धनगढी – पैसा कमाउन कि त जागिर खानुपर्छ । कि त विदेश नै जानुपर्छ भन्ने मान्यता समाजमा जबरजस्त हाबी हुँदै गएको छ । साना उद्यम, कृषि र पशुपालन जस्ता व्यवसायलाई वास्ता नै नगर्ने र आम्दानीको श्रोत नै नठान्ने मान्यता युवामा देखिन्छ । तर, बाजुराकी पारु रोकायाको परिवारले यी मान्यतालाई सहजै चिर्न सफल छन् ।
श्रीमान् रामबहादुर रोकाया र पारु लामो समय भारतको हिमाञ्चलमा बसे । स्याउ खेतीमा जोडिए, कृषि खेतीका लागि आधारभूत सीप सिके, तर पैसा कमाउन सकेनन् । कामदार मात्रै बने । पेट पाल्नका लागि गुजारामै सीमित बन्यो, पारुको परिवार । भारतको लामो बसाई बाट पनि आर्थिक रूपमा कुनै प्रगति नभएपछि उनीहरू २०७२ साल तिर नेपाल आफ्नै गाउँ फर्किए ।
केही गरौँ भन्ने जोश थियो, स्याउ बारीमै काम गर्दाको अनुभव पनि लिएर आएका थिए, पारु दम्पत्ती । तर आर्थिक लगानी अभाव र सडक पहुँचभन्दा निकै टाढाको गाउँ बिजेढुङ्गामा सहजता थिएन । गाउँमै कृषि तथा फलफूल बालीको नर्सरी भएको थाह पाए । त्यहीबाट दारिम, सुन्तला, कागतीसहितका ७ बोट ल्याएर खेती सुरु गरे ।
घरमा सासू-ससुराले अन्नबाली लगाउने खेतबारीमा फलफूल रोप्ने कुरामा असहमति जनाए । भोकमरी हुने भन्दै रोप्न दिएनन् । पारुको ससुरा लेकमा बस्थे । त्यही मौका पारेर उनले २ सय बोट थप बाँझो जमिनमा रोपे । त्यसका लागि ५० प्रतिशत रकम कृषि ज्ञान केन्द्रले सहयोग गर्यो ।
पारुको बारीमा सुन्तला फल्न थालेको ५ वर्ष मात्रै भयो । उनले बिक्री थालेको ४ वर्ष भयो । सुरुको वर्ष डेढ लाख जतिको सुन्तला बिक्री गरेको पारु बताउँछिन् । दुई वर्ष साढे ४ लाख बढी आम्दानी गरे । गाउँसम्म पुग्ने बाटो छैन । बोकेर ग्रामीण सडकमा पुर्याउनु पर्छ, त्यहाँबाट गाडीमा हालेर बाजुरा सदरमुकाम मार्तडी सहितका बजारमा पुर्याउनु पर्ने बाध्यता उनीसँग छ ।
४ सन्तानसहित सिंगो परिवार अहिले सुन्तला खेतीमै लाभान्वित छ । सन्तानलाई उच्च शिक्षा पढाउन र अत्तरियामा बसाउन त्यही खेतीबाट पुगेको बताउँछिन्, पारु । उनको परिवारले यो वर्षमात्रै साढे ७ लाख बढीको सुन्तला बिक्री गरेको छ । बारीमा ५ सय बढी बोट लटरम्म फलेका छन् । कृषि ज्ञानकेन्द्रले सहुलियत ढुवानी भाडामा बजारसम्म पारुका सुन्तला पुर्याएपछि उनलाई थप सहज भयो ।
गाउँ ठुलो छ । तर सुन्तलाका लागि प्रचुर सम्भावना पनि देखिन्छ । तर सुन्तला खेती अपवाद बाहेक पारुको परिवारले मात्रै गरेको छ । सानो लगानी र कम मेहनतबाटै वर्षेनी साढे सात लाख रुपैयाँ बचत हुने भएपछि पारु निकै खुसी छन् । खुलेरै मेरालागि अमेरिका र युरोप यही छ, केही चिन्ता छैन, भन्दै हिँड्छिन् ।

‘भारतमा बसियो, ज्यालादारी काम गरियो, अन्न उब्जाउन हुने बारीमा सुन्तला नरोप्न भन्दै ससुराको हप्कीदप्की खाइयो, अब बसिबसी आम्दानी गर्ने र पैसा गन्ने अवस्था आएको छ । गाउँमै सुन फल्छ, भन्ने उदाहरण पनि मनै हुँ, अरूले सिकुन्’, ५१ वर्ष उमेर कटेकी पारु भन्छिन् । अहिले उनका ससुरा समेत सुन्तलाको आम्दानी देखेर खुसी मात्रै छैनन्, चकित पनि छन् ।
