टर्दै हिउँदे वर्षा- घट्न थाल्यो बिजुली उत्पादन, खाद्यबालीमा पनि गम्भीर असर | Khabarhub Khabarhub

टर्दै हिउँदे वर्षा- घट्न थाल्यो बिजुली उत्पादन, खाद्यबालीमा पनि गम्भीर असर

६ सय मेगावाट बिजुली भारतको भर



काठमाडौं–  हिमाली, पहाडी, तराई तीनै क्षेत्रमा वर्षा र हिमपात नभई यो हिउँद बितेको छ । हिमाली क्षेत्रमा हिउँ नपर्दा र अन्य भेगमा पानी नपर्दा हिउँदे बालीको उत्पादन घट्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष औसतभन्दा कम पानी पर्ने अनुमान गरेको छ ।

हिउँदमा औसत भन्दा कम पानी पर्दा विशेष गरी नेपालको विद्युतीय ऊर्जा क्षेत्र र कृषि क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । अहिलेसम्म सुख्खायाम नै रहेकाले विद्युत् उत्पादनमा ठूलो गिरावट आइसकेको छ । अर्कातिर केही हिउँदे बालीमा नकारात्मक असर पर्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञले गरेका छन् ।

विभाग प्रक्षेपण– ‘यो हिउँदमा औसत वर्षाको सम्भावना छैन’

जल तथा मौसम विज्ञान विभागका अनुसार चालु आर्थिक वर्षको हिउँद महिनामा विगतको तुलनामा औसत वर्षा हुँदैन । विभागका मौसमविद् सुदर्शन हुमागाइँले नेपालमा अहिलेसम्म ५.५ मिलिमिटर मात्रै औसत वर्षा भएको जानकारी दिए । हिउँदको समयमा ६० मिलिमिटर वर्षा हुनुपर्नेमा आगामी दिनमा पनि सो सम्भावना कम देखिएको उनले बताएका छन् ।

‘हिउँदको समयमा औसत ६० मिलिमिटर वर्षा हुन पर्ने हो तर, अहिलेसम्म ५.५ मिलिमिटर मात्रै वर्षा भएको छ, जसले गर्दा हिउँदको मौसम एकदमै सुख्खा भएको छ’, हुमागाइँले भने । तर, हिमाली क्षेत्रमा के कति हिउँ पर्‍यो भन्ने विषयमा भने त्यसको मापन गर्ने प्रविधि विभागसँग नभएको उनले बताए ।

हुमागाइँकै अनुसार भारतको नेशनल सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्टिङ (एनसीएमआरडब्लुएफ)ले एक महिना पछाडि अवधिसम्मको मौसम पूर्वानुमान गर्ने गर्छ । उसले मौसम पूर्वानुमान गर्दा नेपालको भूगोलको समेत मौसम पूर्वानुमान गर्ने गरेको छ ।

एनसीएमआरडब्लुएफले गरेको आगामी एक महिनाको मौसम पूर्वानुमानलाई हेर्दा नेपालका पश्चिमी केही ४ वटा प्रदेशमा आंशिक वर्षा हुनेबाहेक अन्य पूर्वी ३ प्रदेशमा वर्षाको सम्भावना नभएको हुमागाईंले बताए । ‘एनसीएमआरडब्लुएफको पूर्वानुमान अनुसार आगामी मंगलबारदेखि पश्चिमका ४ वटा प्रदेशमा औसतभन्दा कम वर्षा हुने सम्भावना देखिन्छ, बाँकीमा भने देखिँदैन’, उनले भने ।

फाइल तस्वीर

उत्पादन घटेपछि ६ सय मेगावाट बिजुली आयात 

औसत भन्दा कम वर्षा हुँदा खोलानालामा पानीको प्रवाह कम हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरण भारतबाट ठूलो मात्रामा विद्युत् आप्रवाह गर्नुपर्ने अवस्थामा पुगेको छ ।

सुख्खा समय बढ्दै गएका कारण नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजना र निजी क्षेत्रले निर्माण गरेका आयोजनाबाट उत्पादित हुने विद्युत् उत्पादनमा ठूलो मात्रामा गिरावट भएको छ । जसकारण प्राधिकरणले दैनिक ६ सय मेगावाटसम्म विद्युत् भारतबाट आपूर्ति गरिरहेको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले यतिबेला निजीक्षेत्रले सञ्चालन गरेका आयोजनाबाट ६ सय र प्राधिकरण अन्तर्गतका आयोजनबाट ७ सय मेगावाट मात्रै विद्युत् उत्पादन भएको बताए । पानीको बहाबमा कमी आएका कारण आगामी दिनमा उत्पादन समेत थप घट्न सक्ने उनको भनाइ छ ।

‘वर्षा नभएका कारण नदीहरूमा पानीको मात्रा घट्दै गएको छ, जसले गर्दा उत्पादनमा कमी भइरहेको छ’, प्रवक्ता घोषले भने, ‘माग धान्न अहिले भारतबाट ६ सय मेगावाटसम्म आयात गरिरहेका छौँ, केही समयभित्र केही आयोजनाको विद्युत् नेशनल ग्रीडमा जोडिने अवस्था छ तर, ती सुख्खायाममा ती आयोजनाबाट धेरै उत्पादन हुन सक्दैन ।’

उनका अनुसार फागुन चैतभित्रमै राहुघाट, मध्य भोटेकोशी, अपर भोटेकोशी, खानीखोला, सुपर काबेली, लाङटाङखोला लगायतका आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने अवस्थामा पुगेका छन् । तर, हिउँदमा ती आयोजनाबाट पानीको प्रवाहमा आएको कमीका कारण धेरै उत्पादन नहुने उनले बताए ।

‘देखिन सक्छ गहुँ उत्पादनमा असर’

नेपालका मुख्य कृषि बालीमध्ये हिउँदमा उत्पादन हुने गहुँ र आलु मुख्य हुन् । अहिलेको हिउँद याममा औसत वर्षा नहुँदा त्यस समयमा उत्पादन हुने मुख्य बालीमा प्रत्यक्ष असर पर्नसक्ने अनुमान विज्ञले गरेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा नेपालमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । साथै त्यही आर्थिक वर्षमा ३४ लाख ८७ हजार ८१६ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

अहिलेको हिउँदमा औसत वर्षा नहुँदा गहुँ उत्पादनमा मुख्य असर पर्न सक्ने सम्भावना देखिएको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि तथा अर्थ विज्ञ महानन्द जोशीले बताए । कर्णाली प्रदेशको उच्च भागमा भने २ पटकसम्म हिउँ परेकाले सो क्षेत्रको उत्पादनमा कम असर पर्न सक्ने उनले बताए ।

‘सिँचाइ भएका कृषिक्षेत्रमा त्यति असर नगरे पनि सिँचाइ नपुगेका क्षेत्रको हिउँदे उत्पादनमा असर पर्नसक्ने देखिन्छ, विशेष गरी गहुँको उत्पादनमा असर गर्न सक्ने देखिएको छ’, उनले भने । 

नेपालमा कूल २२ लाख ६५ हजार हेक्टर सिँचाइ योग्य रहेको औँल्याइएको छ । त्यसमध्ये हालसम्म १५ लाख ५५ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । जसले गर्दा हिउँदे वर्षाको कमीले ७ लाख हेक्टर कृषि क्षेत्र प्रभावित हुने देखिन्छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ११ : ०४ बजे

जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिमा १० जना

माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू 

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ ।

थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं– राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले

बाँकेमा ३६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

नेपालगञ्ज– बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको

माओवादी पदाधिकारी बैठक, पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको हैसियतमा सहभागी

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल