११ भाइ माओवादी, च्याउ जस्तै पार्टी ! | Khabarhub Khabarhub

११ भाइ माओवादी, च्याउ जस्तै पार्टी !

जुँगाको लडाइँले मिल्न समस्या



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७६ पुगेको छ । ७६ वर्ष पूरा हुँदा नेपालमा १९ वटा कम्युनिस्ट पार्टी अस्तित्वमा छन् । कम्युनिस्ट आन्दोलन अगाडि बढाउन सबै मिलेर जानुपर्ने हो । तर, जुँगाको लडाइका कारण एक हुनुपर्ने नेताहरूले बर्सेनि पार्टी फुटाइरहेका छन् । यस्तै रोग माओवादीभित्र मैलाएको छ ।

देशमा राजतन्त्र ढलेर गणतन्त्र आएको छ । तर, माओवादीले भन्दै आएको जनताको शासन तथा शोषित पीडित वर्गको आवाज माथि उठ्न सकेको छैन । आएको सामाजिक न्यायको महसुस भने जनताले गर्न सकेका छैनन् ।

सशस्त्र द्वन्द्व त्यागेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा आएपछि ०६४ को निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । १८ वर्ष लामो इतिहासमा माओवादी विभिन्न नाममा ११ टुक्रा भएको छ । ०६४ देखि यता हालसम्म माओवादीका नेताहरू करिब १ सय २० पटक मन्त्री बनेका छन् । एकै व्यक्ति धेरै पटक दोहोरिएकाले मन्त्रीको अवसर पाउने नेता योभन्दा थोरै अर्थात् ८३ जना छन् ।

आवधिक निर्वाचनअनुसार एउटा सरकार ५ वर्ष चल्दा गएको १५ वर्षमा एउटा मन्त्रालयमा बढीमा ३ जनाले अवसर पाउने थिए । तर, यहाँ १५ वर्षमा एउटै त्यो पनि तेस्रो पार्टीबाट ११८ पटक मन्त्री हुन पाएका छन् ।

यसबीचमा माओवादीका नेता चार पटक प्रधानमन्त्री भएका छन् । प्रचण्ड मात्रै २०६५, २०७३ र २०७९ गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । । २०६८ सालमा प्रधानमन्त्री बन्ने माओवादीका नेता नै डा. थिए बाबुराम भट्टराई । तर, भट्टराई २०७२ असोज ९ गते पार्टी छाडेर हिँडे ।

यस्तै ०६४ को निर्वाचनपछि छिटफुटबाहेक हरेक सरकारमा माओवादी थियो । तर प्रश्न छ– सर्वहारा वर्गको पार्टी माओवादी सरकारमा हुँदा पनि किन जनताले पुँजीवादी सरकारकै जस्तो स्थिति भोगिरहेका छन् ?आपसी फुट र लडाइँका कारण माओवादीले आफ्नो उचाइ बढाउन सकेको छैन ।
नेताको जुँगाको लडाइका कारण विभिन्न कालखण्डमा फुटेका माओवादीबारे चर्चा गरेका छौँ ।

१. नेकपा माओवादी केन्द्र : पुष्पकमल दाहाल प्रचण्ड
२. नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) : डा.बाबुराम भट्टराई
३. नेपाल समाजवादी पार्टी : गंगालाल श्रेष्ठ , महीन्द्र राय यादव
४. नेकपा : नेत्रविक्रम चन्द विप्लव
५. आमजनता पार्टी : प्रभु साह
६. क्रान्तिकारी कम्युनिस्ट पार्टी : मोहन वैद्य
७. नेकपा बहुमत : हेमन्तप्रकाश वली, धमेन्द्र बाँस्तोला
८. नेकपा माओवादी : गोपाल किराती
९. वैज्ञानिक समाजवादी पार्टी : विश्वभक्त दुलाल
१०. नेकपा संयुक्त : चन्द्रदेव जोशी
११. एमालेमा बसेको रामबहादुर थापा बादलसहितको समूह

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र अहिले कम्युनिस्ट पार्टीमा संसद्को दोस्रो ठुलो हो । प्रतिनिधि सभामा ३२ सिट छ । ०७९ को निर्वाचनपछि यसै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । उनलाई गत असार ३० गते मात्रै केपी शर्मा ओलीले विस्थापित गरे । सन् १९९४ मा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रबाट अलग भएर माओवादी केन्द्रको स्थापना भएको हो ।

यसको नेतृत्वमा सुरुबाटै अध्यक्ष प्रचण्ड छन् । पार्टीले वि.सं. २०५२ मा सशस्त्र सङ्घर्ष सुरु गरेको थियो । त्यसपछि २०६३ को वृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेर यो पार्टी मूलधारको राजनीतिमा आएको हो । ०६४ सालमा भएको निर्वाचनमा देशको पहिलो शक्ति भएको माओवादी त्यसपछि तेस्रो शक्तिका रूपमा खुम्चिरहेको छ । अहिलेसम्ममा माओवादी फुटेर ११ टुक्रा भएको छ ।

आम जनता पार्टी

माओवादी हुँदै एमालेमा पुगेर ०७९ को निर्वाचनलगतै प्रभु साहले आमजनता पार्टी स्थापना गरे । यो पार्टीका अहिले उनीमात्रै प्रतिनिधि सभामा सांसद छन् । यसको औपचारिक स्थापना ०७९ पुस १४ गते भएको हो । मधेश प्रदेशमा यो पाटीको प्रभाव भएको चर्चा छ । तर निर्वाचन फेस नगरेकाले पार्टीको ओझ देख्न बाँकी छ । यस पार्टीले देशभर सङ्गठन विस्तार गर्न सकेको छैन ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अहिले संसदीय राजनीतिमा छैन । माओवादी छाडेर भट्टराईले नयाँ शक्ति नेपाल बनाए पनि ०७९ को निर्वाचनमा नतिजा देखाउन सकेन । बाबुरामले आफ्नो निर्वाचन क्षेत्र पनि प्रचण्डलाई दिए । नेसपाका सहअध्यक्ष महिन्द्रराय यादवले सर्लाही २ बाट जिते पनि पार्टीबाट अलग्गिएका छन् । अहिले नेसपा पनि दुईवटा छन् । यावद नेतृत्वको नेसपा माओवादीसँग मिल्ने प्रक्रियामा छ ।

नेपाल समाजवादी पार्टी

माओवादीबाट अलगिएर डा.भट्टराईसँग हिँडेका पूर्वमाओवादी नेता गंगालाल श्रेष्ठ र मधेशका नेता महिन्द्र राय यादवले ०७९ पछाडि माओवादीसँगै सहकार्य गरेर नेसपा बनाएका छन् । भट्टराईबाट अलग्गिएर बनेको नेसपाको प्रतिनिधि सभामा १ सिट छ । यस्तै बागमती प्रदेश सभामा श्रेष्ठ सांसद भएका थिए । संसदीय राजनीतिमा देखिएको नेसपा समाजवादी मोर्चाको घटक हो । माओवादीसँग पार्टी मिल्ने प्रकृयामा रहे पनि अहिलेसम्म गाभिएको छैन ।

फाइल फोटो

नेकपा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा अहिलेसम्म संसदीय राजनीतिमा मिसिएको छैन । २०७१ मा मोहन वैद्यको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी विघटन भएपछि विप्लवले यो पार्टी बनाएका हुन् । वि.सं. २०६९ असारमा प्रचण्डले नेतृत्व गरेको माओवादीबाट छुट्टिएका नेताहरूले वैद्यको नेतृत्वम नयाँ दल बनाएका थिए ।

वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पनि क्रान्तिकारी हुन नसकेको भन्दै वि.सं. २०७१ मंसिरमा दल टुक्राउने घोषणा गरे । २९ फागुन २०७५ मा विप्लवले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमा हानेको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो । अहिले यो पार्टीका नेताहरू सार्वजनिक राजीतिमा फर्किएका छन् ।

सुरुबाटै आफूतिर तान्ने प्रयास प्रचण्डले गरे पनि विप्लवले अलग्गै पार्टी चलाइरहेका छन् । यद्यपि, अहिलेको समाजवादी मोर्चामा विप्लव पनि सहभागी छन् । माओवादी र विप्लवबीच एकता हुने भनिए पनि केही सैद्धान्तिक कुरामा मतभेद छ । यस पार्टीको प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् । विप्लवले देशभर केही न केही नेता कार्यकर्ता बचाइरहेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी

मोहन वैद्य माओवादीका पुराना नेता हुन । शान्ति प्रक्रियामा आएपछि अध्यक्ष प्रचण्ड र वैद्यबीच अन्तर्विरोध देखियो । त्यसपछि वैद्यले पार्टीको विचार र कार्यदिशा ठिक नभएको भन्दै २०६५ मंसिरमा खरिपाटीमा समानान्तर दस्तावेजसहित फरक मत राखे । त्यसपछि प्रचण्डले वैद्यनिकट अहिले एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको साथ लिए ।

प्रचण्डले यति मात्रै गरेनन्, नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसाललाई पनि आफूमा समाहित गराए । त्यो कदम उनले वैद्यलाई चुप लगाउने योजनासहित चालेका थिए । तर माओवादीमा सशस्त्र संघर्ष थाल्नु पहिलेबाटै फरक विचार र सिद्धान्त बोकेका वैद्यले ०६९ भदौमा छुट्टै पार्टी बनाए ।

त्यससँगै प्रचण्डलाई चुनौती दिने नेता ‘विप्लव’सहितका केही नेता पनि पार्टीबाट अलग भइसकेका थिए । त्यसबेला प्रचण्डले विप्लवलाई आफूसँग तान्न खोजे, तर सफल भएनन् । विप्लवले अर्को विद्रोहको बाटो रोजे । २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो ।

वैद्यले साथ नदिँदा र निरन्तर कलहका कारण त्यसबेला माओवादी पहिलोबाट तेस्रोमा खुम्चियो । अहिले वैद्यको पार्टी देशभर नभए पनि अस्तित्वमा भने छ । माओवादीसँग एकता प्रक्रियाबारे वैद्यसँग छलफल भएको छैन । उनी समाजवादी मोर्चामा पनि छैनन् । वैद्य आफैं बिरामी भएर थला परेसँगै पार्टी पनि शिथिल भएको छ ।

नेकपा बहुमत

हेमन्तप्रकाश वली र धमेन्द्र बास्तोला मिलेर २०७९ वैशाखमा नेकपा बहुमत स्थापना भयो । नेत्रविक्रम चन्द समूह संसदीय राजनीतिमा लाग्न खोजेको भन्दै असन्तुष्ट पक्षले बहुमत गठन गरे । पार्टीको संयोजक नेकपा असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला छन् । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबीच संवाद भएको थियो ।

नेकपा माओवादी

गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र पनि गुमनाम जस्तै छ । माओवादी केन्द्रसँग एकताको छलफल चले पनि निष्कर्ष आएको छैन । किराती अहिले पूर्वको पाथीभरामा केबलकार बन्नु नहुने अभियानमा छन् । ०७४ सालमा प्रचण्डले एमालेसँग मिलेर नेकपा बनाएपछि किराती असन्तुष्ट भएर हिँडे । उनले माओवादी केन्द्र पुनर्गठनको घोषणा गरेर नयाँ यात्रा थाले । उनले नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगमा आफ्नै नाममा दर्ता गराएका छन् ।

तर, नेकपा विभाजन भएर माओवादी पहिलाकै अवस्थामा फर्किएपछि अदालतमा पार्टीको नामबारे मुद्दा परेको थियो । अदालतले प्रचण्डलाई माओवादी पार्टीको नाम दिएपछि किरातीले नयाँ नाम माओवादी, कम्युनिस्ट पार्टी नेपाल रोजे । उनी संरक्षक भएर महासचिव रामनारायण पाललाई बनाएका छन् । तर यो पार्टी ओझेलमा छ । किराती अचेल पार्टीभन्दा पढ्न लेख्न व्यस्त छन् ।

वैज्ञानिक समाजवादी पार्टी

यो पार्टी विश्वभक्त दुलाल आहुती नेतृत्वको हो । ०७६ सालतिर यो पार्टी खोलिएको हो । उनको पार्टी पनि देशभर विस्तार हुन सकेको छैन । वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएको समूहले वैज्ञानिक समाजवादी पार्टी बनाएका थिए । त्यसको निरन्तरता आहुतीले दिए । यो पार्टीले ०८१ असोजमा राष्ट्रिय सम्मेलन गरेको थियो । प्रथम महाधिवेशन २०७८ मा भयो । तर पार्टीले गति लिएन ।

नेकपा संयुक्त

चन्द्रदेव जोशीको समूहले नेपाल कम्युनिस्ट पार्टी नेकपा संयुक्त ब्युँताएका हुन् । २०७६ असोजमा यो पार्टी ब्युँतिएको थियो । नेकपा संयुक्तले नेपाल कम्युनिस्ट पार्टी नेकपाको तत्कालीन माओवादीसँग एकता गरेको थियो । तर, एकता भाँडिएपछि जोशी समूहले नेकपा संयुक्त ब्युँतायो । यो पार्टी पनि कोठामै सीमित छ ।

एमालेमा बसेको समूह

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत नेकपा विभाजन हुँदा एमालेमै बसे । बादल जनयुद्धका एक वैचारिक र शीर्ष नेता हुन । ०७४ मा नेकपा बनेपछि एमाले र माओवादीबीच एकता भयो । एकतापछि एमाले अध्यक्ष ओली र प्रचण्डबीच मनमुटाव सुरु भयो । त्यसपछि ओलीले २ पटकसम्म प्रतिनिधिसभा विघटन गरे ।

त्यसपछि नेकपामा विवाद बढ्यो । माओवादी र एमाले पुरानै अवस्थामा फर्किए । प्रचण्डनिकट नेता बादल एमालेमा बसेर अहिले उपाध्यक्ष छन् । अर्का नेता टोपबहादुर रायमाझी एमाले सचिव थिए तर अहिले जेलमा छन् । उनीहरूको एमालेमा पकड छैन । एमालेमा बसेर माओवादीको विरोध गरिरहेका छन् ।

एकताबाट टाढा पूर्वमाओवादी घटक

मूलधारको नेकपा माओवादी केन्द्रबाट छुटेका माओवादी नेताहरू कोही सफल छैनन् । पार्टीको नाम माओवादी जोडे पनि जनतामा प्रभाव र उपस्थिति छैन । तर एकता हुने सम्भावना पनि छैन । विप्लवको नेकपा, गंगालाल र महिन्द्र रायको नेसपा, हेमन्तप्रकाश वली र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पनि एकताको पक्षमा रहेको कुरा आएका थिए । तर त्यो सेलाएको छ । बरु समाजवादी मोर्चातिर प्रचण्डको ध्यान छ ।

०८४ को निर्वाचनसम्ममा पूर्व माओवादी एकता गर्ने योजना बनाएका प्रचण्डलाई पुराना नेताहरूले टेरेका छैनन् । प्रचण्ड र बाबुराम मिल्ने सम्भावना छैन । प्रभु साहले ०७९ को निर्वाचनपछि आमजनता पार्टी गठन गरेका छन् । वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि एकतामा तयार छैन । उनले त प्रचण्डका कारण पूर्वमाओवादीले दु:ख पाएको गुनासो गरेका छन् ।

यस्तै, गोपाल किराती नेतृत्वको नेकपा माओवादी पनि एकतामा तयार छैन । विश्वभक्त दुलालको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तलाई पनि माओवादीले मिल्न भनेको छ । तर उनीहरू पनि तयार छैनन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ पूर्वमाओावदीबीच छलफल र वार्ता भइरहेपनि एकताको बिन्दुमा नपुगेको बताउँछन् । ‘छलफल सकारात्मक छ । तर ठोस कुरा आएको छैन । विप्लव, नेसपा, नेकपा बहुमतका साथीहरू एकताको पक्षमा हुनुहुन्छ । वार्ता भइरहेको छ’, गुरुङले खबरहबलाई भने, ‘सबैलाई समेटेर लान सकिन्न होला । विचार र सिद्धान्त मिल्नुपर्‍यो । माओवादी बलियो बनाउन लागेका छौँ । पुराना साथीहरू जोडिनु होला । आवश्यक नहुने नजोडिन सक्नुहुन्छ ।’

गुरुङ माओवादी केन्द्र फुटेपछि बनेका १० वटा पार्टी र पूर्वमाओवादी सबै नेताहरूलाई फर्काउन नसक्ने बताउँछन् । उनी ०८४ सम्ममा केही पूर्वमाओवादी पार्टी र नेताहरू एक ठाउँमा आउने दाबी गर्छन् । माओवादीले एक वर्षअगाडि पूर्वमाओवादी नेताहरूसँग छलफल गरेपनि त्यो अघि नबढेको गुरुङ बताउँछन् ।

यता नेसपा नेता गंगालाल श्रेष्ठ ०८४ सम्म पूर्वमाओवादीका केही पार्टी र नेता एक ठाउँमा उभिने बताउँछन् । आफूहरू एकता प्रक्रियामा रहे पनि प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताउँछन् ।

यता विप्लव नेतृत्वको नेकपा पनि ०८४ सम्ममा संसदीय राजनीतिमा आउने तयारीमा छ । पछिल्लो समय विप्लव र प्रचण्डबीच एकताका लागि अनौपचारिक, औपचारिक छलफल भइरहेको छ । तर, उनीहरू पूर्वमाओवादी एक ठाउँमा ल्याउने या समाजवादी मोर्चा बलियो बनाउने कुरामा अन्योलग्रस्त छन् ।

सबै मिल्ने सम्भावना कम : विश्लेषक श्रेष्ठ

सबै पूर्वमाओवादी पार्टी र नेताहरू एक हुने सम्भावना नभएको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । उनी केही केही नेता र पार्टी मिले पनि जुँगाको लडाइँका कारण सबै एक ठाउँमा आउन सम्भव नभएको तर्क गर्छन् ।

‘सबै एक ठाउँमा आउन सम्भव नहोला । तर केही–केही मिल्न सक्छन् । विचार, सिद्धान्, कार्यदिशा एउटै भए पनि जुँगाको लडाइ छ’, श्रेष्ठले खबरहबलाई भने, ‘तर एकता भएर आन्दोलनको औचित्य पुष्टि गर्नुपर्ने थियो । सबै कम्युनिस्ट एक भए अझै राम्रो ।’

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : २४ बजे

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : महासचिव पोखरेल

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले

गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई

धरान– आज सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला