काठमाडौं – नेपालमा पछिल्ला वर्षहरूमा व्यक्तिगत र संस्थागत करदाताको सङ्ख्या बढिरहेको छ । तर, करदाता विस्तार तुलनामा कर आम्दानीमा वृद्धि हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
साढे चार वर्षको अवधि अर्थात् चालु आर्थिक वर्षको पुस मसान्तसम्म कर प्रणालीमा ७० लाख ३६ हजार ६८३ करदाता आबद्ध भएका छन् ।
पछिल्लो साढे चार वर्षको अवधिमा २९ लाख ८७ हजार ५७४ थप करदाता कर प्रणालीमा थपिएका हुन् । तर, करदाता वृद्धिको तुलनामा सरकारले कर आम्दानीमा वृद्धि गर्न सकेको देखिँदैन ।
पछिल्लो पाँच वर्षमा करदाताको दायरामा भएको विस्तारः
वर्ष | व्यक्तिगत पान | व्यवसायिक पान | भ्याट | अन्तःशुल्क | वि.हो. स्थायी |
२०७७/७८ | ५१७६१० | २४५५६१ | ३७,८६८ | १,०३,४२३ | ४,८९३ |
२०७८/७९ | ७१८८०० | २८४४३५ | ३०,९५६ | १,३१,१२७ | १०,०२८ |
२०७९/८० | ६१३४८३ | १४२६९९ | २४,१८९ | १,१६,६७५ | १०,०२८ |
२०८०/८१ | ६१७५२१ | १५१३७७ | २६,५४० | १,३७,२५९ | ५,२२३ |
२०८१/८२ | २८११७७ | ५७४८२ | ११,९५९ | ५,१५८ | १,३१० |
जम्मा | ४५४८३२३ | १९९३७२३ | ३,३८,३१६ | १,२१,६८२ | ३४,६३८ |
आव ०७७/७८ सम्म व्यक्तिगत स्थायी लेखा नम्बर (पी–पान) २४ लाख ७१ हजार ७२६ करदातालाई र व्यवसायिक पान १५ लाख ७७ हजार ३८३ करदातालाई प्रदान गरिएको थियो । त्यस्तै, सो अवधिसम्म दुई लाख ६८ हजार ४३४ करदाता भ्याट र एक लाख तीन हजार ४२३ करदाता अन्तःशुल्कमा आबद्ध भएका थिए । सो आवसम्म जम्मा ४० लाख ४९ हजार १०९ करदाता कर प्रणालीमा आबद्ध भएका थिए ।
साढे चार वर्षको अवधिमा व्यक्तिगत पान लिएका करदाता मात्रै दोब्बर बढी अर्थात् २० लाख ७६ हजार ५९७ थपिएका छन् । त्यस्तै, यही अवधिका व्यवसायिक पान लिएकाको सङ्ख्या चार लाख १६ हजार ३४३ थपिएको छ ।
त्यस्तै, भ्याट र अन्तःशुल्कमा आबद्ध हुने करदाताको सङ्ख्या पनि साढे चार वर्षको अवधिमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
आयकर, भ्याट र अन्तःशुल्क आम्दानी (रु. करोडमा)
शीर्षक/वर्ष | ०७७/७८ | ०७८/७९ | ०७९/८० | ०८०/८१ | ०८१/८२ |
भ्याट | १८७०६ | ३१४२७ | २९०६० | ३१४६३ | ६४७३ |
अन्तःशुल्क | १३४०९ | १६६७७ | १३६२९ | १३९७२ | ५७४६ |
आयकर | २०३९९ | २६००८ | २४९५८ | २८१५० | १२१७७ |
विभागको तथ्याङ्कले आव ०७७/७८ मा जम्मा करदाता ४० लाख ४९ हजार १०९ सङ्ख्यामा हुँदा आयकर दुई खर्ब तीन अर्ब ९९ करोड रुपैयाँ आयकर संकलन भएको थियो ।
आव ०८०/८१ मा करदाता ६२ लाख ९४ हजार २६ करदाता कर प्रणालीमा सहभागी भएका थिए । जुन आव ०७७/७८ को तुलनामा २२ लाख ४४ हजार ९१७ ले बढी हो ।
तर, सो आवसम्म आइपुग्दा सरकारले दुई खर्ब ८१ अर्ब ५० करोड रुपैयाँ आयकर प्राप्त गरेको थियो ।
चालु आवको ६ महिनामा दुई लाख ८१ हजार १७७ थप व्यक्तिगत पान र ५७ हजार ४८२ व्यवसायिक पान लिने थपिएका छन् । यो अवधिमा अवधिमा सरकारले एक खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ आयकर आम्दानी गरेको छ ।
विभागको तथ्याङ्कअनुसार करदाताले आर्थिक वर्ष ०८०/८१ मा १२ लाख ९० हजार ९१ वटा आय विवरण पेस गरेका थिए । जब कि आव ०७७/७८ मा नौ लाख ७० हजार ९६२ करदाताले आय विवरण बुझाएका थिए ।
आव ०७७/७८ को तुलनामा आव ०८०/८१ मा तीन लाख १९ हजार १२९ थप करदाताले मात्रै आय विवरण पेस गरेका छन् । जब कि आव ०७७/७८ को तुलनामा आव ०७९/८० सम्म ५३ लाख ५६ हजार ९५२ जना करदाता कर प्रणालीमा आबद्ध भएका थिए ।
किन बढेन आयकर ?
सरकारले पछिल्लो समय बैंकमा खाता खोल्दादेखि अधिकांश सरकारी कार्यमा पान नम्बर अनिवार्य गरेको छ ।
जसकारण वर्षेनी पान लिने व्यक्तिहरूको सङ्ख्यामा वृद्धि भइरहेको र सो सङ्ख्या करदाताको सङ्ख्यामा थपिएपनि कर आयमा भने वृद्धि नभएको हुनसक्ने विभागका अधिकारीहरू बताउँछन् ।
साथै; व्यवसायिक पान नम्बर लिनेको सङ्ख्यामा भएको वृद्धिले पनि करदाताको सङ्ख्यालाई बढाएकोमा ती करदाताले बुझाउने स्ल्याबका कारण सबै करदाताको तर्फबाट ठूलो हिस्सा आयकर नआएको हुनसक्ने आकलन छ ।
आन्तरिक राजस्व विभाग, कर सेवा शाखाका अधिकृत नारायण रिजाल पछिल्लो समय व्यक्तिगत पान र व्यवसायिक पान लिनेहरूबाट भएको कर आय कति हो भनेर छुट्टै हेर्ने प्रणाली नभएको बताउँछन् ।
व्यक्तिगत पान लिएको व्यक्तिले पनि विभिन्न शीर्षकमा कर तिर्ने हुँदा ती करदाताले मात्रै छुट्टै कति कर तिरे भनेर तथ्याङ्क नभएको पनि उनले उल्लेख गरे ।
‘व्यक्तिगत पान (पी–पान) लिएको व्यक्तिले तलब बुझ्दा सामाजिक सेवा कर भनेर बुझाउँछ भने जग्गाको खरिद बिक्री गर्दा पुँजीगत लाभकर भनेर बुझाउँछ’, अधिकृत रिजाल भन्छन्, ‘त्यसैले व्यक्तिगत पान लिएकाले कति कर बुझाए भनेर मात्रै हेर्ने व्यवस्था हामीसँग छैन ।’
प्रतिक्रिया