अर्थसंक्षेप : उद्योगमा लाइन पुनः जोड्ने प्राधिकरणको निर्णय, ११.२४ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : उद्योगमा लाइन पुनः जोड्ने प्राधिकरणको निर्णय, ११.२४ अंकले घट्यो नेप्से


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड महशुल नतिर्ने उद्योगमा काटेको लाइन फेरि जोड्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

आजका प्रमुख आर्थिक समाचारहरुः

महशुल बक्यौता उठाउँदै उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्डको निर्णय

नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड महशुल नतिर्ने उद्योगमा काटेको लाइन फेरि जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले उद्योगमा लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने निर्णय गरेको प्रवक्ता चन्दनकुमार घोषले बताए ।

मन्त्रिपरिषद्को निर्णय र ऊर्जा मन्त्रालयको लिखित निर्देशनपछि प्राधिकरण सञ्चालक समिति बैठकले पनि महशुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको उनले बताए । ‘उद्योगमा पुनः लाइन जोड्ने विषयमा दुईमत छैन, निर्णय भइसक्यो । महशुल बक्यौता उठाउने सरकारको निर्णयसमेत बोर्ड बैठकबाट टुङ्गिएको छ’, उनले खबरहबसँग भने ।

कुलमानलाई फेरि ६ बुँदे स्पष्टीकरण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको मन्त्रालयले फेरि ६ बुँदे स्पष्टीकरण माग गरेको हो ।

यही कात्तिक १३ गते ऊर्जा सचिव सुरेश आचार्यले बिदा बाहेक सातदिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका थिए । १३ गते पत्र पठाए पनि १५ देखि १९ गतेसम्म तिहार बिदा भयो । २२ गते छठको बिदा प¥यो । त्यही कारण सरकारले पठाएको पत्रको जवाफ पठाउने अन्तिम दिन आज हो । हालसम्म घिसिङले यसको जवाफ नपठाएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

अहिलेको स्पष्टीकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमै नउठाएको, मन्त्रालय मातहतको निकाय भए पनि सबै जानकारी किन माथि नदिएको जस्ता विषय समेटिएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २४ सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमबार सुन तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

११.२४ अंकले घट्यो नेप्से, १५७ कम्पनीको शेयर मूल्यमा गिरावट

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । आज नेप्सेमा ११.२४ अंकको गिरावट आएर २७४८.९६ बिन्दुमा पुगेको हो । आजको कारोबारमा नेप्सेमा २४४ वटा कम्पनीको कारोबार हुँदा १५७ वटा कम्पनीको शेयर मूल्यमा घटेको छ । त्यस्तै, नेप्सेमा १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

जसमा ८० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ७ वटा कम्पनीको शेयर मूल्य भने हिजोकै अवस्थामा रह्यो । आज नेप्सेमा भएको शेयर कारोबारमा वित्तीय क्षेत्र, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्य बढ्यो भने अन्य समूहको शेयर सूचक रातो भएको छ । त्यस्तै, आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने गुडविल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

साल्ट ट्रेडिङ धनुषाबाट १८ करोड ६२ लाखको नुन बिक्री

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०–८१ मा १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा पाँच करोड २३ लाख मूल्य बराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दशैँ–तिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।

गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सो सहुलियतदरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर दुई लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए । सहुलियत दरका सो पसलबाट २४ प्रतिप्याकेट तथा सोझै डिलरमार्फत २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए ।

लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुन नहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकामा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको आज उद्घाटन गर्दै उनले ‘मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धिमा समेत नकारात्मक असर पार्छ ।’

विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्नेमा उनले जोड दिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग

काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज रायले महानगरले उक्त कार्यका लागि पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए ।

मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए।

उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताए ।

कतार एयरवेजले अब नियमित रुपमा दोहा–भैरहवा–काठमाडौँ–दोहा ‘रुट’मा एक उडान गर्नेछ । उक्त विमान कम्पनीले आगामी मङ्सिर १५ गतेसम्म गौतमबुद्ध विमानस्थलमा उडानको अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

रसुवा सुक्खा बन्दरगाह : ६५ प्रतिशत निर्माण कार्य सम्पन्न

चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा निर्माणधीन रसुवा सुक्खा बन्दरगाह ६५ प्रतिशत निर्माण भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणधीन सुक्खा बन्दरगाह निर्माण कार्य तीव्र रुपमा अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, हालसम्म सुक्खा बन्दरगाह निर्माणको काम ६५ प्रतिशत सकिएको र आउँदो २०८२ असार मसान्तसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको हो । अहिले मध्ये भोटेकोशी खोलातर्फ र सडक तर्फको निर्माण कार्य सम्पन्न भैसकेको छ ।

सडक निर्माण, कार्गो गोदाम, लिटिगेशन गोदाम र इन्सपेक्सन सेडको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको गजुरेलले बताए । उनका अनुसार, प्रशासनिक भवनको निर्माण कार्य पनि ५० प्रतिशत सकिएको छ । हाल इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको उनले बताए । रसुवा सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य आउँदो २०८२ असार मसान्तसम्ममा सम्पन्न भइसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ६ : ३३ बजे

बिआरआईमा अनुदान मात्र स्वीकार्यः विमलेन्द्र निधि

जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ,

दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं- काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

दैलेख – कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस