छठ पर्वको सांस्कृतिक तथा पौराणिक महत्त्व अनेक छ । तराई, मधेशमा विशेष उत्सवका रूपमा मनाइने छठ अचेल पहाड चढिसकेको छ । पछिल्लो समय पहाडी जिल्लाहरू र उपत्यकामा पनि छठ उत्सवमय हुन थालेको छ । काठमाडौंसहितका सहरी क्षेत्रहरूमा समेत उत्तिकै उत्सवका रूपमा छठ मनाउन थालिएको छ । सूर्यको उपासना गरेर मनाइने यस पवित्र पर्वको विशेष दिनका सन्दर्भमा मैथिली धर्मसाहित्यविद् रमेशरञ्जन झासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
छठ पर्वमा सूर्यको उपासना गरिने चलन छ । उदाउँदो सूर्य, अस्ताउँदो सूर्यलाई अघ्र्य दिने चलन छ । तराई,मधेससहितमा छठ मनाउनेहरूले आफैंले उत्पादन गरेका सामग्रीहरू प्रयोग गर्ने व्यापक चलन छ । यस पर्वलाई हामीले कसरी अंगिकार गर्दै आयौँ ?
हाम्रा पर्वहरू सबै उत्सव हुन् । छठ त कृषि उत्पादनमा निर्भर समुदायको उत्सव हो । पहिलेबाटै राजा र सामन्तहरू पनि यी उत्सवमा सहभागी हुन थाले । प्रारम्भिक चरणमा कृषियुग सुरु भएदेखि नै यो पर्वको मनाउन थालिएको मेरो मान्यता छ । त्यसैले यो मिथिलाञ्चलको पुरानो भूभागसँग जोडिएका क्षेत्रमा मनाउँदै आइएको छ । मिथिलामा छठ भनेको महत्त्वपूर्ण उत्सवका रुपमा छ ।
सूर्यको आराधना गरिन्छ । छठलाई छठी मैया पनि भनिन्छ, यो भनेको के हो ?
यो एक प्रकारको प्रकृति पूजा हो। प्रकृति पूजामा दुईवटा कुरा महत्त्वपूर्ण छन्, एउटा सूर्य र अर्को जल । सूर्य र जलबिना जीवन अघि बढ्दैन । त्यसकारण सूर्य र जल जीवनका लागि महत्त्वपूर्ण भएकाले नै यी दुईको पूजा गरिन्छ । वर्षातको मौसममा जलासाय भत्केका, बिग्रेका हुन्छन् । पानी पनि फोहोर हुन्छ । तिनको संरक्षण गर्न पनि यो पर्व मनाइन्छ ।
प्रकृति र सूर्यको पूजामा सौभाग्यका कुरा हिन्दुमा पनि आउलान् । समाजको कोणबाट समानताका कुरा पनि आउलान्, एकताका पनि आउलान् । यसमा नेपालको हिन्दु सभ्यता कसरी प्रतिबिम्बित हुन्छ ?
यो हिन्दु सभ्यता होइन । हिन्दु त धेरै पछि स्थापित गरिएको हो । यसलाई अहिले कयौँ नामले सम्बोधन गर्न थालिएको छ । यो प्रकृतिको पूजा गरेदेखि नै आएको हो । अहिले आएर धर्मसँग जोडिएको हो । यसलाई हिन्दुसँग जोड्नु पर्दैन । यो अहिले जता पनि मनाउन थालिएको छ ।
पृथ्वी उत्पत्तिमा सूर्यको भूमिका पनि छ । मानव सभ्यताको विकासको समयमा सूर्यको भूमिका भएकैले हामी सद्भाव र सत्कार दर्शाउँछौँ । सूर्यको पूजादेखि नै छठ सुरु भएको हो ?
जीवको विकास नै सूर्य र पानीको माध्यमबाट भएको हो । मान्छेका रूपमा आइसकेपछि यी दुई सबैभन्दा बढी आवश्यकताका भए । हाम्रा जति पनि सभ्यता छन्, यी सबै पानीको कारणले नै विकास भए । सूर्यले हामीलाई ऊर्जा दिन्छ । जब मनुष्य जगत चेतनशील हुन थाल्यो, त्यसपछि अरु कुनै शक्तिको, ऊर्जाको स्रोतको परिकल्पना गर्यो ।
यसको नाम कसरी राखियो ?
षष्ठी तिथिमा मनाइने भएकोले यसको नाम छठ राखिएको हो । योबीचको समय हो । अब मंसिर सुरु हुन्छ, कृषक ठूलो मात्रामा अन्न भित्र्याउने चटारोमा यही बेला लाग्छन् । वर्षातमा भत्किएका घरलाई दशैंतिहार मनाएपछि मर्मत गरिन्छ । पहिले घर माटोले बनाएर खरको छानो हालेका हुन्थे । त्यो सबै वर्षातमा भत्किने भएकाले मर्मत सम्भार गर्ने, जंगलमा लागेका लेउ सफा गर्ने र धान काट्ने समयमा फेरि प्रकृतिलाई पूजा गर्ने कृषकहरूको उत्सव हो यो ।
पूजा दुई प्रकारका हुन्छन् । एउटा यस्तो शक्तिलाई पूजा गरिन्छ, त्यो शक्ति मान्छेको जीवनको सहायक हुन्छ । अर्को उसको भयको कारक तत्व हुन्छ । त्यसको भय आफूमाथि नपरोस् भनेर छठ मनाइन्छ ।
चैते छठ चाहिँ के हो ?
चैते छठ भनेको दसैँपछि निश्चित भएको हो । यो मान्छेहरूको कुरा हो । सुरुमा त यो कृषकहरूको उत्सव थियो, पछि सामन्त पनि आए । उनीहरूले नयाँ नयाँ उत्सवहरू मनाउन थाले, जति पनि उत्सव हुन्छन्, त्यसमा राज्यको सहभागिता हुन्छ । राज्यले कर पाउने भयो । सुरुमा त सूर्य, जल र जमिनमा उत्पादनको केही अंश अर्पण गरेर पूजा गर्ने उत्सव हो ।
सुरुमा आफ्नै माटोमा फलेको चामल उखु, गुँड, अदुवा, हल्दी र बाँसबाट बनाएको माटोले बनाएका सामान प्रयोग गरिन्थ्यो । पछि सामन्तहरू राजाहरू छिरदेखि बजारतिर पुगेको छ ।
हामीले मौलिकता हामीले बिर्सेको हो त ?
मौलिकता अझै पनि छ । स्वरूप त एकै रहँदैन, यो उत्सव र पुजापद्धति पुरानै हो । बजारले केही चिज नयाँ मागिरहन्छ । हिमालमा उत्पादन हुने स्याउ आयो, समुद्र किनारमा उत्पादन हुने नरिवल पनि आउने वातावरण बनायो, त्यो सबै समयले हो ।
मैथिली साहित्य संस्कृतिका रुपमा नयाँ पुस्ताले कतिको अनुसरण गरेको देख्नुहुन्छ ?
यो १०० प्रतिशत अनुशरण भएको छ । यस्ता उत्सवहरू कहिले समाप्त हुन सक्दैनन् । तर परिमार्जन भने होलान् । पुस्तान्तरण हुँदै जान्छन् । समयले सबै कुराको बरुप दलेको छ । उत्पादनको रूप बदलिएको छ । हिजो सीमित क्षेत्रमा उत्पादन हुन्थ्यो । अहिले कहाँको उत्पादन कहाँ कहाँसम्म बजारले पुर्यायो । गाउँ गाउँमा पुग्यो, संस्कृति भनेको नदीको पानी जस्तै हो । निरन्तर बगिरहन्छ । बाह्य प्रभाव रोकेर जोगाउनुपर्छ हामीले ।
प्रकृतिको पूजा, सूर्य, जल, जमिनको पूजाका नाममा हामी उत्पादन अपर्ण गर्छौँ । अहिले किन पुरुषको पूजा, पुत्रको पुजा, पतिको पूजा आदि आए ? अहिले छठलाई नारी सर्वोच्चता स्थापित गर्ने पर्व भनेर उपनाम पनि दिइएका छन् नि ?
व्याख्या त कयौँ तरिकाले गर्न सकिन्छ । जतिबेला सूर्य र प्रकृति पूजा हुन्थ्यो, त्यो बेला पनि कामना हुन्थे । त्यसमा पुरुष, परिवार र समुदायप्रतिको कामना थियो नि । आज मान्छेप्रति नितान्त कामना हुँदै गएको छ । आफ्नो परिवारमा उन्नति प्रगति होस् भन्ने कामना छ । अहिले मेरो खेतमा अन्न फलेन भने खान पाउँदिन भन्ने चिन्ता छैन नि ।
प्रतिक्रिया