रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ? | Khabarhub Khabarhub

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित आन्दोलनमा छ । अध्यक्ष रवि लामिछानेलाई पोखरा प्रहरीले हिरासतमा राखी छानबिन थालेपछि पार्टीको सम्पूर्ण शक्ति खबरदारीमा उत्रिएको छ ।

अध्यक्ष लामिछाने सहकारीको पैसा अपचलनको आरोपमा प्रहरी हिरासतमा रहिरहँदा सो पार्टीका केन्द्रीय नेताहरू भने सहकारी पीडितको रक्षकका रुपमा आफूहरुलाई प्रस्तुत गरिरहेका छन् ।

राजनीतिक राप, ताप चलिरहँदा आफूले दुख गरेर सहकारीमा जम्मा गरेको पैसा उठाइदिन पीडितहरुले सडकबाट दबाब बढाइरहेका छन् । के चाहन्छन् सहकारी पीडित ? राजनीतिक प्रतिशोधको भुंग्रोमा परेर आफ्नो मुद्दा ओझेलमा त पर्दै छैन ? पटक पटकको सडक आन्दोलनपछि पनि पीडितले किन न्याय पाएनन् ? सहकारी पीडितहरूसँग कृष्ण तिमल्सिनाले गरेको संवाद :

गुणराज आचार्य, सहकारी पीडित पोखरा

सहकारीमा पैसा जम्मा गर्ने भनेको व्यवहार चलाउन हो । यथेष्ट पैसा भएर कसैलाई सहकारीमा पैसा जम्मा गर्दैन । जब दुई वर्ष अगाडि सूर्यदर्शन सहकारीबाट पैसा निकासा हुन छोड्यो, हामीले राखेको बचत दिनेलिने उनीहरूले बन्द गरे ।

हामी राजनीतिक रुपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका थियौँ । सहकारीमा पैसा रोकिएपछि बेला बेला विज्ञप्ति, ज्ञापन पत्रमार्फत रवि र स्वस्तिमाको ध्यानाकर्षण गराएका थियौं । पहिलो अनुसन्धानबाट १४ जनालाई पक्राउ पुर्जी जारी गरियो, दोस्रोमा १९ जना तानिँदा रविको नाम पनि जोडियो ।

गोर्खा मिडिया गु्रपकाविरुद्ध पनि हामीले जाहेरी दियौं । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री हुँदा संसदीय समिति र उच्च अदालतले पोखराको जाहेरी माग्यो ।

उहाँले त्यो जाहेरी नपठाउनू भनेर दबाउनु भयो । फलस्वरुप जाहेरी कास्कीमै राखियो । पछि उहाँ निर्दोष भनेर आयो । हामीले फेरि आन्दोलन र भेटघाट गर्दा यहाँ रहेछ मैले देखिनँ भनेर काठमाडौंमा पठाइदिनु भयो । त्यसपछि सरकार फेरियो ।

गोर्खा मिडियामा हाम्रो ३० करोड पैसा गएको छ भनेर जीबी राई लगायतका केही व्यक्तिहरू बसेर साढे ६ करोड प्रत्यक्ष रूपमा ल्याएका छौं । अरु पैसा सुप्रिम हुँदै ल्याएको पैसा ३० करोड बराबरको बिगो दिएका छौं यो बेचेर वा सेयर दिन चाहनु हुन्छ भने दिन्छौँ भनेर नेपाली कागजमा ल्याप्चे गरेर हामीलाई दिनु भएको छ ।

हामीलाई पैसा चाहिएको हो, त्यो कुनै व्यक्ति पार्टीसँग सम्बन्धित कुरा होइन भन्यौं । गोर्खा मिडियामा गएको पैसा भान्से भएर त्यसै खान हुँदैन, कहाँबाट आयो आफ्नो भाँडामा भनेर त थाहा पाउनु पर्‍यो नि । त्यसैले उहाँको बिगो छुट्याएर हाम्रो बचत फिर्ता गरियोस् भन्ने हाम्रो माग हो । रास्वपाका उच्च नेताहरू घरघरमा आएर हामी पीडितको पक्षमा छौँ भन्छन् । यो दुई वर्ष उनीहरु कहाँ गएका थिए ?

सीता तिवारी ओझा, सहकारी पीडित

अदालतले सत्यतथ्य छानबिन गरोस् । सानो पसल गरेर कमाएको ८ लाख ६० हजार पैसा डुबेको छ । त्यो फिर्ता गरियोस् भन्ने मेरो माग हो । अहिले पनि तपाईँहरूको पैसा दिन्छौँ भन्नु हुन्छ, जसले लगेको छ, त्यसको सम्पति जफत गरेर भए पनि ल्याउँछौँ त भन्नु भएको छ । तर पाएका छैनौँ ।

रवि लामिछाने पक्राउ परिसकेका छन् । उनी निर्दोष हो या होइन, हामीले हल्लाका भरमा दोष लगाउनु हुँदैन । यही दोषी भन्ने हामीलाई थाहा छैन, तर अदालतले सत्यतथ्य छानबिन गरेर दोषी हो भने कारबाही गरोस् र निर्दोष भए स–सम्मान रिहा गरियोस् । हाम्रो पैसा हामीलाई दिनु पर्‍यो ।

किरण श्रेष्ठ, पीडित

धेरै जान्नेले पोखरामा कार्यक्रम गरिरहेका छन् । रवि पक्राउ पर्नुभन्दा अगाडि कुनै त्यस्तो विचित्रको अवस्था पोखरामा बनेको थिएन । पीडितले न्याय चाहियो भनेर बचत फिर्ता हुनु प¥यो भन्ने आवाज मात्रै हुन्थ्यो । त्यो आवाज पनि कुनै ठूलो, कुनै साना भएका छन् । तर, अहिले रवि पक्राउपछि यहाँ कथावस्तु नै फेरिएको छ । औचित्य नै नभएका कार्य पनि भएका छन् । यस्ता गतिविधि हामी सहकारी पीडितको विपक्षमा हो ।

हिजो यिनै जनताले भोट हालेर त्यो ठाउँमा पु¥याइयो । आज त्यही पार्टीका नेता हाम्रो विपक्षमा हिँड्नु नराम्रो हो । अहिलेको रास्वपाको घरदैलो कार्यक्रम फोहोर

गरिसकेपछि दैलो देखेँ भन्ने उखान जस्तै हो । किनकि जुन समयमा कुरा उठाउनु पर्ने थियो, त्यो बेला वास्ता गरिएन । पीडितले २ वर्ष अघिबाट हारगुहार गरेका हुन् ।

हिजो सरकारमा भएको बेला यो काम गर्नुपथ्र्यो । सभापति पक्राउ परेपछि मात्रै पोखराको सडकमा उफ्रेर, कराएर, घरदैलो कार्यक्रम गरेर पीडितले न्याय पाउँछन् पैसा फिर्ता हुन्छ ?

पीडितको समस्या समाधान हुने नीति निर्माण तहमा दबाइदिने ठाउँ होला, कुन सरकारसँग के गर्नु पर्छ, कुन ठाउँमा के गर्नु पर्ने भन्ने चेतना पनि छैन होला त ? त्यसैले अहिले उहाँहरूले गोहीको आँसु देखाएर वा रगतको आँसु नै झारेर पीडितलाई ‘न्याय दे’ भनेर अब कसैले पत्याउँदैन ।

हामी कुनै पार्टी विरोधी हैनौँ । एक व्यक्ति यो प्रकरणमा मुछिएकोभन्दा पनि यो सामान्य अनुसन्धानको विषय हो । जाहेरी परेको हो । भोलि अनुसन्धानमाा निर्दोष भए हामी पोखराका पीडितले नै फूलमाला लगाएर पठाउँछौँ ।

नेकपा एमालेका ऋषिकेश पोखरेल र नेपाली कांग्रेसका धनराज गुरुङले मेरो पैसा खाएका होइनन् । उनीहरूले जुन सहकारीसँग जोडिन्छन, त्यहीँ पीडितले जाहेरी दिनुपर्यो‍ र पैसा पीडितले फिर्ता पाउनु पर्यो‍ ।

जो कसैले सहकारीको पैसा अपचलन गरेको छ भने त्यसलाई कारबाही गर्नु प¥यो र बचत फिर्ता गर्ने वातावरण बन्नु प¥यो । म सूर्यदर्शन सहकारीको पीडितले म धनराजलाई मुद्दा हाल्ने कुरा त आएन ।

अहिले बजारमा तपाइँहरू रविको ६५ करोडको पछि लागेर ८७ अर्ब ओझेलमा पर्दैछ भन्ने नारा लगाइरहेका छन् । यतिका विद्वानले यस्ता कुरा गर्छन् । हामीले त हाम्रो पैसा नै खोज्ने हो । कुनको कति हो त्यो सबै सहरकारीले खोज्ने हो । जहाँ जुन समस्या छ, सरोकारवालाहरूले त्यहीँबाट संघर्ष गर्नुपर्यो‍ ।

अहिले हामी सबै पीडितको कुरा रवि लामिछानेलाई निष्पक्ष रूपमा छानबिन हुन देऊ, सबैले अनुसन्धानमा सहयोग गरौँ भन्ने छ । उहाँहरूको सभापति भोलि निर्दोष हुनु भयो भने रिहा हुनुहुन्छ तर अनुसन्धान गर्नै नपाउने भन्ने गरे विरोध गर्नु पर्ने भन्ने छैन । यो देशमा योभन्दा अगाडि कुनै सभापति मन्त्रीहरू पक्राउ परेका छैनन् होला र ! यसरी सबैले सभापति पक्राउमा विरोध गर्दै हिँड्दा त नेपाल भ्रष्टाचारको देश बन्छ नि ।

हामी कुनै राजनीतिक दलका कार्यकर्ता नभएर नितान्त पीडित हौँ । हामीलाई बचत फिर्ता चाहिएको हो । यो पार्टीले यसै गर्ने हो भने हामीले पोखरामा दबाबमूलक कार्यक्रम गर्नुपर्छ । यो पार्टी हामी जस्तैले बनाएको पार्टी हो ।

यसको विरुद्ध अर्को आउन सक्दैन भन्न सकिँदैन । यो पार्टीसँग हाम्रो केही लिनुदिनु छैन । फिर्ता गराउने सरकारले हो । त्यसैले सरकारमा जुनसुकै दल गए पनि तुरुन्त सहकारी पीडितको समस्या हल गर्नुप¥यो । सहकारी अपचलनकै कारण धेरै मानिस मरिसके । मानसिक रुपमा धेरै विक्षिप्त छन् । मान्छे मर्दा दाउरा किन्ने पैसा छैन । त्यसैले हामी निरन्तर सरकारलाई दबाब दिइरहेका छौँ । सरकार इमान्दारपूर्वक लाग्यो भने बचत फिर्ता गर्न कठिन हुँदैन ।

निरन खत्री, पीडित

हामी रवि लामिछानेको पार्टीलाई भोट दिने मान्छे हौं । रवि रिहा भएपछि रकम आउला कि भन्ने लागेको छ । उहाँलाई थुनेर पनि केही हुनेवाला छैन । पैसा लिएको छैन भने आन्दोलनको औचित्य पनि रहँदैन । बरु उहाँलाई हिरासतमुक्त गरेर पीडितको पैसा फिर्ता दिए हुन्थ्यो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  २ : ४४ बजे

‘१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन अन्तिम चरणमा’

काठमाडौं – गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा

रास्वपाको निष्कर्ष- प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य रहेनन्

काठमाडौं–प्रहरी हिरासतमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ

खसीबोकामा आत्मनिर्भर बन्यो कोशी प्रदेश, भारततिर निर्यात सुरु

सुनसरी – खसीबोकाको मासुमा कोशी प्रदेश तीन वर्षयता आत्मनिर्भर देखिएको

भारतविरुद्धको खेलमा दर्शकले भरिभराउ दशरथ रंगशाला (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनल खेल हेर्न