नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । विविधतायुक्त समाजमा सामाजिक समस्याहरू पनि विविध प्रकृतिका छन्, र तीमध्ये लैंगिक हिंसा गम्भीर समस्या बनेको छ । लैंगिक हिंसाले महिला, पुरुष, तेस्रोलिंगी र अन्य लैंगिक पहिचानका व्यक्तिहरूलाई प्रभावित पार्दछ । विशेषगरी, महिला र बालिका यस समस्याबाट बढी प्रभावित हुने गरेका छन् । लैंगिक हिंसाले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक जीवनलाई मात्र नभई सम्पूर्ण समाजको संरचना र विकासलाई प्रत्यक्ष रूपमा प्रभावित पार्दछ ।
नेपालमा लैंगिक हिंसाको समस्या ऐतिहासिक, सांस्कृतिक र सामाजिक रूपमा जरा गाडेर बसेको छ । महिलालाई दोस्रो श्रेणीको नागरिकका रूपमा हेर्ने परम्परागत सोच, अशिक्षा, गरिबी, र लैंगिक असमानताको कारण यस समस्याले अझ गहिरो रूप लिएको छ । नेपालमा हुने लैंगिक हिंसाहरुलाई विभिन्न रुपमा हेर्न सकिन्छ ।
- शारीरिक हिंसाः यसमा कुटपिट, शोषण र हत्या पर्दछन् ।
- यौन हिंसाः बलात्कार, यौन दुव्र्यवहार र यौन शोषण ।
- मानसिक हिंसाः गालीगलौज, धम्की र अपमानजनक व्यवहार ।
- आर्थिक हिंसाः सम्पत्तिमा अधिकार नदिने, काम गर्न रोक लगाउने ।
- प्रणालीगत हिंसाः जात, धर्म र लिंगका आधारमा भेदभाव ।
लैंगिक हिंसा नेपालमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच, असमान सामाजिक संरचना, र आर्थिक तथा सांस्कृतिक कारकहरूको परिणाम हो । महिला र पुरुषबीचको असमानता, शिक्षाको अभाव, बेरोजगारी, र गरिबीले यस समस्यालाई थप जटिल बनाउँछ । ग्रामीण क्षेत्रहरूमा छाउपडी, बालविवाह, र दाइजो प्रथा जस्ता हानिकारक परम्परागत प्रथाहरू पनि लैंगिक हिंसाका कारण हुन् । साथै, कानुनी प्रणाली र सुरक्षा संयन्त्रहरू प्रभावकारी नभएका कारण पीडितहरूले न्याय पाउन नसक्ने समस्या पनि देखिन्छ ।
तथ्यांक र घटनाः
नेपालमा हरेक वर्ष सयौँ लैंगिक हिंसाका घटना दर्ता हुने गरेका छन् । प्रहरीको तथ्यांक अनुसार, घरेलु हिंसा, बलात्कार र यौन दुव्र्यवहारजस्ता घटनाहरू बढ्दो क्रममा छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा महिलामाथि तीन हजार ४८९ यौन हिंसा भएका छन्, जसमा दुई हजार २५५ बालिका छन् । कुल संख्याको यो ६४ प्रतिशत हुन्छ । प्रहरीमा परेको उजुरी अनुसार उनिहरुमाथि सबैभन्दा बढी यौन हिंसा भएको देखिन्छ । प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार यौन हिंसाअन्तर्गत बलात्कार, बलात्कार प्रयास, अप्राकृतिक मैथुन, सार्वजनिक स्थलमा यौनजन्य दुव्र्यवहार तथा बालयौन दुव्र्यवहारजस्ता अपराध पर्दछन् ।
यस बाहेक एक वर्षमा बलात्कारका दुई हजार ५०७, बलात्कार प्रयासका ४६०, बालयौन दुरुपयोग र दुव्र्यवहारका ३६३ र बलात्कार गरी हत्याका ६ घटना भएको प्रहरीको तथ्याङ्क छ । जसममा पनि ५४ जनालाई बन्धक बनाएर बलात्कार भएको छ भने १९ जनालाई मानव बेचबिखन गरी बलात्कार भएको छ । यौनजन्य हिंसाका घटना सबैभन्दा धेरै कोशी प्रदेशमा दर्ता भएको तथ्याङ्क छ । कोशीमा ७३६, लुम्बिनीमा ५८४, मधेशमा ४६६, काठमाडौं उपत्यकामा ४६२, बागमतीमा ४११, सुदूरपश्चिममा २८९, कर्णालीमा २५७ तथा गण्डकीमा २३६ घटना दर्ता भएका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार घरेलु हिंसाका घटना भने सबैभन्दा धेरै मधेश प्रदेशमा दर्ता भएका छन् । कुल १६ हजार ४३४ घटनामध्ये पाँच हजार ५९६ मधेश प्रदेशका छन् । त्यसपछि धेरै लुम्बिनी प्रदेशमा दुई हजार ७९६, काठमाडौं उपत्यकामा दुई हजार २५८, कोशीमा एक हजार ६३३, बागमतीमा एक हजार ३३८, सुदूरपश्चिममा एक हजार २१४, कर्णालीमा ८८० र गण्डकीमा ५०१ घटना दर्ता भएका छन् । महिला पुर्नस्थापना केन्द्र (ओरेक) का अनुसार, सन २०२३ मा मात्र ३००० भन्दा बढी महिलाले घरेलु हिंसाको उजुरी गरेका थिए । बलात्कारका घटना बढ्दो क्रममा छन्, जसमा अधिकांश पीडित बालिका र किशोरी नै हुने गरेका छन् ।
लैंगिक हिंसाको प्रभाव
लैंगिक हिंसाले पीडितहरूको शारीरिक, मानसिक, र भावनात्मक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यसले उनीहरूको आत्मसम्मान, विश्वास, र जीवनयापन क्षमतामा ठूलो असर गर्छ । परिवार र समुदायमा हिंसाको चक्र चलिरहँदा समग्र समाज अस्थिर बन्ने खतरा रहन्छ । साथै, यस्ता समस्याले महिलाहरूलाई आर्थिक र शैक्षिक अवसरहरूबाट वञ्चित गर्ने गर्दछ ।
लैंगिक हिंसाले पीडित र समाज दुवैलाई असर पार्छ । जसलाई व्यक्तिगत प्रभाव, समाजिक प्रभाव र आर्थिक प्रभाव गरि तीन खण्डमा विभाजित गरेर हेर्न सकिन्छ । व्यक्तिगत प्रभाव अन्तर्गत शारीरिक चोटपटक, मानसिक तनाव, आत्महत्या, र दीर्घकालीन स्वास्थ्य समस्या हुन सक्छन् । त्यस्तै सामाजिक प्रभाव अन्तर्गत परिवारभित्रको असमझदारी, सामाजिक असमानता, र सांस्कृतिक द्वन्द्व निम्तन सक्छ । त्यसैगरी आर्थिक प्रभाव अन्तर्गत महिलाहरूको उत्पादकत्वमा गिरावट, उपचार खर्चको बढोत्तरी, र आर्थिक अवसरको ह्रासको समस्या देखिन सक्छ ।
नेपालमा लैंगिक हिंसा न्यूनिकरणः चुनौती र समाधान
नेपालमा लैंगिक हिंसा एउटा गम्भीर सामाजिक समस्या हो, जसले महिला, बालिका र कतिपय अवस्थामा पुष तथा अन्य लैंगिक अल्पसंख्यक समुदायलाई समेत प्रत्यक्ष रूपमा प्रभावित गर्छ । लैंगिक हिंसाले व्यक्तिगत जीवन, पारिवारिक संरचना, र समग्र समाजमा गहिरो प्रभाव पार्ने गर्दछ । लैंगिक हिंसा न्यूनिकरणका लागि व्यक्तिगत, सामाजिक, र कानुनी तहमा सुधार आवश्यक छ । जसलाई बुँदागत रूपमा यसरी हेर्न सकिन्छ ।
शिक्षा र चेतना अभिवृद्धिः लैंगिक समानताको मर्म बुझाउन शिक्षालाई प्राथमिकता दिनुपर्छ । विद्यालय तथा समुदायमा लैंगिक शिक्षाका कार्यक्रम सञ्चालन गरिनुपर्छ । सञ्चारमाध्यमहरूबाट जनचेतना फैलाउनुपर्ने हुन्छ ।
कानुनी संरचनाको सुदृढीकरणः महिला तथा बालबालिकासम्बन्धी ऐनहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ । द्रुत न्याय प्रणाली तथा पीडित मैत्री सेवा केन्द्रहरू स्थापना गरी हिंसा प्रभावित व्यक्तिलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्छ ।
आर्थिक सशक्तीकरणः महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ । रोजगारका अवसरहरू सिर्जना गरी महिलाहरूलाई सीपमूलक तालिमहरू प्रदान गर्नुपर्छ ।
सांस्कृतिक रूपान्तरणः लैंगिक हिंसासँग सम्बन्धित परम्परागत सोच र हानिकारक अभ्यासहरूलाई हटाउन समुदायस्तरमा काम गर्नुपर्छ । धार्मिक नेता र समुदायका अगुवाहरूलाई संलग्न गराई सकारात्मक सोचलाई प्रवद्र्धन गर्न सकिन्छ ।
सरकारी र गैरसरकारी संस्थाको सहकार्यः सरकारी निकाय, स्थानीय तह, र गैरसरकारी संस्थाहरूले समन्वय गरेर हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
प्रविधिको उपयोगः हिंसा प्रतिकार गर्न सहायक एप्स र हटलाइनहरूको व्यवस्था गर्न सकिन्छ । त्यसैगरी अनलाइन अभियानहरू र डिजिटल मिडियाको सदुपयोग गर्न सकिन्छ ।
लैंगिक हिंसा नेपालमा गम्भीर सामाजिक समस्या बनेको छ, जसले व्यक्तिको मात्र नभई सम्पूर्ण समाजको विकासलाई बाधा पु¥याएको छ । यस समस्याको समाधानका लागि सबै तहका नागरिक, समुदाय, सरकार र संस्थाहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ । शिक्षा, कानूनी सुधार, आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणका माध्यमबाट लैंगिक हिंसाको समाधान खोज्न सकिन्छ ।
लैंगिक हिंसा न्यूनिकरणका लागि दीर्घकालीन योजना, समाजमा सकारात्मक सोचको विकास, र कानुनी तथा प्रशासनिक सुधार अपरिहार्य छ । नेपालमा लैंगिक समानता सुनिश्चित गर्न सबै पक्षबाट प्रयास आवश्यक छ । यसका लागि हामी सबैको सहकार्य र प्रतिबद्धता अनिवार्य छ । लैंगिक समानताको सपना साकार पार्न हामी सबैले आफ्नो स्थानबाट योगदान दिनुपर्छ । मात्र चेतना फैलाउने होइन, व्यवहारमा परिवर्तन ल्याउनु नै दीर्घकालीन समाधानको आधार हुनेछ ।
प्रतिक्रिया