कांग्रेसको नवप्रवर्तन मेला : उडुस मार्ने सेवा, चिया पिउने काइदा ! | Khabarhub Khabarhub

कांग्रेसको नवप्रवर्तन मेला : उडुस मार्ने सेवा, चिया पिउने काइदा !


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यो साता ‘नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन’ आयोजना गर्‍यो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार र बिहीबार भएको सम्मेलनमा नवप्रवर्तन (स्टार्टअप) व्यवसायीहरूले ९० भन्दा बढी स्टल राखे ।

मेला अवलोकन गर्न कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरू सानेपा पुगे । दैनन्दिन निरपेक्ष राजनीतिक जोडघटाउभन्दा पृथक नवप्रवर्तन मेलामा कांग्रेस इतरका व्यक्ति र सङ्घ/संस्थाका प्रतिनिधि पनि देखिए ।

कांग्रेसको नवप्रवर्तन मेलामा उडुस मार्नेदेखि चिया पिउन सिकाउनेसम्मका स्टल राखिएको थियो । मेलामा नेपालमै उत्पादित कोदोको कुकिज, स्वदेशी रोबोट, नेपाली ढाकाका समानहरू र नेपालकै प्राङ्गारिक (अर्गानिक) खाद्यान्न पाइने स्टल पनि छुटेनन् ।

उडुस, उपियाँ र साङ्ला मार्ने सेवा

वीपी नगरमा भएको मेलामा धेरै नेपालीलाई थाहा नभएको नौलो व्यवसायको स्टल थियो – अरेन्ज बल फर बेटर कन्ट्रोल !

सरसफाइसम्बन्धी काम गर्ने उक्त स्टार्टअपले विगत १३ वर्षदेखि उडुस, उपियाँ, साङ्ला, मुसा र सर्पजस्ता कीट र सरीसृप नियन्त्रण सेवा दिइरहेको छ ।

आफूहरूले दिने सेवा दैनिक जीवनमा सरसफाइको एउटा महत्वपूर्ण पाटो भएको कम्पनीका बजार तथा बिक्री अधिकृत अमर श्रेष्ठ बताउँछन् । उनका अनुसार अरेन्ज बल प्राइभेट लिमिटेडले सरसफाइसम्बन्धी सबै काम गर्छ ।

‘ट्वाइलेट बेसिन र घरहरू, टायल, मार्बल, किचेन, चिम्नी, सोफा, गलैँचा र कार्पेट लगायत सामानहरू दिनहुँ सफा गर्दा पनि फोहोर नै भइरहेको हुन्छ’, श्रेष्ठले भने, ‘हामी यी सामान पूरै सफा गरिदिन्छौँ ।’

नेपालमा यस्तो खालको व्यवसायबारे धेरै व्यक्तिलाई थाहा नभएको श्रेष्ठ बताउँछन् । आफ्नो कम्पनीले परेवाले बिस्ट्याएर फोहोर भएका ठाउँ सफा गर्नेदेखि घर र भवनमा लगाइएका सीसा सफा गर्नेसम्मका काम गर्ने गरेको उनले बताए ।

‘हामीले दिने सेवाबारे ७५ प्रतिशत मानिसलाई थाहा छैन’, श्रेष्ठले भने, ‘थाहा पाइएपछि चाहिँ नेपालमा पनि यस्तो सेवा आएछ भन्नुहुन्छ । हाम्रो प्रायः वेबसाइटबाटै थाहा पाउनुहुन्छ ।’

काङ्ग्रेसको नवप्रवर्तन मेलामा आएका प्रायः अरेन्ज बलको सेवा बुझेर अचम्भित हुने गरेका छन् । खानाका स्टल छिचोल्दै जाँदा राखिएको स्टलमा पुगेका अवलोकनकर्ताहरू नेपालमै यस्तो सेवा देखेर अचम्भित भए ।

यस्तो खालको व्यवसाय गरेको १५ वर्षभन्दा बढी भए पनि धेरै नेपालीको माझमा भने पुग्न नसकेको श्रेष्ठ स्वीकार गर्छन् । ‘काङ्ग्रेसले आयोजना गरेको मेलामा आउनुभयो, नेताहरूले चाहिँ कस्तो प्रतिक्रिया दिनुभयो ?’ भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘ए ! यो त चाहिने कुरा रहेछ भन्नुभयो ।’

‘जुगल माउन्टेन’लाई यूरोप पुराउने योजनामा सन्तोष

पहिलोपटक आफ्नो उत्पादन प्रवर्द्धन गर्न मेलामा आइपुगेका थिए – जुगल माउन्टेन गार्मेन्ट संस्थापक सन्तोष सुन्दास ।

एक वर्ष अघिमात्र कम्पनी दर्ता गरेका सुन्दास काङ्ग्रेसले आयोजना गरेको मेलामा आफ्नो उत्पादन प्रचार गराउन पाउँदा मख्ख थिए ।

काठमाडौंको बालाजु नजिकै जुगलका कपडाहरू उत्पादन गरिरहेका सुन्दासले शीरदेखि पाउसम्मका कपडा बनाउने गरेका छन् । गएको दसैँदेखि लत्ताकपडा बजारमा प्रवेश गरेका सुन्दासले आफ्नो ब्रान्ड नेपालमात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई फोकस गरी अघि बढाएको बताए ।

‘हालै म दुई महिनाजति डेनमार्कमा बसेर फर्किएँ । उता मेरो साढे तीन वर्षको बसाइ छ’, सुन्दासले भने, ‘अब म एक महिनाजति यता व्यवस्थापन गरेर उतै फर्कँदैछु । मेरो लक्ष्य भनेकै यूरोप र अमेरिकाभर ब्राण्ड फैलाउने हो ।’

व्यवसायिक भविष्य र राम्रो नाफा देखेरै आफूले कपडा व्यवसायमा हात हालेको सुन्दास बताउँछन् । ‘कपडा व्यवसाय धनियाँजस्तो होइन, जो आज नबिके भोलिसम्म कुहिन्छ । कपडाको व्यवसायमा कहिल्यैए घाटा हुँदैन भन्ने कुरा मैले बुझेको छु’, सुन्दासले भने, ‘मानव जातिलाई लुगा जहिल्यै चाहिने कुरा हो । भोलिका दिनमा यूरोपका देशहरूमा जुगललाई नेपालको ब्रान्ड भनेर चिनाउन सकँे भने मेरो जीवनको उपलब्धी त्यही हुनेछ ।’

सुन्दासको गृहजिल्ला सिन्धुपाल्चोक हो । सिन्धुपाल्चोकको सबैभन्दा अग्लो हिमाल जुगल हो । त्यही हिमालको नामबाट सुन्दासले आफ्नो कपडाको ब्रान्ड बनाएका हुन् ।

नेपालमा कपडाको थुप्रै ब्रान्डहरू छन्, तर, व्यवसाय छैन । तर किन नयाँ नयाँ ब्रान्डहरू खुलिरहेका छन् छ ? यो प्रश्न गर्दा सुन्दास भन्छन्, ‘बजारमा निकै प्रतिस्पर्धा छ । अहिले घरघरमा ब्रान्ड छ । हरेक होलसेलरले आफ्नै ब्रान्ड बनाउन खोजेका छन् । अहिले खुद्रा बजार सुक्नुको कारण पनि हरेक होलसेलको आफ्नै ब्रान्ड हुनु हो । होलसेलरहरूले अनलाइनबाट पनि सामान बेच्न सक्ने भए । सोसल मिडियामा पनि उहीहरूले नै विज्ञापन गरिरहेका हुन्छन् । त्यसैले म अन्तरराष्ट्रिय बजार केन्द्रित भइ अघि बढ्न खोजेको हुँ ।’

लुगामा लेबल प्रिन्ट गर्ने मेसिन नभएकाले सबै चिज नेपालमा बन्न नसकेकोमा सुन्दास दुखेसो गर्छन् । जुगल ब्रान्डमा लगाउने स्टिकर भारतबाट कुरियरको माध्यमबाट ल्याउनुपर्ने र गोटाकै सात रुपैयाँ पर्ने, त्यो आउन पनि १२–१५ दिन लाग्ने भएकाले सामान महँगो पर्ने गरेको सुन्दासको अनुभव छ ।

‘ज्याकेट बनाउन आवश्यक कच्चापदार्थ नेपामा बन्दैन’, सुन्दास भन्छन्, ‘सरकारले त्यस्ता व्यवसायीलाई सपोट गरेर गार्मेन्टमा प्रयोग हुने नयाँ प्रविधिहरू भित्राउन सहयोग गरिदियो भने राम्रो हुन्छ ।’

चेनदेखि कपडा बनाउन आवश्यक सबै सामान विदेशबाट ल्याएर डिजाइन गरी आफ्नो लोगो राखेर बजारमा पठाउने काम मात्र भइरहेकोमा सुन्दासको गुनासो छ । ‘हाम्रो मात्र होइन सबैको त्यही हुन्छ’, उनी भन्छन्, ‘कमै होलान् जसको बजेट ठूलो छ, नभए म्यानेज गरेर यता–उता गरेर किनेर ल्याउने हो ।’

सुन्दास कांग्रेसले मेलामा ठाउँ दिएकोमा भने खुसी छन् । ‘मैले पहिलोपटक यस्तो प्रदर्शनीमा आफ्ना उत्पादन राखेको हुँ । एकदमै खुसी छु । मैले यहाँ केही व्यापार पनि गरेँ’, खुसी हुँदै सुन्दास भन्छन्, ‘मैले यो माध्यमबाट प्रचार गर्ने पाउने ठुलो ठाउँ पाएँ, यो नै मेरा लागि खुसीको कुरा हो ।’

दुई लक्ष्मीको हातले बनाएको फूटवेयर

मेलामा घरमै बनाएको फूटवेयरका सामान लिएर प्रदर्शनी गर्न पुगेका थिए – लक्ष्मी प्रसाईं र लक्ष्मी पुरी ।

दुई ‘लक्ष्मी’ गृहणीहरूले समूहमा फूटवेयरको सामानहरू बनाउन सिकेर शुभलक्ष्मी फूटवेयर नामक हाते उद्योग सञ्चालन गरिरहेका छन् ।

दुई लक्ष्मीले कपडाको जुत्ता, कपडाको चप्पलहरू आफ्नै घरमा बनाउने गरेका छन् । उनीहरूले जुत्तामा प्रयोग हुने सोल पनि कैँचीले काटेर आफैँले बनाउने गरेको लक्ष्मी पुरी बताउँछिन् ।

आफ्नो स्टल अलिक पछाडि भएकाले अपेक्षित व्यापार भने हुन नसकेको पुरीको भनाइ छ । ‘अलिकति अगाडि भएको भए धेरै जनाले देख्नुहुन्थ्यो’, पुरीले भनिन्, ‘आएर हेरिदिने, यसबारे बुझिदिने काम प्रायः सबैजनाले गरिरहनुभएको छ । यहाँ आएर धेरै जनाले व्यवसाय अघि बढाउनुपर्छ भनी सद्भाव दिइरहनुभएको छ ।’

‘यो मेलामा आएपछि हामी महिलाहरूले पनि घरमै बसेर आयआर्जनका उपाय खोजी केही कमाइ आर्जन गर्ने सक्छौँ भन्ने विश्वास लागेको छ’, पुरीले भनिन् ।

मौसम पूर्वानुमान डिभाइस बेच्दै बस इन्डस्ट्रीज

मेलामा अर्को रोचक स्टल थियो – मौसम पूर्वानुमान गर्ने डिभाइसको प्रचार !

बस इन्डस्ट्रीज प्रालिका सक्रिय पाण्डेले मौसम परिवर्तन भएको विषयमा जानकारी दिने डिभाइसबारे बताइरहेका थिए ।

नेपालमा सबैभन्दा सस्तो एयर क्वालिटी दिने प्रोडक्ट आफूहरूले बनाएको पाण्डेको दाबी छ । उक्त प्रोडक्टले मौसमसम्बन्धी धेरै जानकारीहरू दिने गरेको पाण्डेले बताए ।

‘यसले प्राकृतिक प्रकोप आउनसक्ने सम्भावनाबारे जानकारी दिन्छ’, पाण्डेले भने, ‘सबै डेटाहरू तपाईँले वेबसाइटमा हेर्न सक्नुहुन्छ ।’

पाण्डेका अनुसार उनीहरूको कम्पनीसँग ३० वर्षभन्दा बढी समयदेखिका विश्लेषित तथ्याङ्कहरू छन् । जसबाट सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने गरेको पाण्डे बताउँछन् ।

‘सात दिन पछि मौसम कस्तो हुन्छ, कस्तो ठाउँमा आगलागी हुन सक्छ, कहाँ प्राकृतिक प्रकोप आउन सक्छ भन्ने कुरा अनुमान गर्न सक्छौँ’, पाण्डेले भने, ‘आगलागी भए त्यो कतिसम्म फैलिनसक्छ ? तपाईँको जग्गामा कति भू–क्षय हुनसक्छ भन्नेसम्मका जानकारी वेवसाइटबाट हेर्न सक्नुहुन्छ ।’

उक्त डिभाइस स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको पाण्डे बताउँछन् । कांग्रेसले गरेको नवप्रवर्तन मेलाले आफूहरूलाई राम्रो भएको पाण्डेको भनाइ छ ।

‘हाम्रो सेवा कृषिका लागि निकै महत्वपूर्ण छ । मेलामा हाम्रो उपकरण प्रयोग गर्न धेरै इच्छुक भएको पाइयो’, पाण्डेले भने, ‘हामीले स्थानीय तहदेखि केन्द्र सरकारका व्यक्तिहरूलाई पनि भेट्ने मौका पायौँ । नेपालीले पनि आफ्नै डिभाइस बनाउन सक्ने रहेछन् भनी सकारात्मक सन्देश गएको छ ।’

दाँत कोट्याउने सिन्कामा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

नवलपरासी गैँडाकोटमा एन्सी एग्रो टेक इन्डस्ट्रीज प्रालि सञ्चालन गरिरहेका व्यवसायीहरू पनि कांग्रेसको स्टलमा आइपुगे । उनीहरू दाँत कोट्याउने सिन्कामा नेपाललाई आत्मनिर्भर घोषणा गर्न लागिपरेका छन् ।

ती व्यवसायीले मुख्यगरी च्याउका परिकार बेच्ने गरेका छन् । राजा च्याउ र डल्ले च्याउ उनीहरूको मुख्य उत्पादन हो । साथै; उनीहरूले दाँत कोट्याउने सिन्का पनि उत्पादन गरिरहेका छन् । सिन्का बनाउँदा निस्किएका छेस्काबाट कोइला पनि उत्पादन गर्ने गर्छन् ।

ती व्यवसायीहरूले चीनबाट २ जना नागरिकलाई ३ वर्ष वर्किङ भिजामा नेपाल ल्याएर राजा च्याउ, बाँसको टुथपिक र कोइला उत्पादन गरिरहेका हुन् । यस्ता उत्पादन थालेको आधादशक भइसकेको छ ।

चिया खान सिकाइरहेका इलामका यम राई

मेलामा धेरैको ध्यान केन्द्रित गर्ने स्टल थियो – यम राईको चिया स्टल ।

राईले आफ्नो स्टलमा चिया कसरी खाने भनेर सिकाइरहेका थिए । उनले चिया खान सिकाउँदै भने, ‘यो ग्रीन टी हो, यसलाई उम्लेको पानीमा हाल्नुहुँदैन । पानी उम्लिएपछि केही बेर राखेर ग्रीन टीमा तातोपानी हाल्ने र पहिलोपटक हालेको पानी फाल्ने हो ।’

चिया खाने तरिका सिक्न आएका व्यक्तिमध्ये एकले सोधे ‘किने फाल्नु नि ?’

राईले भने, ‘तपाईंले बजारबाट साग ल्याएपछि त्यसलाई नपखाली खानुहुन्छ ? चियाको पातलाई सुकाएपछि ग्रीन टी बन्छ । त्यसमा भएको फोहोर फाल्न एकपटक पखाल्नुपर्छ ।’

चिया व्यवसायमा राई परिवारको आवद्धता तीन पुस्ता नाघिसक्यो । चियाबारे बुझेका कुराबारे आफूले जानकारी दिइरहेको राई बताउँछन् ।

‘हामीले चिया कसरी खाने ? कसरी बनाउने ? चिया भनेको के हो ?’, राईले भने, ‘हामीले देखाएरै सबैलाई जानकारी दिइरहेका छौँ ।’

चिया भनेको एउटा संस्कार भएकाले आफूहरूले यो संस्कारलाई विकास गर्न खोजेको राईको भनाइ छ ।

सातै प्रदेशमा यस्तै कार्यक्रम : कांग्रेस

यस्ता खालको कार्यक्रम सातवटै प्रदेशमा आयोजना गर्ने तयारी रहेको नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग प्रमुख उर्मिला थपलियाले बताएकी छिन् । प्रदेशमा त्यहीँका व्यवसायलाई भेट्ने थपलियाको भनाइ छ ।

आजको परिस्थिति थेग्न आर्थिक समस्या भएकाले नवप्रवर्तन व्यवसायलाई हौसला दिन यस्ता खालको कार्यक्रम गरिएको थपलियाको भनाइ छ ।

कांग्रेस नेतृ उर्मिला थपलिया ।

‘नेपाली काङ्ग्रेसलाई युवाहरू विदेश पलायन हुनुको कारण साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्ने सकेनौँ, प्रोत्साहन गर्ने सकेनौँ, उनीहरूको समस्यासँग भिज्न सकेनौँ कि भन्ने पनि लाग्छ’, थपलियाले भनिन्, ‘त्यो समस्या समाधान गर्न सकेनौँ भने फेरि हामी आर्थिक रूपान्तरण गर्न पनि सक्दैनौँ ।’

पार्टी कार्यालयको हलमा प्यानल डिस्कसन गरेकाले पनि युवाहरूले स्टार्टअप व्यवसायमा के–के कुरा गर्दा सहज हुन्छ भनी विज्ञहरूले बताएकाले त्यसले सहयोग पुगेको थपलिया बताउँछिन् ।

‘नेता भनेको नीति बनाउने मान्छे । हामी नेता र व्यवसायबीच अन्तरघुलन गरौँ’, थपलियाले भनिन्, ‘त्यसबाट केही समाधान निकालेर समाधान गरौँ भन्ने लक्ष्य हो ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ३७ बजे

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गरौँ : अशोक राई

काठमाडौं– जनता समाजवादी पार्टीका सांसद अशोक राईले संविधानमा भएको कमजोरीलाई

पाथीभरा घटनामा घाइते भएकाको उपचार निःशुल्क गराऔँ :  सांसद यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नागरिकमा रहेको निराशालाई

क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ

काठमाडौं– अभौतिक मुद्रा क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको

बिरामीको एउटै परीक्षण दोहोर्‍याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गरिने 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको

९० मेगावाटको मर्स्याङ्दी जलविद्युत्मा ४ बैंकले लगानी गर्ने

काठमाडौं– गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र