काठमाडौं – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा–मुक्कुम्लुङ जाने बाटोमा केबलकार बनाउन दिनुपर्ने र दिन नहुने विषयमा चलेको माथापच्ची मङ्गलबार बेलुकी भएको सहमतिसँगै तत्काललाई थामिएको छ ।
तर, तीर्थस्थल रहेको डाँडोमा व्यवसायिक प्रयोजनको केबलकार बन्दा सास्ती भोगिरहेको कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिले भने मन्दिर क्षेत्रमा केबलकार नबनाउन नै सल्लाह दिएका छन् ।
शाक्त परम्पराको मान्यताअनुसार पाथीभरा र कालिञ्चोक भगवती दिदीबहिनी मानिन्छन् । यी दुवै पहाडको चुचुरोमा अवस्थित छन् ।
पाथीभरा मन्दिरमा जान केबलकार बनाउनुहुँदैन भन्दै पहिचान पक्षधरहरू लामो समयदेखि आन्दोलनमा छन् । उनीहरूले पाथीभरालाई मक्कुमलुङका नाममा प्राकृतिक रूपमै राख्नुपर्ने माग गरिरहेका छन् ।
समान खालको भौगोलिक अवस्थिति रहेको दोलखास्थित कालिञ्चोक भगवती मन्दिरमा भने विगत ६ वर्षदेखि केबलकार सञ्चालनमा छ । कुरीमाथि छोटो दूरीमा मन्दिरसम्म केबलकार चलाइएको हो ।
यहाँको केबलकार छोटो दूरीमा सञ्चालन भएकाले अधिकांश दर्शनार्थीहरू माथि डाँडामा रहेको मन्दिरसम्म हिँडेरै जाने गर्छन् ।
पाथीभराको जस्तो ठूलो आन्दोलन नभए पनि कालिञ्चोकमा केबलकार निर्माणताका स्थानीयले विरोध गरेको कालिन्चोक गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर थामी बताउँछन् । अहिले पनि केबलकारको विपक्षमा आफ्नो आवाज कायम रहेको उनको भनाइ छ
‘मन्दिरमा नै केबलकार लानु नहुने रहेछ, किनकी त्यहाँका होटल व्यवसायी र भारी बोकेर जीविका चलाउने मानिसहरूलाई जीविकोपार्जनमै समस्या भयो, कालिञ्चोक प्राकृतिक मनोरमले भरिएको ठाउँ पनि हो’, थामी भन्छन्, ‘हामीले यो बन्नुहुँदैन भन्दा भन्दै बनिहाल्यो । यहाँ केबलकार बनाउनेहरूले स्थानीय कालिञ्चोक गाउँपालिकामा अहिलेसम्म स्थानीय करसमेत तिर्नुभएको छैन । गौरीशंकर संरक्षण क्षेत्र र वन कार्यालयले सीधै काठमाडौंसँग समन्वय गरेर त्यो केबलकार बनाइएको थियो ।’
केबलकार बनेको लामो समय भइसक्दा पनि पालिकामा कर नतिरेको गुनासो गर्दै उनले अब आफैँ गएर उठाउने बताए ।
‘केबलकार भनेको विकास हो र मानिसलाई सजिलो बनाउने साधन पनि हो । तर कालिञ्चोकमा केबलकारले कालिञ्चोक भगवतीलाई सिँगार्ने काम गरेन । केबलकार आएपछि कालिञ्चोकले पाएको भनेको फोहोरमात्रै हो’, अध्यक्ष थामीले सुनाए ।
उनले थपे, ‘यस क्षेत्रमा पहिले आयातित सिलप्याक मदिरा धेरै खपत हुँदैनथ्यो, अहिले जताततै रक्सीका बोतल देखिन्छ । धनीमानीले पैसा तिर्ने र घुम्ने भए, साहु–महाजनले मात्रै त्यसबाट सुविधा पाए ।’
स्थानीय कालिन्चोक गाउँपालिका वडा–१ का जनतालाई त अहिलेसम्म शेयर पनि नदिइएको वडाध्यक्ष थामीले बताए ।
‘पहिला हामी छिर्छौं, अनि शेयर दिन्छौं भनेर केबलकार खोल्नुभयो । तर, स्थानीयलाई शेयर त परको कुरा; शेयर दिने भनी उठाएको एक हजार रुपैयाँ पनि फिर्ता दिइएन । तर, उहाँ (केबलकार सञ्चालक)ले त्यो एक हजार रुपैयाँ राखेर लिएको शेयरको मूल्य १२ हजार रुपैयाँसम्म भएको छ । तर, स्थानीयले पाउनुपर्ने भनेको शेयर पनि पाएको अवस्था छैन ।’
शक्तिका आडमा नियम कानून मिचेर एउटा व्यक्तिलाई पोस्न माथि (काठमाडौं)बाट नै कागजपत्र मिलाएर केबलकार निर्माणको धन्दा चलाउने गरिएको थामीले दाबी गरे ।
संरक्षण क्षेत्रमा केबलकार बनाउन गुगल म्यापसम्ममा तोडमोड भएको थामीले आरोप लगाए । ‘पहिलाको कालिञ्चोक गाविस हालको भीमेश्वर नगरपालिका–७ हो । साविक मकैबारी गाविसको सिमानामा जोडिएको कालिञ्चोक गाविसको गुगल म्यापमा त्यो केबलकारलाई यता कटाएर गौरीशंकर संरक्षण क्षेत्र राखिदिनुभएको छ उहाँहरूले । धेरै मान्छेको साँठगाँठ होला त्यसमा,’ थामीले थपे ।
केबलकार आउनुपूर्व कालिञ्चोकमा ५०/६० वटा मात्र होटलहरू थिए । तर अहिले २०० हाराहारीमा होटल व्यवसायी छन् । उनीहरूले पनि गाउँपालिका र वडालाई कुनै कर नतिरेको अध्यक्ष थामीको भनाइ छ ।
कालिञ्चोकमा केबलकार आउनुभन्दा पहिले माथि मन्दिरसम्म जान यातायात सुविधा थिएन । बाटो त अहिले पनि राम्रो भइसकेको छैन ।
कालिञ्चोक दर्शन गर्न मानिसहरूले पहिले कम्तिमा दुई दिन लगाउँथे । अहिले मानिसहरूलाई गाडी चढेर आउन, केबलकार चढेर मन्दिर पुग्न र आफ्नो ठाउँमा फर्कन सजिलो भएको थामीको भनाइ छ ।
घ्याङडाँडा हुँदै माथि भगवतीको मन्दिरमा पुग्न हिँडेर जाँदा १५ मिनेटजति लाग्छ । तर, कुरीबाट जाँदा भने ४५ मिनेट जति लाग्छ । वृद्धवृद्धा, अशक्त, अपाङ्ग र बालबच्चा बाहेक अरू हिँडेर नै मन्दिरसम्म आवतजावत गर्छन् ।
दिनमा २५ सय देखि तीन हजार मानिस केबलकार चढ्छन् । हिँडेर मन्दिर पुग्नेको सङ्ख्या पनि उत्तिकै हुने गर्छन् ।
कालिञ्चोकमा केबलकार आएपछि केही मात्रामा पर्यटक चाहिँ बढेका छन् । जसको आकलन बढ्दै गरेका होटल व्यवसायबाट पनि गर्न सकिन्छ ।
कालिञ्चोकको अनुभवबाट पाथीभरा केबलकारका विषयमा वडाध्यक्ष थामी भन्छन् –
पाथीभरालाई विशेषगरी लिम्बुसहित आदिवासी जनजातिहरूले आफ्नो पवित्र तीर्थस्थल मुक्कुमलुङका रूपमा मान्ने गरेका छन् । केबलकार भन्नेबित्तिकै पैसा हुनेले बनाउने कुरा हो ।
केबलकार बन्दा जनताले रोजगार नपाउने रहेछन् । आफ्नो आस्थाको केन्द्रबिन्दु फोहोर, रक्सीका बोत्तल र प्लास्टिकले छोपिनेरहेछ । त्यहाँ केबलकार जानेबित्तिकै किरात र हिन्दू लगायत सबै धर्मावलम्बिहरू जाने आउने गर्लान्, त्यहाँ सरकारले सुरक्षा त देला ।
मेरो विचारमा सरकारले स्थानीयको कुरा सुन्नुपर्छ, न कि पहाडपर्वतका तीर्थस्थललाई नाफाका लागि व्यापार गर्ने थलो बनाउन खोजिरहेको कुनै व्यापारीको !
राज्यले पहुँचको आधारमा माथि केन्द्र सरकारबाट, प्रदेश सरकारबाट त्यस्तो निर्णय गर्छ । हामीले कालिन्चोकमा पनि केबलकार बन्नुहुन्न भनेको हो । तर, उहाँहरूले बनाउनुभयो । खासमा सरकारले सम्बन्धित क्षेत्रमा पहिलेदेखि नै बसोबास गर्दै आएका जनताहरूको कुरा सुन्नुपर्ने हो । बाहिरको मान्छे आएर बाङबुङ बनाउन नपाउने हुनुपर्थ्यो ।
नेपालमा धेरै पर्यटकीय क्षेत्र छन् । त्यसमा कतिपय क्षेत्रमा केबलकार आवश्यक हुन्छ । लामो बाटोमा लैजानु पनि पर्छ । तर मन्दिरको छेउमा, मुखैमा पुर्याइदिएपछि त्यसबाट सृजित फोहोरमैलाले आस्थाका केन्द्रहरूलाई डम्पिङ साइटजस्तो बनाउँदो रहेछ । व्यापारीको दाबीमा विकास, तर स्थानीयस्तरमा हेर्दा नाफाका लागि विकासका नाममा विनाश हुन थाल्दोरहेछ ।
यो पनि –
बहसमा पाथीभरा : ‘केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’
प्रतिक्रिया