काठमाडौं महानगरमा विवाद : बालेनको कारबाहीले बिदामा गुरागाईं, ओलीले अर्का अधिकृत पठाइदिएनन् « Khabarhub

काठमाडौं महानगरमा विवाद : बालेनको कारबाहीले बिदामा गुरागाईं, ओलीले अर्का अधिकृत पठाइदिएनन्

खातामा ४ हजार मात्रै, कर्मचारीको तलब रोकिन सक्ने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा ४५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पासमा गडबडी गरेको भन्दै गत पुस ५ गते तत्कालीन अधिकृत सरोज गुरागाईंमाथि कारबाहीको सिफारिस भएसँगै महानगर हाकिमविहीन बनेको छ ।

हाल महानगरका निमित्त प्रशासकीय अधिकृत कृषि तथा पशुपंक्षी विभागका नुरनीधि न्यौपाने छन् ।

डेढ महिनादेखि कार्यकारी प्रमुख नहुँदा महानगरका दैनिक काम ठप्पजस्तै छन् । मुख्यतः आर्थिक क्षेत्रसँग जोडिएका काममा महानगरले बढी समस्या भोगिरहेको छ ।

कार्यकारी अधिकृत नुहँदा आर्थिक कारोबारमा असर परिरहेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर स्वीकार्छन् । ‘प्रमुख प्रशासकीय अधिकृत नहँदा केही काम हुन सकेको छैन’, मानन्धरले भने, ‘आर्थिक काममा अलिकति समस्या भइरहेको छ ।’

महानरबाट पैसा लिने–दिने काममा अप्ठ्यारो परिरहेको मानन्धर बताउँछन् । तर, सहायक प्रवक्ता ध्रुबकुमार काफ्ले भने त्यस्तो केही समस्या नभएको दाबी गर्छन् । सबै काम निमित्त प्रमुख प्रशासकीय अधिकृतले गरिरहेकाले त्यस्तो अप्ठ्यारो नभएको दाबी उनी गर्छन् ।

‘सबै काम निमित्त प्रमुख प्रशासकीय अधिकृतले हेरिरहनुभएको छ । त्यस्तो केही अप्ठ्यारो छैन’, काफ्लेले भने, ‘१० करोडसम्म बजेट खर्च गर्ने पाउने अधिकार विभागीय प्रमुखलाई छ । उहाँ (हाकिम)ले बिदा लिएर त्यस्तो समस्या छैन ।’

महानगरले भुक्तानी गर्नुपर्ने प्रायः सबैजसो चेकमा प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर चाहिने भएकाले बढी समस्या भइरहेको महानगर स्रोतको भनाइ छ ।


तलब रोकिने चिन्ता

प्रमुख कार्यकारी अधिकृत नहुँदा महानगरको दैनिक काममा प्रभाव परेको छ । अर्कातिर कर्मचारीको तलब नै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । ‘प्रमुख प्रशासकीय अधिकृतले अन्य शीर्षकबाट पैसा सार्नुपर्ने हुन्छ । आउँदो महिना कर्मचारीले तलब नपाउने सम्भावना छ’, महानगर स्रोतले खबरहबसँग भन्यो, ‘अधिकृत (प्रमुख प्रशासकीय) नहुँदा वित्तीय प्रगति भएको छैन ।’

अहिले मासिक रुपमा महानगरले २ अर्ब भन्दाबढी खर्च गर्नु पर्ने हुन्छ । तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्यो हुन सकिरहेको अवस्था छैन । ‘बजेट बनेदेखि पुससम्म योजना बनाउन, प्रतिवेदन तयार गर्नेसहित छिटफुट काम हुने हो’, स्रोतले भन्यो, ‘त्यसपछि भटाभट काम हुन्छ, त्यस कामको भुक्तानी पनि गर्नुपर्छ, प्रमुख कार्यकारी अधिकृत नहुँदा चेकमा हस्ताक्षर हुन सकेको छैन ।’

कर्मचारीको जिम्मेवारी हेरफेर र सरुवा–बढुवामा पनि समस्या भइरहेको स्रोतले उल्लेख गरेको छ । ‘महानगरका कर्मचारीहरूको दैनिकजसो सरुवा र जिम्मेवारी हेरफेर गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘तर, त्यो सबै काम रोकिएको छ ।’

कर्मचारीलाई अह्राउने भूमिकाका व्यक्ति नहुँदा निमित्त प्रमुखले त्यो काम गर्न नसकेको महानगर स्रोत बताउँछ ।

ओलीले पठाएनन् ‘हाकिम’ !

काठमाडौं महानगरपालिकामा संघीय सरकारको सह–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । सह–सचिवको सरुवा मन्त्रिपरिषद्को निर्णयबाट हुने गर्छ । तर संघीय सरकारले अर्का सहसचिव नपठाइदिँदा समस्या भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहको टकराव पनि नयाँ कार्यकारी अधिकृत पठाउने कुरामा ढिलाइको कारण बनेको चर्चा छ ।

केही समययता बालेन्द्रले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई चुनौती दिने गरेका छन् । दरबारर्गमा एमालेले गरेको कार्यक्रममा फोहोर गरेपछि ओली झनै बिच्किएका छन् । एमालेका नेताहरूले सार्वजनिक मञ्चबाटै बालेन्द्रको विरोध गर्दै आएका छन् ।

दुई पक्षबीचको त्यही द्वन्द्व पनि कार्यकारी अधिकृत पठाउने कुरामा ढिलाइको कारण बनेको बताइएको छ । बालेन्द्रको सचिवालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेपछि अर्को तत्कालै पठाउने गरिए पनि यस पटक त्यस्तो नभएको जनाएको छ ।

यसअघि महानगरमा वसन्त अधिकारी प्रमुख प्रशासकीय अधिकृत हुँदा अनाधिकृत रुपमा जागिर खुवाएको भन्दै कारबाही गरिएको थियो । अधिकारी कारबाहीमा परेको केही दिनमै प्रदीप परियारलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर संघीय सरकारले पठाएको थियो ।

पछिल्लो पटक बालेन्द्रले पुस २४ गते नयाँ कार्यकारी अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए । तर, अहिलेसम्म संघले बालेन्द्रको कुरा सुनेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको दैनिक काममा प्रभावसँगै कर्मचारीको तलब रोकिने अवस्था आएको छ । महानगरका एक विभागीय प्रमुखका अनुसार तलब खुवाउने कोषमा ४ हजार रुपैयाँ मात्रै छ ।

ती प्रमुखले खबरहबसँगको कुराकानीमा असारसम्म कर्मचारीले तलब खाने वातावरण नदेखेको बताए । ‘हामीलाई केही महिनाका लागि समस्या नहोला’, उनले भने, ‘तर, सफाइकर्मीसहितको भने विचल्ली हुन सक्छ ।’

निमित्त प्रशासकीय प्रमुख न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक कारोबारको जिम्मेवारी दिए तलबसहितका समस्या समाधान हुने उनी बताउँछन् ।

‘मन्त्रालयले निमित्तज्यूलाई आर्थिक अधिकार दिएको छैन’, ती शाखा प्रमुखले भने, ‘अन्य पालिकामा प्रमुख नहुँदा पनि आर्थिक गतिविधि भइरहेका छन्। तर हाम्रोमा निमित्तलाई आर्थिक अधिकार छैन ।’ महानगरको पुँजीगत बजेटलाई चालुमा ल्याउन नसक्दा अप्ठ्यारो भएको छ ।


सरुवा नभई नपठाउने : संघीय मन्त्रालय

बालेन्द्रले कारबाही गरेका भनिएका सरोज गुरागाईंको दरबन्दी अहिले पनि काठमाडौं महानगरमै छ । गुरागाईं काठमाडौं महानगरमै रहेकाले अर्को व्यक्ति पठाउन नसकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुली महानगरमा गुरागाईंको पद खाली नभई अर्को कार्यकारी अधिकृत नपठाउने बताउँछन् ।

‘त्यहाँ दरबन्दी भएका गुरागाईंको सरुवा भएको छैन’, पराजुलीले भने, ‘उहाँको पद खाली नभई अर्को व्यक्ति पठाउने कुरा भएन । बिदा बसेको भए मन्त्रालयलाई जानकारी छैन । त्यसको व्यहोरा आउनु पर्ने हो । त्यहाँ रिक्त नभई अर्को मान्छे पठाउन मिल्दैन ।’

पराजुलीले महानगरको पत्रबारे ब्याख्या गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत मागिएको बताए । ‘प्रमुख प्रशासकीय अधिकृत व्यवस्था गरिदिनु भनेर लेखेको रहेछ । तर यहाँबाट पठाएका प्रमुख प्रशासकीय अधिकृत त्यहीँ छन्, अब नयाँ कसरी व्यवस्था गरिदिनु ?’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : ५९ बजे

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता