काठमाडौं – रोजगारी अभाव र श्रम अराजकताका कारण नेपालमा बेरोजगारी समस्या दिनानुदिन भयावह बन्दैछ ।
औपचारिक क्षेत्रमा रोजगारी नपाइने, न योग्यताअनुसार अवसर न त आधारभूत श्रम गर्ने ठाउँ नै ! गाउँठाउँमा श्रम गर्नै नचाहने, तर शहर र विदेशमा जतिसुकै हण्डर खाएर पनि रोजगारी खोज्दै भौतारिइरहने !
अहिलेहाल युवाहरू यस्तै समस्याले घेरिएका छन् । अनि, यही समस्याको खाडलमा ठगीको बल्छी थापेर ठगहरूले युवा लुट्दैछन् । रोजगारी दिने बहानामा दशकौंदेखि काठमाडौं लगायत शहरमा चलेको ठगी धन्दा निरन्तर चल्दो छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले तयार गरेको नेपाल जीवनस्तर सर्वेक्षण (२०७९/८०) प्रतिवेदनमा उल्लेख भएअनुसार; नेपालमा बेरोजगारी दर कम्तिमा १२.६ प्रतिशत छ ।
१५ देखि २४ वर्ष उमेरसमूहका युवा बेरोजगारीदर २२.७ प्रतिशतभन्दा बढी छ । ठगी नै गर्ने उद्धेश्यले खोलिएका ‘जब सेन्टर’हरूले यही उमेरसमूहका युवालाई नै ठगीको पासोमा पार्ने गरेका छन् ।
यस्तो ठगीका अखडा हुन् – काठमाडौं लगायत शहरका चोकचोकमा खोलिएका तथाकथित ‘जब सेन्टर !’ बेरोजगारीको फाइदा उठाउँदै यस्ता ठगी अखडाले कयौं युवाहरूलाई ठगिरहेका छन् ।
रोजगारी दिने र खोजिदिने आश्वासन दिएर चर्को शुल्क लिइ फर्म भर्न लगाउने, शैक्षिक कागजपत्र नै कब्जा गरी बेरोजगार युवासँग बार्गेनिङ गर्ने र रकम लिएर बेपत्ता हुनेसम्मका हर्कत यस्ता ‘जब सेन्टर’ सञ्चालनहरूबाट हुने गरेको छ ।
पहिले पहिले शहरको सडक वारपारका पर्खाल र बिजुलीका पोलमा पोस्टर टाँसेर युवा ठग्ने विज्ञापन गर्ने ‘जब सेन्टर’ वालाहरू पछिल्लो समय विद्युतीय सामाजिक सञ्जालमा सक्रिय छन् । हातहातमा स्मार्टफोन बोकेका युवाहरू आवद्ध हुने टिकटक र फेसबुकजस्ता सञ्जालमा विज्ञापन राख्ने, आकर्षक पारिश्रमिक दिने र जागिर खोजिदिने प्रलोभन देखाउँदै यस्ता व्यक्ति र समूहहरूले युवाहरूलाई ठग्ने गरेका छन् ।
फेसबुक र टिकटकमा राखिएका भिडियो र विज्ञापनहरू हेर्दा यस्ता ठगहरूले ठग्ने न्यूनतम रकम नै ५०० रुपैयाँबाट सुरु हुन्छ । ठगीको पासोलाई बलियो बनाउन उनीहरू आवश्यक कर्मचारीमा पुरुष र महिलाको सङ्ख्या पनि तोक्छन् ।

टिकटकको एउटा एकाउन्ट ‘बिग मार्ट’ ठगीको यस्तै डिजिटल अखडा हो । बिग मार्ट नेपालको सबैभन्दा ठूलो सुपरमार्केट चेन हो । शहरहरूमा विस्तार हुँदै गरेको यो चेनले सयौं युवालाई रोजगारी दिइरहेकाले ठगहरूले यही कम्पनीको नाम भजाउँदै युवाहरूलाई ठगीको पासो थापेका हुन् ।
