कुलमानले गरे कार्यसम्पादनमा ९८.९९ प्रतिशत दाबी | Khabarhub Khabarhub

कुलमानले गरे कार्यसम्पादनमा ९८.९९ प्रतिशत दाबी


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा आफूले कार्यसम्पादनमा ९८.९९ प्रतिशत ल्याएको दाबी गरेका छन्‌ ।

कुलमानले बिहीबार गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अङ्क दावी गरी मूल्याङ्कनका लागि मुख्य कार्यसम्पादन सूचकाङ्क समेटिएको विवरण विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका हुन्‌ ।

मन्त्रिपरिषद्ले २०७८ साउन २५ गते घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रोपटक नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको थियो ।

ऊर्जा मन्त्रालयबाट आव २०७८/७९ र २०७९/८० मा गरेको कार्यकारी निर्देशक घिसिङको कार्यसम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अङ्क प्राप्त भएको थियो । कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।

प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै नाफाको इतिहास सुरु गरेको थियो ।

त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।

प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । आठ वर्ष अघिसम्म प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । आव २०७९/८०मा विद्युत चुहावट १३.४६ प्रतिशत थियो ।

प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।

कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा प्राधिकरणले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडी बढाइएको प्राधिकरणले जनाएको छ ।

देश लोडसेडिङमुक्त भएर नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्ताहरुलाई विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् प्रविधि मार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको प्राधिकरणको दाबी छ ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङ्मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ ।

गत आवको बर्खायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आवमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको थियो । प्रसारण तथा वितरण लाइन, सबस्टेसन निर्माणमा पनि ठूलो सफलता हासिल भएको प्राधिकरणले जनाएको छ ।

यो पनि –

कुलमान नभएको मौकामा कार्यकक्ष बनाएर प्राधिकरण छिरे ऊर्जामन्त्री

सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा के छ ?

कुलमान हटाउने अन्तिम प्रयासमा प्रधानमन्त्री ओली

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : २२ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले

उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्योगहरूको व्यवस्थापनलाई

एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा

काठमाडौं – ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा

आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकासमा