शंकर पोखरेललाई वर्षमानको प्रश्न : रेखा शर्मासँग चुनाव हार्नेले प्रचण्डलाई हरुवा भन्ने ? | Khabarhub Khabarhub

शंकर पोखरेललाई वर्षमानको प्रश्न : रेखा शर्मासँग चुनाव हार्नेले प्रचण्डलाई हरुवा भन्ने ?


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी हरुवाहरुले सरकार चलाउने युगको अन्त्य भएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले पोखरेलको भनाइप्रति आपत्ति जनाएका हुन् । उनले आफ्ना नेता रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भनेकामा आश्चर्य प्रकट गरे ।

‘हाम्रो अध्यक्ष प्रचण्ड ०६४ यताको कुनै पनि निर्वाचनमा पराजित हुनुभएको छैन । १८ महिनासम्म संसदमा बहुमत जुटाएर सरकार चलाएको हो’, पुनले भने, ‘शंकरजी अस्ती भर्खरै हाम्रो पार्टीको नेता रेखा शर्माजीसँग हार्नुभएको सबैलाई थाहा छ ।’

पुनले पोखरेलले ०७० सालमा देशैभर कांग्रेस र एमालेले जितेको र एमालेको पक्षमा उभार भएका बेला पनि गृहजिल्लामा चुनाव हारेको चर्चा गर्दै ‘हरुवा’ ले लाजै पचाएर अरुलाई हरुवा भन्नु हास्यास्पद भएको टिप्पणी गरे ।

उनले भने, ‘०७० मा देशेभर एमालेको पक्षमा उभार हुँदा पनि आफ्नै जिल्लामा हार्ने शंकरजी होइन ? ०७९ मा हारेको अस्त भर्खर होइन ?’, उनले भने, ‘अनि उहाँ नै हरुवाहरूले सरकार चलाएर हैरान पारे । हरुवाले सरकार चलाउने युगको अन्त्य गर्छौं । मानिसहरु जो पनि बोल्न सक्दा रहेछन् । कस्तो लाज नभएको ?’

पोखरेलले कांग्रेस र एमाले मिलेपछि प्रगतिशील र कम्युनिष्ट विचारधाराका दलहरूलाई सकाउन सकिन्छ भन्दै दुई दलीय व्यवस्थाको वकालत गर्दै हिँडेकामा पनि उनले टिप्पणी गरे ।

‘खासमा उहाँले कांग्रेस–एमालेको दुई दलीय व्यवस्थाको होइन । कांग्रेस–एमाले पुँजीपति वर्गको पार्टी हो भन्न खोज्नुएको हो’, पुनले भने, ‘जनताको पार्टी हाम्रो हो ।’

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा एमाले महासचिव पोखरेलले हरुवाहरूले शासन गर्ने व्यवस्थाको अन्त्यका लागि संसदका दुई दल मिलेको अभिव्यक्ति दिएका थिए ।

उनले ०८४ सम्म आफ्नो दलले सरकार ढाल्ने प्रयास नगर्ने भन्दै त्यतिबेलासम्म टिकाएर देखाउन कांग्रेस–एमालेलाई चुनौती दिए । कांग्रेस महामन्त्री गगन थापाले सातामा एकपटक प्रधानमन्त्री बनिदिन आप्ना सभापति शेरबहादुर देउवालाई खबर पठाउने गरेको भन्दै गलत अफवाह फैलाएको उनको भनाइ थियो ।

आफ्ना अध्यक्ष प्रचण्डको सरकारले भ्रष्टाचार, तस्करी र राज्य दोहनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँदा कांग्रेस–एमाले अत्तालिएर मिलेको आरोप लगाउँदै पुनले ०८४ को निर्वाचनमा जनताले त्यसको हिसाब गर्ने चेतावनी दिए ।

सरकारले हालसम्म दलाल, बिचौलिया र तस्करहरूको स्वार्थमा काम गरेको उनको टिप्पणी थियो । आफूले प्रधानमन्त्री केपी ओलीले भनेका व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नगर्दा सरकार ढालिएको भन्दै उनले बिचौलियाको डिजाइनमा तिनै व्यक्तिलाई नियुक्त गरेर सरकारले आफूहरूले भन्दै आएको आरोप पुष्टि गरेको पुनले बताए ।

मानव तस्करीमा मुछिएका कोशी प्रदेशमा पूर्वमन्त्री एमाले सांसद लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएर मानव तस्करको योजनामा उनले जापान लिएर गएकाहरुलाई मात्र प्रतिवादी बनाइनु, सहकारी ठगीमा संलग्न कांग्रेस–एमाले नेतालाई उन्मुक्ति दिइनुले सरकारले बेथिति र भ्रष्टाचारीको संरक्षणमा काम गरिरहेको पुष्टि हुने उनको भनाइ छ ।

कांग्रेस महामन्त्री थापाको नाम लिँदै पुनले भने, ‘हामीलाई दलाल र बिचौलियाको स्वार्थ सिद्ध गर्न तपाईंहरूसँग सरकारमा जानुछैन । हामी सरकारका लागि तपाईंहरूको पछि लाग्नेवाला छैनौं । हामी जनताको पछि लाग्छौं । तपाईंहरूको सरकारले गरेका भ्रष्टाचार, बेथिति र राज्य दोहनविरूद्ध जनतालाई जागृत पार्छौँ ।’

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ४८ बजे

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले

राष्ट्र बैंकको खारेजीमा परे तीन रेमिट्यान्स कम्पनी

काठमाडौं– नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको

मनमोहन सिंहको निधनले सलमानको ट्रेलर लन्च स्थगित

मुम्बई- भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनले बलिउड पनि शोकमा परेको

ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व कांग्रेसले गर्नुपर्छ : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व

शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

मनहरी – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा