‘सेकेण्ड ह्याण्ड’ पहिरन : समाधान कि आदत ? | Khabarhub Khabarhub

जीवनशैली

‘सेकेण्ड ह्याण्ड’ पहिरन : समाधान कि आदत ?

कुनै पनि चिजको अधिक प्रयोग घातक हुन सक्छ



काठमाडौं– अरुले पहिल्यै प्रयोग गरिसकेको ‘सेकेण्ड ह्याण्ड’ पहिरन प्रयोग गर्ने चलन पछिल्लो समय संसारभरि बढ्दो छ । निम्न वर्गले बाध्यतावश लामो समयदेखि सेकेण्ड ह्याण्ड सामानको प्रयोग गर्दै आएको भए पनि पछिल्लो समय सम्भ्रान्त वर्गमा पनि यो चलन बढेर गएको छ ।

‘थ्रिफ्टिङ’ भनिने यो चलन ‘फास्ट फेसन’ को प्रतिक्रियास्वरुप आएको हो । फास्ट फूडजस्तै सस्तो, तत्कालै उत्पादन गर्न सकिने र कम गुणस्तरको पहिरनलाई ‘फास्ट फेसन’ भन्ने गरिन्छ ।

सेकेण्ड ह्याण्ड पहिरन प्रयोग गर्ने चलनलाई फेसन उद्योगका कारण जलवायुमा परेको प्रभावसँग पनि जोडेर हेर्ने गरिएको छ ।
सन् २०१९ मा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एउटा रिपोर्टअनुसार फेसन संसारकै दोस्रो ठूलो प्रदूषक उद्योग हो ।

विश्वमा कुल कार्बन उत्सर्जनको १० प्रतिशत हिस्सा फेसन उद्योगबाट हुने गरेको विश्व आर्थिक मञ्चको तथ्यांक छ ।

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम यूएनईपीका अनुसार एक जोर जिन्सको लुगा बनाउनका लागि कुल ३ हजार ७ सय ८१ लिटर पानी आवश्यक पर्छ । कपास उत्पादन गर्नदेखि पसलमा लैजाँदासम्म एक जोर जिन्सले झण्डै ३३.४ किलो कार्बन उत्सर्जन गर्छ

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम यूएनईपीका अनुसार एक जोर जिन्सको लुगा बनाउनका लागि कुल ३ हजार ७ सय ८१ लिटर पानी आवश्यक पर्छ । कपास उत्पादन गर्नदेखि पसलमा लैजाँदासम्म एक जोर जिन्सले झण्डै ३३.४ किलो कार्बन उत्सर्जन गर्छ । यो भनेको १११ किलोमिटर सडकमा सवारी चलाउँदा उत्सर्जन हुने औसत कार्बन बराबर हो ।

धनी देशमा आयातित उपभोग्य वस्तुका कारण विश्वव्यापी जलवायु संकट उत्पन्न हुने गरेको बताइन्छ । यसअनुसार उपभोग र कार्बन उत्सर्जनबीच प्रत्यक्ष सम्बन्ध छ । धनी देशहरुले गर्ने उत्सर्जनका कारण जलवायु संकट उत्पन्न हुने र त्यसको परिणाम भने गरिब देशहरुले भोग्नुपर्ने परिस्थिति बनेको भन्दै बारम्बार आलोचना समेत हुने गरेको छ ।

‘फास्ट फेसन’को क्षेत्रमा जारा र एचएण्डएमसँगै चीनको शेइन नामक खुद्रा बिक्रेताको नाम पनि अगाडि आउँछ । सस्तो, शोषणकारी र असुरक्षित श्रमका कारण यस्ता कम्पनीले सस्तो दर र ठूलो परिमाणमा सामान बेच्दै आएका छन् ।

उदाहरणका लागि सन् २०१३ मा बंगलादेशको राजधानी ढाकामा रहेको राना प्लाजा ध्वस्त हुँदा १ हजारभन्दा धेरै श्रमिकले ज्यान गुमाएका थिए भने अरु २५ सयभन्दा धेरै घाइते भएका थिए । उक्त प्लाजामा रहेको कारखानाले जेसीपेनी, चिल्ड्रेन्स प्लेस र वालमार्टजस्ता कम्पनीका लागि पहिरन उत्पादन गर्दथ्यो । यस घटनाले धनी देशका कम्पनीले सस्तो र असुरक्षित श्रमबाट मुनाफा आर्जन गर्दै आएको विषय उजागर गरेको थियो ।

‘फास्ट फेसन’को यही यथार्थको प्रतिक्रियास्वरुप ‘थ्रिफ्टिङ’ गर्ने चलन बढेर गएको हो । ‘फास्ट फेसन’को तुलनामा वातावरण र आर्थिक हिसाबमा दिगो र सस्तो हुने भएकाले यस चलनप्रति आकर्षण बढेको बताइन्छ ।

तस्बिर स्रोत- क्लोथ बैंक, नेपालगञ्ज

सेकेण्ड ह्याण्ड पहिरनको प्रयोगले ठूलो परिमाणमा कपडा उत्पादन गर्ने दबाब कम हुन्छ र फलस्वरुप थोरै मात्र फोहोर निष्कासन हुन्छ ।

तर, सेकेण्ड ह्याण्ड पहिरनको प्रयोगले दीर्घकालीन समाधान दिनेमा भने आशंका छ । विश्लेषकहरु ‘ओभर कन्जम्सन’ अर्थात् अधिक उपभोगबाट समस्या पैदा हुने गरेको बताउँछन् । फस्ट फेसनजस्तै आवेगका आधारमा सामान खरिद गर्ने, उच्च उपभोग र छोटो समय मात्रै कायम रहने जस्ता समस्या थ्रिफ्टिङमा पनि उत्पन्न हुनसक्ने चिन्ता छ ।

सस्तो हुने भएकाले ठूलो परिमाणमा सेकेण्ड ह्याण्ड सामानको खरिद गर्नेहरुको संख्या पनि कम छैन । तर, सेकेण्ड ह्याण्ड नै भए पनि ठूलो परिमाणमा सामान खरिद गर्ने प्रवृत्तिले ‘ओभर कन्जम्सन’लाई नै मलजल गरिरहेको हुन्छ ।

ठूला फेसन ब्राण्डहरुले विश्वलाई गुमराहमा पार्न वातावरणीय प्रभावबारे भ्रामक दाबी गरेको सन् २०२३ मा ग्रिनपिसले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्टमा विभिन्न १४ वटा फेसन ब्राण्डको अध्ययन समेटिएको थियो ।

उपभोक्ताले यसअघि नै अरुले प्रयोग गरिसकेका सेकेण्ड ह्याण्ड सामान खरिद गरेर मात्रै हुँदैन । यसका लागि उपभोग गर्ने बानीमा नै परिवर्तन आवश्यक छ 

स्वभावैले फास्ट फेसनको अभ्यास दिगो छैन । फेसन उद्योगलाई दिगो बनाउन ठूला कम्पनीहरुले चक्रीय उत्पादन पद्धति, वातावरणमैत्री पदार्थको प्रयोग र नैतिकरुपमा स्वीकार्य उत्पादन प्रक्रिया अपनाउनुपर्ने आवश्यकता देखिन्छ । यद्यपि यस्ता कम्पनीहरुले आफूले उत्पादन गर्ने सामग्रीको घटाउनु त परै जाओस्, उत्पादन परिमाण समेत सार्वजनिक नगर्ने अवस्था छ ।

उपभोक्ताले यसअघि नै अरुले प्रयोग गरिसकेका सेकेण्ड ह्याण्ड सामान खरिद गरेर मात्रै दिगो हुँदैन । यसका लागि उपभोग गर्ने बानीमा नै आमूल परिवर्तन आवश्यक छ । आफूले प्रयोग गरिसकेका सामान अरुलाई दान वा उपहारस्वरुप दिँदा अथवा सेकेण्ड ह्याण्ड सामान किन्दा वातावरणका लागि योगदान गरेको अर्थमा बुझ्नेहरुको संख्या धेरै छ । तर, यसले ‘ओभर कन्जम्सन’लाई नै बढावा दिइरहेको हुन्छ ।

यस कुचक्रबाट जोगिनका लागि उपभोक्ताहरुले आफ्नो व्यवहारलाई सन्तुलनमा राख्नुपर्ने आवश्यकता छ । एकपटक किनेको लुगा लामो समय प्रयोग गरिरहने, च्यातिएका कपडा सिलाएर लगाउने अथवा आफूसँग भएका पुराना कपडालाई नयाँ स्टाइलमा लगाएर पनि ‘ओभर कन्जम्सन’लाई कम गर्न सकिन्छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १० : ०० बजे

जब विद्रोह उठ्छ साहित्यले इतिहास लेख्छ : खगेन्द्र संग्रौला

जनकपुरधाम – जनकपुर साहित्य महोत्सवले ‘आन्दोलन र साहित्य’ सत्रले विचार,

वालिङ–हुवास सडक : ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र 

पर्वत– ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने

विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह

गुल्मी– सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास–निर्माणका

मधेश राज्यको राजनीतिक खेलको सिकार मात्रै भयो : सांसद परियार

जनकपुरधाम– जनकपुरधाममा जारी छैटौं जनकपुर साहित्य महोत्सवमा ‘राज्यको दृष्टिमा मधेश’

केजरीवालकै शैलीमा रवि लामिछानेको पनि विलय हुन्छ : महेश बस्नेत 

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का