उ गाउँ हेरेर शहर फर्किएको छ
घरभरी लागेका माकुराका जालो
उम्रिरहेका वनमाराका झाडी
लेउ लागेका आँगन
दैलोमा बाआमाका तस्बिर
सुनसान छ गाउँ
खै के के हेरेर उ शहरै फर्किएको छ
मन रोएको छ
तर, पाइलो दौडिएको छ
गाउँमा –
घर छन्, मान्छे छैनन्
स्कूल छन्, विद्यार्थी छैनन्
सडक छन्, मोटर छैनन्
अस्पताल छन्, बिरामी छैनन्
नेतामात्रै छन्, भोटर छैनन्
खण्डहर उठिबास पो छ गाउँ
रित्ता घरहरूले गाउँ रुँघिरहेछन्
प्रत्येक घरका भविष्य विदेश भासिएछन्
चौतारी सुनसान छ
सोरठी, चुड्का र सालैजो खै कता पो छ
गाउँ त गाउँ जस्तै छैन
गाउँ रित्तिनु इतिहास रित्तिनु हो
सभ्यता र संस्कृति मेटिनु हो
भाइचारा सकिनु हो
गाउँ नहुनु त देश नै नहुनु पो हो !
प्रतिक्रिया