कोहार समुदायको माग- परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो « Khabarhub

कोहार समुदायको माग- परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ छन् । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पुर्ख्यौली पेसा सम्हारिरहेका छन् । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पुर्ख्यौली पेसालाई व्यावसायिक बनाएका छन् ।

तिहार आउन तीन मात्र बाँकी हुँदा दुवै भाइलाई बत्ती बाल्न प्रयोग हुने माटोको पाला बनाउन र त्यसलाई बिक्री गर्न भ्याइनभ्याइ छ । माग र लगन दुवै उत्तिकै भए पनि यही पेसाले चार जनाको परिवार पाल्दै आएका मोहनले माटो, दाउरालगायत आवश्यक सामान नपाइँदा समस्या भइरहेको बताए । परासी, बुटवल, भैरहवा, खैरेनी र स्थानीय बजारमा पालाको माग रहेको उनको भनाइ छ । रूपन्देहीको धकधईमा यो पेसा गर्दै आएका करिब ३० परिवार छन् ।

तिहारलाई उज्यालो पर्वको रूपमा लिइने हुँदा दीपावली पनि भन्ने गरिन्छ । तिहारमा माटोको पालामा बत्ती बाल्ने पुरानो चलन अझै पनि कायमै छ । यद्यपि पालामा तेल हालेर बत्ती बाल्ने प्रचलनलाई आधुनिकतासँगै आएको विद्युतीय बत्तीले प्रभाव पारेको छ ।

मोहन र सोहनलाई मात्रै होइन अन्य समयभन्दा तिहारका समयमा अत्यधिक बिक्री हुने भएकाले धकधई गाउँका सबैजसो घरपरिवारलाई पाला बनाउन नभ्याइनभ्याइ छ । ४५ वर्षीय बैजनाथ कोहारको पनि यस वर्षको तिहारमा साना ठूला गरी ५० हजार पाला बिक्री गर्ने लक्ष्य छ । उनी भन्छन्, ‘अन्य समयभन्दा हामी अहिले बढी व्यस्त छौँ, दुई महिनादेखि नै पाला बनाउन लागेका छौँ, यो हाम्रा लागि उपयुक्त समय हो । तीन पुस्तादेखिको यो पेसालाई मैले पनि निरन्तरता दिँदै आएको छु ।’

विसं २०५५ देखि बैजनाथले निरन्तर माटोको पालालगायतका अन्य सामग्री बनाउँदै आएका छन् । सामान बनाउन सके बिक्री गर्न त्यति गाह्रो नभएको उनको अनुभव छ । ‘पहिला पोखरासम्म पालालगायतका सामान जान्थ्यो, अहिले यही स्थानीय बजार भैरहवा, बुटवल, मणिग्राम, परासीलगायतबाट व्यापारी आएर लैजान्छन् । मेहनत बढी छ, कमाइ कम छ तर खुसी छौँ, यही पाला बनाएर जीविकोपार्जन भएको छ’, बैजनाथले भने,’ पेसा बचाउन र निरन्तरताको लागि सरकारबाट पनि केही सहयोग भए राम्रो हुन्थ्यो । अहिलेसम्म कुनै सहयोग पाएका छैनौँ । कम्तीमा विद्युत् मोटरबाट चल्ने एउटा चक्की सहयोग गरिदिएको भए राम्रो हुने थियो ।’

सोही गाउँका मनोहरप्रसाद कोहारले पाला बनाई बिक्री गर्न लागेको २५ वर्ष भयो । उनलाई सानो पाला सय कडा ५ रुपैयाँ र ठूलो पाला २५ पैसा प्रतिगोटामा बिक्री गरेको स्मरण छ । अहिले सानो पाला ३० रुपैयाँ दर्जन र ठूलो पालाको मूल्य १० रुपैयाँ गोटा पुगेको छ । हाल उनलाई पनि पाला बनाउन भ्याइनभ्याइ छ ।

उनी भन्छन्,’पालामा बत्ती बाल्ने प्रचलन अझै कायमै छ, त्यसैले अन्य समयमा हामीले राम्रो कारोबार गर्न नसके पनि तिहारको बेला ठिकै छ । यो पेसाबाट पाँच जनाको परिवारको गुजारा चलेको छ ।’ यस पटकको तिहारमा ८० हजार रुपैयाँभन्दा बढीको पाला बिक्री गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए । मनोहरले नयाँ पुस्तामा पेसा हस्तान्तरणमा गर्नका लागि स्थानीय तहबाट सहयोग, तालिमको व्यवस्था गरिनुपर्नेमा जोड दिए  ।

पालालगायत माटाका अन्य सामान बनाउन प्रयोग हुने माटो एक ट्रालिकै तीन हजार रुपैयाँसम्म पर्दछ । दाउरा पाउन पनि समस्या नै छ । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले अबको वार्षिक कार्य योजनामा यो विषयमा ध्यान दिई पेसा संरक्षणका लागि आवश्यक सहयोग गर्ने बताए । उनले यस्ता परम्परागत पेसालाई जोगाउन गाउँपालिकाले कार्य योजना बनाइ आवश्यक बजेट विनियोजन गर्ने बताए  ।

माटोका पालालगायतका अन्य सामान बनाउने पेसामा आश्रित कोहार समुदाय आफूहरूलाई बजारभन्दा पनि माटोको वस्तु बनाउने परम्परागत चक्कीको साटो विद्युतीय मोटर, माटोमा अनुदान र तालिम प्रदान गरे यो पेसा सुरक्षित हुनुका साथै पुस्तान्तरणमा समेत सहयोग पुग्ने बताउँछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ४१ बजे

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी