भक्तपुरमा बाबुछोराको ‘हत्या’, गायब छन् सँगै सुतेका जेठा छोरा « Khabarhub

भक्तपुरमा बाबुछोराको ‘हत्या’, गायब छन् सँगै सुतेका जेठा छोरा


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत भेटिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत भेटिएका हुन् ।

हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटस्थित भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

‘जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मङ्सिर २८ गते प्रशासनमा आउनुभएको थियो । आज यस्तो खबर सुनियो’, उनले भने ।

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले घटना शंकास्पद देखिएकाले अनुसन्धान जारी रहेको बताए । उनले खबरहबसँगको कुराकानीका क्रममा घटनास्थल र लाशको प्रकृति हेर्दा शंकास्पद देखिएकाले हत्या हो कि भन्ने आशंका गरिएको बताए।

‘अहिले नै हत्या भनेर निष्कर्षमा पुग्ने अवस्था छैन । हामी अनुसन्धानको चरणमा छौँ’, उनले भने, ‘घटनास्थल र दुवै लाश केही शंकास्पद विवरण भेटिएकाले अनुसन्धान हुँदैछ । लाश पोस्टमार्टको रिपोर्ट पनि आउला। अहिलेलाई हामीले यसलाई शंकास्पद मानेर अनुसन्धान गरिरहेका छौँ ।’

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्त एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताए ।

गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन् ।

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

उनीहरूको शव भाडाको कोठाबाट निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । बिदामा बसेका निमित्त कार्यालय प्रमुख आचार्यको मृत्युको कारण अहिलेसम्म प्राप्त भइनसकेको जिल्ला हुलाक कार्यालय खोटाङले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ३ : ५६ बजे

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।