काठमाडौं- विभिन्न ५ वटा सहकारी संस्थाको रकम ठगी आरोपमा पक्राउ परेकाहरूको बयान सोमबारदेखि जिल्ला अदालत कास्कीमा सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ५ जना प्रतिवादीको बयान सोमबारदेखि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको हो ।
सुरुमा न्यायाधीश राईले मिसिल पढेपछि मात्रै आरोपीहरूलाई बयानमा बोलाएका थिए । सोमबार सबैभन्दा पहिले गोर्खा मिडिया नेट्वर्कमा जीबी राई र रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशीको बयान भएको थियो ।
तर सोमबार उनको बयान नसकिएपछि अर्को दिन निरन्तर हुने गरी इजलास रोकिएको छ। छविको बयान सकिएपछि मात्रै रविको बयान अघि बढ्नेछ ।
त्यससँगै लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको पनि बयान थालिनेछ । मिसिल अध्ययनपछि बयान सुरु भए पनि पहिलो दिन छविको पनि नसकिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका कसुरमा मुद्दा दर्ता भएको छ ।
यस प्रकरणमा जीबी राईसहितका व्यक्ति संलग्न विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलेको छ। सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरतर्फ रवि लामिछाने, निकिता पौडेल र छविलाल जोशीसहित ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने माग अदालतसमक्ष गरेको छ।
प्रतिक्रिया