पानीमा लेखिएका अक्षरजस्ता रहरहरू | Khabarhub Khabarhub

पानीमा लेखिएका अक्षरजस्ता रहरहरू



हृदयकी रानी न्यान्सी,
अविच्छिन्न न्यानो माया !

आएर कहिल्यै ऋतु सिद्धिँदैन, लाएर माया मुटु रित्तिँदैन
स्वीकार मात्र गर एक बार, संसार तिम्रै अनि बार बार !

राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताका पंक्तिबाट आजको पत्रारम्भ गर्दैछु । शब्दको सगुनबाट सम्बन्ध जोड्ने मेरो रहरलाई अन्यथा मान्ने छैनौ । सायद हामीबीच मनको टेलिप्याथी यति प्रगाढ छ कि तिमीलाई चिमोट्दा मलाई दुख्न थालेको छ ।

त्यो भूगोलमा फुसफुसाएको हिउँले तिम्रो जिउ कठ्याङ्ग्रिदा मेरो जिउमा काँडा उम्रने गरेको छ । झलमल्ल घाममा चङ्गा बनेर तिमी समुद्रसँग जिस्कँदा मेरो शरीर फर्फराउन थालेको छ । तिमीलाई पीडाको सूलले सताउँदा म सपनामै कहालिने गरेको छु ।

मिसीसीपी नदीभन्दा ठूलो आँसुको भेलले मलाई छोप्ने गरेको छ । हो, अब त मलाई रगतको भन्दा विश्वासको सम्बन्धमा भर लाग्न थालेको छ । मेरो जीवनका थुप्रै कहरका क्षणमा तिम्रा वाणी एन्टीबायोटिक बनेका छन् । प्रकृति बाहेक संसारका सबै वस्तु चलायमान छन् । हरेकले आफ्नो जीवन आफैँ भोग्ने हो । पैँचोमा कसैले कसैको जीवन एक सेकेण्ड पनि बाँच्न सक्दैन । संसारका प्रसिद्ध ज्योतिष र पादरीहरूले कसैको भाग्य फेर्न सकेका छैनन् । चिकित्सा विज्ञानले संसारमा उधुमै मच्चाएको छ तर कुनै चिकित्सकले दुब्लोलाई मोटो र मोटोको मासु काटेर दुब्लोको आकार बदलेको समाचार सुन्न पाइएको छैन । सायद अकाट्य नियमको अर्को नाम नै प्रकृति हो ।

सुख–दुःख, हाँसो–आँसु, अँध्यारो–उज्यालो सायद जीवनको रंग भनेकै यही हो ।

तिमी बसेको देशमा जाडोले सेकाउने दिन सुरु हुन लाग्दा हाम्रामा भने अब उराठलाग्दा दिनहरू सुरु भएका छन् । यी निरस दिनको प्रवेशपछि उत्ताउलाहरू प्याच्चै भनिदिन्छन्– आरुबखडा फुल्ने यो समयमा उमेर पुगेका ठिटीहरूलाई घरजम गर्ने जाँगर चल्छ रे ! न पूर्वीय सम्यतामा अड्न सकेका, न पश्चिमा सभ्यता अँगालेका हाम्रो समाजमा यस्ता थुप्रै मिथक छन्, जसले तिमीलाई पेट मिचीमिची हँसाउन मद्दत गर्ने छन् ।

सुख–दुःख, हाँसो–आँसु, अँध्यारो–उज्यालो सायद जीवनको रंग भनेकै यही हो । सुगन्धबिनाको फूल, तृप्ति र उद्देश्यबिनाको प्राप्ति अनि प्रसन्नताबिनाको जीवन व्यर्थ हुन्छ । मान्छेले सुख एकै वस्तुको प्राप्तिबाट पाउँछ भने दुःखका निम्ति धेरै कुराको संयोग मिल्नुपर्छ । धनभित्रको दरिद्रभन्दा गरिबीभित्रको दुःखी हुनु लाखौँ गुना बेस छ ।

हाम्रा बा भन्नुहुन्थ्यो– बाबु ! जत्रो ओढ्ने छ, त्यतिमात्र खुटटा पसार्नु । तर विडम्बना म सत्य चाहन्छु, असत्य छ । जीवन चाहन्छु, मरण छ । संयोग खोज्छु, वियोग छ । पूर्णता खोज्छु, जबर्जस्तसँग अपूर्णता आइलाग्छ । अनि मेरो मानसले भन्यो– हेर, संसार योजनामा चल्दैन ।

प्रतिकूल परिवेशमा अनुकूलको जमिन टेक्नु नै सफलताको मापन हो । अहिले जस्तो मेट्रो ट्रेन वा बोइङ चढेर मदन ल्हासा गएको भए ठोकेर भन्न सकिन्छ– मुनामदन कृतिको रचना हुने थिएन । उहिल्यै लाली पाउडर जन्मिएको हुँदो हो त लैला मजनु, रोमियो र जुलियट यस धरामा देखा पर्ने थिएनन् ।

शास्त्रले खबरदारी गरेको छ– मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नु । लेख्नुअघि दुईपल्ट सोच्नु । केही काम गर्नुअघि तीनपल्ट सोच्नु ।

न्यूक्लियरको आविष्कार भएको थियो भने रामायण र महाभारतका ती ठेली ‘न रहे बाँस न बजे बाँसुरी’को अवस्थामा पुग्थे होलान् । मानिसहरू समस्याका कारण आत्तिन्छन्, रुन्छन्, कराउँछन्, गुनासो गर्छन् । तर समस्या त हरेक युगमा थियो । रामराज्यमा त थियो भने अहिले नहुने कुरै भएन ।

तिमी एकपटक आँखा चिम्म गरेर कल्पना गर त यदि समस्या नहुँदो हो त मानिस चौबीस घण्टा कसरी बिताउँथ्यो होला ? यही समस्याकै निदान खोज्न गरेको प्रयासले नै उसले आफैँले पत्याउन नसक्ने गरी आविष्कार गर्‍याे ।

यसै मेसोमा म तिमीलाई एउटा नीति कथा सुनाउँछु ल । कुनै ऋषि आफ्नो एक शिष्यसँग कतै गइरहेका थिए । बाटोमा रुख, झार छरपस्ट थिए । बाटोमा जाँदै गर्दा एक ठाउँमा चारवटा रुख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो रुख थियो । ती ऋषिले आफ्नो शिष्यलाई ती रुखहरू क्रमशः सानोदेखि उखेल्न अह्राए ।

आमाले शिशु जन्माएपछि प्रसव पीडा बिर्सिएजस्तै भत्किएका सपना टेकेर नयाँ सपना देख्नु जीवन हो सायद ।

शिष्यले पहिलो र दोस्रो सजिलै उखेले । तर तेस्रो र चौथो उखेल्न सकेनन् । त्यसपछि ऋषिले शिष्यलाई बुझाउँदै भने– हेर ! कुलत पनि यिनै रुखहरूजस्तै हुन् । यसलाई सुरुमै उखेलेर फालेमा मात्र सजिलै निमिट्यान्न पार्न सकिन्छ । यदि यसले जरो गाड्यो भने तेस्रो र चौथो रुखजस्तै उखेल्न निक्कै कठिन हुन्छ ।

शास्त्रले खबरदारी गरेको छ– मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नु । लेख्नुअघि दुईपल्ट सोच्नु । केही काम गर्नुअघि तीनपल्ट सोच्नु । सधैँ हेक्का राख्नुस्– घमण्डले मान्छे फुल्न सक्ला तर फैलिन सक्दैन । जो मान्छेसँग धनबाहेक अरू केही छैन नि, त्यो भन्दा महादरिद्र संसारमा अरू कोही हुँदैन ।

