प्रचण्डलाई आफ्नो पार्टीभन्दा एमालेको धेरै चिन्ता | Khabarhub Khabarhub

प्रचण्डलाई आफ्नो पार्टीभन्दा एमालेको धेरै चिन्ता

भन्छन्- ओलीले आन्तरिक लोकतन्त्र सिद्याए


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस पटक संयोगवश तीनवटा ठूला दलको केन्द्रीय कमिटी बैठक बस्यो । सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक एकै समयमा बसेर सकिएको छ।

एमाले र माओवादीको केन्द्रीय कमिटी बैठक एकै दिन अर्थात् आइतबार सुरु भएर मंगलबार सकिएको छ । यी दुई बैठक चर्चाका हिसाबले राष्ट्रिय राजनीतिको केन्द्रमा रहिरहे।

माओवादी बैठक देशकै सर्वोच्च पदमा पुगिसकेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आगमनले तरंगित भयो । उनको आगमनलाई लिएर माओवादी स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएको देखियो । एउटा कित्ता उनलाई स्वागत गर्ने र अर्को कित्ता रोक्नेतर्फ उभियो ।

यस्तोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनलाई उनकै इच्छाअनुसार पार्टीमा फर्काइएको बताए । पुनलाई उनले उपाध्यक्षको हैसियतमा मञ्चामा आफूसँगै राखेका थिए ।

उता एमालेको आठौँ केन्द्रीय कमिटी बैठक भने पुस ११ गते पूर्वाध्यक्ष भीम रावललाई सचिवालयले पार्टीबाटै निष्कासन गरिसकेपछि तरंगित भएको अवस्थामा बसेको थियो । पुस ११ गते दुई नेतृ बिन्दा पाण्डे र उषाकिरण तिमल्सेना पनि ६ महिने निलम्बनमा परेका थिए । उनीहरूको निलम्बन पनि केन्द्रीय कमिटीले फुकुवा गर्न सकेन । बरु ओलीकै प्रस्तावमा बैठकको पहिलो दिन नै केन्द्रीय कमिटीले तीनैजनाको कारबाही सर्वसम्मत अनुमोदन गर्‍यो ।

कारबाही अनुमोदन गराइसकेपछि ओलीले सबै केन्द्रीय सदस्यलाई बोल्ने अवसर दिए । यसअघि हुने सामूहिक छलफललाई हटाएर यस पटक केन्द्रीय सदस्यहरूलाई तीन/तीन मिनेट धारणा राख्न दिइएको थियो ।

यस्तोमा ओलीले मंगलबार बैठक समापन समारोहमा पार्टी र नेतृत्वबारे जेजे भन्नु छ बैठकमै राख्न भने । यदि सडकमा गएर नेतृत्वको विरोध कसैले गर्छ भने कारबाही गरिने चेतावनी पनि दिए ।

प्रचण्डको चिन्ता

च्यासलमा ओलीले समापन सम्बोधन गर्दै गर्दा उता धुम्बाराहीको पार्टी प्यालेसमा माओवादी केन्द्रीय समिति बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरिरहेको थियो । त्यसपछि प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन गरे। जुन सम्बोधनमा प्रचण्डले च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकको दृश्य ब्याख्या गर्दै आफ्नो चिन्ता प्रकट गरे ।

उक्त सम्बोधनका क्रममा प्रचण्डले माओवादी र एमाले बैठकको तुलना गर्दै आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको उजागर भएको रुपमा व्याख्या गरे ।

उनले माओवादी र एमाले केन्द्रीय कमिटी बैठकको तुलना गर्दै यसले राजनीतिक धार र वर्गीय विश्व दृष्टिकोण स्पष्ट गरेको दाबी गरे । मंगलबार साँझ पार्टी केन्द्रीय समितिको बैठक समापन सत्रलाई सम्बोधनका क्रममा दाहालले दुई दलको बैठक एकैसाथ सुरु र सकिनुलाई बिचित्रको संयोगसमेत भने ।

‘बडो विचित्रको संयोग भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्यौं । त्यही दिनदेखि एमालेले पनि बैठक सुरुवात गर्‍यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरूले पक्कै पनि तुलना गरेर हेरेकै होलान्’, उनले सम्बोधनमा भनेका थिए, ‘यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् । म के मात्रै भन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौजभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्तावेज तयार पारेका छौँ ।’

