काठमाडौं- आपराधिक लाभको मुद्दामा मुछिएकी प्रहरी निरीक्षक बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन् ।
प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएपछि बयान थालिएको छ ।
जिल्ला अदालत ललितपुरका प्रवक्ता एवम् सूचना अधिकारी रामसजीवन महतोले प्रहरी निरीक्षक शाही उपस्थित भएपछि बयान थालिएको बताए ।
‘उहाँ (बिनुकुमारी) आज अदालतमा उपस्थित हुनु भएको छ’, महतोले खबरहबलाई भने, ‘अहिले उहाँसँग न्यायाधीश रीताकुमारी बख्रेलको इजलासमा बयान चलिरहेको छ ।’
बिनुकुमारी बयानमा उपस्थित भएसँगै अब बयान लिइसकेर मुद्दाको सुनुवाइ प्रक्रिया पनि अघि बढेको छ ।
मोरङ निवासी एकजना घरजग्गा कारोबारीलाई ‘हनी ट्रयाप’मा पारेर रकम असुलेको घटनामा शाहीलाई पनि प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।
इन्द्रकुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा चलाइएको थियो । यो मुद्दामा शाही फरार भएकी थिइन् । फरार भनिए पनि उनी कीर्तिपुरमा हुने नेपाल प्रिमियर लिगको खेल हेर्न पुग्थिन् । गृहमन्त्री रमेश लेखक उपस्थित भएको दिन पनि उनले एनपीएल कीर्तिपुर पुगेरै हेर्ने गर्थिन् ।
घटना
‘हनी ट्रयापिङ’मा संलग्न गिरोहलाई कार्यालयमै बोलाएर बलात्कार आरोपी युवकसँग रकम मोलमोलाइ गरेको आरोपमा उनी छानबिनमा तानिएकी थिइन् ।
ललितपुर प्रहरी परिसरअन्तर्गतको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक शाहीको जिम्मेवारी खोसेर गत असोजमा छानबिन थालिएको थियो ।
शाहीलाई भैंसेपाटीबाट फिर्ता बोलाएर आवश्यक छानबिन थालिएको थियो । बिनुकुमारीमाथि बलात्कारसम्बन्धी मु्द्दामा ‘हनी ट्रयापिङ’गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको आरोप लागेको थियो।
बलात्कारसम्बन्धी एउटा घटनालाई ‘हनी ट्रयाप’मा परिणत गरेर लाखौँ रुपैयाँ लेनदेन गरेको आरोपसहित उनीविरुद्ध उजुरी परेको थियो ।
उनी जेठ २३ मा भैंसीपाटी प्रभागको नेतृत्व सम्हाल्न पुगेकी थिइन् । त्यसलगत्तै बलात्कारको एक घटनमा पीडित भनिएकासँगको साँठगाँठमा आर्थिक लाभ लिएको आरोप उनीमाथि थियो ।
त्यसबेला बलात्कार आरोपमा मोरङ निवासी एकजना व्यापारीलाई भैंसेपाटी प्रभागमा थुनिएको थियो । तर ती व्यापारीको मुद्दा मिलाउने नाममा हिरासतमै इन्स्पेक्टर बिनुकुमारीको पनि उपस्थितिमा ३० लाख रुपैयाँ लेनदेन गरिएको खुलेको थियो ।
ग
त असोज ७ गते एकजना युवतीले मोरङका ती व्यापारीलाई भैंसेपाटीमा बोलाएकी थिइन् । युवतीकै उजुरीका आधारमा प्रहरीले ती व्यापारीलाई पक्राउ गरेको थियो ।
प्रहरी प्रभाग परिसरमै ब्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने धम्कीसहित बार्गेनिङ गरेको खुलेको थियो । पीडित भनिएकी ती युवतीले प्रहरीकै सामु ब्यापारीसँग ६० लाख रुपैयाँ मागेकी थिइन् । बार्गेनिङका क्रममा ३० लाखमा सहमति गरिएको खुलेको थियो ।
उपत्यका प्रहरी कार्यालयको छानबिनका क्रममा उक्त लेनदेनका लागि भएको बार्गेनिङ प्रभागभित्रै प्रहरीकै अगाडि भएको खुलेको थियो ।
बार्गेनिङका क्रममा प्राप्त भएको ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा हालिएको थियो । बाँकी १० लाख रुपैयाँ भने चेकका रुपमा दिएर व्यापारी प्रभागबाट रिहा भएका थिए ।
उक्त कुरा चुहिएपछि ललितपुर प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न युवती र उनलाई सघाउने युवकलाई पक्राउ गरेको थियो ।
उता इन्स्पेक्टर बिनुकुमारीमाथि छानबिनका लागि ललितपुर प्रहरी परिसरले समिति बनाएको थियो। उक्त घटनाबारे छानबिनका लागि डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको थियो । त्यसमा बिनुकुमारीको संलग्नता देखिएपछि उनलाई प्रहरीले फरार सूचीमा राखेको थियो ।
प्रतिक्रिया