क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकटका लागि सम्झौता | Khabarhub Khabarhub

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकटका लागि सम्झौता


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

झापा– क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच  सम्झौता भएको छ ।

एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए ।

बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको  छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवले बताए ।

उनले भने, ‘निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ ।  देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।’

पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए । ‘देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ’, उनले भने, ‘तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।’ उनले बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने बताए ।

जनसम्पर्क अधिकृत गिरीले विगत पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा ६ हजार चार सय ८४ जना नयाँ क्यान्सरका बिरामीको उपचार भएको जानकारी दिए । चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण र दुर्गम क्षेत्रका क्यान्सर बिरामीले उपचार पाउनबाट अझै वञ्चित हुनुपरेको उनको भनाइ छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको सङ्ख्या बर्सेनि बढिरहेको उनको भनाइ छ ।

विगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका आठ सय १४ जना र फोक्सो क्यान्सरका आठ सय पाँच जनाको उपचार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. यादवले जानकारी दिए । पाठेघरको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्चमा सहुलियत दिने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौताले अस्पताल धाइरहेका सेवाग्राहीलाई खुसी तुल्याएको मोरङको रतुवामाई नगरपालिका– ५ का टीकाराम शिवाकोटीले बताए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले  सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ । 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ९ : ४७ बजे

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको

चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं – विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास