काठमाडौं – ओछ्यानका पत्रदेखि लगाउने कपडासम्म पसेर रगत चुस्दै चिड्चिडाहट पैदा गरिदिने उडुसले शारीरिकमात्र होइन, मानिसलाई मानसिक रूपमै अत्याउँछ ।
अङ्ग्रेजीमा ‘बेडबग’ र हिन्दीमा ‘खटमल’ भनिने उडुसले कहिलेकाहीँ त देशमै प्रलय निम्त्याउँछ । सन् २०२४ मा ओलम्पिक खेल आयोजना गर्नुअघि फ्रान्सले उडुससँग ठूलै लडाइँ गर्नुपर्यो ।
उडुसले अत्याएपछि लाखौँ फ्रान्सेलीहरू देशै छाडेर घुम्न हिँडे । यतिसम्म कि, पेरिसमा उडुस आतङ्कबारे जानकारी पाएका अन्य देशका मानिसहरू फ्रान्सेलीहरू देख्नासाथ परै बस्थे । कारण थियो – पर्यटकसँगै आएको उडुस आफूलाई पनि सल्किने डर !
ज्याद्रो चुसक परजीवि एकपटक सल्किएपछि सितिमिति मास्न सकिँदैन । अनेक घरेलु उपाय अपनाउँदा मानिस आजित हुन्छ । तर, मानिसका अघि उडुस अपराजेय चाहिँ होइन ।
विज्ञानले सावधानीपूर्वक उडुस तह लगाउने उपाय पत्ता लगाइसकेको छ । युवाहरूले उडुस नियन्त्रणलाई नवप्रवर्तन (इनोभेसन)सँगै जोडिसकेका छन् । अमर श्रेष्ठ र विद्यानन्द झा नेपालका यस्तै युवा हुन् ।
यी दुई युवाले ‘अरेन्ज बल प्रालि’ नामक कम्पनीबाट उडुस, उपियाँ, साङ्ला, मुसा र सर्पजस्ता कीट र सरीसृप नियन्त्रण गर्ने गर्छन् ।
काठमाडौंमै जन्मे/हुर्केका श्रेष्ठ र झाले आजभन्दा १३ वर्ष अघि नै उडुस मार्ने व्यवसाय खोलेका थिए । अरेन्ज कम्पनीका परिकल्पनाकार भने झा हुन् ।
झा मोबाइल पसलमा काम गर्ने । त्यहाँ आउने धेरै ग्राहकले आफू उडुसबाट आजित भइरहेको बताउँथे । उडुस मार्नकै लागि विषादी पसलबाट कडाभन्दा कडा विषादी लगिरहेको देख्थे । त्यस्तो अवस्था देखेपछि उनले उडुस नियन्त्रण सेवा दिने व्यवसाय परिकल्पना गरे ।
सेवा त दिने ! तर कसरी ? त्यो प्रश्नले झालाई निकै दिनसम्म सताइरह्यो । उनले उडुस नियन्त्रणबारे अध्ययन सुरु गरे । अध्ययनकै क्रममा भारतमा पेस्ट सर्भिसको तालिम दिन लागेको कुरा थाहा पाए । उनी त्यतै हान्निए ।
तालिम सकेर आएपछि उनले नेपालमा काम थाल्ने योजना बनाए । ग्राहक खोज्दै हिँड्न थाले । ग्राहक खोज्दै गर्दा उनले मुसा आतङ्कबाट ग्रस्त एक ट्राभल एजेन्सी भेट्टाए ।
उक्त एजेन्सीसँग मासिक करिब १२ हजार रुपैयाँजति शुल्क लिने र तीन वर्षसम्म सेवा दिने सहमति भयो । मुसाले तार काटेर ट्राभल एजेन्ट हैरान थिए । झाले सेवा दिएको केही दिनपछि पनि मुसाले तार काटिदियो ।
त्यो समस्या एजेन्सीवालाले झालाई सुनाए । अब झालाई पर्यो फसाद ! ट्राभल एजेन्सीबाट ल्याएको पैसा पनि खर्च गरिसकेका थिए । पैसा फिर्ता गर्ने कि भनी सोच्न थाले ।
त्यही चिन्ताले झालाई सताइरहेको थियो । त्यही बीच उनी आफूले विषादी लिने पसलमा पुगे र ट्राभल एजेन्सीमा भएको घटनाको बेली विस्तार लगाए ।
ती पसलेले चलाखीपूर्ण उपाय सुनाइदिए, ‘मैले नियन्त्रण गरेको मुसा अर्को हो, त्यहाँ आएको मुसा अर्को हो, भनिदेऊ न !’
त्यसपछि भने झाले राहत सास फेरे । ट्राभल एजेन्सीमा पनि झाले त्यही कुरा बताए र समस्या समाधान गरिदिए ।
झाले उडुस मार्नेदेखि मुसा नियन्त्रणसम्मका काम गरिरहेका थिए । अमर श्रेष्ठ र झाबीच सानैदेखि चिनजान थियो । तर, भेटघाट हुँदा व्यवसायबारे खासै कुरा हुँदैनथ्यो ।
व्यवसाय थालेको दुई वर्षपछि एक दिन श्रेष्ठलाई आफ्नो व्यवसायबारे बताए । श्रेष्ठलाई पनि झाले गरिरहेको व्यवसाय नेपाली बजारका लागि नयाँ लाग्यो ।
‘म पनि जागिर नै खानुपर्छ भन्ने पक्षमा थिइनँ’, हाल अरेन्जका निर्देशक रहेका श्रेष्ठले भने, ‘यस्तो अवसर छ भनेपछि म पनि साथीको व्यवसायिक साझेदार भएँ ।’
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/३-उडुस_1-768x577.jpg)
श्रेष्ठ आउनुभन्दा अघि अरेन्जमा झासहित चार जनाको टिम थियो । श्रेष्ठ आएपछि थप काम खोज्नेदेखि काममा खट्नेसम्ममा रफ्तार बढ्यो ।
‘सुरुका एक–अर्काले काम गर्दाका अनुभव आदानप्रदान गथ्यौँ, कहिले गाली खान्थ्यौँ त कहिले वाहवाही पनि पाउँथ्यौँ’, श्रेष्ठले सुरुवाती दिन सम्झिँदै भने, ‘ती सबै कुरा बेलुकी अफिसमा आएर साथीबीच शेयर गथ्र्यौँ । यसरी नै हामीले धेरै कुरा सिक्दै गयौँ ।’
त्यो बेलासम्म उनीहरूको आफ्नो कम्पनी दर्ता थिएन । व्यवसायले बजार लिन थालेपछि कम्पनी दर्ता गर्नुपर्ने र अलिक व्यवस्थित हुनुपर्ने भयो । उनीहरूको टीम कम्पनी दर्ता गर्ने कागजपत्र मिलाउन जुट्यो । अनि बन्यो – अरेन्ज बल प्रालि !
अहिले उक्त कम्पनीमा श्रेष्ठ निर्देशक र झा प्रमुख कार्यकारी अधिकृत छन् । दुई जनाले आपसी सहमतिमै काम गर्दै आएका छन् । ‘म यो कम्पनी झाको सोलो कम्पनी हो भन्ने नै ठान्छु’, श्रेष्ठले भने, ‘म चाहिँ अहिले पनि आफूलाई सहयोगी पात्र नै मान्छु ।’
नेपालको लागि नयाँ भएको र अन्य व्यक्तिले नगरेकाले पनि अरेन्ज बलको व्यवसाय फस्टाइरहेको थियो । उनीहरूले मुख्यतः कीट नियन्त्रणसँग सम्बन्धित उडुस, उपियाँ, साङ्ला र भुसुना लगायत नियन्त्रण गर्न व्यवसायिक सेवा दिइरहेका थिए ।
त्यहीबीच सन् २०१९ देखि विश्वभर कोरोना महामारी फैलियो । विश्वभर कोरोना महामारी आयो । विश्वको अर्थतन्त्रसँगै झा र श्रेष्ठको व्यवसायमा पनि असर गर्यो । कामको डिमान्ड आउन छाड्यो । त्यसपछि उनीहरू नयाँ काम खोजीमा लागे । सरसफाइको काममा पनि जुटे ।
झाले गरेको अध्ययनअनुसार अहिले नेपालमा सरसफाइ व्यवसायको आकार तीन अर्ब रुपैयाँ नाघिसकेको छ । अरेन्जले पनि अहिले सरसफाइ व्यवसायबाट वार्षिक १५ देखि १७ लाख रुपैयाँ नाफा कमाइरहेको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-53-768x416.png)
यो पनि –
कांग्रेसको नवप्रवर्तन मेला : उडुस मार्ने सेवा, चिया पिउने काइदा !
विगतमा र अहिले आफ्नो काममा धेरै सुधार आएको श्रेष्ठको भनाइ छ । विगतमा काम त गरेको, तर व्यवसायिक हुन नसकेको उनी स्वीकार्छन् । अहिले भने उनीहरूले आफ्नो काममा व्यवसायिक दक्षता पनि हासिल गरिसकेका छन् ।
धमिरा, साङ्ला, लामखुट्टे, उडुस, मुसा, लगायतका किराहरू हटाउने, कार्पेट, सोफा, गलैँचा धुने, टायल मार्बल टल्काउने, किचेन, ट्वाइलेट, चिम्नी सफा गर्ने, ट्याङ्की सफा गर्ने र परेवाको बिष्टा नियन्त्रण गर्न नेटहरू लगाउने लगायतका काम अरेन्जले गर्दै आएको छ ।
झा र श्रेष्ठले १३ वर्ष दौरान पाँच हजारभन्दा बढी व्यक्ति र संस्थालाई सेवा दिइसकेका छन् । नियमित सेवाग्राही पनि बढिरहेका छन् ।
‘होटेल, रेस्टूराँ र होस्टलहरू हाम्रा प्रायः दोहोरिइरहने सेवाग्राही हुन्’, श्रेष्ठले आफ्ना ग्राहकबारे बताउँदै भने, ‘जसले कीट नियन्त्रणको महत्व बुझ्नुभएको छ, उहाँहरू पनि वार्षिक सेवाग्राही हुनुहुन्छ ।’
कस्तो हुन्छ सेवा ?
कीट नियन्त्रणका लागि कार्यालयका कर्मचारीहरूले जानकारी लिने गर्छन् । जस्तो – कसैले साङ्लाको समस्या छ भनेपछि के, कस्तो छ भनी ग्राहकबाट प्रारम्भिक जानकारी लिन्छन् ।
कहाँ समस्या हो ? त्यो फैलिएको क्षेत्र कत्रो छ ? घर र कार्यालय कहाँ हो ? लगायत जानकारी सङ्कलन गर्छन् । कुनै–कुनै मामिलामा काम गर्नुअघि नै अरेन्जको टिमले स्थान र अवस्था अवलोकन गरी आउँछ ।
कीट नियन्त्रणमा सुरक्षाका कुराहरू पनि जोडिन्छ । जस्तो – भान्साकोठामा कीट नियन्त्रण गर्दा के कति सामान हटाउनुपर्छ भन्नेबारे पूरै जानकारी लिइन्छ ।
उडुस नियन्त्रण प्रक्रियामा पनि लगभग उसैगरी ‘इन्क्वाइरी’ हुन्छ । तर, उडुस सुत्ने कोठा (बेड रूम)मा हुने भएकाले त्यहाँ झन् बढी सुरक्षाको कुरा हुने श्रेष्ठको भनाइ छ ।
‘उडुस हटाउन काम गरेको आठ घण्टासम्म बेडरुमलाई पूरै बन्द गर्नुपर्छ’, श्रेष्ठले भने, ‘साना बच्चा र बुढापाका छन् भने हामी त्यहाँ २४ घण्टासम्म नबस्न भन्छौँ ।’
बच्चाले खेलौना मुखमा समेत हाल्ने भएकाले त्यस्ता सामान हटाएकै हुनुपर्ने श्रेष्ठ बताउँछन् । ‘त्यसो गरिएन भने पछि धेरै समस्या हुनसक्छ’, श्रेष्ठले भने, ‘कि त उहाँहरूले धुनुपर्यो, हैन भने हटाउनैपर्छ ।’
यस्ता सबै प्रक्रिया पूरा भएपछि सेवाशुल्कबारे कुराकानी हुन्छ । त्यसपछि समस्या भएको व्यक्तिको र अरेन्ज बल टिमको समय अनुकूल बनाएर काम गर्ने समय निर्धारण हुन्छ ।
‘काम गर्न जाने दिनमा पनि हामीले भनेको सामानहरू हटाए/नहटाएको सोध्छौँ’, श्रेष्ठले भने, ‘उताबाट आउँदा हुन्छ भनेपछि गएर सेवा दिन्छौँ ।’
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-07-at-17.37.59-1-768x576.jpeg)
उडुस मारेको तीनदेखि १२ हजार रुपैयाँसम्म
सामान्य घरको कोठामा उडुस मार्नका लागि तीनहजार देखि १२ हजार रुपैयाँसम्म लाग्ने श्रेष्ठको भनाइ छ । सामान्य प्रकृतिको भर्खर–भर्खर उडुस लाग्न सुरु भएको र सानो कोठा भएको खण्डमा तीन हजार लाग्ने श्रेष्ठले बताए ।
‘उडुसको समस्या धेरै भएको र सरसफाइ नभएको फोहोर घरमा भने हामी तीनदेखि पाँच पटकसम्म उडुस मार्न जानुपर्ने हुन्छ’, श्रेष्ठले भने, ‘त्यसो हुँदा बढी खर्च लाग्छ । अब होस्टल छ र धेरै बेडहरूमा समस्या छ भने खर्च अलिक बढी पर्छ ।’
आफूहरूले केमिकल, म्यानपावर र अफिस खर्चमा थप केही नाफा र काम गर्ने ठाउँसम्म पुगेको शुल्क जोडेर रकममा सहमति गरी सेवा दिने गरेको श्रेष्ठ बताउँछन् ।
‘हामीले एउटा काम गर्न जाँदा सालाखाला कति खर्च हुन्छ भनी हिसाब निकाल्छौँ, त्यसमा १० देखि २० प्रतिशतसम्म नाफा राखेर कीट नियन्त्रण सेवा दिन्छौँ’, श्रेष्ठले भने ।
कर्मचारी नटिक्दा सास्ती
कर्मचारी नटिक्नु नै अरेन्जको चुनौती भएको श्रेष्ठ बताउँछन् । ‘नयाँ फ्रेस मान्छे ल्यायो, तीन महिनाजति तालिम दियो, काम गर्न जान्ने भएपछि विदेश गइहाल्छ’, श्रेष्ठले भने, ‘फेरि अर्को व्यक्ति आउँछ, त्यो व्यक्तिलाई पनि तीन महिना काम सिकायो, ऊ हिँडेपछि फेरि अर्को मानिस खोज्नुपर्छ ।’
अधिकांश ग्राहकले आफ्नो सेवाबारे नबुझेका कारणले गर्दा पनि समस्या भइरहेको श्रेष्ठको भनाइ छ । कीट समस्या अत्यधिक भएपछि मात्र आफूहरूलाई बोलाउने गरेको श्रेष्ठ बताउँछन् ।
‘काम गरेपछि त्यहाँ एउटामात्रै मुसा या अन्य कीट देखियो भने हामीलाई गाली गर्नु हुन्छ, तिमीहरूले काम गरेको ? के भयो ? भन्नु हुन्छ’, श्रेष्ठले सुनाए । कीट नियन्त्रणको काम आफ्नै प्रकृतिको हुने भएकाले आफूहरूले नियन्त्रणमात्र गर्ने उनले बताए ।
उडुसको समस्या भएको ठाउँमा पनि उस्तै समस्या निम्तिन्छ । ‘उडुस मार्ने औषधी छर्किरहेको ठाउँमा आएर हामीलाई नै काम सिकाउन खोज्नुहुन्छ’, श्रेष्ठले भने, ‘अब ग्राहकले भनेपछि गर्नैपर्ने बाध्यता हुन्छ, भनेअनुसार नै कडा विषादी राखेपछि फेरि आफू त्यहाँ जानै नसकेको भन्दै रिसाउँछन् ।’
काम गरेको पैसा नउठ्दा पनि आफूहरूलाई समस्या हुने गरेको उनले सुनाए । ‘कुनै समस्या भएपछि निकै आग्रह गरी हामीलाई काम गराउनुहुन्छ’, श्रेष्ठले भने, ‘जब समस्या समाधान हुन्छ – तब पैसा लिने बेलामा हामीले ज्यूज्यू गर्नुपर्छ ।’
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-07-at-17.37.56-768x607.jpeg)
कृषि क्षेत्रमा काम गर्ने योजना
अरेन्ज बलसँग आगामी दिनमा कृषि क्षेत्रमा काम गर्ने योजना रहेको श्रेष्ठ बताउँछन् । पेस्टबाट हुने असरबारे नै जनचेतना फैलाउनुपर्ने श्रेष्ठको भनाइ छ ।
‘कृषिका क्षेत्रमा पनि पेस्टसम्बन्धी काम गर्ने सोच छ । बाली लगाउँदा र भित्र्याउँदा पनि पेस्टको प्रयोग हुन्छ’, श्रेष्ठले भने, ‘यस ठाउँमा पनि हामी काम गर्न चाहन्छौँ । भविष्यमा अहिले गरिरहेको काम र कृषि क्षेत्रसँग सम्बन्धित काम दुबै गर्न चाहन्छौँ ।’
कीट नियन्त्रण नीति बनाउन राज्यसँग माग
राज्यले अब कीट नियन्त्रणसँग सम्बन्धित नीति बनाउनुपर्ने श्रेष्ठ बताउँछन् ।
राज्यका विभिन्न निकायले ‘रेस्टूराँमा साङ्ला भेटियो’ भनेर जरिवाना लगाउने गरेको, तर त्यसको समाधान के गर्ने भन्नेबारे पर्याप्त गृहकार्य नभएको उनको तर्क छ ।
त्यहाँ किन साङ्ला भेटियो र अब के गर्नुपर्छ भन्नेबारे राज्यले सिकाउनुपर्ने तथा तरकारी/फलफूलमा विषादी प्रयोगबारे पनि किसानलाई जिम्मेवार बनाउनुपर्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया