काठमाडौं- नेपालमा गाँजालाई लागुऔषध मानेर प्रतिबन्ध लगाइएको छ । लागु औषध नियन्त्रण ऐन २०३३ दफा (४ क) ले गाँजाको खेती, खरिद, बिक्री–बितरण, निकासी वा पैठारी, ओसार–प्रसार, सञ्चय वा सेवन गर्न नपाइने भनेको छ ।
तर, नेपालमा लुकीछिपी यसको प्रयोग तथा बिक्री वितरण भइरहेको पाइन्छ । शिवरात्रीको अवशरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा त झन् प्रसादका रुपमा खुलेआम बिक्री वितरण तथा प्रयोग हुन्छ ।
हुन त परापूर्व कालदेखि नै गाँजाको आफ्नै महत्व छ । आयुर्वेदले गाँजालाई औषधीका रुपमा लिएको छ । विश्व जगतमै यसको वैज्ञानिक महत्व पनि रहेको दाबी गरिन्छ । गाँजाबाट धेरै प्रकारका औषधी बनाउने अभ्यास विश्वभर चलिरहेको छ ।
गाँजामा पाइने टीएफसी नामक रसायनले लागु औषधको काम गर्छ भने यसबाट धेरै रसायन निकाल्न सकिन्छ । औषधीजन्य काममा यसको प्रयोग हुन्छ । जुन अभ्यास अमेरिका लगायतका देशहरूमा भइरहेको चिकित्सकहरू बताउँछन् ।
चिकित्सकहरूका अनुसार गाँजाबाट बनाएको औषधी दुखाई कम गर्न प्रयोग गरिन्छ । भोक नलागेको अवस्था, नशासम्बन्धी समस्याका बिरामी, छारेरोगका बिरामीहरूमा गाँजाजन्य औषधीको प्रयोगले राम्रो परिणाम दिएको छ ।
तर, नेपालमा भने औषधीको रुपमा प्रयोग भएको छैन । गाँजाबाट विभिन्न सामाग्रीहरू बनाउन सकिने भएकाले गाँजाको प्रयोगलाई वैधानिकता दिनुपर्ने भन्ने विषयमा आवाज उठिरहे पनि कार्यान्वयन भइसकेको छैन ।
नेपालमा यसको उपयोग भन्दा दुरुपयोग धेरै भएको पाइएकाले गाँजा सेवनले तात्कालीन र दीर्घकालीन रुपमा हाम्रो स्वास्थ्यमा धेरै असर गर्ने चिकित्सकहरू बताउँछन् ।

गाँजाको प्रायोगले हुने मानसिक असर
ललितपुरस्थित पाटन मानसिक अस्पतालमा कार्यरत सिनियर कन्सल्टेन्ट साइक्याष्ट्रिक डा. वासुदेव कार्की गाँजाबाट दीर्घकालसम्म मानसिक असर पर्न सक्ने बताउँछन् ।
‘गाँजाका कारण तत्कालीन स्वास्थ्य समस्यासँगै दीर्घकालीन मानसिक समस्या पनि निम्तिन सक्छ’, उनले खबरहबलाई भने ।
गाँजालाई नियमित प्रयोग गर्न थालेपछि यसको लत बस्ने र नखाएसम्म निद्रा नलाग्ने, छटपटी हुने, एकदमै तनावमा हुने जस्ता लक्षणहरू देखिन्छन् । ती तनाव हटाउन फेरि गाँजाको सहारा लिँदा भविष्यमा यसले कडा खालका मानसिक समस्या-जस्तै साइकोसिस, एञ्जाइटी जस्ता जटिलता निम्त्याउने डा. कार्की बताउँछन् ।
डा. कार्कीले शिवरात्रीको अवसरमा वर्षेनि धेरै युवायुवतीहरू गाँजाको सेवन गर्ने गरेको बताउँछन् । ‘यसले चिन्ता, डर, छटपटी हुने, मुटु ढुकढुक हुने, आफू कहाँ छु ? के गर्दै छु ? भन्ने थाहा नहुने, भ्रममा पर्ने जस्ता क्षणिक समस्या देखिन्छन’, उनले भने, ‘केही समयपछि आफैँ हटेर जान्छन् । तर कतिपयका लागि यसको प्रभाव अप्रिय हुनसक्छ ।’
उनका अनुसार पहिलेदेखि नै मानसिक रोगको जोखिममा रहेका व्यक्तिहरूमा यसको प्रभावले झन् कडा रुप लिने एञ्जाइटीको सुरुवात हुनसक्ने सम्भावना हुन्छ । त्यस्तै अर्का मनोरोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीले मानिसको मानसिक अवस्थामै गाँजाले असर गर्ने बताउँछन् । भन्छन्–गाँजाले मानसिक स्वास्थ्यमा प्राय नकारात्मक असर नै गर्छ ।
उनका अनुसार गाँजा सेवन गरिसकेपछि आँखा रातो हुने, मुख सुख्खा हुने, एकदमै डर लाग्ने, मुटुको धड्कन बढ्ने जस्ता लक्षणहरू देखिन्छन् । त्यस्तै, मान्छेले कस्तो अवस्थामा गाँजा खाएको छ, त्यसमा धेरै कुरा भर पर्ने उनको तर्क छ । कसैले एकदमै उदास भएर खाएको छ भने उदास भइरहने हुन्छ भने खुशी हुँदै खाएको छ भने खुशी हुने हुन्छ ।
‘थोरै थोरै मात्रामा प्राय खाइरहने मान्छेलाई यसले खासै असर गर्दैन’, उनले भने, ‘कसै कसैलाई एक दुईपटक मात्रै खाँदा पनि साइकोसिस र एञ्जाइटीको समस्या निम्त्याउन सक्छ ।’
यसबाहेक गाँजाले कहिलेकाहीँ डिप्रेशन गराउने, सिजोथेर्मिया (जुन साइकोसिसकै कडा रुप) पनि हुन्छ । नियमित गाँजा सेवनले यस्तो समस्या देखिने एउटा अध्ययनले देखाएको छ ।
गाँजा सेवनले बौद्धिक क्षमतामा असर गर्ने गर्छ । युवा पुस्ताहरूको पढाइमा असर गर्ने, गरिरहेको काम प्रभावित हुने, सवारी दुर्घटना भएर अङ्गभङ्ग तथा मृत्युसम्म हुने सम्भावना रहेकाले मानसिक रुपमा सकारात्मकभन्दा नकारात्मक असर धेरै गर्ने चिकित्सकहरूको भनाइ छ ।
त्यस्तै गाँजा खाने मान्छेहरूलाई अन्य लागुपदार्थको लत लाग्ने सम्भावना पनि धेरै हुने उनले बताए ।

शिवरात्रीमा गाँजाको प्रयोग
डा. कार्की भन्छन्– शिवरात्रीमा गाँजा सेवनकै कारण मानसिक समस्या निम्तिएर धेरै बिरामी हाम्रो इमर्जेन्सीमा आउँछन् । कतिपयलाई त भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्था पनि आउँछन् । उनका अनुसार पहिलो पटक सेवन गरेका व्यक्तिहरू धेरै आउँछन् ।
गाँजाको विषयमा हाम्रो समाजमा धेरै फरक मत छन् । चिकित्सकहरूले आवश्यकता अनुसार प्रशोधित गरिएको गाँजामा औषधीय गुण हुने बताउँछन् । ‘तर चाडबाडमा आवश्यक नपरी युवायुवतीहरूले रमाइलोका लागि खाँदा स्वास्थ्यका लागि राम्रो गर्दैन’, उनले भने ।
प्रशोधन नगरी प्रयोग गरिने गाँजाले लागु औषधको काम गर्ने उनी बताउँछन्।
गाँजाबारे आर्युवेद के भन्छ ?
सिंहदरवार वैद्यखानाका औषधी उत्पादन अधिकृत डा. हरिदेव यादवले गाँजाबाट धेरै प्रकारका औषधी बनाउन सकिने बताएका छन् ।
वैद्यखानाले विगतमा गाँजाबाट असह्य दुखाई हुने, खाना नरुच्ने, टाउको दुख्ने, कान दुख्ने चिन्ता, नैराश्य, मानसिक समस्याको समाधानमा प्रयोग हुने तेल र औषधी बनाउँथ्यो । सरकारले प्रयोगमा प्रतिबन्ध लगाएपछि अहिले यसबाट औषधी उत्पादन हुँदैन ।
त्यस्तै विश्वमा दुखाई कम, मधुमेह नियन्त्रण गर्ने औाधीहरू अहिले पनि बनिरहेका डा. यादवले बताए । पहाडी क्षेत्रमा गाँजाको दाना मकैसँगै भुटेर खाने प्रचलन थियो, जसले गर्दा यसले दिनभरिको थकान मेटाउन र शरीरको दुखाई कम गर्न सहयोग पुर्याएर निद्रा लगाउँथ्यो ।

‘तराई क्षेत्रमा अहिले पनि होलीको अवसरमा गाँजा मिसाएर गोला तथा कुश्मा नामको पेयपदार्थ बनाएर खाइन्छ । जसले शरीरलाई स्वास्थ बनाउने र मनलाई पनि राहत दिन्छ’, उनले भने ।
त्यस्तै जहाँ गाँजाको खेती गरिन्छ, त्यो ठाउँमा लामखुट्टे लगायत विषालु किरा फट्याङग्राहरू लाग्दैनन् भन्ने विश्वास रहेको उनले बताए । ‘सही रुपमा प्रयोग गर्यो भने गाँजाबाट धेरै फाइदा लिन सकिन्छ । अहिले विश्वमा जति पनि दुखाई कम गर्ने औषधी बनिरहेका छन् । ती सबैमा गाँजा र अफिमको प्रयोग भएको पाइन्छ’, डा. यादवले भने ।
गाँजा पकौडा बनाएर वा अन्य खानामा मिसाएर खाँदा त्यति असर गर्दैन । तर यसलाई धूमपानका रुपमा सेवन गर्दा असर गर्ने उनी बताउँछन् ।
‘पकौडा बनाएर खाँदा पनि बोटबाट सिधै टिपेर प्रयोग गर्ने होइन, त्यसको पातलाई पहिले तातोपानीले धुने । त्यसपछि घिउमा भुटेर खाने गर्नाले हाम्रो पाचन प्रणालीमा फाइदा पुर्याउँछ । यसका साथै जिउ दुख्ने तथा अन्य शारीरिक समस्याहरूमा फाइदा पुग्छ’, उनले भने ।
औषधीका रुपमा कहिलेकाहीँ प्रशोधित गरेर खाएमा धेरै फाइदा गर्छ । जस्तै- खाना पचाउने, भोक लगाउने, निद्रा लगाउने, काम गर्छ । धेरै खाए असर गर्न सक्ने उनी बताउँछन् । ‘तर गाँजा खाएको मान्छे मारपिट जस्ता आपराधिक क्रियाकलापमा संलग्न हुँदैन । साधु सन्तले पनि प्रयोग गरिरहेकै हुन्छन्’, डा. यादवले भने, ‘त्यसैले प्रसादका रुपमा ठिक्क मात्रा खाँदा यसले खासै असर गर्दैन ।
प्रतिक्रिया