काठमाडौं- तपाईं हाम्रो बाल्यकाल अनेक अभावबाट गुज्रिएर बित्यो । सानैदेखि देखेका र साँचेका कयौँ सपना आजपर्यन्त पूरा हुन सकेका छैनन् । बालककालसँगै विद्यार्थी जीवन पनि धेरै कुरा सिकाएर जाने एउटा आयाम हो । जसले अभाव के हो, थाहा दिन्छ । साथीको महत्त्व बुझाउँछ । असफल भएमा फेरि संघर्ष गर्न सिकाउँछ । अभिभावकको महत्त्व पनि यही बेला थाहा हुन्छ । सीमित उच्च घरानाबाहेक धेरै नेपालीको बाल्यकाल अभाव र संघर्षमै बितेको हुन्छ ।
तपाईं हामीले नै कयौँ पटक भनेको बेला पैसा नहुँदा चाहेका कुरा र योजना पूरा गर्न पाएका हुँदैनौँ । अनेक इच्छा र चहानालाई अभाव र आर्थिक क्षमता सवल नहुँदा दबाएर अघि बढ्नुपर्ने हुन्छ । बाल्यकालको एउटा रहर वनभोज अर्थात् पिकनिक पनि हो । तपाईं हामी कतिपयसँग पैसा नभएर पिकनिक जान नपाएको अनुभव पक्कै होला । सन् ९० र २००० को दशकका विद्यार्थीसँग अझ धेरै अनुभव हुनुपर्छ ।
म आफैँसँग पनि यो अनुभव छ । कक्षा ६ मा पढ्दा स्कुलले पिकनिक लाने भयो । त्यसका लागि हरेक विद्यार्थीले पैसा संकलन गर्नुपर्ने भयो । पिकनिक जाने कुराले सबै विद्यार्थी खुसी थिए ।
म आफैं पनि घर गएर पैसा माग्ने योजना बुन्दै थिएँ । पिकनिकमा विद्यार्थी, सर र मिस सबै नाच्ने कुराले उत्साहित थिएँ । पिकनिक भनेपछि सबैको दिमागमा एक दिन भए पनि पढ्नुनपर्ने कुराले राहत दिएको थियो । गृहकार्य गर्नुनपर्ने, सरमिसको कुटाई र गाली पनि नपाइने । त्यसै मन पुलकित थियो । मिठो–मिठो खाने, नाच्ने र खेल्ने मात्रै भएपछि सधैँ पिकनिक गएर रमाइलो गर्न पाए कति खुसी मिल्थ्यो भन्ने कुराले मन फुरुङ्ग भइरह्यो ।
तर मेरो मनको खुसी लामो समय टिकेन । घरमा पिकनिकको कुरा सुनाउनेबित्तिकै अनेक स्पष्टीकरण दिनुपर्यो । सानै छस्, पिकनिक जाने बेला भएको छैन । ठूली भएपछि जानु, यस्तै यस्तै कुरा आए । अझ सरमिसलाई छलेर जोगीले लैजानेसम्म भनेर तर्साइयो । आफ्नो ख्याल राख्ने भएपछि जान भनियो ।
जोगीले लाने कुरामा त मैले चित्त बुझाएँ । मेरो दिमागमा अनेक कुरा खेले । साथीहरूलाई जोगीले लगे भने के गर्ने ? यस्तै अनेक डरलाग्दा कुरा खेलेपछि पिकनिक जान नहुने निचोडमा पुगेँ ।
समयसँगै बुझ्दै गएँ, त्यो त पैसा नभएर पिकनिक जान नदिने ‘तरिका’ पो रहेछ । एकै कक्षा, एकै उमेरका अरु साथी साना नहुने, आफ्नो ख्याल राख्न सक्ने । तर म मात्रै कसरी नसक्ने ?
परिवारमा पिकनिकमा पठाउन पैसा नभएको भन्न अरु तरिका अपनाइयो । त्यसबेला साँचो कुरा नबोलेर ढाँटिएछ । साँचो कुरा भनेको भए सर, मिस र साथीलाई पैसा नभएको सुनाउँथे होला । साथीहरूले मेरा लागि पनि पैसा जम्मा गर्थे होलान् । सायद, पिकनिक जान पाउँथे होला ? अहिले भाइरल भइरहेको टिकटकको एउटा भिडियोले मलाई बाल्यकालमा पुर्याइदियो ।
भिडियोमा के छ ?
शिक्षिका : ह्वाट आर यु डोइङ ?
विद्यार्थी : वीआर कलेक्टिङ मनी
शिक्षिका : ह्वाय ? हाउ मेनी ह्याब कलेक्ट ?
विद्यार्थी : दिस मनी फर प्रिन्स, विई डु समथिङ
शिक्षिका : डन्ट कलेक्ट दिस मनी, आएम गोइङ टु गिफ मनी फर प्रिन्स
विद्यार्थी : प्रिन्स हाम्रो बेस्ट फ्रेण्ड हो, म्याम प्रिन्स इज क्राइङ
साथीहरू सबै मिलेर प्रिन्सको आँसु पुछिरहेका छन् ।
विद्यार्थी : म्याम आठ सय भइसक्यो । प्रिन्स जसरी पनि जानुपर्छ
शिक्षिका : युआर भेरी लक्की प्रिन्स, थ्याङक्यु, वी ह्याप्पी, गुड ब्वाय
यो चितवनकी एक शिक्षिका र साना विद्यार्थीबीचको वार्तालाप हो । यतिबेला सामाजिक सञ्जाल टिकटकमा कक्षा कोठाभित्रको त्यो दृश्य भाइरल भएको छ । उक्त संवादले धेरैको मन जितेको छ । ‘मीसाङे’ नामको पेजबाट पोस्ट भएको दृश्य चितवन कल्याणपुरस्थित स्मल हेवेन स्कुल हो ।
भिडियोमा प्रिन्स नामका बालकलाई पिकनिक जान अन्य साथीले पैसा जम्मा पारेको देखिन्छ । प्रिन्स बेस्टफ्रेण्ड भएकाले उसलाई पैसा अभावमा पिकनिक जानबाट बञ्चि गर्न नहुने भन्दै साथीहरू मिलेर पैसा जम्मा गरेका हुन् ।
शिक्षिकाले प्रिन्सका लागि पैसा दिने भने पनि साथीहरू मानेनन् । उनीहरू कसैले दश, बीस, पचास र सय रुपैयाँसम्म उठाएर आठसय जम्मा गर्छन् । उक्त रकम उनीहरूले शिक्षिकालाई दिए । उक्त दृश्यमा प्रिन्स, साथीहरू र शिक्षिका पनि निकै खुसी देखिन्छन् ।
टिकटकमा उक्त भिडियो अतिसुन्दर भनेर प्रतिक्रिया आएका छन् । कसैले एकजना गरिब विद्याार्थीलाई स्कुलले नै व्यवस्थापन गर्नुपर्ने भनेका छन् । तर पनि विद्यार्थीहरूले साथीप्रति देखाएको सद्भाव प्रशंसा गर्नलायक छ ।
उक्त भिडियोमा प्रतिक्रिया दिँदै टिकटक प्रयोगकर्ता नेम्बाङ शान्ताले लेख्छिन् –मसँग पनि पैसा हँदैन थियो, साथीहरू जान्थे स्कुलबाट पिकनिक । म कहिले गइनँ ।
मिस्टर हिम्मत लेख्छन्– गरिब हुनुको पीडा गरिबलाई मात्रै थाहा हुन्छ । गरिब हुने रहर त कसैलाई हुँदैन, तर के गर्नु बाध्यताले मजबुर बनाएपछि… ।
रञ्जिता कोइराला लेख्छिन्– शिक्षासँगै राम्रो संस्कार पनि दिनुभएको रहेछ ।
प्रायः स्कुलमा पाठ्यक्रमका कुरा धेरै पढाइन्छन् । पाठ्यक्रमको उद्देश्य कुनै निश्चित विषयको जागिरे बनाउने हुन्छ । हाम्रो शिक्षा जागिरमा केन्द्रित छ । स्कुलमा पढेका कुराहरू दैनिक जीवनमा मेल नखाने भनेर शिक्षा प्रणालीको आलोचना हुँदै आएको छ । सीप र क्षमता विकासका लागि हालको शिक्षा प्रणाली उचित नभएको टिप्पणी भइरहेका छन् ।
त्यसमाथि स्कुलले मानवीयताको कुरा पाठ्यक्रमबाट पढाउने सवालै भएन । जिन्दगी जिउने सूत्र, सह–अस्तित्व संरक्षण र एकअर्कामा भाइचारा बढाउने शिक्षा स्कुलको दायित्वभित्रै नपर्ने पाठ्यक्रम हामीमाझ छ । तर, स्मल हेबेन स्कुलले बालबालिकाहरूलाई सह–अस्तित्व सिकाएको रहेछ । साथी समस्यामा पर्दा सहयोग गर्नुपर्छ । एकताले भाइचारा बढाउँछ भन्ने शिक्षा विद्यार्थीले पाएका रहेछन् ।
तनहुँमा क्रुरता
चितवनको एउटा स्कुलले यति राम्रो सन्देश दिइरहँदा उता तनहुँमा भने चार कक्षाका १० वर्षीय चार विद्यार्थीलाई तातो पन्युले गाला डामेर यातना दिइयो । सरस्वतीको बास हुने स्थान, ज्ञान आर्जन गर्ने ठाउँमा कोही यति क्रुर कसरी बन्न सक्छ ? त्यसमाथि स–साना बालबालिकामाथि यो हदसम्मको यातना सोच्न सकिन्न ।
तनहुँको भिमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल सुष्मा श्रेष्ठले उक्त अपराध गरिन् । उनी स्कुलका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी हुन् । श्रेष्ठले सहकर्मी शिक्षकलाई पन्यु तताउन लगाएकी थिइन् ।
ती शिक्षिकाले विद्यार्थीलाई डर देखाउन मात्रै तताएको बताएकी छिन् । घटनापछि आरोपीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ । नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।
यी दुई घटनाले अनुशासन उमेरले होइन, संस्कारले सिकाउँछ भन्ने देखाएको छ । परिपक्वता उमेरले होइन, ज्ञानले बढाउँछ । ज्ञान ठूलाबाट मात्रै होइन, सानाबाट पनि सिक्न सकिन्छ ।
प्रतिक्रिया