सो एकाउन्टबाट ‘महिला संख्या यति, पुरूष संख्या यति, तुरुन्त आवश्यकता परेको हुनाले चाँडोभन्दा चाँडो सम्पर्क गर्नुहोला’ जस्ता प्रचार भइरहेको छ । उक्त एकाउन्टबाट प्रचार गरिएको ठगीको जालोमा हालसम्म कयौं मानिस फसिसकेका छन्, जुन तथ्य ठगिँदै गरेकामध्ये धेरैलाई थाहै छैन ।
टिकटकमा प्रचार गरिएको उक्त विज्ञापन सामग्रीको सत्यतथ्य थाहा पाउन हामी सम्बन्धित कम्पनीको मुख्य कार्यालय भनिएको स्थान बालुवाटारस्थित ‘बिग मार्ट’को हेड अफिसमा पुग्यौं । बिगमार्टका एक उच्चपदस्थ कर्मचारीले आफ्नो कम्पनीको नाम प्रयोग गरी उक्त एकाउन्टले झुटा सामग्री प्रचार गरिरहेको बताए ।
अहिले भाइरल बनिरहेका सामग्रीहरू झुटो भएको र आफ्नो कम्पनीले ‘कान्तिपुर जब सोलुसन ट्रेनिङ एड सेन्टरसँग’बाट मात्र जनशक्ति व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।
यसरी झुट प्रचार गर्ने कम्पनीहरूमा आफूहरू स्वयम् जागिर खोज्ने व्यक्तिको रूपमा गएको र कुरा गर्दै जाँदा आफूहरूलाई चिनेपछि उप्रान्त यस्तो नगर्न चेतावनी दिएको पनि उनले जनाए ।
यस्तै झुटो प्रचारको चपेटामा अनिल लिम्बू परे । अनलाइनबाटै बिगमार्टले कर्मचारी भर्ना गरिरहेको भन्ने गलत सूचनामा उनी फसे । उक्त सेन्टर खोज्दै गए । सुरुमा एउटा फर्म भर्नुपर्ने रहेछ, जुन फर्मको मूल्य नै ५०० रुपैयाँ थियो ।
‘जागिर नै पाइने हो भने ५०० रुपैयाँ किन नतिर्ने भनी रकम र फर्म बुझाएँ’, लिम्बूले भने, ‘तर, रकम तिरेपछि त्यो गिरोहले तालिम लिनुपर्ने अर्को पासो थाप्यो, तालिमका नाममा थप २५ सय रुपैयाँ असुल्ने रहेछन् ।’
जागिर पाइने आशमा लिम्बूले तालिम लिन भन्दै थप २५ सय रुपैयाँ पनि तिरे । ठगी गर्नकै लागि खोजिएको उक्त जब सेन्टरका सञ्चालकहरूले तालिम केन्द्र भनी खोलेको स्थानमा पनि पठाए । तर, रकम लिइसकेपछि भने, ‘सुरुमा भनेजस्तो मासिक तलब दिन सकिँदैन, काम पनि लामो समयसम्म गर्नुपर्छ ।’
लिम्बूले त्यसरी काम गर्न चाहेनन् । तालिमबापत तिरेको रकम बल्लतल्ल फिर्ता लिए । तर, फर्म भर्दा तिरेको ५०० रुपैयाँ फिर्ता नै पाएनन् ।
‘मानिसहरूले कम्पनी नै खोलेर ठग्छन् जस्तो लागेको थिएन, त्यहाँ त जागिर खोज्ने मानिसहरूको लाम लाग्ने रहेछ । फर्म भिडाएर असुल्ने ५०० रुपैयाँबाटै उनीहरूले दिनहुँ लाखौं रुपैयाँ सङ्कलन गर्ने रहेछन्’, लिम्बूले भने ।
जब सेन्टरका नाममा खोलिएका त्यस्ता कम्पनीमा प्रायः सोझासाझा मानिस नै जाने र उनीहरूलाई अनेकन प्रलोभन देखाएर फर्म भर्न लगाइ ५०० रुपैयाँ तिराउने गरेका लिम्बूले बताए ।
अर्का एक पीडितले नाम उल्लेख नगरिदिन आग्रह गर्दै जब सेन्टरका नाममा आफू नराम्ररी ठगिएको बताए । उनले टिकटकमा बिग मार्टकै नाममा प्रचारित विज्ञापन देखे । त्यहाँ सम्पर्क गर्न फोन नम्बर पनि दिइएको थियो ।
उक्त नम्बरमा फोन गर्दा ठगी कम्पनीका सञ्चालकले ‘चाँडो भन्दा चाँडो आएर फर्म भर्नू, नत्र कोटा सकिन्छ’ भन्दै बल्छी थापे । उनी हतारहतार कोटेश्वर पुगे । तर, कोटेश्वरमा कार्यालय कता हो भन्ने जानकारी सुरुमै दिएनन् ।

‘फर्म भर्ने भनिएको ठाउँको लोकेशन एकैपटकमा बताएनन्, एकपटक फोन गर्दा एक चोकबाट अर्को चोकसम्मको लोकेशनमात्रै दिए, पटकपटक फोन गर्न लगाउँदै बल्लतल्ल अफिससम्म बोलाए’, उनले भने, ‘अर्कै ठाउँमा कार्यालय राखेर पहिल्यै ठगीमा पारिएकाहरू या प्रहरी आए कि भन्ने डरले होला, उनीहरूले एकैपटकमा आफ्नो ठेगाना नदिने रहेछन् ।’
त्यहाँ पुगेपछि उनले बल्ल जागिर खोज्न आफूजस्तै दर्जनौं युवाहरू आउने रहेछन् भन्ने थाहा पाए । ठगी कम्पनी सञ्चालकहरूले सुरुमा जागिर पक्कापक्की पाइने आश्वासन देखाएर फर्मका नाममा ५०० रुपैयाँ तिर्न लगाएको उनले बताए ।
त्यसपश्चात ती युवालाई उक्त कम्पनी सञ्चालकहरूले जिमेल आइडी दिए । सोही आइडीमा आफ्नो सीभी (वैयक्तिक विवरण) पठाउन भने । तीन दिनभित्र जागिरबारे जवाफ आउने बताएर सञ्चालकहरूले ती युवालाई फर्कन भने ।
तर, तीन दिनभित्र कुनै प्रतिक्रिया आएन । अर्को तीन दिनसम्म पनि आएन । बेरोजगारीले आलसतालस युवा उक्त सेन्टरमै पुगे । उनलाई ५०० रुपैयाँ असुलेर फर्म भराउँदा दिएको आश्वासनको लय सेन्टर सञ्चालकहरूले बदलिसकेका थिए । बरु, थप रकम ठगी गर्न अर्को पासो फाले । अरू कुनै काम गर्ने भए मासिक ज्यालाको ३० प्रतिशत सो सेन्टरलाई सुरुमै बुझाउनुपर्ने भने । ती युवाले ५०० रुपैयाँ र आवतजावतमा अरू सयौँ रुपैयाँ त गुमाए नै, उक्त ठगी कम्पनीका कारण अनाहकमा समयको पनि बर्बादी भयो ।
‘जब सेन्टर’का नाममा सङ्घीय राजधानी काठमाडौंकै चोकचोकमा बेरोजगार युवामाथि व्यापक ठगी बढिरहेको जानकारी पाएपछि खबरहब प्रतिनिधि टिकटकमार्फत विज्ञापन गरिएकामध्ये विभिन्न पाँचवटा तथाकथित जबसेन्टरमा पुग्यो ।
बेरोजगार युवा ठग्न ती सबै ‘जब सेन्टर’को तरिका प्रायः एकै रहेको पाइयो । उनीहरू सबैले सामाजिक सञ्जालमै रोजगारीको प्रलोभन दिँदै विज्ञापन गरेका थिए ।
उक्त विज्ञापन देखेर आएका बेरोजगार युवाहरूबाट त्यस्ता कम्पनी सञ्चालकले सुरुमै ५०० देखि दुई हजार रुपैयाँसम्म असुलेर फर्म भर्न लगाउँछन् ।
कामबारे जानकारी दिने भन्दै प्रलोभन देखाएर फर्म भर्न तयार बनाउने, मासिक पारिश्रमिकबापत आकर्षक तलब पाइने बताउने र अन्तिममा कम्तिमा ५०० रुपैयाँ तिराएर फर्म भर्न लगाउने !
ठगीको चरण फर्म भर्दैमा सकिँदैन । फर्म भर्न लगाएपछि तालिमका लागि भन्दै नागरिकता र शैक्षिक प्रमाणपत्रको सक्कल प्रति नै माग्छन् । सोझासाझा युवाहरूले रोजगारी पाइने प्रलोभनमा आफ्ना सबै कागजात त्यस्ता कम्पनीलाई बुझाउँछन् ।
त्यस्ता ‘जब सेन्टर’हरूले दोस्रो चरणमा ‘जब प्लेसमेन्ट’का लागि तालिम लिनुपर्ने भन्दै कम्तिमा दुई हजार रुपैयाँदेखि रकम असुल्न थाल्छन् । कामका लागि बारम्बार धाउँदाधाउँदै अधिकांश युवाहरू यही चरणमा थाक्छन् र आफ्ना कागजात फिर्ता माग्न थाल्छन् ।
तर ‘कामका लागि कुरा भइरहेको छ, तपाईँले नगर्ने हो भने हामीले अर्को मानिस खोज्नुपर्छ, कागजात लिने नै भए पेनाल्टी (जरिवाना) तिर्नुपर्छ’ भन्ने जवाफ पाउँछन् । दुई चरण ठगिइसकेर आफ्नै प्रमाणपत्र लिन पनि फेरि ठगिइनुपर्छ । प्रमाणपत्र फिर्ता दिनुअघि त्यस्ता जब सेन्टर सञ्चालकले थप एक हजार रुपैयाँभन्दा बढी असुल्छन् ।
प्रमाणपत्र नमागी रोजगारी पाउने आश्वासनमा रहेका युवालाई अन्तिममा ‘तपाईंको योग्यता पुगेन, कम्पिटिसन हाइ (चर्को प्रतिष्पर्धा) भयो, अर्को ठाउँमा काम हुने भयो, सुरुमा भनिएभन्दा कम तलब पाइन्छ, मासिक पारिश्रमिकको ३० प्रतिशत सुरुमै हाम्रो कम्पनीलाई बुझाउनुपर्छ…’ जस्ता जवाफ दिन्छन् ।
बल्ल युवाले आफू चरण–चरणमा ठगिएको थाहा पाउँछ । अनि त्यहाँ बुझाएको प्रमाणपत्र लगायत कागजात माग्छ । तथाकथित जब सेन्टरलाई फेरि अर्को रकम बुझाउँदै ती कागजात फिर्ता लिँदै युवाहरू निराश भएर फर्कन्छन् ।
यस्ता जब सेन्टरहरू काठमाडौंका चोकचोकमा छन् । विशेषगरी चक्रपथका मुख्य चोक र त्यहाँबाट भित्रका गल्लीहरूमै ठगीका यस्ता अखडा खोलिएका छन् ।
कलङ्की, बल्खु, एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तीनकुने, सिनामङ्गल, गौशाला, एअरपोर्ट, चाबहिल, महाराजगञ्ज, बसुन्धरा, सामाखुशी, गोङ्गबु, नयाँ बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सीतापाइला र स्यूचाटार चोकमा युवा ठग्न खोलिएका यस्ता सयौं ‘जब सेन्टर’ छन् । ती अधिकांश जब सेन्टरको रिसेप्सनमा आफूलाई वैध देखाउन झुण्ड्याइएका दर्ता प्रमाणपत्र नै नक्कली रहेको बताइन्छ ।
युवामाथि दिनहुँ खुलेआम ठगी भइरहेको यस्ता चोकमै सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीका विभिन्न स्तरका कार्यालय छन् । तर, बेरोजगारी समस्यालाई बल्छी बनाउँदै आफ्नै क्षेत्रमा भइरहेको यस्तो अपराधप्रति प्रहरी अधिकारीहरूले आँखा चिम्लिएको देखिन्छ ।
(ठकुरी खबरहबमा प्रशिक्षार्थी पत्रकार हुन् ।)
प्रतिक्रिया