ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताएका छन् ।
विज्ञान प्रवर्द्धनका लागि जापानी समाज (जेएसपीएस) को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन (एनजेएए) द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताए।
कृषि क्षेत्रमा पुर्याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।
‘मानव वन्यजन्तुबीचको द्वन्द्व गम्भीर चुनौतीका रूपमा देखा परेको छ, मानिसको जनसङ्ख्या वृद्धिसँगै वन्यजन्तुको प्राकृतिक आहार तथा वासस्थान खण्डीकरण र सङ्कुचन भई आहार र वासस्थानको खोजीमा मानववस्तीमा वन्यजन्तु पस्दा द्वन्द्व मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । बाँदर, बँदेल, दुम्सी, हात्ती गैँडा जस्ता जनावरले किसानका खेती बालीमा क्षति पुर्याउने समस्या बढिरहेको छ’, उनले भने।
‘बाँदर आतंक बढेपछि किसानले खेती गर्ने उत्साह गुमाउँदै गएका छन्, गाउँ बस्ती उजाड जस्तै बन्न थालिसकेको छ, बसाइसराइको क्रम आकासिएको छ’, मन्त्री अधिकारीले भने।
उनले गाउँघर सुनसान हुँदै गएको र ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझिने क्रम बढेकाले कृषि क्षेत्रमा मात्रै नभई देशको समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा नै प्रभाव पारेको बताए।
‘बाँदरलगायत वन्यजन्तुका कारणले नेपालको राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने देखिएको छ, विगत दुई दशकमा नेपालमा मानव जातिमा देखा परेको ६० प्रतिशत उदीयमान सङ्क्रामक रोगहरू पशुमा सङ्क्रमण भएर देखापरेका छन् । वैज्ञानिक, सामाजिक, आर्थिक र मानवशास्त्रीय अध्ययनमार्फत जोखिम व्यवस्थापन र न्यूनीकरण हुनु आवश्यक छ’, उनले भने।
मन्त्री अधिकारीले वन्यजन्तुमा रोग निगरानी प्रणाली आवश्यक छ भने। मुलुकको समृद्धि कृषकको समृद्धिसँग जोडिएकाले सबैले हातेमालो गर्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने मन्त्री अधिकारीले बताए।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक दिलीप सुब्बाले मानव जनसङ्ख्या बृद्धिसंगै वन्यजन्तुले आफ्नो गतिविधि सहज रूपमा गर्न नपाएकाले मानव वन्यजन्तु द्वन्द्व बढेको बताए। उनले वन्यजन्तुले आफ्नो वासस्थान र सिकार गर्ने क्षेत्रको सङ्कुचन हुँदा मानव बस्तीहरूमा परेर खेती बाली नोक्सानी गर्ने गरेको भन्दै यसले खाद्य सुरक्षामा चुनौती थपेको बताए।
नेपालका लागि जापानी राजदूत तामुरा ताकाहिरोले आधुनिक समाजमा वन्यजन्तु व्यवस्थापन ठुलो चुनौती बनेको धारणा राखे। उनले जलवायु परिवर्तनले उनीहरूको वासस्थान र सिकार खेल्ने क्षेत्रमा प्रभाव परेको छ भन्दै यो विषयमा छलफल गरेर समाधान गर्नु आवश्यक छ भने ।
प्रतिक्रिया