गण्डकी– पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेमप्रसाद अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ । बजार पुर्याइएका तरकारी बिक्री हुँदैन की भन्ने उनलाई चिन्ता लाग्दैन ।
बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाव र मेहनत हो । पहिचान अर्ग्यानिक कृषि फार्म सञ्चालन गरिहरेका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालनसँगै तरकारी खेती पनि गरिरहेका छन् । गोठमा भैँसी पालन गरिहरेका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहेका छन् भने तिनै भैँसीको मलले चार वटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् ।
सुरुमा गाउँका स्थानीयकोसमेत दूध सङ्कलन गरी सात सय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए । फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारी खेतीमा प्रयोग गरी अर्ग्यानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ । उनले भने, ‘विषादीरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ ।’
आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए । त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उनले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए ।
अर्ग्यानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे । लोकल कुखुरापालन पनि गरिरहेका उनले बजारको माग अनुसार कृषिजन्य उत्पादन पुर्याउन नसकेको बताए । आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ ।
व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उनले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए । परिवारको सहयोगसँगै उनले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएका छन्।
‘मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ’, उनले भने, ‘एकीकृत रूपमा पशुपालन र तरकारी खेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्याउन सकेको छु ।’
उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे । सुरुमा १० लाख रुपैयाँबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उनले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए । उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उनको भनाइ छ ।
अघिल्लो वर्ष एक लाखको साग, एक लाखको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए । धनियाँ, गोलभेडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उनले अनुभव सुनाए । गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर एक लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए ।
अधिकारीले गर्नुभएको एकीकृत कृषि अरूका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । ‘पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आउनुभएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गर्नुभएको छ’, उनले भने, ‘घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्ग्यानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ ।’
‘हाम्रो परिवेशमा एउटै किसानको सयौँ रोपनी जग्गा हुने अवस्था पनि छैन’, कडरियाले भने, ‘थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरूले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ ।’
प्रतिक्रिया