भविष्य रहेसम्म सपना देख्नुपर्छ । चुक घोप्ट्याएजस्तो रात चिर्न सके मात्र बिहानी आउँछ । तिमीले पढाएको यो पाठ मैले सधैँ मानस्पटलमा राखेको छु । आमाले शिशु जन्माएपछि प्रसव पीडा बिर्सिएजस्तै भत्किएका सपना टेकेर नयाँ सपना देख्नु जीवन हो सायद । मान्छेको गुनासो र रहर पनि पानीमा लेखिएको अक्षरजस्तै रहेछन् । तरंगित त हुन्छ, स्थायी रहँदैन । पानीले पानीमा कसले पो पानी लेख्न सकेको छ र ? समयसँग जिस्किएर अनि जोरी खोजेर बिताएका ती दिन अब फिर्ता ल्याउन पक्कै सकिन्न ।

सुकर्मले उर्जा दिन्छ, दुष्कर्मले खोटी बनाउँछ । सुख खोज्न हिँडेको मानिस दुःखको गर्तमा जाकिएको छ ।

सुकर्मले उर्जा दिन्छ, दुष्कर्मले खोटी बनाउँछ । सुख खोज्न हिँडेको मानिस दुःखको गर्तमा जाकिएको छ । सन्तान चाहिने सम्पतिले पुरिएको छ । सम्पति दरकार पर्ने सन्तानले घेरिएको छ । साधन धनीसँग छ, स्वाद गरिबले पाएको छ । नरम आसन पैसावालले जोडेको छ, तर गहिरो निद्रा निर्धनको आँखाभित्र लुकेको छ । फेरिएको त मूलतः अंक हो ।

प्रकृतिका नियम समान छन् । देशको राजनीतिक व्यवस्था फेरिए पनि गाइवस्तुले घाँस चपाएरै उग्राएका छन् । लामखुट्टेले रगत चुसेर भाग्ने क्रम छोडेको छैन । कली धपक्कै बलोस् न बाघले कुनै बाहानामा घाँस खान थालेको छैन । मयूरको नाच उही छ । कोइली स्वरको सम्मोहन घटेको छैन । गौँथली गुँडको कलात्मक आकर्षण झन्झन् बढ्दो छ ।

सूर्यको पूर्वबाट सुरु भएको यात्रा पश्चिममा घर्किने क्रम यथावत छ । संगीतको सम्पूर्ण काव्य सात सुरमै सीमित छ । कखरा र एबीसीका अक्षर न बढ्न सके, न घट्न । यी यावत दृश्य देख्दादेख्दै पनि मानिसभित्र एउटा छद्म अहम् छ, जसले प्रकृतिका हरेक अंशमा आफ्नो स्वामित्व खोज्छ ।

बीस वर्षको उमेरमा एउटा मानिस आफ्नो इच्छामा हिँड्छ, तीस वर्षमा बुद्धिमा र ४० वर्षमा अनुमानमा हिँड्छ ।

भरिया भएर सन्तानलाई शहरिया बनाउने बा र शहर भासिएका सन्तानबाट एउटा फरिया नपाउँदा पनि गुनासो नगर्ने आमाका सपना पाइलापाइलामा शहीद हुँदै आएका छन् । निराशाले सबैलाई लपेटेको छ । धेरै मानिस २५ वर्षकै उमेरमा मरेका छन् तर उनीहरूको अन्तिम संस्कार ७५ वर्षमा हुने गरेको छ । आखिर जति नै किताब पढे पनि पीडा लुकाएर हाँस्न र मन बाँधेर बाँच्न त जिन्दगीले नै सिकाउने हो ।

बीस वर्षको उमेरमा एउटा मानिस आफ्नो इच्छामा हिँड्छ, तीस वर्षमा बुद्धिमा र ४० वर्षमा अनुमानमा हिँड्छ । अज्ञानी हुनु लाजमर्दो होइन, जति सिक्ने इच्छा नराख्नु हो । बाफ बनेर उडेका सपना एकदिन बादल बनाएर बर्षाउनु पर्छ । तिमीले मलाई भन्यौ भने बिर्सन्छु , सिकायौ भने सम्झन्छु, अझ सामेल गरायौ भने सिक्नेछु । केही यस्तो लेख जुन पढ्न लायक होस्, केही त्यस्तो गर लेख्न लायक होस् । आत्मविश्वास पनि छाताजस्तै होस्, झरी त रोक्दैन तैपनि बाछिटाबाट बचाउँछ ।

यी पंक्ति पढिरहँदा तिमीलाई म दार्शनिक भएको भ्रम पर्‍याे होला हैन ? तर न्यान्सी, समय घडी हेरेर मात्र नभई बाटो हिँडेर पनि घर्किने रहेछ । धनी र असल मान्छेमा फरक के हो भने धनी मानिस अरूको दुःखमा स्वार्थ देख्छ भने असल मानिसले दया । सफल मानिस फैसलाले दुनियाँ बदल्छ । असफल मानिस दुनियाँको डरले फैसला बदल्छ । जिन्दगीमा यस्तो मानिसलाई किमार्थ अन्याय नगर्नु जोसँग गुहार्न ईश्वरबाहेक कोही हुँदैन । जिन्दगी कुहिरोजस्तै हुन्छ, जति हिँड्दै गयो उति बाटो देखिँदै जान्छ । मेहनत, हिम्मत र लगनले सपना सफलतामा अनुवाद हुन्छ । सबै गुमाएर पनि तिमीसँग हौसला छ भने तिम्रो केही गुमेको छैन ।

तिमीले सधैँ हेक्का राख अन्तिममा आफ्नो साथमा हुने आफूमात्र हो ।

तिम्रो समाजलाई पनि आविष्कारले बाचाल बनाएको छ । अरूलाई विधिको सूत्र सिकाउँदा सिकाउँदै तिमीहरूको समाज एकांकी बन्दै गएको छ । अक्सर महान बन्ने चाहनामा मान्छेहरू मानव बन्न नै बिर्सँदाको वियोगान्त तिम्रो समाजले भोगिरहेको छ । नराम्रो विचार आयो भने भोलि र सकारात्मक धारणा आयो भने अहिल्यै गर्नुपर्छ ।

जहाँ प्रयासको उचाई अधिक हुन्छ, त्यहाँ भाग्यले पनि झुक्नुपर्छ । थाके आराम गर्ने हो, तर हार्ने होइन । तिमीले सधैँ हेक्का राख अन्तिममा आफ्नो साथमा हुने आफूमात्र हो । तस्वीरका रंग चाहे जे भए पनि मुस्कानको रंग नै अजेय र सुन्दर हुन्छ । प्रेम र जागिर उस्तै हो, गुनासो पनि गर्ने काम पनि नछोड्ने !

न्यान्सी,
टेकेको लाठी, समाएको हाँगा र उक्लिएको सिंढी बिर्सिनेको अस्तित्व एकदिन नामेठ भएर जान्छ । त्यसैले तारिफ चित्रको नभई चरित्रको हुनुपर्छ । शरीरको सौन्दर्य त भ्रम हो । सबैभन्दा सुन्दर वाणी हो, यसले दिल जित्न र चिर्न दुवै सक्छ । दुनियाँमा समस्या समस्यामा नभएर दृष्टिकोणमा हुन्छ । आफू अज्ञानी छु भन्ने थाहा पाउनु ज्ञानको ठूलो फड्को हो । कसैले तिम्रो मन दुखाउँदा दुःखी नहुनु है । प्रकृतिको नियम यो छ कि जुन रुखमा मीठो फल हुन्छ, मान्छेहरू त्यहीँ बढी ढुंगा मिल्काउँछन् ।

दुःखमा साथ दिनेहरू ईश्वर हुन्छन्, सुखमा साथ दिनेहरू मनुष्य ।

ठूलो मानिस बन्नु उत्तम हो, अझ राम्रो मान्छे बन्नु सर्वोत्तम हो । हार्दिक सम्बन्धले बाचा, कसम माग्दैन । रोज डे, प्रपोज डे, चकलेट डे जस्तै रोटी डे हुँदो हो त संसारमा कसैले सारंगी पेट बाँच्नु पर्दैनथ्यो । जसले जस्तो बाटो बनाउँछ, लक्ष्य उस्तै भेट्छ । तागतमा जीवन र कमजोरीमा हार हुन्छ । गल्ती भनेको काममा निरन्तर लागिरहेको सबुत हो । हामी त्यही हौँ, जुन आफ्नो सोचले बनाएको हुन्छ । दुःखमा साथ दिनेहरू ईश्वर हुन्छन्, सुखमा साथ दिनेहरू मनुष्य । हरेक विजेता त्यो हार खाएको मानिस हो, जसले फेरि प्रयास गर्न जानेको हुन्छ ।

जसलाई सपना देख्ने सोख छ, उसलाई रात छोटो लाग्छ । जसलाई सपना पूरा गर्ने सोख छ, उसलाई दिन छोटो लाग्छ । कहिले समयअनुसार आवश्यकता बदलिन्छ भने आवश्यकताअनुसार समय बदलिँदैन । उज्यालोमा त कोही न कोही अवश्य भेटिन्छ, त्यसैले त्यस्तो मानिस खोज जसले अन्धकारमा पनि तिमीलाई साथ दिन्छ । आफैँ मेहनत गरेर आफ्नो भाग्य लेख्नू , नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।

न्यान्सी,
तिमीले नजिकबाट देखेकी छौ– गोलीको विभीषिकाले पाइला पाइलामा प्रलय निम्त्याउने गरेको छ । अमेरिकी सन्की युवाहरूमा देखिने गोलीको उन्मादले धेरै बालबालिकाको ज्यान लिने गरेको छ । त्यो दृश्यले विश्व त रुन्छ नै, स्पात ठानिएको अमेरिकी राष्ट्रपति निःशब्द भएर कोलाहल गर्न पुग्छन् । तर पनि त्यो शेर व्यक्तित्व पेस्तोलको साम्राज्यबाट मुलुकलाई मुक्ति गराउने अभियानमा भने निरीह प्रमाणित हुन्छ ।

संसारमा सबैभन्दा बढी दिइने तर सबैभन्दा कम ग्रहण गरिने वस्तु हो– अर्ती ।

नीतिहरूमध्ये अब्बल नीति मानिने राजनीतिको एउटै मन्त्र हो– मानव धर्म । तर युद्धका लाभाहरू बीचमा बसेर शान्तिको मन्त्र जप्नुपर्ने यो बाध्यताको जड के हो ? आगोमा हात राख्यो भने पोल्छ । पोल्नु आगोको धर्म हो । हिउँले हात ठिहिर्‍याउँछ । सिस्नुमा हात राख्दा पोलेन भने, जाँड खाँदा लागेन भने त्यो के जाँड, त्यो सिस्नो के सिस्नो ? संसारमा सबैभन्दा बढी दिइने तर सबैभन्दा कम ग्रहण गरिने वस्तु हो– अर्ती ।

आफूभित्रबाट आत्मसात गरिएको वस्तु मात्र दिगो र चीरस्थायी हुनसक्छ । नयाँ वर्ष शुभकामनामा सीमित भयो भने त्यो देउरालीको ढुंगो घुम्ने कामभन्दा पर नहुने पक्का छ । हरेक समयलाई शुभघडी मान्ने परम्परा बस्यो भने नयाँ वर्षले हैन, कामको प्रतिफलले जीवन नयाँ ढर्रामा प्रवेश गराउँछ । त्यतिबेला उड्न पुतली बन्नु पर्दैन । तिम्रो इन्द्रिय शून्य तौल भएर तिमीलाई कावा खान दौडाउँछ । आजलाई पत्रको पेटारो यहीँ अन्त्य गर्छु । बाँकी व्यहोरा तिम्रो जवाफ आएपछि कोरौँला ।
तिम्रो भलो चिताउने

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : १७ बजे

रिङ्कु सदालाई न्याय दिन राष्ट्रिय मुक्तिको माग

काठमाडौं– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१

सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री

कास्की– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले

अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ :  प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात 

दोलखा-जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात

वडा अध्यक्षका प्रत्याशीसहित कांग्रेसका एकसय बढी माओवादी प्रवेश

सिरहा– स्थानीय निर्वाचन ०७९ मा सिरहाको औरही नगरपालिका–४ मा नेपाली