२ मुरी अन्न नफल्ने खेतमा पारुले सुन्तलाबाटै लाखौं आम्दानी गर्ने गरेकी छन् । असिनाले केही समस्या पारेपनि चोरीबाट बचाए, सानो लगानी र कम मेहनतबाटै आम्दानी नेपालमै हुने गरेको निष्कर्ष, पारुको परिवारको छ । गौमुल गाउँपालिकाले पनि पारुको खेती देखेर पालिकाको ४, ५ र ६ नम्बर वडालाई पकेट क्षेत्रका रूपमा सुन्तलाजन्य खेतीको योजना अघि सारेको उपाध्यक्ष सीता थापाले बताइन् ।
हाल पारुको बारीमा नौ सय बोट थप आफैले किनेर लगाएका छन् । भने एक सय बोट गौमुल गाउँपालिकाले उपलब्ध गराएका छन् । आफन्त छिमेकी पनि पारुको परिवारको आम्दानी देखेर आश्चर्य चकित छन् । उनीहरूलाई पनि पारुको सुन्तलाले लोभ्याएको छ । भारतकै भरमा बाचेका स्थानीय छिमेकीलाई पाठ समेत बनेको देखिन्छ ।
पारुको बारीमा फलेका सुन्तला यो पटक छिमेकी जिल्ला हुम्लाको सदरमुकाम सिमिकोट समेत लगेर बिक्री गरिएको छ । बाजुराका सुन्तलाले अर्को जिल्लामा पनि बजार पाएको पहिलो पटक हो । यस अघि कागती र स्याउ मात्रै जिल्ला बाहिर जाने गरेकोमा यो वर्ष सुन्तला समेत बाहिर लगेर बिक्री थालिएको कृषिज्ञान केन्द्र बाजुराले बताएको छ ।
परिवार खुसीका साथ हुर्केको छ । राम्रो आम्दानी छ । विदेश गएका भन्दा आफ्नै परिवारको सफलता बढी हुनेमा पारु ढुक्क छिन् । बारीसम्म पुग्ने सडक र थप जमिन भाडामा लिने प्रबन्धक हुनसके खेतीलाई थप विस्तार गर्ने सोचमा पारुको परिवार छ ।
सुन्तलाका लागि उर्वर भूमि मानिएको गौमुल गाउँपालिका ४, ५ र ६ का करिब ६० प्रतिशत बढी युवा कामका लागि वर्षेनी भारत जाने गरेका छन् । उनीहरूलाई उद्यम व्यवसाय र फलफूल खेतीतर्फ जोडिनु पर्ने सिकाइ पारुको व्यवसायबाट भएको छ । बाजुराका गौमुलबाहेक बडीमालिका १, २ र ३, बुढीगंगाको ७, ८ ९ र १०, बुढीनन्दाको ३ र ६ मा सुन्तला खेतीका लागि बढी सम्भावना छ ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बाजुरामा हालको अवस्थामा ५ सय मेट्रिकटन बढी सुन्तला फल्ने गरेको तथ्यांक छ । डेढ सय हेक्टर पुरानो र २ सय बढी हेक्टरमा नयाँ सुन्तलाजन्य फलफूल गरिएको छ भने ३० हजार बढी बोटहरु रोपिएको अनुमान छ । ती मध्ये १० हजार बढी फल्न थालेको तथ्याकंले देखाउँछ ।

पानी नजम्ने, बिहानको घाम पर्ने र १२ सय मिटरदेखि १७ सयसम्मको उचाइमा रहेको माटोमा सुन्तला खेती हुने गरेको छ । यो प्रकृतिको माटो बाजुराका अधिकांश भूगोलमा देखिन्छ ।
माटो परीक्षण गरी सुन्तला खेती सुरु गर्न सके आर्थिक रूपमा बाजुरा निकै माथि उठ्ने विश्वास कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका कृषि अधिकृत मिनप्रसाद जैशीको छ । जैशीले बाजुरा हुँदा आत्मनिर्भर र उत्पादनका लागि बाजुरा उर्वर भूमि भन्ने अभियान नै चलाएका थिए ।
प्रतिक्रिया