उनले माओवादी दस्तावेजले समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई दर्शाएको रुपमा उल्लेख गरे । तर एमालेको बढी नै चिन्ता गरेका उनले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै सम्पूर्ण ध्यान गालीगौजमा केन्द्रित भएको जिकिर गरे । दाहालले माओवादी पार्टी र नेतृत्वविरुद्ध एमालेले झुठा र भ्रामक प्रचार गरेको, आक्षेप लगाउने कुरामै केन्द्रित जिकिर पनि गरेका छन् ।

उनले यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको दाबी गरे । माओवादीले सरकारमा रहँदा या बाहिर हुँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, आवश्यकता र जनचाहना सम्बोधन गर्ने जमर्को गरिरहेको जिकिर गरे ।

तर एमाले भने भ्रष्टाचारीहरूलाई बनाउने, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको देखिएको दाबी गरे । ‘एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा वुर्जुवा अराजकतावादलाई जोड दिएको छ’, उनले माओवादी र एमालेको तुलनाग गर्दै भने, ‘यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले तुलना गरेर हेरिरहेकै छन् ।’

एमालेबारे प्रचण्डको चिन्ता त्यतिमै रोकिएन । उनले माओवादीको नयाँ योजना र कार्यनीतिभन्दा धेरै एमालेबारे ब्याख्यामा समय खर्चिए । दाहालले एमालेभित्र आन्तरिक लोकतन्त्र समाप्त भएको दाबी गरे । तर आफ्नो नेतृत्वमा माओवादीले मत व्यवस्थापनका लागि जनवादी केन्द्रीयताको नीति कार्यान्वयन गरिरहेको उल्लेख गरे।

‘एउटा पार्टी (एमाले) बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले अलिक नमिल्दो भयो भनिरहेका छन् । एकजना व्यवसायी (मीनबहादुर गुरुङ) बारे अदालतमा मुद्दा छ । जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई महिला नेताले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गरिएको छ’, दाहालले एमालेबारे सु्नाए, ‘झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्काशन गरेर नोकरशाही केन्द्रीयता र तानाशाहीमार्फत् आफ्नो प्रभुत्व कायम गर्ने काम भएको छ ।’

उनले माओवादीमा भने फरक मतहरूलाई पनि सम्मान गर्ने काम भएको बताए । ‘हाम्रोमा आएका मतहरूलाई देशैभरी परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने गरेका छौँ । सहमति र समझदारी बनाउने कोशिस गरिएको छ’, उनले थपे, ‘यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डिल गर्ने दुई विश्व दृष्टिकोण प्रष्ट भएको छ ।’

उनले सम्बोधनका क्रममा अध्यक्ष ओलीसँग रुष्ट नेता-कार्यकर्ताहरूलाई आफूतिर तान्न फकाउने पनि कोसिस गरे । ‘यो कुरा पक्कै नेकपा एमालेभित्रका इमान्दार, प्रगतिशील र बामपन्थी नेता कार्यकर्ताले हिसाब गरेको हुनुपर्छ’, उनले भने, ‘तपाईं-हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्रको बहसलाई कसरी ह्याण्डल गर्दैछौँ र गर्छौँ भन्ने देखाएका छौँ । अरु बुर्जुवा पार्टीले र खासगरी संशोधनवादीले कसरी हयाण्डल गर्दारहेछन् भन्ने राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ ।’

दाहालले ओलीसँग असन्तुष्ट पंक्तिलाई एमालेभित्रका इमान्दार नेता-कार्यकर्ताको संज्ञा दिए । यी दुई बैठकले एमालेभित्रका इमान्दार नेता-कार्यकर्तालाई राम्रो शिक्षा र वाम ध्रुवीकरण र वामपन्थी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ पनि दिएको उनको टिप्पणी थियो ।

‘यो विषयले कोठाभित्र बैठकको अभ्यास मात्रै नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रष्ट गर्छ । एउटाले मजदुर, किसान, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरूको हकका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ’, उनले एमाले र माओवादीको तुलनामा भने, ‘अर्कोले तिनका अधिकार खोस्न तथाकथित् संविधान संशोधनमार्फत कमजोर पार्ने कोशिस गरेको छ । एउटाले हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामती लगायतका विधेयक पारित गर्न जोड गर्ने निर्णय गरेको छ भने अर्कोले संघीयता कमजोर पार्ने प्रयास गरेको छ ।’

एमालेबारे सम्बोधनको अंश :

बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्यौं र त्यही दिनदेखि अर्को एउटा पार्टी एमालेले बैठकको सुरुवात गर्यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरूले पक्कै पनि तुलना गरेर हेरेकै होलान् । यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् ।

म के मात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्तावेज तयार पारेका छौं । यसमा हाम्रो समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा यसको औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेका छौं भने अर्को पार्टीको सम्पूर्ण ध्यान गालीगौजमा, झुठा र भ्रामक प्रचारमा, मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखियो । मलाई लाग्छ यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको स्थिति छ । माओवादीले सरकारमा रहँदा या सरकारबाहिर रहँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, यसको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको छ भने अर्को पार्टीे भ्रष्टाचार, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको छ भन्ने कुरा प्रष्ट देखिएको छ ।

एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा बुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरि नै राखेको छ । एउटा पार्टीको बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले पनि यो चाहि अलि नमिल्दो भयो, एउटा त्यस्तो व्यवसायी, जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई जना महिला नेताहरूले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गर्ने र झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्काशन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोशिस गरियो भने हाम्रो पार्टीमा मतहरूलाई सम्मान गर्ने, आएका मतहरूलाई देशैभरि परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोशिस गरियो ।

यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डल गर्ने दुई विश्व दृष्टिकोण देखिए । मलाई लाग्छ, यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमान्दार, प्रगतिशील र बामपन्थी नेता कार्यकर्ताहरूले हिसाबल गर्नुभएकै होला । तपाइँ हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्याण्डल गर्दैछौं र गर्छौं भने अरु वुर्जुवा पार्टीहरूले र खासगरी संशोधनवादीहरूले कसरी हयाण्डल गरे र गर्दारहेछ भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ ।

यी दुई बैठकले राम्रो स्कुलिङ, खासगरी एमालेभित्रका इमान्दार नेता कार्यकर्तालाई पनि राम्रो शिक्षा दिन्छ । यसले बाम ध्रुवीकरण र बामपंथी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ यसले राम्रोसँग देखाएको छ । यो विषय एउटा कोठाभित्रको बैठकको अभ्यास मात्र नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रष्ट गर्दछ । एउटाले यो देशका मजदूर, किसान, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरूको हक अधिकारका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ भने अर्कोले तिनका अधिकार खोस्नका लागि तथाकथित् संविधान संविधान संशोधनमार्फत त्यसलाई कमजोर पार्ने कोशिस गरेको छ ।

एउटाले हिजो हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामति लगायतका विधेयक पारित गर्न जोड लगाउने निर्णय गरेको छ भने अर्कोतले संघीयता कमजोर पार्ने प्रयास गरेको छ । समग्रमा दुई पार्टीका बैठकबाट एमाले उदार पुँजीवादी वुर्जुवा संस्कृतितिर अगाडि बढेको तथाकथित् कम्युनिष्ट गुट हो भन्ने देखिएको छ भने अर्कोतिर हाम्रो पार्टी वैचारिक निष्ठासहित समाजवादप्रति अगाडि बढ्न जमर्को गरेको पार्टी हो भन्ने देखिएको छ । यी दुई दलका प्रवृत्ति आगामी दिनमा अझ स्पष्टरुपमा देखा पर्दै जाने छन् । हामीले तयार पारेको राजनीतिक दस्तावेज प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाँदा हाम्रो र एमालेबीचको भेद स्पष्ट रुपमा देखा पर्दै जाने छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ३४ बजे

दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन्

छविलाल जोशी र रामबहादुर खनालले पनि बुझाए धरौटी

काठमाडौं – सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशी र

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको

रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको

यस्तो छ रविलाई छाड्ने १३ पन्ने आदेश (पूर्णपाठ)

काठमाडौं– कास्की जिल्ला अदालतले रवि लामिछाने लगायतका प्रतिवादीहरुका सन्दर्भमा धरौटीमा