एकीकृत समाजवादीलाई ३० वटा विभागको सकस | Khabarhub Khabarhub

एकीकृत समाजवादीलाई ३० वटा विभागको सकस

झलनाथलाई स्कुलमा रुचि, संगठनमा राजेन्द्र र घनश्यामको दाबी



काठमाडौं– नेकपा एकीकृत समाजवादीले ३० वटा विभागको जिम्मेवारी टुङ्ग्याउन सकेको छैन । सबै विभागको जिम्मेवारी बाँडफाँट गर्ने भन्दै समाजवादीले बुधवारदेखि दुई दिनसम्म पार्टीको स्थायी कमिटी बैठक राखेको थियो ।
बुधबारको बैठकले स्थायी कमिटीमा १७ नेताहरु थपेको छ । बैठकमा पार्टी महासचिव घनश्याम भुसालले प्रारम्भिक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव अध्ययन र छलफल गर्ने भन्दै बिहीबार नेताहरूले बैठक स्थगित गरेर विभागको जिम्मेवारीबारे आन्तरिक छलफल गरेका छन् ।

सम्मानित नेता झलनाथ खनाल, पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जयन्ती राई, महासचिव घनश्याम भुसाल र अन्य दुई नेता रहेको सात सदस्यीय विभाग बनाउने कार्यदलले तयारी गरिरहेको एक नेताले बताए । पाण्डे विदेशमा भएकाले अनलाइन मार्फत जोडिएको स्रोतको भनाइ छ ।

नेताहरूलाई विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव शुक्रबार स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने र त्यसमा सहमति जुटाउन छलफल गर्ने तयारी छ ।

पार्टीभित्र कार्य विभाजनलाई लिएर असन्तुष्टि बढेका बेला विभागको प्रमुख टुंग्याउन केही असहज भएको नेताहरु बताउँछन् ।

तर, महासचिव भुसाल भने कुनै असहज वातावरण नभएको दाबी गर्छन् । उनले बिहीबार खबरहबसँग भने, ‘बाहिर आएजस्तो भित्र केही विवाद छैन । सहमतिमै सबै विभागको टुङ्गो लाग्छ ।’

गत असार २६ गतेदेखि २० गतेसम्म प्रज्ञा भवन कमलादीमा भएको पार्टीको दसौँ महाधिवेशनले सम्मानित नेतामा खनाल, अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको थियो । तर, देशभर आएका प्रतिनिधिले आफ्नो उम्मेदवार चुन्न नपाएको भन्दै पार्टी सचिव रामकुमारी झाँक्रीले असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गरिन् ।

नेताहरूले त्योबेला अन्य पदाधिकारी टुङ्ग्याउन चाहेका थिएनन् । छुटेका १८ जना पदाधिकारी भने पार्टीले १ महिनापछि भदौ ९–१२ मा केन्द्रीय कमिटी बैठक राखेर टुङ्ग्याउन खोजेको थियो । तर, सहमति नजुटेपछि नेपाल समूहका नेता राजेन्द्रप्रसाद पाण्डेलाई वरिष्ठ उपाध्यक्षमा निर्विरोध गरेर १७ पदाधिकारीको निर्वाचन भएको थियो ।

हारेका नेतालाई विभागमा व्यवस्थापन गर्ने तयारी

निर्वाचनमा चर्चित नेता रामकुमारी झाँक्री उपाध्यक्षमा हारिन् । विरोध खतिवडा, डा विजय पौडेल पनि उपाध्यक्षमा पराजित भएका थिए । पदाधिकारीमा पराजित भएका चर्चित नेताहरू समेटेर बुधबार ४१ सदस्य स्थायी कमिटी बनाइएको छ ।

स्थायी कमिटीमा थपिएका झाँक्री, खतिवडा, पौडेल, जीवनराम श्रेष्ठ, रामचन्द्र झा जस्ता नेताहरूलाई उपयुक्त विभागको जिम्मेवारी दिनुपर्ने आवाज पनि असन्तुष्ट पक्षको छ ।

गत ०७८ चैत ११ मा सार्वजनिक भएको विभागको जिम्मेवारीमा पौडेल अर्थ तथा योजना प्रमुख छन् भने झा कानुन विभागमा छन् । खतिवडा र झाँक्री पनि महाधिवेशनअघिसम्म पदाधिकारीमा थिए ।

समाजवादीका एक नेताले खबरहबसँग भने, ‘उपयुक्त जिम्मेवारी दिएर पार्टी विवादरहित ढंगले चल्छ । पदाधिकारीमा हारेका नेताहरु विभाग चलाएर बस्नुहुन्छ, त्यसपछि पार्टी चल्छ ।’

उसो त अध्यक्ष नेपालले पनि केही समय अगाडि खबरहबसँगको कुराकानीमा सबै जितेका र हारेका नेताहरू समेटेर विभागको जिम्मेवारी तय गर्ने बताएका थिए । उनले जिम्मेवारी बाँडफाँट गरेपछि सबैलाई समेटेर पार्टी एक ढिक्का हुने दाबी गरे ।

पार्टीका एक पदाधिकारीले भने, ‘३० जना विभागको प्रमुख व्यक्ति टिपोट गरेर सात नेताहरूले एक–एक छलफल गरिरहनुभएको छ, शनिबार या आइतबारसम्म विभागको सबै जिम्मेवारी नेताहरूलाई दिइसक्ने योजना छ ।’

बेदुरामले चलाउन नसकेको संगठन विभागमा पाण्डे र भुसालको दाबी

अहिले एकीकृत समाजवादीमा संगठन विभागमा नेताहरुबीच प्रतिस्पर्धा छ । पार्टीलाई परिचालन गर्ने र देशभर संगठन मजबुत बनाउने विभाग भनेको संगठन विभाग हो । यो विभागको नेतृत्व ०७८ चैतबाट तत्कालीन महासचिव, हालका वरिष्ठ नेता बेदुराम भुसालले गरिरहेका छन् । तर, देशभर पार्टी व्यवस्थित हुन सकेको छैन । दसौँ महाधिवेशनबाट संगठन विभाग आफ्नो पक्षमा बनाएका महासचिव भुसाल नै संगठन विभाग प्रमुख हुन खोजिरहेको अर्को पक्षका नेताहरुको आरोप छ । तर, अध्यक्ष नेपाल र केही नयाँ नेताले समेत यो विभागमा वरिष्ठ उपाध्यक्ष पाण्डेलाई ल्याउन चाहेको स्रोतले बतायो ।

पाण्डे विदेशमा भए पनि संगठन विभाग लिइछाड्ने दाउमा रहेको स्रोतको दाबी छ । ‘महासचिव आफैँमा अध्यक्षपछिको बलियो पद हो,’ एकीकृत समाजवादीका एक नेताले खबरहबसँग भने, एउटै मान्छेलाई दुई विशेष पद दिएर काम छैन । वरिष्ठ उपाध्यक्षले नै यो जिम्मेवारी लिनुहुन्छ । कसैले मान्नुभएन भने निर्वाचन हुन्छ ।’

उपमहासचिव राजेन्द्र राईले दसौँ महाधिवेशनमा एक व्यक्ति, एक पद रहनुपर्ने छुट्टै प्रस्ताव राखेका थिए । पार्टी त्यहीअनुसार अगाडि बढ्ने युवा नेताहरू बताउँछन् । उता, महासचिव भुसाललाई सम्मानित नेता खनालले पनि साथ दिएका छन् ।

महासचिव भुसाल संगठन विभागको नेतृत्व र अन्य विभागीय प्रमुख पनि सहमतिमै मनोनित हुने बताउँछन् । ‘सहमतिमै बनाउने प्रकृया चलिरहेको छ’ उनी भन्छन्, ‘स्वाभाविक रूपले म महासचिव भएको नाताले संगठन विभागको जिम्मेवारी आउला । मैले त्यसलाई न्यायसमेत गर्छु ।’

विदेश विभाग छाडेर स्कुल विभागमा आउन चाहन्छन् खनाल

सम्मानित नेता खनाल अहिले समाजवादीको विदेश विभाग सम्हालिरहेका छन् । तर, उनी योपटक सो विभाग छाडेर पार्टी स्कुल विभागमा आउन चाहन्छन् । उनी कम्युनिस्टको सिद्धान्त बुझेका र वैचारिक नेता भएकाले पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी लिन चाहेको उच्च स्रोतको भनाइ छ ।

समाजवादी पार्टीले अहिले वैचारिक कार्यदिशा सहितको समाजवादको बाटो तय गरेका कारण आफू स्कुल विभागको प्रमुख भएर सोबारे बुझाउने खनालको लक्ष छ । अहिले यो विभागमा पार्टीबाट वरिष्ठ नेता प्रवेश हमाल छन् । उनलाई विदेश विभाग या शिक्षा विभागको प्रमुख दिएर खनाललाई स्कुल विभाग दिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

यस्तै, महत्त्वपूर्ण विभाग मानिएको प्रचार विभागमा अहिले उपाध्यक्ष जगन्नाथ खतिवडा छन् । उनलाई यो विभागमा पुनः दोहो¥याउने या नयाँ मान्छे ल्याउने भन्नेमा सल्लाह भइरहेको स्रोतले बतायो ।

यो पनि-

नेपाली समाजको रणनीतिक संकट

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ११ : ४८ बजे

अपराधको राजनीतिकरण नगरौँ, रविको निलम्बन कानूनसम्मत छ

सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा– पर्साको वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल

‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ आजदेखि

काठमाडौं– ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन आजदेखि सुरु हुँदैछ ।

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

चितवन– महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख– दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको