काठमाडौं – वेदना राई रङ्गमञ्च पृष्ठभूमि भएकी कलाकार हुन् । उनले आधा दर्जनभन्दा बढी नाटकमा केन्द्रीय भूमिका निर्वाह गरेकी छन् ।
वेदनाले आफूलाई रङ्गमञ्चको कलाकारमा मात्रै सीमित राखेकी छैनन्, नाटक निर्देशनमा पनि हात हालेकी छन् ।
वेदनाले फिचर फिल्ममा पनि अभिनय गरेकी छन् । यद्यपि उनलाई चर्चामा ल्याउने जस भने सिरियल ‘उकुस मुकुुस’लाई जान्छ । जुन सिरियलमा उनी केन्द्रीय कलाकार हुन् ।
वेदना किशोरावस्था पार गरेपछि रङ्गमञ्चमा प्रवेश गरेकी हुन् । त्यसअघि न उनी रङ्गमञ्चबारे परिचित थिइन्, न त चाख नै थियो ।
जब उनी दर्शक बनेर नाटकघर पुगिन् – नाटकको आकर्षणले उनलाई रङ्गमञ्चबाट उम्किन दिएन, आकर्षण गरिरह्यो ।
सोही आकर्षणका कारण बनेको परिचयले उनलाई यही क्षेत्रमा काम गर्न ऊर्जा थपिरहन्छ । उनी भन्छिन्, ‘अब चाहेर पनि म यो क्षेत्रबाट टाढा रहन सक्दिनँ होला !’
वेदना भविष्य खोज्दै कसरी रङ्गमञ्चसम्म आइपुगिन् भन्नेमा यो सामग्री केन्द्रित छ ।
खोटाङमा बाल्यकाल
पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ लामाखुमा जन्मिएकी वेदनाको सुरुवाती बाल्यकाल त्यहीँ बित्यो । उनी राई दम्पतीकाा पहिलो सन्तान हुन् । उनकी एक बहिनी छिन् ।
उनको बाल्यकालमा लामाखु दुर्गम र विकट गाउँ थियो । जुन गाउँमा मोटरबाटो, विद्युत् र विद्यालयसम्म सहज पहुँच थिएन ।
उनको घरबाट उकालो ४५ मिनेटको दूरीमा स्कूल थियो । उनले कक्षा तीनसम्मको पढाइ त्यहीँ पूरा गरिन् ।
उनलाई सम्झना भएसम्म लामाखुमा पसल थिएनन् । लामाखु बजारिया सामानका लागि पञ्चमे बजारमा निर्भर थियो ।
लामाखुबासी अन्नबाली र घरमा पालेका पशुपक्षी पञ्चमे बजारमा लगेर बेच्थे । त्यही पैसाले नुन, तेल र आवश्यक सामान किनेर ल्याउँथे ।
बुवा वैदेशिक रोजगारका लागि यूएई छिरेकाले वेदनाको हुर्काइ आमाको संरक्षणमा भयो । स्कूल नगएकी आमाले नै उनलाई अक्षर चनाएकी थिइन् ।
वेदनाले सुनाइन्, ‘मेरो ममी (आमा) स्कूल जानुभएको होइन, तर बुवालाई चिठीसमेत आफैँ लेख्नुहुन्थ्यो । खै कसरी सिक्नुभयो ! दिउँसो त उहाँ खेतीपातीमा व्यस्त हुनुहुन्थ्यो । राति मलाई पढ्नलेख्न सिकाउनुहुन्थ्यो ।’
सानै हुँदा विदेश छिरेकाले बुवासँग भने उनको बाल्यकाल बित्न पाएन । छुट्टीमा बुवा घर आउँदा पनि आफूलाई पाहुनाजस्तो लाग्थ्यो ।
‘बुवा घर आउँदा को आयो जस्तो लाग्ने ! पर बसेर हेरिन्थ्यो । बिस्तारै अलि घुलमिल हुन थाल्दा उहाँको फर्कने समय भइहाल्थ्यो । दुई/तीन वर्षको अन्तरालमा एक महिनाजसो बस्नेगरी आउनुहुन्थ्यो ।’
वेदनाका बुवा मात्रै होइन, गाउँका प्रत्येक घरका एक व्यक्ति रोजगारीका लागि विदेश गएकै हुन्थे । वेदनाजस्तै अन्य बालबालिकाको कथा यही हो ।
मोरङ बसाइ
वेदना नौ वर्षकी हुँदा परिवार मोरङस्थित लेटाङमा बसाइँ सर्यो ।
वैदेशिक रोजगारीबाट बुवाले केही आर्थिक प्रगति गरेपछि सन्तानलाई गुणस्तरीय शिक्षा र सहज जीवनशैलीका लागि लेटाङ झरेको उनको बुझाइ छ ।
वेदनाका बुवा/आमाका लागि खोटङको लामाखुभन्दा लेटाङ सुगम थियो । दैनन्दिन सहज हुन्छ भन्ने आशा थियो ।
वेदनाका हकमा भने लेटाङ झरेपछि स्कूलको पहुँच सहज भयो । स्कूलसम्म जान साइकल पाइन् ।
अर्को कुरा – उनको घर अब रङ्गीन टेलिभिजनको समेत धनी भयो, जुन बेला कमैको घरमा त्यस्तो टेलिभिजन हुन्थ्यो । प्रवासी बुवाले टीभी ल्याएका थिए । हेर्न छिमेकीको भीड लाग्थ्यो ।
यस्तो भीड वेदनाले खोटाङमा रहँदा छिमेकी ठूली आमाको घरमा देख्थिन् ।
प्लस टूमा असफल
वेदनाको बुवाले जन्मथलो छोडेर लेटाङ बसाइँ सर्नुको प्रमुख लक्ष्य नै सन्तानलाई गुणस्तरीय शिक्षा दिनु थियो ।
वेदनाले सहज र खोटाङको तुलनामा गुणस्तरीय शिक्षा पाएकै थिइन् । अंग्रेजी माध्यमकै निजी विद्यालयमै पढ्न पाइन् ।
वि.सं. २०७० उनले एसएलसी पास गरिन् । एसएलसीमा ७९ प्रतिशत ल्याएका कारण ‘प्लस टू’मा विज्ञान विषय लिएर पढ्नुपर्ने नैतिक दबाब थियो ।
सुनाइन्, ‘उत्कृष्ट विद्यार्थीले साइन्स (विज्ञान), मध्यमले कमर्स (व्यवस्थापन) र कमजोरले आर्टस् (मानविकी) लिन्छन् भन्ने भाष्य थियो । मलाई मध्यम र कमजोरमा गनिनु थिएन । जान्ने विद्यार्थीमा गनिन साइन्स लिएँ ।’
उनले साइन्स नै पढिन्, तर उत्तीर्ण हुन सकिनन् । पढेर निश्चित पेशा अगाल्ने लक्ष्य नभएका कारण पनि उनको प्राथमिकतामा पढाइ थिएन ।
भनिन्, ‘मलाई यो बन्छु भन्ने नै थिएन, इगोले रोजेको विषयमा ध्यान पनि गएन ।’
त्यसबेला उनले पढाइ बिग्रनुको बहाना पनि पाएकी थिइन् । त्यो थियो – शिक्षण पेशा । प्लस टू पढ्दै अर्को स्कूलमा ६–८ कक्षासम्म पढाउँथिन् । तर, पढाइ बिग्रनुको खास कारण त पढाइमा धेरै ध्यान नदिनु नै थियो । तर, पढाइ बिग्रँदा यता पढाउँदै थिएँ भन्ने बहाना चाहिँ मिल्यो ।’
भागेर काठमाडौं
वेदना भन्छिन्, ‘मेरो जीवनमा निश्चित उद्देश्य नै थिएन । तर रहरहरू पलाउँथे, तिनले गति लिँदैन थिए ।’
उनमा नर्स बन्ने इच्छा पलाएको थियो, त्यो इच्छाले पखेटा हालेन । हेल्थ असिस्टेन पढ्ने लक्ष्य पनि यस्तैउस्तै भयो ।
एसएलसीपछि उनले गितार सिक्ने इच्छा पनि गरेकी थिइन, त्यो रहर पनि त्यत्तिकै मेटियो ।
भन्छिन्, ‘ममीले नकिनिदिँदासम्म गितार सिक्ने भूत थियो, किनिदिएपछि मन मर्यो ।’
एसएलसीपछि उनले केही महिना सङ्गीत पनि सिकिन् । छिमेकका एक व्यक्ति सङ्गीतको विद्यार्थी भएका कारण उनले त्यो अवसर पाएकी थिइन् ।
भन्छिन्, ‘सङ्गीत सिक्ने व्यवसायिक ठाउँ चाहिँ थिएन । छिमेकको दाइले सङ्गीतमा स्नातक गर्नुभएको थियो । उहाँले आफूले सिकेको कुरा सिकाउनुहुन्थ्यो । सिक्ने हामी धेरै थियौं ।’
वेदनाको सङ्गीत लगावले पनि गति लिन सकेन । तर, सङ्गीत सिकाउनले व्यक्तिले साटेको अनुभवले निकै प्रभावकारी बन्यो ।
उनले भनेका थिए, ‘यहाँ बसेरै अवसर आउँदैन । जीवनमा प्रगति गर्ने हो भने लेटाङबाट निस्कनुपर्छ, अवसर खोज्न निस्कनैपर्छ ।’
सङ्गीत सिक्दै गरेकी वेदनालाई उक्त भनाइले प्रभावित गरेको थियो । ‘प्लस टू’ अनुत्तीर्ण भएर शिक्षण पेसामा आबद्ध भइरहँदा उनलाई झन् बिथोल्न थाल्यो ।
‘ती दाइले भविष्य बनाउने हो भने बाहिर निस्कनुपर्छ भन्नुभएको छ, आफू फेल भएको छु । त्यहीमाथि पढाउन स्कूल जाने, घर आउने मात्रै ! रोचकविहीन दैनिकी छ । मेरो जीवन यसै पढाएरै बित्ने भयो भन्ने लाग्न थाल्यो । कति बेला लेटाङ छोड्नु भन्ने भयो,’ वेदनाले सुनाइन् ।
लेटाङ छोडेर काठमाडौं आउने निर्णय घरमा सुनाइन् । कडा स्वभावकी आमाबाट ‘हुँदैन’ भन्ने जवाफ पाइन् ।
एकल जिद्दीले काठमाडौं आइन् । आएपछि मात्रै आफू काठमाडौंमा रहेको जानकारी दिइन् ।
भन्छिन्, ‘म त भागरै काठमाडौं आएको हो नि ! बुवालाई अलिअलि थाहा थियो । ममीसँग चाहिँ भागेकै हो ।’
काठमाडौंमा संघर्ष
वेदनासँग लेटाङमै जागिर गरेको पैसा मौज्दात थियो । काठमाडौं आएर केही समय बस्न समस्या भएन, होस्टल खोजेर बसिन् ।
काठमाडौं आएर उनले सुरुमा दुई कुरा गरिन् । पहिलो– पढाइलाई निरन्तरता र दोस्रो जागिर !
साइन्समा फेल भएकाले उनलाई त्यही विषय पढ्ने इगो थियो । काठमाडौं आएर साइन्स नै पढिन् ।
काठमाडौंमा टिक्न जागिरको आवश्यक थियो । एक गाडी कम्पनीको रिसेप्सनमा जागिर गरिन् ।
भन्छिन्, ‘सबै कुरा आउँछ भनेर जागिर खाएको थिएँ । सुरुमा त्यो काम गर्न पनि निकै मुस्किल भयो ।’
आएको केही समयमै वेदनाले बहिनीलाई पनि काठमाडौं ल्याइन् । त्यसपछि भने घरबाट पनि आर्थिक सहयोग हुन थालेको उनी सुनाउँछिन् ।
भन्छिन्, ‘घरबाट पनि सहयोग हुने भएपछि कोठा खोजेर बहिनी र म बस्न थाल्यौं । त्यसपछि भने केही सहज हुन लाग्यो ।’
नाटकको चस्का
काठमाडौं आएर वेदनाले साइन्स लिएरै ‘प्लस टू’ उत्तीर्ण गरिन् । तर भविष्यमा के गर्ने र के बन्ने ? भन्नेबारे अनिर्णित नै थिइन् ।
यता रिसेप्सनको जागिर छोडेर ‘आईटी’ कम्पनीको प्रशासन विभागमा जागिरे भइन् । जुन जागिरबाट पनि उनी उम्कने निर्णयमा पुगिसकेकी थिइन् ।
भन्छिन्, ‘जागिरबाट मेरो मन भरिइसकेको थियो । अरू के गर्ने भनेर सोचिरहेकी थिएँ । तर, कुन बाटो लाग्ने निर्णय लिन सकेको थिइनँ ।’
त्यत्तिकैमा उनी शिल्पी थिएटरमा ‘दीक्षान्त’ नाटक हेर्न पुगिन् । उनी साथीले बोलाएकाले नाटकघर पुगेकी थिइन् । नाटकघरमा उनले पहिलो पाइला राखेको त्यही बेला थियो ।
उनलाई नाटक के हो भन्ने नै थाहा थिएन । स्टेजमा कलाकारले दिएको प्रस्तुतीले वेदनालाई मोहित पार्यो । उनको मूल्याङ्कनमा कलाकारहरूको अभिनय क्षमता अद्भूत थियो ।
उनीहरूले हाँस्दा दर्शक हाँस्ने, रुदा दर्शक पनि रुने ! यो दृश्य देखेपछि उनी नाटकमा मोहित भएकी थिइन् । नाटकको जादुयी आकर्षण बढ्न थाल्यो । नाटक होइन जादु हो जस्तो महसुस भयो । अर्को दुनियाँमा पुगेजस्तो भयो ।’
यो आकर्षणले उनलाई दोस्रोपटक पनि नाटकघर पुर्यायो । त्यसपछि भने उनमा पनि अभिनय गर्न रङ्गमञ्चमा उक्लने रहर पलायो ।
रहर त पलायो, तर प्रक्रिया थाहा थिएन । अर्कातिर आफू पनि अभिनय गर्नसक्छु भन्ने आँट थिएन ।
नाटकको आकर्षण रहरै रहरमा बढ्यो । रङ्मञ्चसँग जोडिन मन लाग्यो । तर प्रक्रियाबारे उनी अन्योलमा थिइन् ।
रङ्गमञ्चसँग जोडिन उनले आफूले हेरेको नाटकका कलाकारसँग फेसबुकमा जोडिने प्रयास गरिन् । उनीहरूको प्रोफाइल खोतलिरहनु वेदनाको दैनिकी नै भयो ।
कलाकारहरूको फेसबुकका गतिविधिले झन् उनलाई नाटकका आकर्षण बढायो । उनीहरूको रिहर्सलको फोटो/भिडियोले वेदनालाई मोहित पाथ्र्यो । बोल्ने शैली, उनीहरूले फेसबुकमा राख्ने फोटोहरू नै कलात्मक किसिमको हुन्थ्यो । नाटकमा लागेपछि जीवन नै कलात्मक हुन्छ भन्ने महसुस हुन थाल्यो ।
उनलाई नाटकमा लाग्ने निर्णय लिन यिनै कुरा पर्याप्त बने । ‘जे होस् एकपल्ट प्रयास गर्छु’ भन्ने लाग्यो ।
अफिसमा हुँदा पनि थिएटरका कलाकार र थिएटरका फेसबुक पेज नै हेरिरहन्थिन् । जसरी हुन्छ – रङ्गमञ्च पुग्ने प्रयास गर्ने नै हो भन्ने विचार पलाउन थाल्यो ।
वेदना अब नाटकका लागि एकाग्र बनिसकेकी थिइन् । विभिन्न थिएटरको पेज भिजिट गर्न थालिन् । तर, महिनौं कुर्दा पनि उनले कुनै थिएटरमा अभिनय कार्यशाला खुलेको सूचना पाइनन् ।
एक दिन उनको धैर्यताको बाँधले भत्कियो । मण्डला थिएटरमा फोन गरेर सोधिन्, ‘कहिलेबाट अभिनय कक्षा खुल्छ ?’
फोनमा उनले केही महिनापछि खुल्ने जवाफ पाइन् । फोन गरेको करिब दुई महिनापछि वेदनाले फेसबुकबाटै अभिनय कार्यशाला खुलेको सूचना पाइन् ।
भन्छिन्, ‘मलाई अभिनय सिक्ने इच्छा यति पलाएको थियो कि सूचना पाएको भोलिपल्टै मण्डला पुगेर फर्म भरेँ । चयन नै नभइ जागिर पनि छोडेँ ।’
पहिलो नाटकले जुराएको अवसर
वेदना मण्डलाको ०७६ सालको ‘रियाक्ट ब्याच’को विद्यार्थी हुन् । सातौं ब्याचपछि यो विषेश ब्याच हो, अर्थात् यस ब्याचका प्रशिक्षार्थीले नाटक र फिल्म दुवैको अभिनय कार्यशाला पाएका थिए ।
यो ब्याचलाई साढे दुई महिनाको कोर्स सक्न एक वर्ष लाग्यो । कारण थियो– कोराना महामारीका कारण भएको लकडाउन !
यो ब्याचका नाट्य प्रशिक्षार्थीले एउटा नाटक गर्नैपर्ने अनिवार्यता भएन । सोहीकारण कोर्स सकिन लाग्दै गर्दा मन खेलेको कुरा वेदनाले सुनाइन्, ‘अभिनय गर्न मन छ, कसले नाटकमा अभिनय गराउने ? अब अभिनय सिकियो, के काम गर्ने भन्ने डर पैदा हुन लाग्यो ।’
यो डर वेदनामा मात्रै थिएन । अधिकांश साथीहरू एक–अर्कालाई यस्तै डर लागेको सुनाउँथे ।
तर, यही डरमा वेदना धेरै समय आत्तिनु परेन । नाटक ‘मित ज्यू’का लागि प्रस्ताव आयो, जुन नाटकका निर्देशक नायक दयाहाङ राई थिए । कलाकारहरूमा बुद्धि तामाङ र विजय बरालजस्ता चलेका अनुहार थिए ।
पहिलो नाटकको रिहर्सलकै क्रममा वेदनाले सिरियल ‘उकुस मुकुस’मा काम गर्न पाइन् । यो अवसर मिलाएकोमा उनी आफ्ना अभिनय प्रशिक्षक बुद्धि तामाङप्रति कृतज्ञ छन् ।
भन्छिन्, ‘सिरियलका लागि थिएटरमा राम्रो अभिनय गर्ने भोटबर्मेली अनुहार चाहियो भनेर बुद्धि सरलाई कुरा आएछ । उहाँले मेरो नाम सिफारिस गरिदिनुभएछ ।’
बुद्धिले वेदनालाई पढाएका थिए । तर, उनको अभिनय हेर्न पाएका थिएनन् । कारण – उनले कुनै रङ्गमञ्च उक्लिनै पाएकी थिइनन् ।
भन्छिन्, ‘खै कसरी मलाई विश्वास गर्नुभयो बुद्धि सरले ! मैले अभिनय गर्न नसकेको भए उहाँलाई नै गाल आउँथ्यो । तर पनि मलाई पठाउनुभयो ।’
वेदनाले नाटक र सिरियल सँगै लगिन् । ११ भाग प्रशारण भएको त्यो सिरियल निकै चर्चित बन्यो । त्यही सिरियलमार्फत् उनी पनि चर्चित बनिन् ।
भन्छिन्, ‘नाटक र सिरियल सँगै गर्न बुद्धि सरले नै सहज गरिदिनुभयो । हामीले सोचेभन्दा बढी चल्यो सिरियल पनि !’
सोही सिरियलबाट वेदना दर्शकको ‘नोटिस’मा परिन् । केही हदसम्म चर्चित पनि बनिन् ।
सिरियलको प्रसारण जारी हुँदा टिकटक खोल्यो कि त्यसैको क्लिप भेटिन्थ्यो । त्यसबेला सिरियल साँच्चै चलेछ भन्ने लाग्थ्यो । पछि सामाजिक सञ्जालमा फलोअर्स बढेपछि सिरियल साँच्चै प्रभावकारी भएको पाइन् ।
कलाकारबाट निर्देशक
वेदनाको पहिलो नाटक ‘मित ज्यू’ भए पनि त्यसमा उनको संवाद भने थिएन ।
उनले संवाद बोल्न पाएको नाटक भने ‘चोरको स्वर’ हो, जुन उनको दोस्रो नाटक हो ।
यद्यपि दोस्रो नाटकसम्म यात्रा तय गर्न पुलको काम भने पहिलो नाटकले नै गरेको थियो ।
वेदनाले भनिन्, ‘पहिलो नाटकले मलाई नाटककै सर्कलसँग चिनायो, अरू नाटकमा जोडिन सजिलो भयो ।’
दोस्रो नाटकपछि वेदनाले पछाडि फर्केर हेर्नुपरेन । उनी काममै व्यस्त छिन् ।
भन्छिन्, ‘एउटा नाटकमा ३/४ महिना व्यस्त भइन्छ । त्यो नाटक सकिँदा अर्को नाटकका सुरु भइहाल्छ । खाली बस्नुपर्ने अवस्थै हुँदैन ।’
उनले अहिलेसम्म दजनौं नाटकमा अभिनय गरेकी छिन् । आधा दर्जनभन्दा बढी नाटकमा केन्द्रीय भूमिका निर्वाह गरेकी छिन् ।
गत भदौबाट उनले नाटक निर्देशनमा पनि हात हालेकी छन् । उनको निर्देशन रहेको पहिलो नाटक ‘शिल्पिनी’ हो, जुन मण्डलामा मञ्चन भएको थियो ।
उनले ‘ओसीएमसी’ नाटक पनि निर्देशन गरेकी छन् ।
‘एक थिएटर नेपाल’ स्थापना
वेदना आफ्नो अभिनय दायरा फराकिलो पार्ने क्रममा छिन् । उनले नाटकसँगै फिचर फिल्ममा पनि अभिनय गरेकी छन् ।
उनको डेब्यू फिल्म ‘छक्का पञ्जा’ हो । त्यसमा उनी सहायक भूमिकामा छिन् ।
उनको अभिनय रहेको फिल्म ‘अञ्जिला’ फागुनमा प्रदर्शनमा आउँदैछ । छायाङ्कन भइरहेको एक अर्को फिल्ममा पनि उनले अभिनय गर्दैछिन् ।
वेदनासहितको टिमले अहिले पुरानो बानेश्वरमा ‘एक थिएटर नेपाल’ सञ्चालन तयारी गरिरहेको छ । रङ्गमञ्चबाटै आएका ऊर्जाशील ११ जनाको टिम मिलेर यो नाटकघर स्थापना गरेका हुन् ।
भन्छिन्, ‘नाटक गर्दै जाँदा एउटा यही क्षेत्रमा केही गर्नुपर्छ भन्ने ऊर्जाशील साथीहरूको टिम बन्यो । आफ्नो लागि आफैँ स्थान बनाउनुपर्छ भनेर थिएटर खोल्ने निर्णय भयो ।’
अहिले ‘एक थिएटर नेपाल’मा स्टेज भने छैन । नाटकको ‘प्रि–पोडक्सन’को काम भने भइरहेको छ ।
‘एक थिएटर नेपाल’कै प्रोडक्सनमा तयार भएको एक नाटक मण्डलामा मञ्चन भइरहेको छ, जसको कलाकारमा वेदना पनि छन् ।
भन्छिन्, ‘अहिले हामीसँग मञ्च छैन, त्यो केही समयपछि बनाउने योजना छ ।’
‘एक थिएटर नेपाल’मा अभिनय र नृत्य कार्यशाला सञ्चालन गर्ने योजनामा वेदनाको टिम लागिपरको छ ।
‘यति अनुभवले तपाईंलाई के दियो ?’ भन्ने प्रश्नमा वेदनाको जवाफ छ, ‘नाटकले नै एउटा जीवनशैली बाँच्ने आत्मविश्वास दिएको छ ।’
प्रतिक्रिया