रविको मुद्दा कति वर्ष लम्बिएला ? | Khabarhub Khabarhub

रविको मुद्दा कति वर्ष लम्बिएला ?

समर्थक भन्छन्– २ वर्ष, विपक्षी भन्छन्– ६ वर्ष


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा विभिन्न जिल्लाअदालतमा हाजिर भइरहेका छन् । कास्की, काठमाडौं र रुपन्देहीपछि अब उनी चितवन र पर्सा जान बाँकी छ ।

तीनवटै अदालतले रविलाई थुना बाहिरै बसेर सुनुवाई गर्न सक्ने गरी धरौटीमा रिहा गरेका छन् । यस आधारमा अन्य जिल्ला अदालतले पनि धरौटीमै छाड्ने अनुमान गरिएको छ । यता, रविले धरौटी रकम बढी भएको भन्दै पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका छन् ।

आखिर, रवि लामिछानेले यो मुद्दाबाट कहिले छुटकारा पाउलान् ? तीनवटा अदालतले दिएको प्रारम्भिक सन्देश के हो ?

खबरहबले यस विषयमा दुईजना कानूनविदसँग जिज्ञासा राखेको छ । रविको पक्षमा र विपक्षमा बोल्दै आएका दुई कानूनविदहरुले जिल्ला अदालतको निर्णयको सन्देश फरक–फरक रहेको बताए पनि यो मुद्दा वर्षौंसम्म लम्बिन सक्नेमा भने समान धारणा राखे ।

तथापि, रविको पक्षमा बोल्ने वकिलले यो मुद्दा दुई वर्षसम्म चल्न सक्ने बताए भने विपक्षका वकिलले चाहिँ ५–६ वर्षसम्म मुद्दा लम्बिन सक्ने विश्लेषण गरे ।

कानूनका प्राध्यापक तथा डा. वरिष्ठ अधिवक्ता गान्धी पण्डित औपचारिकरुपमा रवि लामिछानेका वकिल हैनन् । तर, कम्पनी कानूनका ज्ञाता रहेका पण्डितले सार्वजनिक फोरमहरुमा रविको पक्षमा बोल्दै आएका छन् ।

खबरहबले अब रविको मुद्दा कसरी अगाडि बढ्ला भनेर सोध्दा कानूनविद पण्डितले यस्तो जवाफ दिए–

मुद्दाको अन्तिम टुंगो लाग्न डेढ–दुई वर्ष लाग्न सक्छ : पण्डित

रवि लामिछानेका बारेमा तीनवटै अदालतले गरेको आदेशले दुईवटा सन्देश दिन खोजेको छ । एउटा आर्थिक अपराधमा थुन्नुपर्ने अवस्था हुँदैन । दोस्रो–जहिले पनि थुन्ने भनेको अपवाद हो, धरौटीमा छाड्ने भनेको सामान्य नियम हो ।

अपवाद भनेको सीमित अवस्थामा मात्रै थुनामा राखिन्छ । सीमित अवस्था भनेको व्यक्ति भागी जाने सम्भावना भएमा, प्रमाण नष्ट गर्ने सम्भावना भएमा वा उसले अन्य अपराध गर्ने सम्भावना देखिएको अवस्था हो ।

तीनवटै अदालतको आदेशले सीमित अवस्थामा मात्रै थुनामा राख नत्र धरौटी वा तारेखमा छोड भन्ने मान्यतालाई स्थापित गर्न खोजेको हो । त्यसमा पनि आर्थिक अपराधमा त थुन्न पर्ने हुँदैन भन्ने हाम्रो परिपाटी र व्यस्थालाई स्थापित गर्न खोजेको हो ।

अदालतले ‘पहिला सुन, पछि थुन’ भनेको छ । नेपालको संविधानको धारा २० को उपधारा ५ ले कुनै व्यक्तिलाई अभियोग लाग्दैमा ऊ दोषी हुँदैन भनेको छ । फैसला नहुँदासम्म उ निर्दोष नै हो, त्यसकारण मुद्दा चलाउँदा पहिला धरौटीमा राख या तारिखमा छाड ।

प्रस्तुत मुद्दामा रवि लामिछाने भागी जाने सम्भावना भएन । उनले थप अपराध गर्ने सम्भावना पनि नरहेकाले र दुईवटा अदालतले धरौटीमा छोडिसकेको हुनाले तेस्रो अलदालतले पनि धरौटीमा छाड्नु स्वाभाविक हो । बरू बढी धरौटी लिएको विषय विवादको विषय भने बन्न खोजेको छ ।

अहिलेको मुद्दा भनेको थुनछेक प्रयोजनका लागि हो । दोषी वा निर्दोषका लागि सुनुवाइ भएको होइन । किनभने, तीनवटै अदालतमा दायर भएको सहकारी ठगी मुद्दाको अन्तिम टुंगो लाग्न डेढ–दुई वर्ष लाग्न सक्छ ।

दुई वर्ष लाग्न सक्ने अवस्थामा प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छोड्ने भन्ने विषयमा अदालतले के गर्‍यो भने, थुनमा राख्नुपर्ने अवस्था छैन । उसलाई तारेखमा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनेर मुद्दाको थुनामा या तारिखमा राख्नुपर्ने प्रयोजनको लागि मात्रै भएको हुनाले यो सुनुवाइले रवि लामिछाने दाषी वा निर्दोष भनेर टुंगो लाग्ने होइन । दोषी वा निर्दोषको टुंगो लगाउने अनितम फैसला हुँदा अलदालतमा दुवै पक्षको बहस सुनेर अन्तिम फैसला अदालतले गर्छ ।

त्यसैले यो थुनछेक प्रयोजनका लागि भएको सुनुवाइ छ, यसमा यदि व्यक्तिलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरे पनि भोलि मुद्दाको फैसला गर्दा सफाई पाउन सक्छ । अहिले तारिकमा राखेर मुद्दा चलाएको भए पनि भोलि अभियोग लाग्न सक्छ ।

अहिले थुनछेक प्रयोजनका लागि भएको सुनुवाइको आदेशले निर्दोष वा दोषी भनेर निक्र्योल गर्ने वा टुंगो लगाउने अवस्था होइन। लगाउन पनि हुँदैन ।

विपक्षका वकिल भन्छन्– यो मुद्दा ५–६ वर्षसम्म लम्बिन सक्छ

यसैवीच, हामीले सहकारी पीडितको पक्षबाट वकालत गरिरहेका एकजना अधिवक्तासँग पनि दुईवटा प्रश्न सोध्यौं– तीनवटा अदालतको फैसलाले दिएको सन्देश केहो ? र, रविको मुद्दा कति लामो जाला ?

बहस पैरवीमा सहभागी भएको हुनाले नाम उल्लेख नगर्न आग्रह गर्दै उनले यस्तो प्रतिक्रिया दिए–

यसको सन्देश भनेको रविको विपक्षमा गम्भीर प्रमाण भेटिए, अहिले नै उनलाई निर्दोष मानिँदैन र अहिले नै उनी कसुरदार होइनन् भन्न सकिने स्थिति भएन भनेर अदालतहरूले धरौटी मागेको हो । तत्काल प्राप्त प्रमाणले भोलि कसूर ठहर हुने देखियो भने अरु अदालतले पनि धरौटी माग्ने हुन्छ ।

अदालतले अहिले तत्काल रविलाई कसूरदार होइनन् भन्न सकिएन, यिनले अपराध गरेका छैनन् भन्न सकिएन, इन्कारी बयान गरे पनि रविले आफ्नो असंलग्नतालाई पुष्टि गर्न सकेनन् भनेको छ ।

यो मुद्दा लामो जान्छ । यसमा धेरै मान्छे समातिएकै छैनन् । जीबी राई नै समातिएका छैनन् । यो मुद्दा ५–६ वर्षसम्म लम्बिन सक्छ । जिल्लाबाट उच्च हुँदै सर्वोच्चसम्म जाँदा अझै लामो जान सक्छ । तबसम्म के हुन्छ भने रविको पद निलम्बन रहन्छ । उनले अन्तिम फैसला नभएसम्म चुनाव पनि लड्न पाउँदैनन् । पदरिक्त हुँदैन तर, ०८४ सम्म फैसला भएन भने उनी चुनाव लड्न पाउँदैनन् ।

यो पनि-
रवि लामिछानेलाई अदालतले भनेको के हो ?

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : २९ बजे

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु

किमाथांका– जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै

सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग

चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले

एजेन्सी– यसअघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा

ट्रम्पद्वारा सञ्चारमाध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यमहरूले आफूमाथि अत्यधिक नकारात्मक समाचार

‘पब्लिक स्पिच नेपाल’को विजेता बने जाजरकोटका दीपक

काठमाडौं– जाजरकोटका १९ वर्षीय दीपक राउत ‘पब्लिक स्पिच नेपाल’ को