काठमाडौंको ‘शान्तिधाम’ मा आन्तरिक र बाह्य पर्यटक बढ्दै « Khabarhub

काठमाडौंको ‘शान्तिधाम’ मा आन्तरिक र बाह्य पर्यटक बढ्दै


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको ‘शान्तिधाम’मा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रिनारायणको मन्दिर निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका हुन् ।

विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रिनारायण मन्दिरमा दैनिक एक हजार बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

यस्तै बिदाको दिनमा तीन हजारदेखि पाँच हजार आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्ने गरेको बृहत् शान्तिधाम व्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाले जानकारी दिए । बिहान र बेलुका खुल्ने उक्त धाम मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बन्द हुँदै आएको छ । १५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको बद्रिनारायणको मन्दिर द्राबिड शिखरशैलीमा निर्माण भएको हो । उक्त मन्दिर कलात्मक र सुन्दर छ ।

विभिन्न क्षेत्रमा सत्सँग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दू धर्मावलम्बीका दर्शनीय धार्मिकस्थल चारधाम निर्माण गर्ने उद्देश्य राखिएको बृहत् शान्तिधाम नेपालका संस्थापक मठाधीश अनन्त श्रीविभूषित स्वामी चतुर्भुजाचार्य चूडामणि महाराजले बताए ।

‘वार्षिक हजारौँ नेपाली करोडौँ रकम खर्च गरेर छिमेकीमूलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउनका लागि बृहत् शान्तिधाम नेपाल स्थापना गरी विभिन्न मठमन्दिरसहितको धाम निर्माण गर्न लागेका हौँ’, उनले भने  ।

अहिले बद्रिनारायणधाम निर्माण भए पनि आगामी दिनमा रामेश्वरम धाम, द्वाराकाधीश धाम र जगन्नाथ धाम निर्माण गरिने मठाधीशको भनाइ छ । शान्तिधामभित्र सम्पन्न भएको बद्रिनारायण मन्दिर विसं २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकि थिइन्  ।

कूल १०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनालय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दरमुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने गरेको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा समेत मेला लाग्ने गरेको छ ।

शान्तिधाममा दैनिक १०० भक्तजनलाई आवास तथा भोजन गर्नसक्ने क्षमता छ । शान्तिधाम परिसरमा निर्माण गर्न लागिएको भौतिक संरचनाका लागि आर्थिक अभाव रहेको अध्यक्ष थापाको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा दाताले सहयोग गर्ने क्रमसमेत बढ्दै गएको छ । सोही धाममा यही मङ्सिर १२ गते अन्नकुट महोत्सवसमेत हुन लागेको छ ।

शान्तिधाम परिसरमा बन्न लागेको भौतिक संरचना निर्माणका लागि नगरपालिकाले समेत आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले शान्तिधाम क्षेत्रको विकासका लागि नगरपालिकाले प्रत्येक वर्ष आर्थिक सहयोग गर्दै आएको बताइन् ।

उनले यस वर्ष पनि रामेश्वरम धाम निर्माणका लागि बजेट विनियोजन गरिएको उल्लेख गरिन्  । शान्तिधामलाई पर्यटक गन्तव्यका रुपमा विकास गर्नका लागि नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । शान्तिधाम काठमाडौँको नयाँ बसपार्कबाट सात किलोमिटर उत्तरमा पर्दछ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ३ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्