काठमाडौं – पूर्वगृहमन्त्री वामदेव गौतमको एमाले प्रवेशमा तत्कालका लागि ‘ब्रेक’ लागेको छ । मंगलबार बसेको एमालेको सचिवालय बैठकले वामदेव गौतमलाई तत्कालै पार्टीमा भित्र्याउन रुची नदेखाएपछि वामदेवको घरफिर्तीमा अवरोध आएको हो।
नेकपा (एमाले)मा फर्कन वामदेव गौतम तयारी अवस्थामा थिए । सुरुमा माधवकुमार नेपालसँग छलफल गरेर एकीकृत समाजवादीमा जान सहमत भएका गौतमले अचानक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाएका थिए ।
माघ ४ गते ओली र वामदेवबीच करिब घण्टा वार्ता भएको थियो । त्यसको दुई दिनपछि माघ ६ गते एमाले अध्यक्ष ओलीले फोन गरेर गौतमलाई एमालेमा फर्किने विषयमा पार्टी सकारात्मक रहेको र यसबारे सचिवालय बैठकमा छलफल हुने बताएका थिए ।
माघ ४ गते भएको वार्ताबारे खबरहबसँग कुरा गर्दै वामदेवले भनेका थिए, ‘ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ, उहाँले झगडा गरे पनि पार्टीभित्रै गर्ने, बाहिर चुप बस्ने र दाजुभाइ मिलेर पार्टी बनाउने भन्नुभएको छ ।’
ओलीसँगको छलफलपछि नेता गौतम एमालेमा प्रवेश गर्ने र ओलीसँगै हात मिलाएर नाच्ने भन्दै हौसिएका थिए । तर, मंगलबार बसेको एमाले सचिवालय बैठकले वामदेवको उत्साहमा चिसोपानी खन्याइदिएको छ ।
सचिवालय बैठकले वामदेवलाई तत्काल पार्टीमा नल्याउने तर सहकार्य र वार्ता गर्दै जाने निर्णय गरेको एमाले नेताहरु बताउँछन् । एमालेको निर्णयबारे उपमहासचिव प्रदीप ज्ञवालीले मिडियालाई दिएको प्रतिक्रियामा भनिएको छ, ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय भएको छ ।
आखिर, एमाले सचिवालय बैठकले किन वामदेवलाई पार्टीमा भित्र्याउन चाहेन ? बैठकमा कुन–कुन नेताले वामदेवको विरोध गरे र कसले समर्थन गरे ? यो प्रश्नको जवाफ खोज्दै जाँदा रोचक तथ्य फेला परेका छन् ।
एमाले सचिवालय बैठकको अन्तर्य
गत मंगलबार एमाले सचिवालय बैठक बस्यो । बैठकमा अध्यक्ष ओलीले वामदेवसँग भएको छलफलबारे ब्रिफिङ गरे । आफूले वामदेवलाई एकपटक भेटेको अर्कोपटक फोनमा कुरा गरेको अध्यक्ष ओलीले बैठकमा बताए ।
त्यसपछि ओलीले ‘वामदेवलाई के गर्ने ? पार्टीमा फर्काऊँ त ?’ भनेर सचिवालयका नेतालाई सोधे ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको बोल्ने पालो आयो । उनले ‘उहाँलाई एक्लै ल्याएर के गर्ने, अब केन्द्रीय सदस्यमा मात्र उहाँ बस्न मान्नुहुन्न, दोस्रो वरीयता खोज्नुहोला’ भने ।
पोख्रेलले त्यसो भनिरहँदा ओलीले ‘हरेक व्यक्ति आउँदा विधान नै त फेर्न सकिँदैन’ भने ।
उपाध्यक्ष पोखरेलले बोलिसकेपछि अध्यक्ष ओलीले माओवादीबाट एमालेमा पसेका अर्का उपाध्यक्ष रामबहादुर थापा बादललाई सोधे, ‘के गर्ने त बादल कमरेड ?’
बादलले बैठकमा भने, ‘वामदेवलाई ल्याउँदा पार्टीमा फेरि गुटबन्दी बढ्छ । पार्टी विघटनतिर जान्छ ।’
एमाले सचिवालय बैठकमा सहभागी एक नेताले खबरहबसँग भने, ‘कमिटीले जिम्मा दिएर अध्यक्षले वार्ता सुरु गर्नुभएको होइन । अरूलाई थाहा दिएर सुरु गरेको पनि हैन । वार्ता अध्यक्षले गरेपछि अध्यक्षले नै टुङ्ग्याउनु राम्रो होला
बैठकमा बोल्ने अन्य केही नेताहरुले ‘वामदेव सदस्यमा मात्रै बस्नुहुन्न, फेरि भीम रावलको हालत हुन्छ’ भन्ने कुरा उठाएको एक नेताले बताए ।
पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतले वार्ता गरेर अध्यक्ष ओलीले नै यो विषय टुंग्याउनुपर्ने सुझाव दिएका थिए।
एमाले सचिवालय बैठकमा सहभागी एक नेताले खबरहबसँग भने, ‘कमिटीले जिम्मा दिएर अध्यक्षले वार्ता सुरु गर्नुभएको होइन । अरूलाई थाहा दिएर सुरु गरेको पनि हैन । वार्ता अध्यक्षले गरेपछि अध्यक्षले नै टुङ्ग्याउनु राम्रो होला ।
यति छलफल भइसकेपछि अहिलेलाई वार्ता र छलफल गर्दै जाने सहमति भएको स्रोतको भनाइ छ ।
‘अध्यक्षले पनि वामदेवलाई ल्याउन खोजेको जस्तो देखिएन । अध्यक्षले चाहेको भए पार्टीमा उहाँको कुरालाई कसले रोकेको छ र ? सचिवालयका एक नेताले खबरहबसँग भने, ‘उहाँले ल्याउन चाहेको भए त ईश्वर कमरेड पनि त चुप लाग्नुहुन्थ्यो ।’
सचिवालयका अर्का एक नेता भन्छन्, ‘वार्ता गर्दै जाने हो, पद दिनलाई विधान नै संशोधन गर्नुपर्छ, त्यो अहिले सम्भव छैन ।’
नेकपा एमालेमा अहिले १९ जना पदाधिकारीमध्ये १८ जना जिम्मेवारीमा छन् । निलम्बनमा परेका सचिव टोपबहादुर रायमाझीको पद खाली छ । वामदेव सचिवालयमा आउँदा विधान संशोधन गर्नुपर्ने नेताहरु बताउँछन् ।
एमालेले वामदेव भित्र्याउन चाहेको भए बैठकमा आमन्त्रित सदस्य बनाउन सक्ने कतिपय नेताहरुको तर्क छ । तर, यसबारे एमाले बैठकमा छलफल भएन ।
वामदेवसँग आइतबार खबरहबले सोधेको थियो, ‘तपाईँ र ओलीबीच भएको सहमति त फेरिँदैन नि ?’
जवाफमा गौतमले भनेका थिए, ‘ओहो ! कसरी फेरिनु ? अब त पक्का भइसक्यो ।’
यो पनि-
ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ : वामदेव गौतम (अन्तर्वार्ता)
उता एमालेका एक नेताले खबरहबसँग भने, ‘वामदेव बिहान एउटा कुरा गर्छन्, बेलुका अर्कै कुरा । उनको बोलीको के अर्थ भयो र ?’
वामदेवको ‘राष्ट्रिय एकता’ मा दुईपटक फुट
नेकपा एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम ०७८ भदौ १८ गते अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै त्यस लगत्तै पार्टीबाट बाहिरिएका थिए ।
नेकपामा विभाजन आएपछि गौतमले विगत दुई वर्षयता ‘राष्ट्रिय एकता अभियान’ नामको समूह चलाएका थिए ।
ओलीसँग वार्ता गर्नुपूर्व गौतम नेकपा एकीकृत समाजवादीमा जाने चर्चा चलेको थियो । यसक्रममा उनले माधवकुमार नेपालसँग पुस १७ गते ‘सैद्धान्तिक सहमति’ नै गरिसकेका थिए । तर, समाजवादीमा माधव र झलनाथ खनालपछिको तेस्रो वरीयता नपाएको र र ओलीले एमालेकमै आउन भन्दै फकाएका कारण उनी एमालेतिर ढल्किएका थिए ।
एक सातामा दुईपटक एमाले अध्यक्ष ओलीसँग वार्ता गरेपछि गौतमले एमालेसँग एकता हुने पक्का भएको सार्वजनिकरुपमै बताएका थिए । तर, गौतम हतारमा एकताको घोषणा गरेर फुर्सदमा पछुताउने अवस्थामा पुगेका छन् ।
एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाभित्र विवाद हुँदा उपाध्यक्ष गौतम कहिले ओलीतिर र कहिले प्रचण्ड-माधवतिर लागेका थिए । कुनैबेला उनी तटस्थ बस्ने गरेका थिए ।
अन्ततः नेकपा विभाजनपछि ब्युँतिएको एमालेमा नबसी उनी ‘एकता अभियान’ चलाएर बसे । तथापि उनको अभियान दुईचोटि फुटिसकेको छ ।
प्रतिक्रिया