनाङेको यो पहिलो अराजकता पनि थिएन। यस्ता क्रियाकलापहरू उनले पहिलादेखि नै गर्दै आएका छन्।
हालैमात्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले उपाध्यक्ष हुँदाहुँदै एकजना वडाध्यक्षलाई ‘कार्यबाहक’ प्रमुखको जिम्मेवारी दिएर विदेश उडे। विधि र परम्पराअनुसार त्यो गलत थियो। जसलाई अदालतले पनि रोक लगाइदियो।
एउटा राजनीतिक प्रणाली, विधि र परम्पराबाट चल्दै आएको हाम्रो व्यवस्थामा यस्ता कार्यहरूले अराजकताभन्दा अर्थोक केही फइदा हुँदैन। यद्यपि राजनीतिलाई मजाकका रुपमा उपभोग गरिरहेका यस्ता धेरै पात्रहरू नेपाली राजनीतिमा छन्। राजनीतिमा टुसाइरहेका यस्ता अराजक हर्कतहरू, जसले अरिस्टोटलको त्यही भनाइलाई ठ्क्याक्कै बिम्बित गर्दछ। अरिस्टोटल बाँचेको त्यो एउटा आदर्श समाजको युग थियो र दार्शनिकहरूले पनि त्यस्तै आदर्श राज्यको परिकल्पना गर्थे। ‘राम राज्य’ भनौं वा आदर्श राज्य त्यो हरेक राजनीतिक आन्दोलन र राज्य संरचनाको एउटा गर्भपरिकल्पना पनि हो।
राज्य सञ्चालनका लागि अपनाइएका हरेक ‘वाद’, प्रणाली अनि सिद्धान्तहरूको एउटै लक्ष्य त्यही ‘आदर्श’ हो। जसले राष्ट्र, राज्य अनि नागरिकको बृहत्तर हितलाई जनाउँछ, हामीले भन्दै आएको ‘समृद्धि’को अन्तर्य पनि त्यही हो। राष्ट्र सञ्चालनका प्रणालीमा हाबी हुन थालेका यस्ता पात्रहरूका अभिव्यक्ति, उनहरूका हर्कत र व्यवहारबाट हामीले देशमा कस्तो राजनीतिक अभ्यासको सुरुवात गरिरहेछौं अनि कस्ता मान्छेलाई राजनीतिमा प्रेरित गरिरहेका छौं भन्ने कुरा प्रस्ट हुन्छ।
सयौं वर्षको बिरासत बोकेका एकल शासन प्रणाली अन्त्य भयो अनि संघीय प्रणालीको अभ्यास सुरु भयो। यद्यपि यो पहिलो दशकमै संघीयताबारे अनेक प्रश्नहरूमात्रै होइन यसप्रति आक्रोश र नैराश्य पनि बढिरहेको छ।
बीपी कोइरालाले ‘प्रजातन्त्रमा सुकिला, मुकिला र चिल्ला गाडीमा चढ्नेहरूको बिगबिगी हुनसक्छ र असल राजनीतिक कार्यकर्ताहरूले फेरि एकपटक संघर्ष गर्नुपर्ने हुनसक्छ…’ भनेर मात्रै नेपाली काँग्रेसका लागि भनेका थिएनन् बरु त्यो उनले सबै राजनीतिक दलहरूलाई भनेका थिए। किनकि हरेक राजनीतिक आन्दोलनको एउटा ध्येय भनेको मात्रै प्रजातन्त्र हो र जनताको समृद्धि हो। राष्ट्रियता र राष्ट्रको विकास पनि त्यसैमा गाँसिएको हुन्छ किनकि बिपीले भनेजस्तै राष्ट्रियता भनेको कुनै भूगोल वा त्यसको साँध र सिमानामात्रै होइन बरु जनताको भावना हो। प्रजातन्त्रमा यस्तै अराजकता मौलाउनसक्छ र राजनीतिलाई पैसा कमाउने र शक्ति अभ्यासको साधनमात्रै बनाउने होडबाजी चल्नसक्छ भनेरै बिपीले त्यो बेला आफ्नो नेतृत्व पुस्तालाई सचेत बनाउन त्यसो भनेका थिए।
आजको सन्दर्भमा ‘राम राज्य’ स्वरैकल्पना हुनसक्छ तथापि हामीले समयसापेक्ष एउटा आदर्श समाजको परिकल्पना र अभ्यास भने पक्कै गर्नसक्छौं। त्यसका लागि हामीले पटक पटक संघर्ष गरिसकेका छौं। इतिहासका धेरै पानाहरू बदलिसकेका छौं। हाम्रा पितापूर्खाले धेरैपटक रगत बगाइसकेका छन्। त्यसैको जगमा यो पुस्ता बाँचिरहेको छ। बोल्ने अधिकार छ। मान्छेलाई आफ्नो तरिकाले जिउन पाउने अधिकार छ। तर प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र यी सब स्वतन्त्रताका आयामहरूमा अराजकता भयो भने त्यो सबको अस्तित्व मेटिन्छ। स्वतन्त्रता, अराजकता अनि स्वच्छन्दताका भिन्न भिन्न अर्थ हुन्छन्। स्वतन्त्रताको अर्थ अराजकता होइन, अराजकताले प्रजातन्त्रको मर्म मेटाउँदै लैजान्छ। समाजको गतिलाई यसले छेक्दै जान्छ र राजनीतिमा अराजकता मौलाउँदै जाँदा त्यसले सिङ्गो व्यवस्थालाई नै खतरा उत्पन्न गराउन सक्छ।
राजनीतिक प्रणालीमा छिरेर अहिले यस्ता पात्रहरूले प्रदर्शन गरिरहेका यी र यस्ता नाङ्गो यथार्थता वर्तमान राजनीतिको एउटा धमिलो पाटो हो। लोकतन्त्रमा बिगबिगी भइरहेका मनाङे प्रवृत्तिहरूले अन्तत: व्यवस्था र शासनप्रणालीप्रति नयाँ पुस्तामा नैराश्य र आक्रोश जन्माउँछ। तर यसको जिम्मेवार भने हाम्रो राजनीतिक नेतृत्व र हामीले अभ्यास गरिरहेको राजनीति नै हो। राजनीतिमा लाग्नका लागि ती आदर्श अनि सिद्धान्तहरू होइन अब मात्रै पैसा र ‘पावर’मात्रै भए पुग्छ भन्ने भाष्य मनाङेहरूले जन्माइरहेका छन्। अनि नयाँ पुस्ताले त्यसैलाई ‘देश बन्दैन’ भन्ने न्यारेटिभ बनाइरहेका छन्। यसले सारा युवा पुस्तालाई राजनीतिबाट अझ दूर दूर लगिरहेको छ।
हरेक राजनीतिक प्रणाली र शासन व्यवस्थामा त्यहाँको भूगोल अनि सामाजिक संरचनाका अंशहरू मिसिएका हुन्छन्। हामीले अपनाइरहेका शासन व्यवस्थाले हामी कस्तो समाजको निर्माण गर्दैछौं भन्ने छर्लङ्ग पारेको छ। समाज अनि राजनीतिक बाटो यी दुबै परिपूरक रहन्छन्। कस्तो समाजको निर्माण गर्ने भन्ने कुरा त्यहाँको राजनीतिमा निर्भर रहन्छ त्यो हाम्रोजस्तो अल्पविकसित र अल्पचेत देशहरूमा हुनसक्छ अनि जहाँ राजनीतिलाई समाजले निर्देशित गरिरहेको हुन्छ त्यहाँको समाज वा भनौं त्यहाँ नागरिक चेतको स्तर अलि उपल्लो हुन्छ। बिद्रोह, चेतना र विवेचनाबीच धेरै फरक छ। यस अर्थमा हामी भन्नसक्छौं हाम्रै राजनीतिक चेतको जगमा हाम्रो समाज हुर्किरहेको छ अनि यही चेतमा हाम्रो पुस्ता बढिरहेको छ। यसले भविष्यमा नेपाली राजनीतिप्रति यति धेरै वितृष्ण जन्माउनेछ कि यहाँ राजनीतिक दलहरू आफै अस्तित्वको संकटमा पर्नेछन् त्यो भनेको हामीले पटक पटक लडिल्याएको परिवर्तनहरूको इतिहास फेरि मेटिनु हो वा हामी आफैले मेटाउनु हो।
एउटा राज्य प्रणाली र शासन व्यवस्थाको अन्त्य गरेर हामीले ‘संघीयता’को अभ्यास गर्न थालेको दश वर्ष पनि पुगेको छैन। यद्यपि नेपालमा छोटो समयमा धेरै शासन व्यवस्थाको अभ्यास अनि प्रयोग हुँदै आएको छ। तथापि २०६२/०६३मा तत्कालीन जनआन्दोलनका सर्वोच्च कमाण्ड स्व. गिरिजाप्रसाद कोइरालाको ‘अबको पुस्ताले आन्दोलन गर्न पर्दैन’ भन्ने आह्वानमा पूरै नागरिक समाज आन्दोलित भएका हुन्। त्यसैको सफलतापछि देशमा ऐतिहासिक परिवर्तन भयो। राजतन्त्रको अन्त्य भयो अनि गणतन्त्र आयो। सयौं वर्षको बिरासत बोकेका एकल शासन प्रणाली अन्त्य भयो अनि संघीय प्रणालीको अभ्यास सुरु भयो। यद्यपि यो पहिलो दशकमै संघीयताबारे अनेक प्रश्नहरूमात्रै होइन यसप्रति आक्रोश र नैराश्य पनि बढिरहेको छ। तथापि गणतन्त्र अनि संघीयता हठात् अपनाइएका प्रणालीहरू थिएनन्। कैयौ व्यवस्था र प्रणालीहरूबाट शासित अनि शोषित भएका नागरिकको मनोभावका लामा अनि ऐतिहासिक पृष्ठभूमिहरू त्यसमा जोडिएका छन्।
स्वशासन र साझा शासनको बिराट परिभाषा बोकेको संघीयतालाई आज हाम्रा राजनीतिक दल र यसका नेतृत्वले मजाक बनाउने पात्रहरू जन्माइरहेका छन्।
प्रजातन्त्रको विकल्प अझ उन्नत र सुदृढ प्रजातन्त्र हो भनेरै हामीले त्यसलाई अझ समृद्ध बनाउन गणतन्त्रात्मक शासन प्रणाली अपनाएका हौं। संघीयता त्यसैको उपज हो। तर राजनीतिमा मौलाइरहेका ‘मनाङे’ प्रवृत्तिहरूले त्यसको मजाकमात्रै उडाएको छैन, बरु त्यसप्रति नयाँ पुस्ताको भावना नै विकृत बनाउने प्रयासहरू भइरहेका छन्। सत्ता शक्ति र अभ्यासको बाँडफाँड नै संघीयता हो। अर्थात् संघीय शासन प्रणालीमा केन्द्रीकृत शासन प्रणालीका सारा अधिकारहरू तल्लो तहसम्म बाँडिएको हुन्छ। यसको अर्थ राजनीति भनेको सत्ता र शक्तिको अभ्यासमात्रै होइन बरु त्योसँगै अधिकार र कर्तव्यको बिनिमय पनि हो।
संसारभरि अभ्यास गरिएका संघीयताका धेरै स्वरुपमध्ये नेपालमा अपनाइएको संघीयता भनेको अधिकारको समान बाँडफाँड र त्यसको अभ्यासका लागि सहकार्यमूलक राजनीतिक पद्धतिको रुप हो। तल्लो तहदेखि नागरिकको सामूहिक भावनालाई एउटा शासकीय पद्धतिमा बाँधिएको बन्धन नै संघीयता हो। त्यसैले यो शासकीय प्रणाली भनेको त्यो बेला बिपीकालमै रचिएको समाजवादको मूलमर्म पनि हो। त्यो बेलै बिपीहरूले नेपाली राजनीतिमा रोपेको समाजवादको सिद्धान्तको गर्भरचना त्यही भूइँतह अर्थात् भुइँमान्छेको भावना थियो। वा भनौं पहिचान र सामर्थ्यको साझेदारीमा आधारित शासन प्रणाली नै संघीयता हो।
स्वशासन र साझा शासनको बिराट परिभाषा बोकेको संघीयतालाई आज हाम्रा राजनीतिक दल र यसका नेतृत्वले मजाक बनाउने पात्रहरू जन्माइरहेका छन्। यसै पनि एक दशक पुग्दा नपुग्दा संविधान, यसका चरित्र अनि परिवर्तनका मर्महरूप्रति आम निराशा ब्याप्त भइसकेको छ। यस्तो अवस्थामा मौलाइरहेको मनाङे प्रवृत्तिले नेतृत्वप्रति झन् निराशा, आक्रोश र अराजकतालाई बढवा दिइरहेका छन्।
नेपाली राजनीति र यहाँभित्र राजनीतिक नेतृत्वले जन्माइरहेका ‘पात्र’हरूले नेपाली राजनीतिलाई कस्तो र कुन बाटोमा हिँडाउँदैछन्? आत्मसीमक्षा गर्न जति ढिला भयो उति नै हाम्रा लागि राजनीति दुर्भाग्यबाहेक अरु केही हुनेछैन। अनि त्यो बेला हाम्रा परिवर्तन र उपलब्धिहरू रहलान्, नरहलान् त्यसको सारा जिम्मेवार हाम्रै राजनीतिक दल र यसका नेताहरू हुनुपर्ने नै छ। तर त्यतिञ्जेल धेरै ढिला भइसकेको हुनेछ।
प्रतिक्रिया