मौरीपालनबाट किसान लाभान्वित | Khabarhub Khabarhub

मौरीपालनबाट किसान लाभान्वित


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त छन् । दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गरेका उनीसँग हाल २८ घार मौरी रहेका छन् ।

यस वर्ष मात्र खड्काले दुईपटक गरी करिब चार सय केजी मह उत्पादन गरेका छन् । अहिले तोरी फुलेको समय भएकाले चाँडो चाँडो मह तयार हुने उनको भनाइ छ । यसबाट खड्काले राम्रो आम्दानी गर्दै आएका छन् ।

स्थानीय बजारमा मह प्रतिकिलोग्राम (केजी) सात सय रुपैयाँमा बिक्री हुने गरेको छ । थोरै लगानी र थोरै श्रमबाट पनि राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरीपालन व्यवसाय उत्तम भएको उनको अनुभव छ ।

देवचुलीकै जसमती रानाले समेत मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले छ वर्षअघि दुई घारबाट सुरु गरेकोमा हाल आठ घारमा मौरी छन् । आफूले वर्षको तीन सय केजीसम्म मह उत्पादन गरी बिक्री गर्ने गरेको रानाले बताए । फुर्सदको समय सदुपयोग होला भनेर थोरै मात्रमा मौरीपालन गरे पनि यसबाट भएको आम्दानीले घर खर्च चलाउन सहज भइरहेको उनको भनाइ छ । बिक्रीका लागि बजार सुनिश्चित हुने हो भने थप मौरीको पालन गरी राम्रो आम्दानी लिन सकिने रानाले बताए ।

नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले हाल सबैजसो किसानले मह काढ्ने काम गरिरहेको बताए । उनका अनुसार चरनको राम्रो व्यवस्थापन गर्नेले कात्तिकदेखि र घरमै घार राख्नेले मङ्सिरको अन्तिम साताबाट मह काढ्न थालेका छन् । घरमै घार राख्नेहरूले सामान्यता एक वर्षमा तीनदेखि चार पटकसम्म र बाहिर लगेर मौरीको चरन व्यवस्थापन गर्नेले वर्षमा ६ देखि ८ पटकसम्म मह निकाल्ने गरेका छन् ।

नवलपुरको देवचुली, कावासोती, गैँडाकोटमा यस्ता किसान क्रमिक रूपमा बढ्दै गएका छन् । पहाडी क्षेत्रका पालिकामा भने व्यावसायिक रूपमा मौरीपालन अघि बढ्न नसकेको महासङ्घ अध्यक्ष कँडेलले बताए । व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानलाई व्यावसायिक किट विकास केन्द्र बन्दीपुरले सहयोग गर्दै आएको छ ।

किसानले मौरीको चरनका लागि पश्चिममा दाङ र पूर्वमा चितवनसम्म मौरी लैजाने गरेको छन् तर यस व्यवसायमा विषादीको प्रयोग चुनौतीका रूपमा रहेको छ ।

तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको मौरीपालक किसानको भनाइ छ । फूल फुल्ने रैथाने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको उनीहरूले जनाकारी दिए ।

नेपाल मौरीपालक महासङ्घका अनुसार नवलपुरमा यस वर्ष करिब ७० टन मह उत्पादन हुने अनुमान रहेको छ । महको प्रकृति हेरी सात सयदेखि एक हजारसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएको मह स्थानीय बजारबाट खपत हुने गरेको र थप बजारको खोजी र व्यवस्थापनका लागि महासङ्घबाट समेत पहल भइरहेको जनाइएको छ ।

महको प्रयोग स्वास्थ्यका लागि लाभप्रद मानिन्छ । पछिल्लो समय मह सेवन स्वास्थ्यका लागि लाभदायक रहेको भन्ने जनमानसमा पर्दै गएकाले महको बजार विस्तार हुँदै गएको महासङ्घका अध्यक्ष कँडेलले बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : २९ बजे

वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम

सिरहा– जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन

कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट 

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका संसदीय

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

पथरी –यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ

घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै

मुम्बई- बलिउडका चर्चित कलाकार सैफ अली खानलाई उनको घरमै पसेर