काठमाडौं – माथि फोटोमा देखिएका व्यक्ति हुन् लक्ष्मण आचार्य !
एक करोड रुपैयाँ लगानी गरी प्युठान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि नाममा टोखामा हार्डवेयर व्यवसाय गरिरहेका आचार्यल निर्माण सामग्री बेच्ने गरेका छन् ।
अरूको हार्डवेयर पसलमा काम गरेर केही अनुभव बटुलेपछि आचार्य आफैँले व्यवसाय खोल्ने सोच बनाए । सामान ल्याएर बेच्न पनि थाले ।
व्यवसायले गति लिँदै गयो । व्यवसाय विस्तार गर्ने क्रममा टोखामा थप एउटा हार्डवेयर पसल खोले ।
आचार्यका अनुसार; हार्डवेयर व्यापारमा थोक बिक्रेताले सामानको परिमाणअनुसार सामान्यताः २५ लाख रुपैयाँको चेक काटिदिएपछि दुई गाडी सिमेन्ट झारिदिन्छन् । चेक जारी गरेको बैंक खातामा ३० या ६० दिनभित्र रकम बिलअनुसारको रकम डिपोजिट गरिदिनुपर्छ । एकपटक सामानको मूल्य भुक्तानी गरेपछि थोक बिक्रेताले परिमाण बढाउँदै चार गाडीसम्म सामान झारिदिन्छन् । निर्माण बजारमा यस्तो क्रम चलिरहेकै हुने आचार्य बताउँछन् ।
‘कारोबार बढ्दै गएपछि २५ लाखको चेक दिइएको छ भने कम्पनीले २२ लाख रुपैयाँसम्मको सामान रकम भुक्तानीबिनै झारिदिन्छ’ उनले भने, ‘यो सिलसिला २०७६ सालदेखि २०८० सालसम्म निरन्तर चलिरह्यो । त्यसरी नै कारोबार गरिरहेका बेला कोरोना महामारी फैलियो । हामी सबै व्यापारीहरू समस्यामा पर्यौँ ।’
वि.सं. २०७६ सालतिरको कुरा हो – मुलुककै ठूलो व्यापारिक घराना चौधरी ग्रुप उत्पादित सीजी सिमेन्टका व्यक्तिहरू आचार्यको पसलमा आए । आचार्यलाई ‘हामी उधारोमा सामान दिन्छौँ, त्यो सामान बेच र त्यस बापत चेक देऊ’ भने ।
आचार्यको व्यापार पनि ठीकठाक चलिरहेको थियो । आफूले सामान बेच्न सक्ने विश्वासको साथमा उनले पनि सीजी सिमेन्ट कम्पनीका कर्मचारीले दिएको अफर सहजै स्वीकारे । सीजी सिमेन्टलाई आचार्यले २५ लाख रुपैयाँको चेक काटेर दिए । त्यो बापत कम्पनीले पनि उनलाई दुई गाडी सिमेन्ट झारिदियो ।
सिमेन्ट बेचेर आफूले केही फाइदा राखी आचार्यले कम्पनीलाई ३० दिनभित्रै रकम दिए । ‘वर्ष वर्ष दिनमा पोष्ट डेटेड चेक (पछिको मिति राखी काटिने चेक) साटिराख्ने, उधारोमा सामान दिँदै जाने, महिना वा ६० दिनमा बैंक खातामा रकम हाल्दै जाने चलन थियो’, आचार्यले आफ्नो व्यापार गर्ने शैली बताउँदै भने, ‘त्यसरी नै मैले लामो समयसम्म व्यापार चलाएको थिएँ ।’
आचार्यले सीजीसँग मात्र होइन, अन्य कम्पनीहरूसँग पनि त्यसरी नै कारोबार गर्ने गर्थे । द्विपक्षीय विश्वास र इमान्दारितामा व्यापार चलिरहेकै थियो ।
त्यही सिलसिलामा २०८० साउन ३० गते आचार्यले २५ लाख रुपैयाँको पीडीसी चेक काटेर सीजीलाई दिए । आर्थिक मन्दी र कोरोना महामारीको असरका कारण व्यापारमा मन्दी छाएको थियो । आचार्यले चेक त दिए, तर बजारबाट आफूले उठाउन बाँकी रकम पाउन सकेनन् ।
आचार्यले बजारबाट पैसा उठाउन समस्या भएको कम्पनीलाई बताए । आफूलाई थप सामान झारिदिन पनि अनुरोध गरे । तर, कम्पनीले न उनको समस्या बुझ्यो, न त थप सामान झारिदियो ।
‘मलाई कम्पनीले लिमिट बढाइदिन सकेन । बजारबाट पैसा उठ्न ढिला भयो’, आचार्यले भने, ‘लिमिट बढाइदिएको भए मैले त्यो पैसा सहजै तिर्न सक्थेँ ।’
आचार्यले २०८१ मा अर्को चेक काटेर दिए, तर कम्पनीले त्यो चेक लिन मानेन। ‘कम्पनीले नगद दिएरै सामान झार्न भन्यो । तर, क्रेडिट लिमिट नबढाएपछि मैले सामान ल्याउन सक्ने अवस्था भएन’, आचार्य भन्छन्, ‘बजारबाट पैसा उठेन, कम्पनीको पैसा पनि तिर्न सकिनँ ।’
सीजी सिमेन्टको रकम तिर्न भन्दै कम्पनीबाट आचार्यलाई फोन आउँथ्यो । महामारीबाट नराम्ररी थलिएका उनले रकम तिर्न कि बजारबाट पैसा उठ्नुपथ्र्यो, या त कम्पनीले थप सामान उपलब्ध गराए बेचेर कम्पनीलाई रकम भुक्तानी गर्न सक्थे ।
निर्माण क्षेत्रमा सङ्कट देखिँदा सबैभन्दा आधार तहको व्यवसाय कसरी जोगाउने भन्नेतिर सीजी सिमेन्ट लागेन, एकोहोरो रकममात्रै मागिरहे । आचार्यले सीजीका कर्मचारीलाई पैसा तिर्ने भाखा दिनुबाहेक अर्को विकल्प थिएन, त्यसै गरे ।
कम्पनीसँग २०८१ मङ्सिरको २७ गते पुरानो बाँकी तिर्ने विषयमा कुराकानी भएको आचार्य बताउँछन् । उनका अनुसार; त्यतिबेला कम्पनीसँग पुस २ गते अफिसमा आउने र सहमतिको कागज गर्ने कुरा भएको थियो ।
‘कुलपूजामा जानुपर्ने भएकाले मैले पुस २ गतेको समय मागेको थिए’, आचार्यले भने, ‘कम्पनीका प्रतिनिधिले पनि हुन्छ भनेका थिए ।’
तर, कम्पनीसँग कुराकानी भएको दुई दिनभित्र आचार्यलाई प्रहरीले पक्राउ गर्यो । उनी छाँगाबाट खसेजस्ता भए । प्रहरी आएर एक्कासी समात्दा आफूलाई किन पक्राउ गर्ने खोजेको भन्ने कुरासमेत भेउ पाएनन् । किनकी कम्पनीसँग कुराकानी भएकै थियो,
‘भन्दाभन्दै मङ्सिर २९ गते मलाई प्रहरीले चेक बाउन्सको केसमा पक्राउ गर्यो’, आचार्यले भने, ‘कम्पनीको वकिलको नाम सुशील खतिवडा हो । उहाँसँग बोलेको मसँग कल डिटेल पनि छ । उहाँले पनि हिरासतमा आउँदा कसरी पक्राउ परेको भन्ने आफूलाई थाहा नभएको भन्नुभएको थियो ।’
आचार्यले अझ थपे, ‘भदौको ४ गते नै पक्राउपुर्जी दर्ता गराएको रहेछ । तर, मलाई केही थाहा छैन । त्यसपछि पनि म दुईपटकसम्म कम्पनीमा गएको थिएँ ।’
चेक बाउन्सको उजुरी खेपेका आचार्यले १६ दिन हिरासतमा बिताउनुपर्यो । त्यस्तो मुद्दामा धरौटी राखेर छुट्न सक्ने भए पनि थाहा नभएकाले आफूले थप दुःख पाएको आचार्यले बताए । मुद्दाको फाइलमै जालझेल गरेजस्तो आफूलाई लागेको उनले जनाए ।
आचार्य बल्लतल्ल हिरासतबाट त छुटे, तर यता व्यापारमा थप असर देखिन थाल्यो । व्यवसायमा समस्या आउँदा सीजी सिमेन्टले गरेको व्यवहारले व्यक्तिगत आत्मविश्वासमात्रै होइन, अनाहकमा पारिवारिक र सामाजिक प्रतिष्ठामा समेत प्रश्न उठ्यो ।
‘बजारमा पैसा उठाउन पनि टाउको निहुर्याएर जानुपर्ने स्थिति भयो’ उनले भने, ‘मेरो उधारो सामान लैजानेले समेत चोरलाई झैँ व्यवहार गरे, जब कि म हिरासतसम्म पुग्नुमा उनीहरूले नै सामानको रकम समयमै भुक्तानी नगर्नु एउटा मुख्य कारण थियो ।’
व्यापार गर्ने खोज्दा उत्पादक कम्पनी र राज्यसंयन्त्रको साठगाँठमा आफ्नो आत्मसम्मानमा ठूलो आँच पुर्याइएको बताइरहँदा आचार्य स्तब्ध देखिए । व्यापारमा समस्या भएको बेला रकम तिर्न ढिला हुँदा र तिर्ने बताउँदा/बताउँदै आफू पक्राउ पर्दा व्यवसायमात्रै होइन, देशमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास नै टुटेको निचोड उनले सुनाए ।
चेक बाउन्सको मुद्दा लाग्नेबित्तिकै व्यक्ति र संस्थालाई कालोसूचीमा राख्ने प्रवृत्तिको आचार्यले विरोध गरे । कानुन बनाएर तोकिएको निश्चित वर्षसम्म पनि चेकमा उल्लेख भएको रकम नदिएमात्र कालोसूचीमा राख्नुपर्ने आचार्यको भनाइ छ ।
‘चेक बाउन्समा उजुरी हाल्नेबित्तिकै कालोसूचीमा व्यक्ति नै पर्छ’, आचार्यले भने, ‘उसका बुवाआमा र छोराछोरी पनि राज्यका अवसरबाट वञ्चित भए । विदेश जान, लोकसेवा लड्न र बैंकमा खाता खोल्न पनि वञ्चित हुनुपर्ने खालको नियम छ, त्यो तत्कालै खारेज गर्नुपर्छ ।’
‘ऋण तिर्दिनँ’ भन्न नहुने, तर कालोसूचीमा राख्ने व्यवस्था पुनरावलोकन गरी चेकबाउन्सको म्याद बढाइदिए ऋणग्राहीलाई सहज हुने आचार्य बताउँछन् ।
आचार्य पछिल्लो समय आफूजस्तै व्यापारीको पक्षमा उभिने गरेको बताउँछन् । राज्यलाई दबाब दिन भएपनि आफूजस्तै समस्यामा परेका व्यापारीहरूको लागि पनि बोलिरहेको आचार्यको भनाइ छ ।
‘म १६ दिन हिरासतमा बस्दा समान समस्या भोगेका धेरै व्यापारीहरू भेटेँ, उहाँहरूमध्ये अधिकांश बाहिर आउन चाहनुभएको छैन’, आचार्यले भने, ‘अब त्यस्ता व्यापारी एकजुट हुनुपर्छ, सङ्कटकै बेला साना व्यापारीलाई कसिकसाउ गरी घेरा हालेर हिरासतसम्म पुर्याउने प्रवृत्तिविरुद्ध लड्नुपर्छ ।
प्रतिक्रिया