कर्णाली करिडोर : ५० किलोमिटर सडक कालोपत्रे गर्न चार अर्बको ठेक्का | Khabarhub Khabarhub

कर्णाली करिडोर : ५० किलोमिटर सडक कालोपत्रे गर्न चार अर्बको ठेक्का


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –कर्णाली करिडोरको ५० किलोमिटर सडक कालोपत्रे गर्न चार अर्ब रुपैयाँ बराबरको ठेक्का आह्वान भएको छ ।

चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्डको पिलुचौर–कुवाडी र हुम्ला खण्डको कुवाडी–तुमचौरको ५० किलोमिटर सडक निर्माण गर्न ठेक्का आह्वान गरिएको हो ।

हुम्लाको हिल्सासम्म सडक पुर्‍याउने लक्ष्य राखिएको कर्णाली करिडोर राष्ट्रिय गौरवको आयोजना हो । यो सडक तयार भएपछि नेपाल–भारत सीमा बाँकेको जमुनाहाबाट नेपाल–चीन सीमा हिल्सा जोडिनेछ ।

बाँकेको जमुनाहाबाट हुम्लाको हिल्सासम्म सडकको कुल लम्बाइ ५०५ किलोमिटर हुनेछ । कालीकोटको खुलालुदेखि बाजुराको पिलुचौर भएर हुम्लाको सरदमुकाम सिमकोट हुँदै हिल्सास्थित चीन सीमासम्म सडकको दूरी २६९ किलोमिटर रहेको छ ।

कालीकोटको खुलालुबाट कर्णाली करिडोर दक्षिण खण्डको १२३ किलोमिटर सडक आयोजना कोल्टी बाजुराले र उत्तरी खण्डमा रहेको १४६ किलोमिटर हुम्लाको सल्लीसल्लादेखि हिल्सासम्मको सडक हिल्सा–सिमकोट सडक आयोजना हुम्लाले हेर्दै आएको छ ।

वि.सं. २०६४ सालमा नेपाल सरकारले कालीकोट–हुम्ला–जुम्ला सडक आयोजना अन्तर्गत काम सुरु गरेको थियो ।

२०७१ चैतबाट कालीकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सलिसल्लासम्मको सडक निर्माण जिम्मा नेपाली सेनाले लिएको थियो ।

सेनाले ट्रयाक खोलेको सडक २०८० पुस १५ मा जिम्मा लगाइसकेको छ । सोही सडक स्तरोन्नति र कालोपत्रे गर्न सडक विभागले ठेक्का लगाइरहेको हो ।

कर्णाली करिडोर दक्षिण खण्ड कालीकोटको नरहरिनाथ–८ खुलालुदेखि हुम्लाको सल्लिसल्ला सडक योजनामा थप ५० किलोमिटर सडकको कालोपत्रे गर्न ठेक्का आह्वान भएको आयोजनाका इञ्जिनियर पङ्कजसिंह धामीले बताए ।

‘खुलालुदेखि ग्राभेल, सडक चौडा र नाला निर्माणका काम भइरहेको छ,’ धामीले भने, ‘पिलुचौर–तुमचौर खण्डको काम सक्न दुईवटा बहुवर्षीय ठेक्का आह्वान गरिसकेका छौँ, अबको तीन महिनामा सबै प्रक्रिया सकेर निर्माण व्यवसायीलाई काममा खटाउँछौँ ।’

बाजुराको पिलुचौर–कुवाडी २३.७ र कुवाडी–तुमचौर २६.३ किलोमिटर सडक कालोपत्रे गर्नेगरी ठेक्का व्यवस्थापन गरिएको छ । बहुवर्षे ठेक्काबाट सम्झौता गरिएको मितिदेखि तीन वर्षमा काम सक्ने लक्ष्य राखिएको इञ्जिनियर धामीले बताए ।

‘पिलुचौर–तुमचौर खण्डको सडकमा नाला निर्माण, सडक चौडा, ग्राभेल जस्ता काम गरिनेछ,’ उनले भने, ‘कठिन भीरमा ५.५, अन्य क्षेत्रमा ७.७५ र बजार क्षेत्रमा ९ मिटरसम्म चौडा सडक कालोपत्रे गरिनेछ ।’

खुलालु–पिलुचौरसम्मको सडक कालोपत्रेका लागि बजेट माग गरिसकिएकाले चालु आर्थिक वर्षमै ठेक्का व्यवस्थापन हुने उनले जानकारी दिए । माथिल्लो खण्डमा निर्माणको गति बढाउँदै जाने र खुलालुबाट स्तरोन्नति गरिएको सडक कालोपत्रे गर्दै आउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

कर्णाली करिडोर उत्तर खण्ड (हिल्सा–सिमकोट–सल्लिसल्ला) योजना कार्यालयमा यो वर्ष ३४ करोड रुपैयाँ बजेट विनियोजन छ । गत वर्षदेखि सिमकोट हिल्सा खण्डमा सडक स्तरोन्नति कार्य सुरु गरिसकिएको छ । ग्राभेल, ग्याभिन वाल र नाला निर्माणको काम जारी रहेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षभित्रै बाँकी खण्डमा सडक स्तरोन्नति लगायत काम गर्नेगरी विभिन्न प्याकेजमा ठेक्का लगाउने योजना रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

चार पुल निर्माण गरिँदै, तीन पुलको डीपीआर बन्यो

खुलालु सिमकोट सडक खण्डमा अहिले चार पुल निर्माण क्रममा छन् । तागरु खोला, हेप्पा खोला, एङ्गर खोला र खार्पुनाथ नदीमा आरसीसी स्टिल ब्रिज निर्माण प्रक्रिया थालिएको छ । मुख्यगरी खार्पुनाथ खोलामा पक्की पुल निर्माणपछि सिमकोट–सुर्खेत सीधा सवारी आवागमन हुनेछ ।

खार्पुनाथमा अहिले बेलिब्रिजको प्रक्रिया अघि बढाइएकाले लगत्तै आरसीसी स्टील ब्रिजको ठेक्का गर्ने तयारीमा रहेको ‘कर्णाली करिडोर उत्तर खण्ड’ (हिल्सा–सिमकोट–सल्लिसल्ला) सडक योजना कार्यालय हुम्लाले जनाएको छ ।

बाजुराको बान्दु, पहिमा खोला र हुम्लाको मकै खोलामा नयाँ पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन लागिएको कर्णाली करिडोर दक्षिण खण्ड (खुलालु–सल्लिसल्ला) सडक योजना कोल्टी बाजुराले जानकारी दिएको हो ।

आरसीसी पुल निर्माणका लागि चालु आर्थिक वर्ष कार्यालयले डीपीआर बनाउने तयारी गरेको इञ्जिनियर धामी बताए ।

‘हालसम्म बर्खायाममा खोला बढ्दा एक दुई दिन सवारी रोक्नुपर्ने अवस्था छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा सहज सवारी आवागमन गराउन पुल निर्माणको आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा छौँ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : ०४ बजे

स्थानीय निकायबीच समन्वय हुनुपर्छ : चिरीबाबु महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास

तातोपानी नाका व्यवस्थित बनाउन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप

१३ वर्षीया बालिकामाथि घरबेटीको गिद्धेदृष्टि : आरोपित प्रहरीको नियन्त्रणमा

काठमाडौं – सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती

उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण

कटारी – उदयपुरको कटारी नगरपालिका–९ आहालेका १२ परिवारलाई ५० वटा

बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

गलकोट– बागलुङका चार वटा पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको