काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ ।
बिहीबार काठमाडौंमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजुदुर ट्रेड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले नो हर्ज प्लीज अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय २०७३ सालमा नो हर्ज प्लीज अभियान सुरु गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए ।
उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।
त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिए पनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसेकेको बताए ।
भक्तपुरदेखि काठमाडौंसम्म द्रुत बसको सेवा सुरु गरे पनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुत बस सञ्चालनमा समस्या भएको उनले बताए ।
उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया