काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका जोसुकै विद्यार्थीलाई चोटपटक लाग्दा वा केही स्वास्थ्य समस्या देखिँदा सबैले सम्झिने एउटै नाम हो– थुङ्गा ।
थुङ्गा श्रेष्ठ विजयस्मारक विद्यालयमा कार्यरत विद्यालय नर्स हुन् । उनी विगत ७ महिनादेखि सो विद्यालयमा काम गर्छिन् । विद्यार्थीका ससाना समस्यादेखि लिएर शारीरिक रूपमा लागेका घाउ चोटपटकमा मलम पट्टि लगाउँछिन्, यदि कसैले जंकफुडहरु ल्याएको छ भने खोसेर राख्छिन्, महिनावारी भएका छात्राहरुलाई सेनेटरी प्याड दिन्छिन् । कोही विद्यार्थी तनावमा छन् भने उनीहरूका समस्या सुनेर परामर्श दिन्छिन् ।
त्यसैले सबै विद्यार्थीले साथीजस्तै सम्झेर आफ्ना सवै कुरा खुलेर उनी सामु राख्न कत्ति पनि हिचकिचाउँदैनन् । आफूले पनि विद्यार्थीहरुको अवस्था हेरेर आवश्यक औषधी या परामर्श दिएर पठाउने गरेको उनले बताइन् । खबरहवसँग कुराकानी गर्दै नर्स श्रेष्ठले भनिन्– ठूलो कक्षाका विद्यार्थीहरू पेट, टाउको दुख्दा या कुनै अन्य समस्याहरू पर्दा आउँछन् । तर सानो कक्षाका बालबालिकाहरू खेल्दाखेल्दै थोरै लड्दा पनि ठूलो स्वरमा रुन्छन् । अनि हेण्डीप्लस लगाएपछि निको भयो भनेर हाँस्दै कक्षामा फर्कन्छन् ।
उनीहरूले आफूमाथि गरेको विश्वास देख्दा आफ्नो कर्मप्रति गर्व लाग्ने उनले बताइन् । अस्पताल तथा यस विद्यालयसँगै अर्को एउटा विद्यालयमा पनि काम गरेको अनुभव सुनाउँदै थुङ्गा भन्छिन्– विद्यालयमा काम गर्दा रमाइलो लाग्छ । अस्पतालमा सिफ्टको ड्युटी हुन्छ । त्यसैमाथि आफूलाई पायक पर्ने समयमा मिल्दैन ।
तर विद्यालयमा बिहान १० देखि ४ बजेसम्मको ड्युटी हुन्छ र जिज्ञासु उमेरका बालबालिका तथा किशोर किशोरीहरुसँग समय बिताउन पाउँदा, उनीहरूका गुनासाहरू सुनेर सम्बोधन गर्न पाउँदा आनन्दको अनुभूति हुने उनी बताउँछिन् ।
त्यस्तै अर्की विद्यालय नर्स हुन् भावना जोशी ओझा । उनी विगत ४ वर्षदेखि जमल स्थित दरबार हाई स्कुलमा कार्यरत छिन् । हरेक विद्यार्थीहरूका मानसिक तथा शारीरिक समस्याको जानकारी राख्ने र समाधान गर्ने गर्दछिन् ।
उनका अनुसार किशोरावस्थामा विपरीत लिङ्गप्रतिको आकर्षणका कारण केटा साथी या केटी साथी बनाउने झगडा पर्दा तनाव लिएर डिप्रेसनमा जानेसम्मका समस्याहरू विद्यार्थीहरूमा देखिने गरेका छन् ।
परामर्शकै माध्यमबाट त्यस्ता समस्याको समाधान गर्ने र यदि आवश्यक परे सम्बन्धित विज्ञसँग पनि सल्लाह लिने गरेको उनले बताइन् । यो उमेरका केटाकेटीहरूमा एक अर्काप्रति आकर्षण हुनु स्वाभाविक भए पनि शारीरिक तथा मानसिक हिसाबले धेरै निकटता राम्रो हुँदैन भन्दै कति जोडीहरूको प्रेम सम्बन्ध छुटाएर सामान्य जीवनमा ल्याएको पनि उनले उदाहरण दिइन् ।
दरबार हाई स्कुल र विजय स्मारक जस्तै यो कार्यक्रम लागु भएका सामुदायिक विद्यालयहरूमा‘एक विद्यालय, एक नर्स’ कार्यक्रम निकै प्रभावकारी भएको पाइएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरू निकै लाभान्वित भएकाले हरेक विद्यालयमा यो आवश्यक रहेको सरकोकारवालाहरु बताउँछन् ।
यस कार्यक्रमले विद्यार्थीहरूको शारीरिक तथा मानसिक अवस्थाका साथै पोषणमा पनि निकै सुधार आएको डिल्लीबजार स्थित पद्मकन्या विद्याश्रमकी प्रधानाध्यापक रिता तिवारी बताउँछिन् ।

पहिले पहिले सानोतिनो चोटपटक लाग्दा आत्तिँदै अस्पताल जानुपर्थ्यो भने कति छात्राहरूलाई महिनावारी हुँदा सेनेटरी प्याड लिन पनि बाहिरै जानुपर्ने अवस्था थियो । तर अहिले त्यो अवस्था छैन । सानातिना चोटपटक लाग्दा विद्यालयमै मलमपट्टी, नर्ससँगै, दुखाई कम गर्ने औषधी दिएर आराम गर्नका बेडको पनि व्यवस्था विद्यालयमै हुने गरेको उनले बताइन् ।
त्यस्तै कति छात्राहरू महिनावारी हुँदा छुट्टी लिएरै घर जानुपर्ने अवस्था थियो अहिले नर्सले नै उनीहरूलाई प्याड दिने, कसैलाई पेट दुखेको छ भने आराम गराउने औषधी दिने काम विद्यालयमै हुने गरेको उनले बताइन् ।
विद्यार्थीसँगै अभिावकहरुलाई बोलाएर कुन उमेरमा कस्तो खाना खुवाउने, कस्ता खोप लगाउने लगायत स्वास्थ्य सम्बन्धी सचेतना दिने काम पनि नर्स भइरहेकाले एकदमै सहज भएको प्रधानाध्यापक तिवारीको भनाई छ ।
सामान्य चोटपटक लाग्ने, टाउको दुख्ने, पेट दुख्ने त सामान्य कुरा हो । तर, कहिलेकाहीँ किशोरीहरू रुने कराउने, मर्छु भन्ने जस्ता मानसिक समस्या देखिन्छ । विद्यालयमा नर्स कार्यक्रम लागू हुनुभन्दा पहिले यस्तो समस्या धेरै देखिन्थ्यो तर अहिले फाट्टफुट्ट रुपमा देखिएपनि धेरै नियन्त्रणमा आइसकेको तिवारीले बताइन् ।
त्यस्तै विजय स्मारक स्कुलका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा ढकालका अनुसार यो कार्यक्रमले विद्यार्थीहरू निकै लाभान्वित भएका छन् । नर्स कार्यक्रम सञ्चालन हुनुभन्दा पहिले विद्यार्थीलाई चोटपटक लाग्दा अस्पताल लानुपर्ने वा अभिभावकलाई बोलाएर घर पठाउनुपर्ने अवस्था हुन्थ्यो । अहिले सामान्य उपचारका लागि बाहिर जानुपर्दैन । जसका कारण विद्यार्थीसँगै शिक्षक तथा अभिभावकलाई पनि सहज भएको उनले बताए ।
देखिने भएकाले शारीरिक रूपमा उनीहरू बिरामी भएको थाहा पाए पनि उनीहरूले भोगिरहेको व्यक्तिगत, पारिवारिक, विद्यालयमा पढाइका कारण हुने तनावका बारेमा हामी अनभिज्ञ थियौँ । तर नर्स आइसकेपछि यस विषयमा हामीले पनि जानकारी पायौँ र विद्यार्थीहरूले पनि आफ्ना कुराहरू राख्न थाले उनले भने । तर विद्यालयलाई चाहिने जनशक्ति सरकारले पठाउने भएकाले कहिलेकाहीँ सरकारले खटाएको काममा विद्यालय नर्सलाई पठाइदिँदा सेवा प्रभावित हुने गरेको गुनासो उनको छ ।
भर्खरै सरकारले सञ्चालन गरेको एचपीभी खोप अभियानमा अन्यत्र खटाउँदा एक हप्ता विद्यालयको सेवा नै प्रभावित भएको उनले बताए । हुन त नर्सिङ क्षेत्रमा जनशक्ति कम भएकाले विद्यालय नर्सलाई खटाउनुपर्ने सरकारको पनि बाध्यता होला र यति धेरै विद्यार्थी भएको विद्यालयमा एक जना नर्स हुने र त्यही पनि हप्ता १० दिन नआउँदा असहज हुन्छ ढकालले भने ।
कति विद्यालयमा लागू भएको छ नर्स सेवा ?
विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ, पोषण, मानसिक स्वास्थ्य, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्नका लागि भन्दै २०७६,०७७ देखि सुरु भएको एक विद्यालय एक नर्स कार्यक्रम सुरुमा बागमती प्रदेशका केही विद्यालयमा मात्रै लागू गरिएको थियो ।
यसले विद्यार्थीहरूमा बिरामी हुने दर घटाउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक रूपमा पनि राम्रो प्रभाव परेपछि सरकारले निरन्तरता दिने निर्णय गरेसंगै हाल धेरै विद्यालयमा यो कार्यक्रम लागू भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हाल देशभर २७ हजार सामुदायिक विद्यालय र ८ हजार संस्थागत विद्यालय छन् । तीमध्ये १ हजार ३ सय ४८ विद्यालयमा यो कार्यक्रम प्रभावकारी रूपमा लागू भएको पाइएको छ । यो कार्यक्रम सञ्चालन गर्ने विद्यालय प्राय शहरी क्षेत्रका छन् । ग्रामीण क्षेत्रका विद्यालयहरूमा अझै यसले प्रवेश पाउन सकेको छैन ।
विद्यालय नर्सले कस्तो सेवा दिन्छन् ?
विद्यार्थी र समुदायमा स्वास्थ्य जीवनशैलीसँग सम्बन्धित व्यवहारको प्रवर्द्धन गर्न किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श दिने, उनीहरूको नियमित चेक जाँच गर्ने, विद्यालय हाताभित्र आकस्मिक चोटपटक लाग्दा मलमपट्टी गर्ने आवश्यक परे चिकित्सककहाँ पठाउने लगायतका सेवाहरू विद्यालय नर्सले दिने गर्दछन् ।

साथै किशोरीहरूलाई महिनावारी भएको समयमा सेनेटरी प्याड दिने, १० वर्षभन्दा माथिका किशोरीहरूलाई हप्तामा एक दिन आइरन चक्की दिने, प्रत्येक ६, ६ महिनामा सबै विद्यार्थीहरूलाई जुकाको औषधी खुवाउने, विद्यार्थीहरूमा मानसिक रोगको लक्षण जस्तै एक्कासि बेहोस हुने, रुने कराउने, मर्छु भन्ने जस्ता लक्षण देखिए भने उनीहरूलाई मनोपरामर्श दिने काम पनि विद्यालय नर्सहरूले गरिरहेको पद्मकन्या विद्याश्रमकी प्रधानाध्यापक तिवारीले बताइन् ।
विद्यालय नर्सले पाउने सेवा सुविधा
विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका अनुसार विद्यालय नर्सले सरकारी पाँचौँ तह बराबरको सेवा सुविधा पाउँछन् । तर सरकारी सरह स्थायी नगरिएको गुनासो उनीहरूको छ ।
नर्स श्रेष्ठ भन्छिन् सरकारी सरह महँगी भत्ता र नागरिक लगानी कोष, सञ्चय कोष लगायतका सुधिाहरुबाट सरकारले वञ्चित गराएको छ । त्यसै पनि नर्सहरू विदेशिने क्रम बढेकाले नेपालमा जनशक्ति अभाव भइरहेको बेला यस्ता कुराले झन् असर गर्ने गरेको उनले बताइन् । सरकारले यसबारेमा पनि सोचिदिए काममा हौसला बढ्ने सुनाइन् ।
प्रतिक्रिया