उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती | Khabarhub Khabarhub

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती



जनकपुरधाम – पछिल्लो समय मन्त्री भएपछि विकास निर्माणको आवश्यकता र प्राथमिकता भन्दा आफ्नो निर्वाचन क्षेत्रमा अर्बाैको बजेट लाने प्रवृत्ति मौलाएको छ । तर, लाखौं नागरिकको हितका लागि गर्नुपर्ने विकासका काम नेतृत्व र मन्त्रीहरूको नजरमा पर्दैन । यसको प्रत्यक्ष उदाहरण हो धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीको पुल । पुल अभावमा यस क्षेत्रका स्थानीयले पुस्तौदेखि भोग्दै आएको पीडा अझै उस्तै छ ।

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीमा १३ वर्ष अघि सुरु भएको पुल निर्माणको काम अझै पुरा हुन सकेको छैन । पुल अभावमा यस भेगका नागरिकलाई आउजाउ गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ भने हिउँदमा अस्थायी बाँसको पुलको भर छ । 

विसंं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएपछि  तत्कालीन भौतिक पूर्वाधार मन्त्री हृदयेश त्रिपाठीले २०६८ साल मंसिरमा उक्त पुलको शिलान्यास गरेका थिए । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । 

बिल्डर्सको कमान्डमा निर्माण अन्तिम चरणमा पुगिसकेपछि विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिएको थियो । तर उद्घाटन नहुँदैको अवस्थामा पुल भासिएको थियो । १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । निर्माणको क्रममा कमशल सामाग्रिको प्रयोगका कारण पुल भाँसिएको स्थानियको आरोप छ । 

 हुलाकी राजमार्ग लगभग तयारी अवस्थामा पुगेपनि लामो समयसम्म कमला पुल निर्माण नभएपछि त्यसको प्रत्यक्ष मार यहाँको विकास निर्माणमा समेत परेको छ । यस भेगका बासिन्दाको जीवनपद्धति नै संकटमा परेको छ । बाढीको बेला असार–साउनमा सिरा र धनुषाको सम्बन्ध नै विच्छेद हुन पुग्छ । 

कमला नदीमा पुल नबन्दा जनकपुर–सिरहाको दूरी छोटिन सकेको छैन । सिरा सदरमुकामबाट मधेस प्रदेशको राजधानी जनकपुरधाम मात्र ४० किलोमिटर दुरीमा छ । तर कमला पुल नबन्दा महेन्द्र राजमार्ग भएर जनकपुरधाम पुग्नुपर्ने बाध्यता छ । महेन्द्र राजमार्ग भएर आवतजावत गर्दा करिब एक सय किलोमिटरको दुरी तय गर्नुपर्ने सिरा र धनुषावासीको बाध्यता छ ।

कमलाको पीडा

धनुषाको कमला नगरपालिका– ५ मरानका राजदेव महतो गाउँमा दूध संकलन हरेक दिन सिराहा बजार पुग्ने गर्छन् । डब्बामा सय लिटर दूध संकलन गरी उनी मोटरसाइकल हुइँकाउँदै सिराहा बजार पुग्ने गर्छन् । करिब सात किलोमिटरको दूरीमा रहेको सिराहा बजार पुग्न उनलाई झन्डै २० देखि २५ मिनट लाग्ने गरेको बताए । वर्षायाम भने उनलाई झनै समस्या थपिने गरेको उनको दुखेसो छ । धनुषाबाट सीमावर्ती भारतीय बजार जयनगर पुगेर लामो यात्रा गर्दै दूध लिएर सिराहा आउनुपर्छ जानुपर्छ । 

राजदेवसँगै कमला– ५ लक्करका रामबाबु यादव पनि दूध बेच्न सिराहा जाने गर्दछन् । उनले सिराहाको डेरी, चिया पसल र मिष्ठान्न पसलमा दैनिक ८० लिटर दूध बेच्ने गरेको बताउँछन् । रामबाबुलाई पनि वर्षातको वेला दूध बोकेर सिरा पुग्न निकै सास्ती खेप्नुपर्छ । वर्षातमा नदीमा पानी भरिभराउ हुँदा काठे डुंगा समेत बन्द हुन्छ । पुल नहुँदा उनीहरूलाई भारत पुगेर सिराहा जानुपर्ने बाध्यताको विकल्प छैन ।

 उनले भने ‘कमला पुल नबन्दा वर्षातमा धेरै गाह्रो हुन्छ । ३० मिनेटमा पुग्न सकिने सिराहा बजार पुग्न दुई घन्टाभन्दा समय बढी लाग्छ ।’

 अस्थायी पुलको सहारा

आसपासका नागरिकलाई नदी पार गर्न अहिले अस्थायी बाँसको पुलको सहारा छ । यसका लागि प्रतिदिन प्रति मोटरसाइकल २० रुपैयाँ तिर्नु पर्ने बाध्यता छ ।

सिरहा नगरपालिकाले सर्वसाधारणका लागि निःशुल्क गर्नुपर्ने यो अस्थायी पुल बनाएर १५ लाख ७५ हजारमा ठेक्का लगाएको छ । 

सोही ठाउँबाट प्रत्येक दिन आउजाउ गर्ने जनकनन्दनि गाउँपालिकाका राकेश कामतले अस्थायी बाँसको पुल बनाएर सरकारले सेवा दिइरहेपनि यसलाई निःशुल्क गर्नुपर्ने बताए ।

 उनले भने‘स्थानीय सरकार भनेको आफ्नै गाउँ ठाउँका नागरीलाई सेवा दिनका लागि बनेको हो । तर यहाँ सरकार लुट्नको लागि मात्रै भएको जस्तो लाग्न थालेको छ । यस्ता अस्थायी पुल बनाएर स्थानीयलाई सेवा दिनुको साँटो ठेक्का लगाएर २० रुपैयाँ उठाउन व्यस्त छ सरकार । यस्ता पुललाई अविलम्ब निःशुल्क गरिनुपर्छ ।’

यस पुल निर्माणको माग गर्दै यस अघि पनि धनुषा र सिरहाका नागरिक कयौं पटक आन्दोलित भएका थिए । सरकारको लापरबाही र ठेकेदारको ढिला सुस्तीका कारण पुल निर्माण नभएपछि सरकारलाई दबाब दिन भदौको पहिलो साता १० जना युवा मधेशका मुख्यमन्त्रीको कार्यालय अगाडि ४ दिन सम्म अनसनमै बसेका थिए । 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : १६ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल